सुन्नुमा होला बाबा र आमा, दाजु र भाइले,
हली, ठिगारे, खेताला अनी घर मालिक सबैले।
असारे महिना रमझम वर्षा खेत र बारीमा,
खान नी अबेर हुन्थ्यो नी
भात खानलाई थालीमा।।
आहा…
बाली गीतहरु गाउँदै नाच्दै संस्कृती झल्काउँथे,
हलीले हलो जोतेर खेतमा छेउकुना फर्काउँथे।
ठिगारे दाइले लाएको आली लपक्कै लिपे झैँ,
दिनभरी रोपाईं गरिन्थ्यो खेतमा धानको बिउ भिजे झैँ।।
आहै….
धेरै भो अब परदेशी जीवन परदेश मै गयो दिन,
टप्किन्छ आँसु यो गहभरी, सम्झेर एकै छिन।
न खेत रोप्नु न कोदो गोड्नु न मकै खन्नु छ,
दुःखै दुःखमा रमाउने किसान धन्यबाद भन्नु छ।।
आहै….
हलगोरु लाग्ने ती खेतहरुमा ट्रयाक्टर पसी गो,
झन् पीडा हेर्दा ती मजदुरको मजदुरी खोसियो।
धान काट्ने मसिन, घाँस काट्ने मसिन सुख चाहियो सबैलाई,
त्यो आफ्नै शरीर गल्दै झन् गयो था छैन कसैलाई।।
आहै….
अर्मो र पर्मो गरेर दिन काटिन्थ्यो पहिले त,
पैसा कै कुरा चहल पहल सुनिन्छ ऐले त।
अधियाँ, ठेक्का गरेर बारी खेत रोप्थे पहिले त
सिरू र पाती उम्रेका जमीन देखिन्छन् अहीले त।।
आहै…
आँटो र ढीँडो खाँदा पो मुख देखिन्थ्यो रसिलो,
पौरख गरी खाएको दुध घिउ हुन्थ्यो नी पोसिलो।
बल्न पो छोड्यो ती चुलो अब गोठ पनि रित्तियो,
बाँझै छन् बारी आस गरी खान विदेशी तरकारी भित्रियो।।
आहै…
बिरामी पर्दा जडी र बुटी वन जंगल मासियो,
दिनदिनै हाम्रो संस्कृति पनि मासियो साथी हो।
न गाउँमा तीज रमाईलो हुन्छ, न दसैँ–तिहार,
परदेशी जीवन बाध्यता भयो मलिनो मुहार।।
आहै…..
(रचना–जुना चालिसे, मालिका गाउँपालिका ६ अर्जै गुल्मी, हाल चंडिगढ, भारत)