गोपाल गिरी ##
परापूर्व कालदेखि गाउँसमाजमा विभिन्न चाडपर्व मनाउने प्रथालाई निरन्तरता दिने गरिएको छ । धर्मसंस्कृति र परम्परानुसार सबै पर्वको ऐतिहासिक र पुरातात्विक महत्त्व छ । धेरैजसो पर्व धार्मिक आस्थासँग जोडिएको कुरा सत्य हो । सबै पर्वको आआफ्नै विशेषता र महत्त्व भएका कारण हामीले उत्तिकै हर्षोल्लासका साथ मनाउँछौँ । राष्ट्रिय पर्व सामूहिक रूपमा मनाउने गर्दछौँ भने क्षेत्रीय र स्थानीय पर्व भौगोलिकताको आधारमा सम्बन्धित क्षेत्रका विभिन्न जातजाति र धर्मसंस्कृतिअनुसार आआफ्नै तरिकाले मनाउने गरिन्छ ।
चाडपर्वको आगमनसँगै गाउँसमाजमा चहलपहल बढ्ने र घरपरिवारमा खुसियालीको वातावरण हुन्छ । हामी जीविकोपार्जनका लागि विभिन्न पेसा–व्यवसाय गर्न आफ्नो जन्मभूमि, घरपरिवार र गाउँसमाजदेखि धेरै टाढा देशविदेशमा हुन्छौँ । त्यसैले चाडपर्वको विशेष अवसर मिलाएर पारिवारिक मिलनका लागि जन्मभूमिको घरआँगनमा सहभागी हुने सदियौँदेखिको प्रथालाई अनुसरण गरिरहेका छौँ ।
चाडपर्व मनाउने संस्कार धेरै खर्चिलो भएसँगै अनेकौँ विकृति, विसङ्गति र अराजकता भित्रिएको छ ।
हाम्रो देश, गाउँसमाजमा भएका सांस्कृतिक महत्त्वका पर्वको संरक्षण र संबद्र्धन गर्ने पर्वमा हुने जातीय, लैङ्गिक भेदभावको अन्त्य र विविध नकारात्मक पक्षको सुधार गर्दै आम सर्वसाधारण नागरिकले सहज रूपमा मनाउने अवधारणासहित रूपान्तरण हुन जरुरी छ ।
हामी देखिरहेका छौँ, चाडपर्व मनाउने संस्कार धेरै खर्चिलो भएसँगै अनेकौँ विकृति, विसङ्गति र अराजकता भित्रिएको छ । यसरी ऐतिहासिक महत्त्वका पर्व, मौलिक संस्कृति र परम्परामाथि भएका अराजक गतिविधिको भण्डाफोर गर्दै सामूहिक, समावेशी र समतामूलक प्रक्रियाबाट पर्व मनाउने वातावरण बनाउनका लागि कृयाशील सबै सामाजिक सङ्घसस्था, शैक्षिक/बौद्धिक व्यक्तित्व, पत्रकार, मानवअधिकारकर्मी र राजनैतिक पार्टीले पहल गर्नुपर्ने देखिन्छ ।
तिज महिलाको महत्त्वको पर्व हो । बर्खाको समय खासगरी भदौ महिनामा पर्ने तिज कहिलेकाहिँ नेपाली पात्रोअनुसार तलमाथि हुने गर्दछ । सामान्यतया विवाहित दिदीबहिनी माइतीघरमा भेला हुने मिठो मसिनो भोजन ग्रहण गर्ने, जीवनका सुखदुःखका भोगाइ, पीडा, व्यथा, वेदना र भावनाका गीत सृजना गरी आआफ्नै स्वर लयमा व्यक्त गर्ने गरिन्छ ।
गाउँसमाज र विभिन्न ठाउँमा भएका घटना/परिघटना, समसामयिक देशको परिस्थिति र राजनैतिक घटनाक्रमसम्बन्धी र धार्मिक आस्थासँग जोडिएका देवीदेवताका रचनात्मक गीत बनाउने, गाउने र नाच्ने गरिन्छ । रचना गरिएका गीतमा शब्द, भाव र सामाजिक यथार्थताको चित्रण गरिएको हुन्छ ।
पहिले पहिले परिवारका सबै सदस्य सँगै बसेर गीत गाउने, सुन्ने र नाच्ने गरिन्थ्यो । चेलिबेटीहरू माइतीघर जम्मा हुने, शुद्ध साहाकारी भोजनका विभिन्न परिकार बनाउने, आफ्नै खेतबारीमा उत्पादन गरिएका अर्गानिक सागसब्जी, तामा र काँक्राको अचारसहित अनौदीका चामलको खिर, दुध, दही र घ्युजस्ता स्वादिष्ट भोजनको ब्यव्स्थापन हुन्थ्यो । पोसाकतर्फ महिला दिदीबहिनीहरू गुनियो चोली र साडी–ब्लाउजसँगै सामान्य हस्तनिर्मित गरगहनामा सजिएर कुनै निश्चित सार्वजनिक ठाउँमा भेला भएर रमणीय वातावरणमा गीत गाउँदै ढल्की ढल्की गीतको भावअनुसार अभिनय गर्दै वाद्यवादनको सुरतालमा पालैपालो नाचिन्थ्यो । पुरुष दर्शक दिर्घामा महिलाभन्दा पछाडिको पङ्क्तिमा बडो शालीन शैलीमा बसेर दृष्यावलोकन गर्ने चलन थियो । कहिँ कतै लाखेनाच नाचेर रमाइलो गर्ने गरिन्थ्यो । त्यसैगरी, महिला दिदीबहिनीलाई मेलास्थलमा बसाइँ र वाद्यवादनको व्यवस्थापनमा दाजुभाइले सहयोग गर्ने काम हुन्थ्यो । नाचगानको रमाइलो मेला, साँझ अबेरसम्म हुने र नाँच्दै–गाउदै आआफ्नो घर फर्किने गरिन्थ्यो । मेलामा लुठेपिङ र चर्खेपिङ खेलेर आनन्द लिने चलन थियो ।
बेलुकीको खानापछि गाउँघरको टोलछिमेकमा भेला भएर केही समय नाच्ने, गाउने गरिन्थ्यो । त्यो रमणीय पल, दिदिबहिनी र आमाको गीत र नाचले सबैको मन प्रसन्न हुने गर्दथ्यो । भदौ महिनाभर गाउँघर, पाखापखेरा र मेलापातमा गीत गुनगुनाउने गरिन्थ्यो । बिडम्बना ! समय परिस्थिति सँगसँगै पर्वमा परिवर्तन भएको छ ।
गाउँसमाजका व्यक्तिव र महिला दिदीबहिनीको उल्लेख्य सहभागीतामा समूह, सङ्घसंस्थाको लगानीमा हुने समावेशी कार्यक्रमको निरन्तरताले विद्यमान सामाजिक विभेद, छुवाछूत र जातीय असमानता न्यूनीकरण गर्दै समतामूलक समाज निर्माण गर्न मद्दत पुग्ने छ ।
तिज मनाउने सामाजिक संस्कारमा केही वर्षदेखि अलिक फरक खाले परिवर्तन भएको देखिन्छ । परिवर्तित संस्कारअनुसार समाजमा केही सकारात्मक सन्देश प्रवाह गरेको छ भने केही नकारात्मक ।
महिला समूहको नेतृत्वमा सामूहिक दर खाने कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण र समाज रूपान्तरणको आधार बनेको छ । गाउँसमाजका व्यक्तिव र महिला दिदीबहिनीको उल्लेख्य सहभागीतामा समूह, सङ्घसंस्थाको लगानीमा हुने समावेशी कार्यक्रमको निरन्तरताले विद्यमान सामाजिक विभेद, छुवाछूत र जातीय असमानता न्यूनीकरण गर्दै समतामूलक समाज निर्माण गर्न मद्दत पुग्ने छ ।
दरखाने कार्यक्रममा सबै वर्गसमूहका नागरिक, महिला, पुरुष, युवायुवती, बालबालिकादेखि वृद्धवृद्धाको सम्मानजनक सहभागितामा सँगसँगै बसेर भोजन ग्रहण गर्दै शुभकामना सन्देश बाँडनु अनुकरणीय पक्ष हो । तर आजभोलि तिज पर्वको नाउँमा रचना गरिएका गीतसङ्गीत र म्युजिक भिडियोमा अश्लील शब्दको समायोजनले सामाजिक मूल्यमान्यतालाई तिलाञ्जली दिएको छ । परिणामस्वरूप परिवारका सबै सदस्य सँगै बसेर अवलोकन गर्न अप्ठ्यारो स्थिति छ । भर्खरै मात्र बजारमा आएको गायक तथा सर्जक दुर्गेश थापाको तिजीगीत एल्बमले हाम्रो समाजलाई चुनौती दिएको छ । यसरी सामाजिक अस्मितामाथि प्रहार गर्ने भल्गर गीतसङ्गीतका सर्जकलाई हामीले खुलेरै प्रतिकार गर्ने अथवा सामाजिक बहिष्कार गर्नुपर्ने हुन्छ । साथसाथै सांस्कृतिक र मौलिक परम्परालाई संस्थागत गर्दै प्रगतिशील र जनवादी गीतसङ्गीतलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।
आजभोलि तिजको नाउँमा दरखाने कार्यक्रम पनि खर्चिलो र भड्किलो भएको छ । एकडेढ महिनाअगाडि देखि हुनेखाने चेलीबेटी पाँचतारे होटेल, रेस्टुराँमा हल बुकिङ गरी विभिन्न खाद्यान्नका परिकारसहित साउन्ड सिस्टमको ठुलो ठुलो ध्वनि र कोलाहलमय वातावरणमा राती अबेरसम्म कोकटेल÷मोकटेलजस्ता पेय पदार्थको चुस्की लिँदै मच्की मच्की नाचेर रमाउने गरेको पाइन्छ । यसरी होटेल, रेस्टुराँमा हुने कार्यक्रमले सामाजिक संस्कारमा नकारात्मक असर देखिन्छ; जस्तै– आफ्नै शब्दरचना र सहभागीको मुखारबिन्दुबाट गीत गाउने प्रथा लोपोन्मुख हुँदै रेकर्डिङ गीतसङ्गीतमा नाच्ने प्रक्रियाको थालनी भएको छ ।
होटेलमा आयोजित कार्यक्रममा न्यून सङ्ख्यामा धनाड्य महिलाको सहभागिता हुने हुँदा धनी र गरिबबिचको विभेद यथावत रहन्छ । त्यसैगरी मुट्ठीभर महिला अत्याधुनिक गरगहनामा धपक्कै सजिएका, गीतको भाव, बाजाको सुरतालभन्दा फरक नृत्य प्रस्तुति र हातमा बाह्रखरी वर्णमाला पुस्तकभन्दा ठुलो मोबाइल समाइएको दृश्य देख्न सकिन्छ ।
पोसाकमा साडी र ब्लाउजको सम्बन्ध नङ र मासुको जस्तै घनिष्ट हुनुपर्ने तर परिवर्तित अवस्थामा साडीको पल्लु हराइसकेको ब्लाउज दिनानुदिन आकारमा खुम्चिएर भित्री वस्त्र (ब्रा) भन्दा सानो भइसकेको, संवेदनशील अङ्ग अर्धनग्न अवस्थामा रहेको पाइन्छ । साडी र ब्लाउजबिचको भाग बेलिपेटमा ट्याटु खोपिएको र नाककानमा लगाउने गहना कहिँ कतै नाभीमा झुन्डाइएको जस्ता पश्चिमेली मुलुकको विकृत भेषभूषा विकसित हुँदै गएको छ । मौलिक गरगहना र पोसाक लोपोन्मुख अवस्थामा छ । महिला दिदीबहिनी गीतसङ्गीतअनुसार अभिनय र नृत्यभन्दा आफ्ना गरगहना, मोबाइल र चेहरा क्यामेरामा कैद गर्न ध्यानाकर्षण रहेको पाइन्छ । शुद्ध साकाहारी भोजनको सट्टा माछामासु अनिवार्य जस्तै भएको छ ।
हामी आफ्नो संस्कृतिको जगेर्ना र संवद्र्धनको नाउँमा कैयौ विकृति र विसङ्गतिलाई प्राथमिकता दिइरहेका छौँ । समाजमा देखा परेको विकृति–विसङ्गतिको अन्त्य गर्न र समाज रूपान्तरणको आन्दोलनमा प्रगतिशील महिलाको सक्रियता, एक्यबद्धता र एकताको आवश्यकता छ ।
उल्लेखित घटनाक्रमले गाउँसमाज, मौलिक संस्कृति, परम्परा र भावी पुस्तामा कस्तो सन्देश प्रवाह गर्ला ? सभ्य नागरिकको हैसियतले हामी गम्भीर हुनुपर्ने हो कि ? हरेक क्षेत्रमा किन गलत प्रवृत्तिको सिको गर्दै छौँ हामी ? हामी सबैले विशेष गरी दिदिबहिनीले सकारात्मक पहल गर्नुपर्ने हुन्छ । महिलामुक्ति आन्दोलनको वकालत गर्ने, महिला पुरुष बराबरीको चर्को भाषण गर्ने, लैङ्गिक हिंसा र नारी स्वतन्त्रताको बहस गर्ने तर समाजमा देखिएको सांस्कृतिक विचलन न्यूनीकरण गर्न किन मौन ? दिन–प्रतिदिन किन हाम्रो संस्कृतिमाथि आक्रमण गरिदै छ ? आदि–इत्यादि प्रश्नको समाधान गर्नुपर्ने चुनौती थपिएको छ ।
हामी आफ्नो संस्कृतिको जगेर्ना र संवद्र्धनको नाउँमा कैयौ विकृति र विसङ्गतिलाई प्राथमिकता दिइरहेका छौँ । समाजमा देखा परेको विकृति–विसङ्गतिको अन्त्य गर्न र समाज रूपान्तरणको आन्दोलनमा प्रगतिशील महिलाको सक्रियता, एक्यबद्धता र एकताको आवश्यकता छ ।
तिजलाई सामान्य पर्वको रूपमा मनाऔँ । ब्राभन्दा सानो ब्लाउज लगाउने, पेटमा ट्याटु देखाउने, नाभीमा मुन्द्रा लगाउने र अर्धनग्न शरीर देखाउने जस्ता प्रचलनको विरोध गरौँ । सकेसम्म आफ्नो टोल, छिमेक, गाउँसमाजमा भएका दीनदुखी र गरिबीको रेखामुनि बाचिरहेकासँग आफ्नो घरमा बनेको मिठो मसिनो खाद्यान्न बाडेर खाने मानवीय संस्कार थालनी गरौँ । भोकै, प्यासै ब्रत बसेर पुण्य प्राप्ति गर्ने धार्मिक धारणा परिवर्तन गरौँ ।
कोभिड–१९ को तेस्रो चरणदेखि सावधानी र सतर्कता अपनाउँदै सर्वसुलभ, समावेशी र समतामूलक पर्व मनाउने अभियानमा हातेमालो गर्न विनम्र अनुरोधसहित नेपाली नारीको पर्व तिज–२०७८ को हार्दिक शुभकामना ।