रबट । मोरक्कोमा २६ नयाँ सांसद निर्वाचित भएका छन । केही दिनअगाडि भएको निर्वाचनको नतिजानुसार अहिलेसम्म २६ जना निर्वाचित भएका हुन । निर्वाचन आयोगले अहिलेसम्म २६ जना निर्वाचित भएको घोषणा गरेको जनाएको छ ।
अहिलेसम्म निर्वाचितमध्ये १४ जना प्रत्यक्ष र अरू १२ जना अप्रत्यक्ष निर्वाचित भएका पनि आयोगको अधिकारीहरूले जानकारी दिएका छन् ।
मोरक्कोमा ३३ जना सांसद निर्वाचित हुने गरी प्रतिनिधि सभाको सातौँ चरणको निर्वाचन गत आइतबार भएको थियो । अहिले निर्वाचित भएका २६ बाहेक अरू ७ जना मतका आधारमा पछि मनोनित हुने जनाइएको छ ।
तल्लो सदनका नयाँ निर्वाचित सांसदको कार्यकाल आगामी अक्टोबरदेखि सुरु हुने छ । माथिल्लो सभाका सदस्यका लागि आगामी अक्टोबर ५ मा निर्वाचन हुन लागेको छ ।
मोरक्कोमा शुक्रबार मात्रै नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैटौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुभएको हो । नेसनल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई) का अध्यक्ष समेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारी समेत राजाले दिनुभएको छ ।
यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरवारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ । निर्वाचनमा उहाँको पार्टीले जित हासिल गरेको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अजिज अहिले ६१ वर्षको हुनुभएको छ । उहाँले सन् २००७ देखि २०१७ सम्म कृषिमन्त्रीका रूपमा सेवा गर्नुभएको थियो ।
उहाँको आगमनसँगै जस्टिस एन्ड डेभ्लभमेन्ट पार्टीको सरकार अन्त्य भएको छ । सो पार्टीले गत सन् २०११ देखि गठबन्धन सरकार चलाउदै आएको थियो ।
मोरक्कोमा गत बुधबार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो । (रासस/सिन्ह्वा)