म त कतै सिफारिस नभा’को मान्छे
रोजगारीलाई प्रदेश पसेको मान्छे ।
मस्तै पढेर डाक्टर वन्ने चाहना
धेरै जानेर मास्टर वन्ने चाहना ।
मेरो वाआमाले धेरै कोशिश गरे
विडम्बना ती सपना ओझेल परे ।
जागिर पाइन, थोरै पढेको मान्छे
विदेश छु सिफारिस नभा’को मान्छे ।
विदेशमा पनि सधैँ यस्तै देख्छु म
जे देखे त्यही कुरा यथार्थ लेख्छु म ।
विवशता शव्द कोर्ने मन होइन
कसैको चाप्लुसी गर्ने मन होइन ।
इमानदारीमा सवाल उठाउँछन
वेईमानलाई अगी बढाउँछन ।
टन्न खुवाएर आफ्नो बनाउने
चम्चा बनेर उपकार लगाउने ।
अगिपछि कानेखुसी गरिरहने
इमान विरुद्ध कान भरिरहने ।
नत गाडी न घोडा भएको मान्छे म
श्रम गरी पेट भर्न जान्ने मान्छे म ।
कसैको इर्ष्या नभएको मान्छे म
खै कतै सिफारिस नभा’को मान्छे म ।
पैसाको घमण्ड भयका मान्छे देख्छु
धेरै पढेको गफ हाँक्ने मान्छे देख्छु ।
आफैँ सफल भा’छु भन्ने मान्छे देख्छु
सिन्को नभाँची ठुलै भा’को मान्छे देख्छु ।
समाजमा सधैँ जरै खनेको देख्छु
अघि बढौँ भन्छु खुट्टै तानेको देख्छु ।
संरचना यस्तै छ या भुल परेछु
पक्कै हो पालो आउँछ भनिरहेछु ।
व्यवस्था विरुद्ध संघर्ष गरिरहेछु
संरचना विरूद्ध संघर्ष गरिरहेछु ।
सिफारिस नभा’को ले म पछि परेँ
चम्चा नबनेकोले नै पछाडी परेँ ।
पटक्कै म भन्दिन सोच्दै सोच्दिन म
बरु मरौँला स्वाभिमान बेच्दिन म ।
चाहिँदैन चाकडीले कुनै महल
ढल्दैन स्वाभिमानको स्तम्भ महल ।
बरु फासी खाउँला यो बाटो छोडिन्न
जित पक्कै छ त्यसैले बाटो छोडिन्न ।
साइकिल यात्राले संसार हेर्नेछु
यो पथले संरचनालाई फेर्नेछु ।
थाक्ने होइन निरन्तर बढ्ने हो
ब्यवस्था विरुद्ध सर्वत्र बढ्ने हो ।
जुना चालिसे चंडिगढ

