चिदम्बरम, २० सेप्टेम्बर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, चिदम्बरम नगर समितिअन्तर्गत सेतियातोप एरिया समितिको २१औँ वार्षिक एरिया सम्मेलन भव्य र शानदार रूपमा सम्पन्न भएको छ।
देशमा नयाँ व्यवस्था स्थापना गर्न आफ्नो ज्यानको आहुति दिने ज्ञात–अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गर्दै सुरु भएको उक्त सम्मेलनमा उपस्थित सम्पूर्ण जनसमुदायलाई शब्दद्वारा प्रेमप्रसाद पराजुलीले स्वागत गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक कलाकारहरूले गीतमार्फत स्वागत गरेका थिए।
सम्मेलनका प्रमुख अतिथि तथा क्षेत्रीय सदस्य श्री गोविन्द शर्माले मैनबत्ती बालेर सम्मेलनको उद्घाटन गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले राष्ट्रिय स्वाधीनतामाथि विदेशी चलखेल बढिरहेको सन्दर्भमा देशको बहुमूल्य खनिज पदार्थ युरेनियम विदेशीले हडप्ने योजनाअनुसार प्रधानमन्त्रीले मुस्ताङ भ्रमणका क्रममा सम्झौता गरेको हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो।
उहाँले भारतस्थित प्रवासी नेपालीहरूले पनि देशको सार्वभौमिकता र राष्ट्रिय खनिज सम्पत्तिको संरक्षणका लागि नयाँ आन्दोलन उठाउनुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो।
उक्त सम्मेलनमा पाण्डीचेरी नगर समितिका उपाध्यक्ष तथा सम्मेलनका अतिथि गमबहादुर विकले सम्मेलनको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सम्मेलनले बालकृष्ण गायकलाई अध्यक्षमा चयन गर्दै ७ पूर्ण र २ वैकल्पिक गरी ९ सदस्यीय नयाँ एरिया समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा प्रेमप्रसाद पराजुली, सचिवमा हेम बिजी, सहसचिवमा रेजिना गायक, कोषाध्यक्षमा गोकुलबहादुर गायक तथा सदस्यहरूमा होमबहादुर जिसी र खेमकुमारी जिसी चयन हुनुभएको छ। त्यसैगरी, वैकल्पिक सदस्यमा प्रेमबहादुर गायक र लिला गायक चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई नगर अध्यक्ष एवं सम्मेलनका अतिथि नारायण शर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो।
उक्त सम्मेलनको अध्यक्षता बालकृष्ण गायकले गर्नुभएको थियो भने सञ्चालन हेम बिजीले गर्नुभएको थियो।

