काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियता र राष्ट्रिय मुद्दाको संरक्षणका लागि वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्।
आइतबार राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारी ठगीको जालो’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले वामपन्थी आन्दोलन कमजोर हुँदा देश अस्थिरता र अनिश्चिततातर्फ गएको बताए।
उनले नीति, सिद्धान्त, आदर्श तथा वैचारिक–राजनीतिक दिशाका आधारमा वामपन्थी एकता गर्नुपर्नेमा जोड दिए। नेताहरूबीच मात्र सहमति गरेर गरिने एकता दिगो नहुने उनको भनाइ थियो।
खनालले कम्युनिस्ट आन्दोलनले आफूलाई देशभक्तिपूर्ण आन्दोलनका रूपमा अघि बढाउँदै आए पनि विगतका गलत निर्णय र सम्झौताका कारण राष्ट्रियता गम्भीर अवस्थामा पुगेको बताए।
यस्तै, उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न विद्यमान नीति तथा कानुनमा आवश्यक संशोधन गरी सहकारी क्षेत्रलाई बलियो बनाउने नयाँ नीतिगत तथा कानुनी आधार निर्माण गर्नुपर्ने बताए।

