नयाँदिल्ली । भारतको प्रमुख विपक्षी दल राष्ट्रिय काङ्ग्रेस पार्टी (आइएनसी) को अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित हुनुभएको छ ।
आइएनसीले मल्लिकार्जुन खड्गेलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको पार्टीका नेता मधुसुदन मिस्त्रीले बुधबार जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भन्नुभयो– ‘कुल नौ हजार ३८५ मत खसेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा खड्गेलाई सात हजार ८९७ मत प्राप्त भएको छ ।’
उहाँसँग अध्यक्षका लागि प्रतिस्पर्धा गर्नुभएका काङ्ग्रेस नेता शशि थरुरले एक हजार ७२ मत प्राप्त गर्नुभएको छ । खसेको कुल मतमध्ये ४१६ मत बदर भएको छ ।
निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भन्नुभयो– ‘थरुरले हार स्वीकार गर्दै खड्गेको सफलताको कामना गर्नुभएको छ । नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्राप्त अत्यधिक बहुमतसँगै खड्गे २४ वर्षमा पहिलोपटक गैरगान्धी परिवारबाट काङ्ग्रेसको नेतृत्वमा चयन हुनुभएको छ ।
गान्धी परिवारले आफूलाई शीर्ष पदबाट अलग गरेको छ र मतदानमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको बताइएको छ । (रासस/एएनआई)





