मेघराज रिष्मेली, टोकियो ।
बाढीपहिरोबाट प्रभावित बागलुङको ताराखोला गाउँपालिकाका पाँचोटै वडाका एक सय ५५ जना पीडितलाई ताराखोला समाज जापानले राहत वितरण गरेको छ ।
सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा वितरण गरिएको राहतबाट वडा नं. १ का ४१, वडा नं. २ (अर्गल) का ४४, वडा नं. ३ (हिल) का २२, वडा नं. ४ (तारा) का २६ र वडा नं. ५ का २२ जना लाभान्वित भएका हुन् ।
बाढीपहिरोबाट भएको क्षतिको प्रकृतिका आधारमा पीडितलाई विभिन्न वर्गमा विभाजन गरी राहत उपलब्ध गराइएको समाजले जनाएको छ ।
राहत वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोका, वडा नं. १ का अध्यक्ष यामबहादुर श्रीस, वडा नं. २ का अध्यक्ष भद्रबहादुर घर्ती, वडा नं. ३ का कार्यवाहक अध्यक्ष प्रेमबहादुर बुढाथोकी, वडा नं. ४ का अध्यक्ष जितबहादुर खत्री र वडा नं. ५ का अध्यक्ष मनबहादुर रोकालगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, गाउँपालिका कार्यपालिका सदस्य गौरीमाया गुरुङ र खडकबहादुर विक, विभिन्न वडाका जनप्रतिनिधि, सचिव विनोद पाण्डे, लीलशङ्कर विश्वकर्मा र लक्ष्मण चालिसे, ताराखोला समाज ताराखोलाका सचिव गणेश कार्कीलगायत समाजका प्रतिनिधि कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा निउरे समाज जापानका प्रतिनिधिहरू पूर्णभद्र निउरे, गङ्गाप्रसाद निउरे र हेमन्त निउरेसहित सञ्चारकर्मी तथा सुरक्षाकर्मीसमेतको उपस्थिति रहेको थियो ।
समाजका महासचिव खिमबहादुर निउरेले वितरण प्रक्रियामा छुटेका वास्तविक पीडित परिवारको पहिचान वा प्रमाणित विवरण प्राप्त भएमा उनीहरूलाई पुन: सहयोग उपलब्ध गराइने जानकारी दिए ।
सबै वडामा आयोजित राहत वितरण कार्यक्रमको सञ्चालन समाजका सदस्य इन्द्रबहादुर रोकाले गरेका थिए भने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष डिलबहादुर कँडेल (विष्णु) ले गरेका थिए ।
प्रवासमा रहेर पनि जन्मभूमिप्रतिको माया, सामाजिक उत्तरदायित्व र मानवीय सेवालाई आत्मसात गर्दै ताराखोला समाज जापानले गरेको सहयोगप्रति स्थानीयवासीले आभार व्यक्त गरेका छन् ।






