लिमा । पेरूको सर्वोच्च अदालतका न्यायाधीश जुआन कार्लोस चेक्लेले भूतपूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न आदेश दिएका छन् ।
पूर्व राष्ट्रपति कास्टिलो र पूर्व प्रधानमन्त्री एनिबल टोरेस विरुद्धको अनुसन्धानलाई जारी राख्न अभियोजकको कार्यालयले डेढ वर्ष माग गरेको थियो तर टोरेसको हिरासत समयबारे केही उल्लेख नगरिएको पेरूको समाचार समिति एन्डिनाले जनाएको छ । कास्टिलोलाई कम्तीमा १० वर्षको कारावासको सजायको माग गरिएको छ ।
राज्यद्रोह र षड्यन्त्रको अभियोगमा गत साता पूर्व राष्ट्रपति कास्टिलोलाई पक्राउ गरिएको थियो । उनलाई पक्राउ गरेपछि देशभर आन्दोलनले अशान्ति फैलाएको छ । पूर्व राष्ट्रपतिका समर्थकले आयोजना गरेको आम हडताल र आन्दोलनका क्रममा १४ जनाको मृत्यु भएको छ भने कैयौँ प्रहरी र सर्वसाधारण घाइते भएका छन् । घाइते चालिस जनालाई अस्पताल भर्ना गरिएको छ ।
देशव्यापी आन्दोलनका कारण दैनिक दुई करोड ६० लाख अमेरिकी डलर बराबरको क्षति भएको पेरूको अर्थ मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति डिना बोल्वार्टेले आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गर्दै शान्ति, सहमति र भ्रातृत्वका निम्ति आह्वान गर्नुभएको छ ।
आन्दोलनले उग्र रूप लिएपछि एक महिनाका लागि देशभर आपत्काल लागु गरिएको छ । राजधानी लिमामा कफ्र्यु लगाइएको छ ।
आन्दोलनकारीले कास्टिलोलाई हिरासतमुक्त गर्नुपर्ने, राष्ट्रपति बोल्वार्टेले राजीनामा दिनुपर्ने तथा तत्काल निर्वाचनको मिति तोकिनुपर्ने माग गरेका छन् । (रासस/सिन्ह्वा)