विमल पोखरेल
कुनै पनि व्यक्तिको दीर्घ जीवन मलाई विशेष लाग्छ । जब कुनै वृद्ध मान्छे ठमठम हिंडेको देख्छु, मनमा श्रद्धा पैदा हुन्छ । सानोतिनो तपस्याले दीर्घजीवन बाँच्न सकिंदैन । दीर्घ जीवन बाँच्नको लागि दुई वटा कुराको आवश्यकता पर्छ, एक भोजन र सक्रिय जीवनशैली, दुई सकारात्मक सोच र व्यवहार ।
मेरो हजुरबुबालाई बुबाले पनि देख्न पाउनुभएन । अहिले बुवा नै ६८ वर्षको हुनुभयो । पूरा स्वस्थ हुनुहुन्छ । हजुरबुबा वित्नुभएको केही समयपछि बुबा जन्मिनुभयो । म ५ कक्षामा पढ्दा ८३ वर्षको उमेरमा हजुरआमा पनि वित्नुभयो । गत वर्ष मावली हजुरआमा पनि वित्नुभयो । मावली हजुरबुबालाई पनि मैले देखिन । यसरी अब मैले चाहेर पनि उहाँहरुसँग भेट गर्न सक्दिन । मावली हजुरआमाको किन किन मप्रतिको लगाब बेग्लै थियो । तर रोगको कारण दीर्घजीवन बाँच्न सक्नुभएन ।
पाको उमेरका व्यक्तिहरुसँगको संगत गर्नु, उहाँहरुसँग कुराकानी गर्नु, त्यतिबेलाको समय बुझ्नु केही न केही उपलब्धिमूलक हुन्छ । स्मरणहरु जीवन्त रहन्छन् । अग्रजहरुप्रति सम्मान पनि बढ्छ । अग्रजहरुसँग मेरा आफ्ना केही अनुभव छन् ।
खगुलाल गुरुङ

कम्युनिष्ट आन्दोलनमा खगुलाल चिनिएकै नाम हो । म २०६३ माघ १२ गते प्यूठानका पुराना नेता खगुलाल गुरुङसँग भेट्न गएँ । त्यतिबेला उहाँ ८८ वर्षको हुनुहन्थ्यो । त्यसभन्दा अगाडि उहाँलाई कार्यक्रमा देखेको मात्रै थिएँ । उहाँ कम्युनिष्ट पार्टीको कार्यकर्ता भए पनि प्रधानपन्चमा चुनाव जित्नुभएको थियो ।
पञ्चायतकालमा जनताले आफूलाई कसरी घरमै आएर चुनावमा उठ्न बाध्य बनाएका थिए भनेर रोचक तरिकाले भन्नु भएको थियो । उहाँ नउठे जनताले भोटै नहाल्ने भनिदिएपछि चुनावमा उठ्नुभएछ । जनताको काम भनेपछि दिन रात नभनी खट्ने उहाँको बानीकै कारण उहाँलाई कहिल्यिै असन्तोष प्राप्त भएन । सँधै प्रफुल्ल । सधैंभरी खुशी नै खुशी ।
अहिले १ सय २ वर्षको हुनुभयो । आँखाको तेज कत्ति पनि घटेको छैन । चस्मा नलगाइ पत्रपत्रिका, पुस्तक पढ्न सक्नुहुन्छ । कान भने कम सुन्नुहुन्छ । २०७० सालकोे संविधानसभाको चुनावमा नारीकोटको चउरमा एउटै मञ्चबाट दुवै जनाले भाषण गरेका थियौं । नारीकोटस्थित घरमा कैयौंपटक उहाँलाई भेट्न पुगेको छु । दुई वर्ष पहिले उहाँको शतवार्षिकीमा घलेगाउँबाट उहाँलाई भेट्नको लागि प्यूठान पुगेको थिएँ । आफ्नो शतावार्षिकीमा दिएको करिब ७ मिनेट लामो भिडियो खिचेर पोष्ट गरेको थिएँ । अहिले पनि त्यो भिडियो हेर्न सकिन्छ । उहाँले गहकिलो विचार व्यक्त गर्नुभएको छ ।
शान्त जीवनशैली, जनताको काम गरेपछि प्राप्त भएको प्रसन्नता, त्यहाँको शिक्षा, स्वास्थ्य, राजनीतिक र सामाजिक कामले दिएको सन्तुष्टि व्यक्त गर्नुहुन्छ । तीन वर्षपहिले सांसद विकास कोषबाट भए पनि उहाँले स्थापना गरेको स्कुललाई स्तरोन्नति छिटो गर्नुपर्छ भनेर झकझाउनुभएको थियो । त्यो स्कुल स्तरोन्नति पनि भयो ।
मेहरसिंह एमसी

बाँदीकोट गाविसका अध्यक्ष (२०४९) मेहरसिंह एमसी अहिले ९३ वर्ष पुग्नुभयो । जतिबेला उहाँले जनताका काम गर्नुहुन्थ्यो, त्यतिबेला उहाँ उभिएपछि न्याय उभिन्थ्यो । प्रत्येक वडामा डुलेर जनताका समस्या सुन्ने गर्नुहुन्थ्यो । उहाँलाई मान्छेहरुले जनतासँग रुखो बोलेको सुनेका छैनन् । कालो वर्णका एमसीको राजनीतिक र सामाजिक चमक मेरो लागि प्रेरणा बन्थ्यो । भाषण गर्न त्यति आउदैन थियो, तर बसेर कुरा गर्न धेरै नै सिपालु हुनुहुन्थ्यो ।
लामो राजनीतिक सामाजिक जीवनमा त्यसक्षेत्रमा अन्याय ग¥यो भन्ने मान्छे भेट्न मुस्किल पर्दछ । सबैका प्रेरणाका स्रोत । एक पटक पार्टीको बैठकमा बुबाभन्दा छोरा बूढो देखिनुभयो भन्ने चर्चा चलेको थियो । खासमा माहिला छोरा भन्दा पनि जवान देखिनुको राज के थियो ?अग्लो कदका मेहरसिंहको टोपी सधैं जवान रह्यो ।
बरु युवाहरुले पार्टीका भेला बैठकमा जान अल्छी गर्ने गर्छन्, तर मेहरसिंह एमसीले अत्यावश्यक काम परेबाहेक छुटाउनुहुन्न थियो । फरासिलोपना उहाँको मुख्य विशेषता हो । २०६३ साल माघमा उहाँकै घरमा बस्ने उद्देश्यका साथ त्यहाँ पुगें । धेरै कुराकानी भए ।विहान फोटो खिच्यौं । ती फोटो अझै पनि सुरक्षित छन् । नातिनातिनासँग खेलेरै समय विताउन सक्ने खुबी छ । २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीले चुनाव जितेपछि चुनावी कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । उहाँसँग दर्जनौं भेला, बेठक र अन्य भेटघाटका अनुभवहरु छन् ।जसले उहाँप्रति मेरो सम्मान बढेर आउँछ ।
नरबहादुर खड्का

बाँदीकोट गाविसका पूर्व उपाध्यक्ष (२०५४) नरबहादुर खड्का २०४९ मा वडा अध्यक्ष उठ्नुभयो र जित्नुभयो । उहाँले ३ सय ५० भन्दा धेरै भोट ल्याएर जित्नुभयो । उहाँको विपक्षमा २४ भोट आएछ । त्यसपछि उहाँलाई दुई तीन दिनसम्म निद्रा नै लागेनछ । मैले यतिका वर्ष जनताको सेवा गरेर कसको चित्त दुखाएछु त ? त्यसले मलाई धेरै चिन्तित बनायो भनेर मसँग भन्नुभएको थियो । उहाँलाई विपक्षी पार्टीबाट उठेका परिवारका सदस्यबाहेक अरु सबैले भोट दिन्छन् भन्ने दृढ विश्वास रहेछ । उहाँलाई हालसम्म आफू धेरै रिसाएको सम्झना छैन रे ।बृद्ध उमेरमा पनि सदस्यता दिनको लागि आफै खटिने गर्नुहुन्थ्यो । केही वर्ष पहिले उहाँसँग गाउँभरी पार्टीको सदस्यता अभियान लिएर घरघरै गएको सम्झना छ ।
एकपटक खलंगाबाट हिंडेर बाग्दुलासम्मसँगसँगै झ-यौं । उहाँले आफू उपाध्यक्ष हुँदा त्यतिबेलाका अध्यक्ष पितबहादुर एमसीसँगका अन्तरविरोधहरुको नालीबेली सुनाउनुभएको थियो । ती अन्तरविरोधहरु सार्वजनिक गर्नु उपयुक्त हुँदैन । तर ती मेरो लागि धेरै शिक्षाका कुरा पनि हुन् । एउटा अनपढ व्यक्तिले शिक्षित व्यक्तिसँगका त्यति धेरै अन्तरविरोध कसरी झेल्न सक्नुभयो ? बाहिरबाट हेर्दा पार्टीले चुनाव जिते पनि गाविसको काम गराइको कार्यशैलीमा अध्यक्षसँग अन्तरविरोध पेचिलो थियो ।
किसान अदालतको कारवाहीका समयमा कांग्रेसहरुले षड्यन्त्र गरेर उहाँलाई कसरी फसाए र उहाँले कसरी मुद्दा जित्नुभयो ? ती मुद्दाका कथा सामान्य थिएनन् । तैपनि उहाँले जित हासिल गर्नुभयो । कांग्रेसहरुले हालेका झुट्टा मुद्दा झेलेर स्थापित भएको एउटा हाँसिरहने, अनुहारमा बेग्लै चमक भएका खड्का अहिले पनि पार्टीको काममा उत्तिकै सक्रिय रहनुभएको छ ।
दोस्रो चुनावमा उहाँ कसरी उपाध्यक्ष उठ्नुभयो, त्यतिबेलाको पार्टीको परिस्थिति कस्तो थियो ? पार्टीले कसरी निर्णय लिनुपथ्र्याे ? यस्ता धेरै अनुवभ बताउनुभएको थियो ।
पार्टी फुट भएर गाविस अध्यक्ष नै अन्यत्र जाँदा सिंगो पार्टी कसरी जोगियो ? उहाँले व्यक्त गर्नुभएका धेरै कारण स्मरण गर्न लायक छन् । पार्टी फुटको समयमा कसैले धेरै पढेको छु भनेर हामीसँग धाक नलगाए हुन्छ, हामीले गरेका हौं जनताका काम, जनता हामीसँग छन् भन्ने लाग्थ्यो, जनताप्रति उहाँको त्यो विश्वास गज्जबको थियो । जनताले साथ दिन्छन् भन्ने दृढ अठोटका साथ पार्टीलाई जोगाएका घटना गज्जब छन् । नरबहादुर खड्का र चित्रबहादुर केसीको शैली एउटै छ, कोही मान्छे भेट भयो कि गज्जबसँग आफूले भोगेको समयका कुरा गर्न सक्ने । छोराछोरीहरु नै ५०–६० वर्षका भइसकेका छन् । सबैलाई अझै पनि बच्चालाई जसरी माया गर्नुहुन्छ ? उहाँको माया गर्ने शैली नै अनौठो छ ।
अहिले उहाँले स्वस्थ तरिकाले ८१ वर्षमादीर्घजीवन बाँचिरहनुभएको छ । उहाँलाई सम्झना भएसम्म गोठमा दुहुनो टुटेको कुनै दिन छैन । लैनाबकेर्ना भैंसी पालेरै बस्नुभएको छ । ८१ वर्षसम्म अगेनामा दूध उमाल्न सक्नु सामान्य मेहनतले हुँदैन । हामी उहाँको घरमा त जान्छौं नै, उहाँ पनि हाम्रो घरमा निरन्तर आइरहनुहुन्छ । बुबासँग पनि उत्तिकै राम्रो सम्बन्ध छ ।
डण्डबहादुर खत्री

बाँदीकोट गाविसकै पूर्व उपाध्यक्ष (२०४९) डण्डबहादुर खत्री अहिले ८१ वर्षको पुग्नुभयो । उहाँले २०२२ मा एसएलसी पास गरेर जागिर नखाइकनै खेती किसानी र सामाजिक काममा लाग्नुभएको थियो । प्यूठानको आहलखोला आलु, मूलालगायत खेतीको लागि प्रसिद्ध छ, त्यो मूलतः खत्रीकै योगदान हो । उहाँलाई पार्टी काम र कृषि कर्म दुवैमा कृष्णप्रसाद शर्माले सुरुदेखि नै साथ दिंदै आउनुभयो । गाउँका किसानलाई नयाँ नयाँ बीउ ल्याएर लगाउन दिनु, राजनीतिक र सामाजिक काम गर्नु उहाँको जीवनका मुख्य गतिविधि हुन् । लेख्नपढ्न असाध्यै ध्यान दिने गर्नुहुन्छ ।
गाउँमा बसेर धेरै पढ्नेमध्ये पर्नुहुन्छ उहाँ । फुर्सदको समयमा बसेर पढ्ने, सुन्न चाहने मान्छेहरुलाई सुनाउने गर्नुहुन्छ । जागिरको कुनै लोभ नगरी कृषक जीवन रोज्नु रोचक पक्ष हो । त्यसले समाजलाई ठूलो योगदान पुगेको छ । तर कतिपय मान्छेहरु अझै पनि जागिर खाएको भए कति सम्पन्न भइसक्नुहुन्थ्यो भन्छन् । जागिरले उहाँमात्रै सम्पन्न हुनुहुन्थ्यो, तर सामाजिक, राजनीतिक र कृषि कामले धेरैलाई सम्पन्न हुन सिकाउनुभएको छ ।
देशमा घट्ने हरेक गतिविधिलाई विश्लेषण गर्न सक्ने क्षमता रहेको छ । राष्ट्रिय जनमोर्चाले २०६६ बैशाखमा सञ्चालन गरेको काठमाडौं केन्द्रित आन्दोलनमा उहाँ एउटा आकर्षणको केन्द्र हुनुहुन्थ्यो । मान्छेसँग भेट्न उहाँले धेरै रुची राख्नुहुन्छ । एक दिन भैरव रिसाललाई फोन गर्नु, मलाई नम्बर पत्ता लगाइदेउ भनेर नातिलाई भन्नुभएछ । मैले फोन नम्बर दिएपछि फोन गर्नुभएछ । अनुशासन कस्तो हुनुपर्छ भन्ने कुरा डण्डबहादुरबाट सिक्नुपर्छ । अहिले स्वस्थ ढंगले दीर्घ जीवन बाँचिरहनुभएको छ ।
उमनाथ पोखरेल

बाँदीकोट गाविसमै उपप्रधानपञ्चमा चुनाव जितेका उमनाथ पोखरेल कडा मिजासका व्यक्ति हुनुहुन्थ्यो । उमेरले म भन्दा ४२ वर्ष जेठो । उहाँले मलाई धेरै नै माया गर्नुहुन्थ्यो, विशेषगरी सानोमा संगठनमा लागेको र जहाँसुकै कार्यक्रममा हिंड्ने बानीका कारण । २०५४ को स्थानीय चुनावमा राती दश बजेको समय हुनुपर्छ, बाँदीकोटको चिप्लेटी छेँडामा बसेर पार्टीको पक्षमा उहाँले निकै कडा निर्णय लिनुभएको थियो, यद्यपि त्यो निर्णय कार्यान्वयन गर्नु परेन । स्कुले केटाकेटी भए पनि रातभर घण्टौं मार्च पास गरेका थियौं । हामीले चुनाव जित्यौं । उहाँले रातभर जागै बसेर हामीलाई खटाउनुभएको थियो ।
एक दिन उहाँले मैले जति कुरा तिमी र लीलासँग भनेको छु, त्यति सबै कुराहरु मेरा छोराहरुलाई पनि भनेको छैन भन्नुभएको थियो । लीला विद्यालय पढ्दा देखि नै राजनीतिमा लागेर हामीलाई पनि कुनै न कुनै रुपमा प्रोत्साहन गर्नुभयो । म बुटवल पढ्न आएको समयमाउमनाथ बुबा दिनभरजसो मेरो कोठामा आएर पुराना कुरा सुनाएर जानुहुन्थ्यो । हामीले पढेको श्री अमर प्राथमिक विद्यालय स्थापनाको लागि उहाँहरुले गरेको संघर्ष र लडेको लडाइँ सानो थिएन भन्ने बुझिन्छ । अब गाउँ बनाउने तिमीहरुले हो, पुराना कुराबाट सिक्नुपर्छ भन्ने कुरामा जोड दिनुहुन्थ्यो ।
उहाँले आफू उपप्रधानपञ्च जितेको र बहुदल आएपछि मसालमै सक्रिय रहनुपर्ने विभिन्न कारणहरु खुलाउनुभयो । त्यो मध्ये एउटा कारण यस्तो थियो, परिस्थिति फेरिएपछि म उस्तै बसेर हुँदैन थियो, त्यसैले तिमीहरुजस्ता केटालाई साथ दिएँ । त्यतिबेला मसाल धेरै हदसम्म केटाहरुको पार्टी थियो । तर केही मान्छेले पञ्चायतमा जितेको मान्छे मसालमा किन गएको होला भनेर धेरैले आलोचना गर्दथे । तर छोटै समयमा युवाहरुको मन जित्न सक्नु उहाँको खुबी पनि थियो ।
पञ्चायतकालमा बाँदीकोटमा भयंकर क्षेत्रीयता रहेछ, प्रधानपञ्चमा उठ्नुपर्ने क्षमतावान मान्छे भएर पनि उहाँ उपप्रधानपञ्च उठ्नुभएको रहेछ । त्यतिबेला ठूलो गाउँका मान्छेले सानो गाउँका मान्छेलाई हराइदिने रहेछन् । पञ्चायती चुनाव जितेर पनि खुंखार सामन्ती पञ्चहरुप्रति उहाँको विरोध थियो ।
हरेक दसैंमा बाटो खन्दा आफै सिंढी बनाउने, अप्ठ्यारो ठाउँमा आफै खट्ने उहाँको बानी थियो । सौतामारेफेंदीदेखि बालुवासम्म नयाँ बाटो खन्दा करिब एक हप्तासम्म खोलाको किनारमा आफै बसेर बाटो खनेको कुरा भुल्न सकिंदैन । त्यति धेरै विकासप्रेमी व्यक्ति भैरहवा बसाइ सरेपछि गाउँले उहाँको ठूलो अभाव बेहोर्नुपरेको थियो । उहाँले दीर्घ जीवन बाँच्न सक्नुभएन । उहाँको २०६६ सालमा ६७ वर्षको उमेरमा निधन भयो । म धेरै नै स्तब्ध भएको थिएँ । एउटा अभिभावक गुमाउनु धेरै पीडादायक हुनेरहेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।
उपसंहार
एउटै व्यक्ति दीर्घ जीवन बाँच्नु र समाजको नेतृत्व गर्नु धेरै महत्वको कुरा हो । गाउँमा जसले समाजको नेतृत्व गर्नुभयो, उहाँहरु सबैको फरक जीवनशैलीकै कारणले समाजको नेतृत्व गर्न सक्नुभएको हो ।सामाजिक राजनीतिक कामबाट प्राप्त हुने खुशीले दीर्घ जीवनको लागि पनि मद्दत गरेको छ । थप उर्जा मिल्दै गएको छ ।
सामाजिक राजनीतिक जीवन नभएका व्यक्तिहरु पनि दीर्घजीवन बाँचेका हुन्छन् । उनीहरुले अत्यन्तै अनुशासित प्रकारले स्वास्थ्यमाथि विजय हासिल गरेका हुन्छन् । उनीहरुलाई स्वास्थ्यको बारेमा धेरै जानकारी हुन्छ ।सामाजिक जीवन नभएको व्यक्ति दीर्घ जीवन बाँच्नुपरिवारको लागि धेरै ठूलो पुँजी हो । पुराना कुरा सुन्न, बुझ्न र राम्रा कुराहरु सिक्न पाइन्छ । माया पाइन्छ । खुशी पाइन्छ।