काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि मुद्दाको पेशी तोक्दा गोला प्रक्रिया लागू भएको छ । यसअघि प्रधानन्यायाधीशको तजविजका आधारमा पेसी तोक्ने गरिएकोमा आजदेखि गोलाप्रथा लागू गरिएको हो ।
सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरेपछि प्रधानन्यायाधीश राणा गोला प्रथा लागू गर्न सहमत हुनुभएको थियो ।
अब प्रधानन्यायाधीशको चाहनाअनुसारको इजलासमा मुद्दा पार्ने प्रवृत्तिको अन्त्य हुनेछ भने वर्षौंदेखि थन्किएका मुद्दाले पनि पालो पाउनेछन् । मुद्दाको पेसीका विषयमा न्यायालयमा बारम्बार भइरहने विवाद अन्त्य हुने, बिचौलिया, भ्रष्टाचारजस्ता विकृति घट्ने अपेक्षासमेत गरिएको छ ।
अहिलेसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशले दैनिक रूपमा मुद्दाका पेसी तोक्दै आएका छन् । प्रधानन्यायाधीशको मनपरीले लामो समयसम्म मुद्दामा पालो नपाउने, आफूखुसी चलेको, पारदर्शी नभएको, विचौलिया र भ्रष्टाचार बढेको व्यापक गुनासो आएपछि सुधारका लागि विकल्प खोजिएको थियो।
यसअघि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले न्यायालय सुधारका लागि अटोमेसनबाट पेसी तोक्न सुझाव दिएको थियो । सर्वोच्चमा राफल (गोला प्रक्रिया) प्रणालीबाट पेसी तोक्ने विषयमा निकै छलफल भए पनि प्रक्रियामा जान सकेको थिएन । गत भदौदेखि नै गोला प्रक्रियामा जाने भनिए पनि सुरु हुन सकेको थिएन ।
आन्दोलनमा रहेका न्यायाधीशहरूको अडानका कारण सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रक्रिया लागू गर्न संशोधित नियमावली र निर्देशिका पास गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालत दोस्रो संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि आज देखि लागु हुने निर्णय पूर्ण बैठकले गरेको थियो ।
यो पनिः ‘बारको आन्दोलन न्यायपालिकाभित्रको विकृतिविरुद्धको विस्फोट हो’ (अन्तर्वार्ता)