आफैँ बोल्ने मान्छे किन
बोलाउँदा नि बोल्नु हुन्न ?
धेरै दिन भो निदाएको
किन आँखा खोल्नु हुन्न ?
छिट्टै उठ्नुहोस् माटो भित्र
फेर्न स्वास गाह्रो हुन्छ ।
रगत जिऊमा जम्यो भने
मुटु पनि साह्रो हुन्छ ।।
फर्कि किन आउनु हुन्न
निष्ठुर किन बन्नु भयो ?
हामीसँग टाढा हुँदा
नत जान्छु भन्नु भयो ।।
मुटु बन्द हुने बेला
आँशु मात्र झार्नु भयो ।
बाँच्ने समय लामो छँदै
शोकाकुलमा पार्नु भयो ।।
कति इच्छा थिए होलान्
जीवन भरि पुरा गर्ने ।
भन्न पनि पाउनु भएन
स्वास रोकियो कुरा गर्ने ।।
छोरा छोरी बेहाल भए
किन अझै आउनु हुन्न ?
घरमा जस्तो माया अब
अर्को संसार पाउनु हुन्न ।।
बाँच्ने मान्छे जिउँदै जल्छन्
किन मान्छे मर्ने गर्छन् ?
सम्झि सम्झि जीवन भरी
पलपल आँशु झार्ने गर्छन् ।।
विश्वास अझै ला’को छैन
यि आँखाले जिउँदै देख्छ ।
प्रदेश घुम्न गाको जस्तै
यी हातले पत्र लेख्छ ।।
धड्कन बन्द भयो भन्छन्
आँखा वरिपरि झलझली ।
साँच्चै मृत्यू हो नै भने
हार्दिक अन्तिम श्रद्धाञ्जली ।।
(कवि हेम विजीले आफ्नी भाउजु बविता गायकको स्मृतिमा लेख्नुभएको कविता । बाग्लुङ नगरपालिका–१२ घर भइ प्रवास भारतमा कार्यरत बविताको गएको जेठ २८ गते निधन भएको थियो ।)