काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले स्थानीय निर्वाचनमा राजनीतिक दललाई आफ्नो चिन्ह प्रयोग गर्न नदिनु गैरलोकतान्त्रिक भएको बताउनुभएको छ ।
सोमबार बसेको सर्वदलीय बैठकमा पौडेलले राजनीतिक दललाई आफ्नो चिन्ह प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिक दल निर्वाचन आयोगमा दर्ता हुँदा प्राप्त गरेको चिन्ह उसको सम्पती भएकाले निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो ।
‘राजनीतिक दलले प्राप्त गरेको चुनाव चिन्ह उसको सम्पती हो । त्यो सम्पतीलाई प्रयोग नगर भन्न मिल्छ ?’ पौडेलले भन्नुभयो, ‘यदी चुनाव चिन्ह प्रयोग गर्न नदिने हो भने किन दल दर्ता गर्ने ?’
दललाई आफ्नो चिन्ह प्रयोग गर्न नदिनु सैद्धान्तिक, व्यवहारिक दुवै दृष्टिकोणले सही नहुने पौडेलले बताउनुभयो ।
‘राजनीतिक दलले आफ्ना उम्मेदवारलाई टिकट दिँदा निर्वाचन चिन्हसहित दिनुपर्छ । निर्वाचित जनप्रतिनिधि दलप्रति उत्तरदायी हुने एउटा आधार पार्टीको चिन्ह पनि हो । जसलाई जे मन लाग्छ त्यही चिन्ह लिएर निर्वाचनमा जाउ भन्दा उ कसरी दलप्रति उत्तरदायी हुन्छ ? पौडेलको प्रश्न थियो ।
नेत्री पौडेलले राखेको विषयमा गृहमन्त्री बालकृष्ण खाँणले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले यो विषयमा निर्वाचन आयोगसँग सल्लाह गरेर एउटा निष्कर्षमा सरकार पुग्ने पनि जानकारी दिनुभयो ।
‘माननीय दुर्गा पौडेलले राखेको विषय गम्भीर छ । मैले यो विषयमा सबै दलको ध्यानाकर्षण गराउँछु’ गृहमन्त्री खाँणले भन्नुभयो, ‘यस विषयमा निर्वाचन आयोगसँग पनि सल्लाह गरेर सरकार एउटा निष्कर्षमा पुग्छ ।’
निर्वाचन आयोगले कानुनमा भएको व्यवस्था भन्दै राष्ट्रिय मान्यता प्राप्त नगरेका दललाई स्थानीय निर्वाचनमा सम्बन्धित दलको चुनाव चिन्ह नदिने जनाएको छ । राष्ट्रिय मान्यताप्राप्त दल हुन प्रतिनिधि सभामा एक सिट र समानुपातिकतर्फ कम्तिमा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ ।
सोही विषयमा राजमो अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले आजै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो ।
सो प्रतिनिधिमण्डलमा सहभागी अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष अधिवक्ता पदम रोकाले निर्वाचन चिन्ह प्रयोगबारे राष्ट्रिय मान्यता प्राप्त नगरेका दललाई चिन्ह दिनुहुँदैन भनेर कानुनमा नलेखिएको स्पष्ट पार्नुभयो ।
जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस विषयमा थप छलफलको आवश्यकता रहेको बताउनुभएको थियो ।