मधु क्षेत्री
आमा तिमी बलात्कृत हुँदा
रमाएर हेर्ने ती कपुतहरु
आमा तिम्रो अस्मितामाथि धावा बोल्दा
ती विषालु नङ्ग्रा काट्न नसक्ने तिम्रा कपुतहरु
निर्लज्ज भएर हेरिरहेछन
आफ्नी आमा बलात्कृत भएको
आमाको शरीर अङ्गभङ्ग भएको
अनि लुछिरहेका ती नरपिचासहरुलाई
टुलुटुलु हेरिरहेछन् ती दुष्ट कपुतहरु
हो आमा ! तिम्रो शरीर बेच्ने ती कपुतहरु
आज चिल्ला कारमा गुडिरहेछन
हवाइजहाज र हेलिप्टरमा उडिरहेछन्
तिमी छटपटाइरहेकी छौ
तिमी पीडा र बेदनामा डुबेकी छौ
तिम्रा शरीरका अङ्गप्रत्यङ्ग
टुक्राटुक्रा पारिँदा पनि
ती कपूतहरु निर्लज्ज र निशब्द भएर
टुलुटुलु हेरिरहेछन्
हो ! हिजोसम्म तिनीहरुले भन्ने गर्थे
आमा चिन्ता नलिनुस्
तिम्रा शरीरसित खेलवाड गर्ने
ती दुष्टहरुलाई सफाया गर्ने छौँ
तिम्रो अस्मिताको रक्षाको निमित
कात्रो बाँधेर रणभूमिमा उत्रने छौँ
तर तर ती सबै ढोङ रहेछ
तिम्रा कपुतका
ती सबै जालझेल रहेछ
ती दुष्टहरुका
जब शक्ति र सत्ताको स्वादमा लिप्त भए
ती कपूतहरु
आमालाई बेचेर जारी खान पल्के
ती दुष्टहरु
तिम्रा शरीरका प्रत्येक अङ्गहरु
काटेर अलग गरिदिए
गण्डकी, कोशी र महाकालीको रुपमा
मालिकलाई भेटी दिए
आमा तिमीभित्र रहेका अनमोल खजानाहरु
कौडीको भाउमा मालिकलाई सुम्पिदिए
तिम्रो सिङ्गो शरीरलाई सात टुक्रा पारिदिए
तिम्रो टाउकोरुपी मानेभञ्ज्याङमा
दुष्टहरु परेड खेल्दा
तिम्रा खुट्टारुपी लिम्पियाधुरा र कालापानीमा
प्रतिकृयावादी दुस्मनले नंग्रा गाड्दा
ति दुष्टहरु टुलुटुलु हेरिरहे
ती कपुतहरु लम्पसार परिरहे
तर आमा यति पीडा सहँदासहँदै पनि
ती साना सपुतहरुलाई
आफ्ना दुधका लाम्टा चुसाएर हुर्कायौ
हो पक्कै पनि आमा, आज ती सपूतहरु हुर्कदै छन्
सानाबाट ठुला हुँदै छन्
तिम्रा शरीरका ती प्रत्येक अङ्गहरु
जोड्नका निम्ति, टाउकोमा कात्रो बेरेर
रणभूमिमा हेलिने छन्
आँधीबेहरी सृजना गर्ने छन्, जनसागर उर्लने छ
स्वाभिमानी र स्वायत्त राष्ट्रका निम्ति
वीर सपूतहरुले, प्राणको आहुति दिन तयार हुनेछन् ।

