लखनउ (भारत) । भारतका प्रभावशाली नेता मुलायमसिंह यादव रहेनन् । अक्टोबर १०, २०२२ सोमबारका दिन ८२ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
हरियाणाको गुरुग्राम अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँलाई गत आइतबार एक्कासि स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उहाँलाई उपचार गरिएको थियो ।
उहाँकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मिनुभएको हो । समाजवादी पार्टीको स्थापना यादवले नै सन् १९९२ अक्टोबर ४ मा गर्नुभएको थियो ।
झन्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोग्नुभएका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रूपमा चिनिन्थ्यो । उहाँ सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनै लाग्दा अन्तिममा रोकिनुपरेको थियो ।
उहाँले राजनीति धेरैपटक चुनौतीपूर्ण निर्णय लिनुभएको थियो भने बेला बेलामा विवादमा पनि पर्ने गर्नुहुन्थ्यो । भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उहाँ तीनपटक मुख्यमन्त्री बन्नुभयो भने एकपटक केन्द्रीय मन्त्रीसमेत हुनुभएको थियो ।
आम निर्वानचनबाट उहाँ दसपटक निर्वाचित हुनुभएको थियो । तीमध्ये सातपटक लोकसभा सदस्य बन्नुभएको थियो । उहाँ पहिलोपटक सन् १९६७ मा २८ वर्षको उमेरमा विधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म १९३९ को नोभेम्बर २२ मा इटावा जिल्लाको सैफै गाउँमा भएको थियो । (रासस/एएनआई)