• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विशेष रक्तिम साँझ २०८३ को ४५ दिने यात्रा


  •   शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
  • रक्तिम विशेष साँझ–२०८३ सफल बनाउन म रौतहट जिल्लाबाट श्याम गोले भाइलाई लिएर २०८८३ वैशाख ३१ गते काठमाडौँको यात्रामा निस्किएँ ।

    Advertisement

    सीतापाइलामा हेमराज पुनसँग भेट गरेर फेरि बेलुका ६ बजेतिर राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय कपन पुगेँ । त्यहाँ देशका विभिन्न जिल्लाबाट जेठ १ गतेदेखि तीव्र रूपमा प्रशिक्षक र कलाकार जुटेका थिए । जेठ ५ गतेदेखि हेमराज र म निरन्तर स्पोन्सर खोज्दै काठमाडौँका गल्लीगल्लीमा भौतारियौँ । “युग बोल्छ” नाटकका लागि आवश्यक सामग्री जुटाउने, रङरोगन गर्ने, कपन केन्द्रीय कार्यालयमा रातिको १२ बजेसम्म अभ्यास गर्दै जुधिरह्यौँ । जेठ १६ गते राजधानीको राष्ट्रिय नाचघर उद्घाटन गरेर उक्त कार्यक्रम देशका जिल्ला १० स्थानमा चल्नेवाला थियो ।

    लगातार १५ दिनको कठिन परिस्थितिमाझ राष्ट्रिय नाचघरमा रक्तिम अभियान सुस्ताएको अवस्थामा फेरि आफै र दर्शकलाई ब्युँताएको थियो । कार्यक्रम सञ्चालन समष्टि बुढा र सबिन अर्गेजाले गर्नुभएको थियोे । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उपस्थितिले कार्यक्रमको शोभा बढेको थियोे । विभिन्न दलका नेतागण, कलाकार, विशिष्ट अतिथि, सांस्कृतिक अतिथि, पत्रकार, रक्तिमलाई माया गर्ने जनसमुदायको उपस्थितिले वातावरण उत्साहजनक बनेको थियो ।

    कार्यक्रममा स्वागत गीतबाट सम्पूर्ण कलाकारले “हामी एक बनौँ” भनेर आह्वान गर्दा हलमा दर्शक, नेता सबै चकित बनेका थिए । हामी आफ्नो ससाना स्वार्थले गर्दा नै प्रगतिशील कम्युनिस्ट विचार÷आचरण छोड्दै गएको फेरि यो गीतले स्मरण गराएदिएको थियोे । स्वागत नृत्य “कम्युन संस्कृति” तथा “आएन परदेशी” गीत र अभिनयबाट दर्शकको आँखामा आँसु छचल्किएको थियोे । “फेरि पनि हुकुमी शासन” ले बालेन सरकारको चरित्रलाई उजागर गरेको थियोे ।

    “ज्वालामुखी” गीतले भोको पेटले कसरी दानापानी मागेको हुन्छ भन्ने कुरा देखाएको थियोे । “युग बोल्छ” नाटकले साहुले गर्ने अत्याचारलाई देखाएको थियोे । हर्के र उजेलीले क्रान्तिको आह्वान गरेको दृश्यले साँच्चै क्रान्तिको भाव ती अनुहारमा देखिन्थे । अझ रक्तिमका संस्थापक अध्यक्ष जनगायक जीवन शर्माको “सिमली छाया” ले दर्शकलाई गाउन, नाच्न, अभिनय गर्न बाध्य बनाएको थियोे । रक्तिमका अध्यक्ष गिरीप्रसाद बुढाको प्रतिज्ञाबद्ध शब्दले गीतले कार्यक्रमलाई ऊर्जा दिएको थियोे ।

    फोटोसेसन गरेर ३७ जनाको टोली ३ घण्टाको त्यो ‘रक्तिम साँझ’ सकियो । त्यसपछि केही साथीहरू खाजा खाएर माइक्रोबसमा चितवनतर्फ लागे भने केही साथीहरू कलङ्कीबाट बसको यात्रा गर्याैँ । यात्राको क्रममा त्रिशूली नदीको छालझैँ मनभित्र अनेकौँ शब्दको जाल बुन्दै बिहान ४ बजे नारायणगढ बजारमा ओर्लियौँ । अटोमा चढेर सिर्जनाचोकस्थित चेतना भिलेज रेस्टुरेन्ट पुग्यौं । थकित शरीरलाई आराम दियौँ ।

    जेठ १७ गते आइतबार सुन्दर नगरी चितवन नारायणगढको नारायणी कलामन्दिरमा २ बजेबाट कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले हतारहतारमा मञ्च सिँगार्ने काम भयो । संयोजक डम्बर पुरी, राजेन्द्र ढुङ्गाना, देवी शर्मा, जितबहादुर थापा, पुष्पा थापालगायत साथीहरूको महत्त्वपूर्ण भूमिकामा सो तयारी अगाडि बढेको थियो ।

    रक्तिमको तालिकाअनुसार नै कार्यक्रमको सञ्चालन सबिन अर्गेजा र उषा पुनले गर्नुभएको थियो । कार्यक्रम स्वागत गीतबाट सुरु भएको थियोे । गर्मीले उकुसमुकुस बनाए पनि कार्यक्रम हेर्न जनसमुदायको उपस्थिति राम्रो थियो ।

    कार्यक्रममा प्राविधिक सिस्टमले केही धोका दियो । समग्रमा कार्यक्रम राम्रो प्रयास भयो ।

    कार्यक्रम सकिएपछि हामी आफ्नो सामान पोको पारेर केही साथीहरू चेतना भिलेज म्युजिक जानुभयो । हामी केही सामान बोकेर बेलुका नारायणी नदीको तिरतिर घुम्न गयौँ । केही समय नदी किनारमा रमाइलो दृश्य हेर्याैँ । फर्केर आफ्नो बासस्थानमा फर्कियौँ । खाना खायौँ । कार्यक्रमको समीक्षा गर्याैँ । दिनभरिको थकाइ मेट्यौँ ।

    जेठ १८ गते बिहान मीना बुढाथोकीको नेतृत्वमा केही साथीहरू बुटवलयात्रामा निस्कनु भयो भने हेमराज आश्रम र हरिबहादुर सर्तुङ्गी काठमाडौँ, विष्णु केसी अर्घाखाँची, मानबहादुर नेपाली कपिलवस्तु र हामी २० जनाको टोली बसमा चढेर बागलुङ बुर्तिबाङको यात्रामा निस्कियौँ । त्यो नारायणी नदी र त्रिशूली नदीको सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै मुग्लिङबाट मस्र्याङ्दी तिरैतिर छिर्कनेमा दिउँसोको खाना खायौँ । हाम्रो यात्रा लामो थियोे । पोखरा हुँदै पर्वत कुश्माबजार पुग्दा गाडी फेरियो । इभी माइक्रोबस चढेर फेरि हाम्रो यात्रा निरन्तर अगाडि बढ्दै थियोे । माइक्रोबसको टायर पन्चर भयो । फोटो खिच्ने काम भयो । फेरि बिस्तारै अँध्यारो हुँदै थियो । साथीहरू गीत गाउँदै यात्रालाई रमाइलो स्मरणीय बनाउनुभयो । त्यो १२–१३ घण्टाको यात्रापछि बल्लतल्ल बुर्तिबाङबजार जाने बाटो र निसीखोला जाने बाटोमा गाडी रोकियो । त्यति बेला रातिको ९ बजेको थियोे । दुईओटा सानो गाडीमा फेरि सामान लोड गरेर पौने घण्टाको यात्रापछि बल्लतल्ल भानसिंह बुढाको घरमा आइपुगियो । सामान थन्क्याएर राति १० बजेतिर खाना खाएर सुत्यौँ ।

    जेठ १९ गते बिहान हामी खाना बनाएर खायौँ । आआफ्नो कपडा बोकेर नजिकैको निसीखोला सरसफाइ गरियो । चुत्रो टिपेर खायौँ । खोला थुनेर माछा खोज्यौँ तर पाइएन । खोलेसाग टिप्यौँ । उत्तिसको दाउरा तेर्सो भारी बनाइँदो रहेछ । दाउरा बोकेर ल्याइयो । बेलुका खाना खायौँ ।

    जेठ २० गते बिहान ६ बजे सबै जना मर्निङवाक गर्दै बुढाथोकगाउँका इष्टमित्रकहाँ पुग्यौँ । त्यहाँ मानिस मर्दा धानमकै सगुनस्वरूप बोकेर लासको निधारमा पैसा सिउरेर ढोग्ने, त्यति बेला बाहिर दमाईले बेलाबेलामा टेम्को बजाउने र त्यसपछि घाटमा लगेर गाड्ने चलन रहेछ । त्यहाँ राष्ट्रिय जनमोर्चाका वडासदस्य मनसुर बुढाकी आमाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भयौँ । रक्तिम अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले श्रद्धाञ्जली मन्तव्य राख्नुभयो । त्यहाँ भूतपूर्व प्रदेश सांसद खिमविक्रम शाही, भानसिंह बुढा, थम्मन घर्तीमगरलगायतका साथीहरू थियौँ ।

    हामीले पुतलीबजारमा साँझको कार्यक्रमको प्रचारप्रसारमा लाग्यौँ । त्यस क्रममा खाना खायौँ । केही समय आराम गरेपछि नजिकैको ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पुग्यौँ । त्यहाँ प्रधानाध्यापक अमृता बुढामगरसँग भेट भयो ।

    कार्यक्रमको टिकट काटियो । ठिक त्यही बेला केही समय पानी पर्याे । नास्ता खाएर हामी फेरि ६ बजे बेलुकातिर पुतलीबजार नृत्य देखाउने काम भयो । खाना राति १० बजेतिर खायौँ ।

    जेठ २१ गते रक्तिम अभियानका कलाकारहरू बिहान खाना खाएर निसीखोला–५ मसालगाउँमा आलु खन्न गयौँ । काम सकेपछि खाजा खायौँ । त्यसै क्रममा गाडी आयो । आलु लोड गरेर भानसिंहजीको घरमा पुगियो । साँझ ६ बजे गाडीमा चढेर कलाकारलाई लिएर झिवाखोला पुग्यौँ ।

    झिवाखोलामा आफ्नो प्रस्तुति देखाउँदै गर्दा एक जना कलाकार पेट दुखेर ढल्नुभयो । हतारहतारमा उहाँलाई नजिकैको अस्पतालमा लगियो । उपचारपश्चात् राति ९ बजेतिर वासस्थानमा पुगियो ।

    जेठ २२ गते बिहान ४ः३० बजे उठ्यौँ । ७ बजेतिर हामी बागलुङ, रोल्पा र रुकुमको सीमास्थित चौरीखर्क रुकुमकोट पुग्यौँ । उक्त गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण थियो ।

    पुष्पलाल राजमार्ग, त्यो नागबेली बाटो हुँदै कति बाटो अप्ठ्यारो, साँघुरो चिप्लो उकालो हुँदै बल्लतल्ल गन्तव्यमा पुगियो । नाङ्गो डाँडा, भिरको बाटो, सानो गोरेटो, ठाउँठाउँमा धुपीका बोट, झोलामा खाजा बोकेर अगाडि बढिरह्यौँ । लगभग ३८–३९ सय मिटरको उचाइमा पुगेर ढोरपाटन, रुकुमका भुमे र रोल्पाका डाँडा हेर्दै जाँदा त्यो पाखोभरि गाईगोरु चरिरहेको देखिन्थ्यो । बुकी फूल फुलिरहेको दृश्यलाई मोबाइलका क्यामरा कैद गरी दिउसो १२ बबजेतिर हामी गन्तव्यतर्फ फर्कियौँ । खाना खाएको केही समयमै सबिनजीको फोन आयो । फेरि कलाकारका सामान बोकेर अध्यक्ष गिरीप्रसाद बुढा र म बुर्तिबाङ बजारमा ३ बजेतिर आइपुगियो । गाडीबाट सामान झारियो । केही समयपछि कुलबहादुर छन्त्याल, झकबहादुर श्रेष्ठ, दीपक थापा, हरिकान्त शर्मा, दानबहादुर थापा, सबिन, मानबहादुर नेपालीलगायतका साथीहरू लागेर होटल दरबारमा मञ्च सिँगार गरियो ।

    जेठ २३ गते शनिबार बिहान ८ बजेतिर घुम्दै डाँडामा गएर बुर्तिवाङ बजारलाई मोबाइलको क्यामरामा कैद गर्याैँ ।

    वरिपरि सल्लाका घारी नियाल्दै मन शान्त बनायौँ । पारिपट्टि ढोरपाटन जाने बाटो निर्माण भइरहेको थियोे । १० बजेतिर खाना खाएर बुर्तिबाङबजारको होटल दरबार हल पुगियो । साथीहरूको उपस्थिति बढिरहेको थियोे । हामीले थप मञ्च सिँगार्ने काम गर्याैँ । लगभग मानिसको उपस्थिति तीन सय नाघेको थियोे ।

    कार्यक्रमको सञ्चालन सबिन अर्गेजा र दानबहादुर थापाले गर्नुभएको थियोे । कार्यक्रममा अतिथिहरू काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा, बडीगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वनलगायतको उपस्थिति थियो । दिउँसो १२ः३० बजेबाट कलाकारहरूले “हामी एक बनौँ” स्वागत गीतबाट कार्यक्रम उद्घाटन गरिएको थियोे । मैले प्राविधिक रूपमा सहयोग गरेँ । कार्यक्रममा मञ्च सानो भएको नृत्य, नाटकमा समस्या भइरहेको थियोे तर पनि जनताको अपार मायाले अन्तिमसम्म कार्यक्रमले साथ पाएको थियोे । लगभग ४ बजेतिर कार्यक्रम सकियो ।

    खाजा खाएपछि हामी फेरि पुन हलमा पुगेर कार्यक्रमको समीक्षा गरियो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले कलाकारहरूलाई प्रशिक्षात्मक मन्तव्य दिनुभएको थियोे । उक्त कार्यक्रम रातिको ८ बजेसम्म चलेको थियोे ।

    जेठ २४ गते हामी बुर्तिबाङबजारबाट ७ः३० बजेतिर खाजा खाएर ८ बजेतिर पोखराको लागि गाडीमा बसेर यात्रा सुरु गर्याैँ । घुम्ती बाटो, विभिन्न सहर हुँदै माथि भ्यूटावर डाँडाबाट धौलागिरी हिमालको दृश्यलाई फेरि मोबाइलमा कैद गरियो । १२ः३० बजेतिर बागलुङ बजारको होटल इरामा खाना खाएर फेरि बागलुङ बजारलाई छोडेर पर्वत जिल्ला प्रवेशसँगै कालीगण्डकी नदीको तिरैतिर नदीको वेगसँगै अगाडि बढ्यौँ । मनका भावनालाई पनि कालीगण्डकीसँग वेग मार्दै गाडीभित्र उकुसमुकुस भए पनि कतिखेर स्याङ्जाको हेम्जाबजार आयौँ, पत्तै पाएनौँ । दिउसो ३ः३० बजेतिर पोखराको फिर्केदेवी रेस्टुरेन्ट एन्ड गेस्ट हाउस प्रालि आइपुग्यौँ । पोखराको जिरोचोकबाट बसमा चढेर १५ जनाको टोली हल्लनचोकमा झरियो । त्यति बेला पानी दर्किरहेको थियोे । एकछिन ओत लाग्यौँ । थोरै पानी कम भएपछि फेवातालको किनारैकिनार मान्छेका भिड छिचोल्दै फेवातालको बिचको मन्दिरसामुन्ने बसेर फोटो खिचियो । हिँड्दाहिड्दै वासस्थान आइपुगियो ।

    जेठ २५ गते बिहान चियाखाजा खाएर हेमराज, मानबहादुर र म गाडीमा सामान राखेर ८ बजेतिर पोखराको सभागृह हलमा पुग्यौँ । सामान अस्तव्यस्त रहेछ । नामबहादुरजी पनि आउनुभयो । पुरानो जीर्ण अवस्थाको यो सभागृहको स्टेज बस्ने सिट टुटफुट भइसकेको रहेछ । यो सम्पत्ति संरक्षण गर्न पोखरा महानगरपालिकाको भूमिका र चासो त्यति देखिएन । हरेक दिनजसो कार्यक्रम त्यहीँ हलमा हुने गर्दो रहेछ ।

    गिरीप्रसाद, सबिन, थुमराज, विष्णु, बिन्दु, उषाजी पनि आउनुभयो । सबै जना मिलेर मञ्चलाई सिँगार्ने काम भयो ।

    प्राविधिकले पनि आफ्नो सामान, लाइट चुस्तदुरुस्त बनाई तयारी अवस्थामा राख्नु भयो । दिउसो १२ बजेतिर हामी तीन जना हिँड्दै खाना खान गयौँ । दिउसो १ बजेदेखि कार्यक्रम थियो । खाना खाएर फेरि हतारहतारमा मञ्चमा पुग्यौँ ।
    धौलागिरी हेम्जा नौमती पञ्चेबाजालाई गेटमा भव्य स्वागत गरियो । विशेष रक्तिम साँझ हेर्न मान्छेको घुइँचो थियोे । कार्यक्रम मिलाउँदामिलाउँदै जाँदा दिउसो २ बजेबाट औपचारिक रूपमा कार्यक्रमको सञ्चालन दानबहादुर थापाले गर्नुभयो । दर्शकको उपस्थिति ६/७ सयको थियोे ।

    पोखराका विशिष्ट अतिथिहरू मञ्चअगाडिको रोहमा आसन ग्रहण गरिसकेपछि रक्तिमका टोलीको तर्फबाट “हामी एक बनौँ” गीतबाट स्वागत गरिएको थियोे । कार्यक्रम आयोजक रविमोहन ढकाल, शङ्कर बराल, चन्द्रबहादुर केसी, कृष्ण अधिकारी, गणेश अधिकारीलगायतका साथीहरूको योगदान उल्लेखनीय थियो ।

    कार्यक्रम अगाडि बढ्दै थियोे । बाहिर पानी परिरहेको थियो । मध्यान्तरपछि नाटकको दृश्य चलिरहेको थियो, बत्ती गएर समस्या आयो । जेनेरेटर चलाएर कार्यक्रमलाई फेरि जोडियो । दर्शकहरू निस्केर हिँड्न थाले । पहिलाभन्दा कार्यक्रम जोडदार भयो । “रुख भन्छ पात भन्छ” बोलको गीतबाट प्रतिज्ञाबद्ध जनाउँदै कार्यक्रम समापन भयो । अन्तिममा हेम्जा मगर पञ्चेबाजा बजाउँदै अतिथि, कलाकार सबैलाई नचाएर मायाको चिनोस्वरूप फोटोसेसन गरियो । त्यसै क्रममा आरती र सङ्गीताको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याउनुपरेको थियोे ।

    सामान प्याक गरेर केही समय गाडी पर्खियौँ । टोलीका केही सदस्य हिँड्दै होटल आयौँ र आराम गर्याैँ।

    जेठ २६ गते बिहान ९ बजेदेखि अघिल्लो दिनको कार्यक्रमको समीक्षा थियोे । कार्यक्रमको सञ्चालन रक्तिमका अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको थियोे । कार्यक्रम १२ बजेसम्म चलेको थियोे । कृष्ण अधिकारीले कार्यक्रमको बारेमा दर्शकले देखाउनुभएको अपार मायाले पोखराको सभागृह हल भरिएको भन्ने मन्तव्य राख्नुभयोे । उहाँले कलाकारको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभयो । अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, सहकर्मी हरिकान्त शर्मा, सबिन अर्गेजा, सचित्र केसी, बिन्दु परियार, उषा पुन, क्रिस्टिना राई, सिर्जना पुन, पूजाले पनि आआफ्ना धारणा राख्नुभएको थियोे ।

    कार्यक्रमपछि खाना खाएर आराम गर्याैँ । त्यसपछि पृथ्वीचोकतिर गुम्न गयौँ । नास्ता खाएर फेरि मानबहादुर र म जिरोचोकबाट बस चढेर हल्लनचोक झरेर हिँड्दै गयौँ । भारतीय पर्यटक, केही विदेशी पर्यटक र आन्तरिक पर्यटक कोही तालमा डुँगा सयर गरेर फोटो खिच्दै, कोही गीत गाएर माग्दै, कोही नास्ता खाँदै, कोही चटपटे खाँदै हिँडिरहेका, कोही ग्राहकको प्रतीक्षा गरिरहेका—यसरी सबै आआफ्ना संसारमा व्यस्त थिए । मैले फोटो खिचेँ, भिडियो गरेँ । आधा घण्टाको समय त्यहीँ भिडलाई हेर्दै बसमा चढेर आफ्नो वासस्थानतिर फर्कियौँ ।

    जेठ २७ गते २० जनाको टोली बिहान ७ः३० बजेतिर बसमा पृथ्वीचोक अन्तर्राष्ट्रिय झन्डा पार्कनजिक सेती नदीको पुलमाथि पुग्यौँ । त्यहाँ नेपाली सेनाका जवान थिए । फर्केर बसपार्क पुग्यौँ । केही यात्रुलाई चढाएर हामी पर्यटकीय स्थल पोखरालाई छोड्दै स्याङजातर्फ लाग्यौँ । त्यहाँ चट्टान, ससाना झरना, पाखापखेरा, सुन्तलाको बोट, अम्रिसो, बाँसको टुप्पो नुगिरहेको थियो । भालुभिर हुँदै बर्बोटमा पुगेर सेलरोटी, तरकारी, अन्डा, चना, आलुचप आदि खायौँ । कैयन ठाउँमा हरिया मकै र धान झुल्दै थिए । हामी विभिन्न पुल, पहरा छिचोल्दै, खरविर नियाल्दै, ती दृष्य मोबाइलमा कैद गर्दै स्याङजाको पुतलीबजार, वालिङबजार, प्रगतिबजार, गल्याङबजार हुँदै कालीगण्डकी तिरैतिर जाँदै थियौँ । दिउसो १२ः३० बजे हामी पाल्पा जिल्लाको पिपलडाँडा जामुनेस्थित हिल टप रेस्टुरेन्ट एन्ड होटलमा खाना खायौँ । गुल्मी, स्याङजा र पाल्पाको सङ्गम रिडीको पुल आँखामा कैद गरी रिडीबजारमा केही समय गाडी रोकियो ।

    उकालो, भर्खरै पिच गरिएको बाटोमा गाडी अगाडि बढ्दै थियोे । उकालोमा आएपछि पानी पर्याे। हाम्रो सामान गाडीको हुडमा थियोे । त्रिपाल लगाइयो । पाल्पाको तानसेन बजारबाट हाम्रो यात्रा ७५ किलोमिटर थियोे । हेर्दाहेर्दै पुरानो माटाढुङ्गाले बनाइएका घर देखिने गुल्मीको तमघास बजारमा साँझ ५ः३० बजे आइपुगियो तर हाम्रो यात्रा अझै बाँकी थियोे ।

    तम्घास बजारमा यात्रुलाई झारेर त्यहाँबाट ८ किलोमिटर रेसुङ्गा नगरपालिकाको ११ नम्बर वडा सिमीचौरस्थित तारा कुँवरको घरमा साँझ ६ बजे पुग्यौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष शेरबहादुर क्षेत्री (रामकुमार) ले खाना तयार पारिसक्नु भएको रहेछ । १० घण्टाको यात्राले शरीर सबैको थकित थियोे । केही साथीहरू घुम्न जानुभयो ।

    खाना खायौँ । परिचयात्मक कार्यक्रम राखियो । सबैले परिचय दियौँ । साथीहरू खुसी हुनुभयो ।

    जेठ २८ गते बिहान नास्ता खाएर कलाकार साथीहरू ११ बजेसम्म सिमीचौरको सडकमै नृत्य अभ्यासमा जुट्नुभयो ।

    हामीले खाना तयार पारिसकेका थियौँ । साँझ ४ बजेतिर प्रतिभा कुँवरको साथमा सचित्र केसी, मानबहादुर नेपाली, बिन्दु परियार, म सिमीचौर एयरपोर्ट हेर्न हिँड्यौ। एयरपोर्ट बन्द थियोे । बिस्तारै उकालो चढ्दै जाँदा कति घर खाली भेटिए । लटरम्म लिची, कागती, नासपती फलिरहेका थिए ।

    हिँड्दै जाँदा हामी पार्कमा पुग्यौँ । पार्कमा कुसीपिङ, कुर्सी, जालीले घेरा गरी राखिएको थियो । बाख्राको माउ, एउटा कालो कुकुर हाम्रो पछिपछि एयरपोर्ट हेर्न पुगे । फेरि सँगसँगै मन्दिरसम्म पुगे । गाउँसम्म झरे । निर्दोष जनावर भनेर के गर्ने ? हामीसँग उनीहरूको प्रेम बढिरहेजस्तो लाग्थ्यो । हामीले उनीहरूलाई फर्काइदियौँ र फेरि अर्को डाँडातर्फ लाग्यौँ ।

    अर्घाखाँची र गुल्मी जिल्लाको सिमानामा पर्ने डाँडालाई हामीले नियाल्यौँ । फोटो खिच्यौँ । रेसुङ्गाको डाँडोले हामीलाई हेरिरहेको थियोे । हामी बिस्तारै ओरालो झरेर बस्ने ठाउँमा आइपुग्यौँ ।

    जेठ २९ गते दिउँसो ११ः३० बजे हामी पिकपमा सामान बोकेर सिमीचौरबाट तमघासबजारको एभरग्रिन पार्टी प्यालेसमा गिरीप्रसाद बुढा, मानबहादुर नेपाली र म पुग्यौँ । ३ घण्टा लगातारको प्रयत्नपछि हामीले मञ्च तयार पार्याैँ । रामकुमार क्षेत्री, हरिकान्त शर्मा, छबिलाल सर्तुङ्गी, रामेश्वर खत्री, जीवन राना, नरमाया रानाको त्यहाँ उपस्थित हुनुहुन्थ्यो ।

    जेठ ३० गते शनिबार । बिहान ७ बजे नै खाना बनाएर खायौँ । त्यसपछि सामान बोकेर हामी इभी गाडीमा चढेर तमघास बजारस्थित एभरग्रिन पार्टी प्यालेसमा पुग्यौँ र मञ्च सिँगार्ने काम गर्याैँ। दर्शकको विस्तारै भिड बढ्न थाल्यो । १२ बजेदेखि कार्यक्रम सुरु भयो । रामकुमार क्षेत्री, सांसद तारा क्षेत्री, रामेश्वर खत्री, छबिलाल सर्तुङ्गी, नरमाया राना, हरि न्यौपाने, जीवन राना, थम्मन कुँवर, धना कुँवरसँगै विभिन्न दलका नेता, पत्रकार, रेडियोकमी आदिको उपस्थिति थियोे । लगभग २५० भन्दा बढी दर्शक उपस्थित हुनुहुन्थ्योे ।

    कार्यक्रमको सञ्चालन थुमराज ढुङ्गाना र उषा पुनले गर्नुभएको थियोे । साढे तीन घण्टाको उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले “हामी एक बनौँ” गीतको बोलबाट कार्यक्रम सुरु गरेको थियो । “कम्युन संस्कृति” लगायतका कार्यक्रमसँगै कार्यक्रम साँझ ४ बजेतिर समापन भएको थियो ।

    नास्ता खाएर सबै टोलीका सदस्य साँझ ५ बजे दुईओटा बोलेरो गाडीमा चढ्दै थियोे, पानी पर्याे । गाडी तमघास बजारलाई छोड्दै अर्घाखाँची जिल्लातर्फ प्रवेश ग¥यौँ । बाटो साँगुरो थियोे । बिस्तारै हाम्रो यात्रा अगाडि बढ्यो ।

    छत्रदेव नगरपालिका त्यो डाँडाकाँडा काट्दै हामी सन्धिखर्क नगरपालिका प्रवेश गर्याैँ । कतै सालका बोट, कतै सल्लाका बोट—गाईभैँसी, बाख्रा चर्दै थिए । कतै घरको धुरीबाट धुँवा उडिरहेका थिऐ । ७ बजे बेलुका हामी मसालबजारमा राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालय आइपुग्यौँ । सामान झारेर थन्क्याउने काम भयो ।

    जीवनारायण खनाल, विनोद गैरेलगायत थुप्रै कामरेडहरू हाम्रो टोलीको पर्खाइमा खाना बनाएर तयार हुनुहुँदो रहेछ ।

    एकछिन आराम गरेर खाना खायौँ । मानबहादुर नेपाली, हेमराज आश्रम, थुमराज ढुङ्गाना, गिरीप्रसाद बुढा र म जीवनारायण खनालको घरमा बास बस्न पुग्यौँ । केही समय सरसफाइ गरेर दिनभरिको थकान मेट्यौँ ।

    जेठ ३१ गते आइतबार बिहान फेरि पार्टी कार्यालयतर्फ हिँड्यौँ । ड्रेस च्यातिएको थियोे । सिलाउन टेलर खोज्दै हिँड्यौँ ।

    सबेरै भएको हुनाले पसल बिस्तारै खुल्दै थिए । झोला किन्यौँ । कपडा दिएर फेरि कार्यालय फर्कियौँ । खाजा खाएर मञ्चसिँगारका सामग्री बोकेर हामी ६ जना सन्धिखर्कको सभाहलमा बिहानै ७ः४५ बजे पुग्यौ । हल बन्द थियोे ।

    कर्मचारीले चाबी खोलिदिए । सामान भित्र राखेर मञ्च सिँगारेर १०ः३० बजेतिर खाना खान कार्यालयमा आइपुग्यौँ । खाना तयारी अवस्थामा रहेछ । खाना खाएर हिँड्दै कार्यक्रमस्थलमा ११ः३५ बजे पुग्यौँ ।

    तालिकाअनुसार कार्यक्रम सञ्चालक थुमराज ढुङ्गाना र उषा पुनले अतिथि र दर्शकलाई आसनग्रहण गराउनुभयो ।

    “हामी एक बनौँ” गीतबाट सबैलाई स्वागत गरियो । कलाकार टोलीले उत्साहित हुँदै आफ्ना अपेरानृत्य, नाटक प्रस्तुत गरे । दर्शकको अथाह मायाले कार्यक्रम अलिकति लम्बिएको थियोे । कार्यक्रम सकिएपछि हाम्रो टोली पुनः जिल्ला कार्यालय आयो ।

    असार १ गते मानबहादुर नेपाली, सचित्र केसी, गिरीप्रसाद, हरि सर्तुङ्गी र मैले मिलेर जिल्ला कार्यालय सरसफाइ गर्याैँ।

    खाना खायौँ । सन्धिखर्क बसपार्कस्थित पशुपति ढकालको घरमा २ बजेतिर एम्बिसा ढकाललाई भेट्न गयौँ ।

    असार २ गते बिहान हरिकान्त सरसँगै मर्निङवाक गयौँ । ढोरपाटन जाने बाटोका पाखा हरिया थिए । खेतमा कसैको धान रोपिएका थिए भने केही खेतमा बिउ तयार गरिरहेका देखिन्थे ।

    आजै सुटिङ कार्यक्रमको योजना बनेको थियो । प्राविधिकहरू मेघराज धिमाल, करण भण्डारी, रोहन श्रेष्ठ र मलाई बिहान ६ बजे नै लिन गाडी आइपुग्यो । “कम्युन संस्कृति” र “अक्टोबर क्रान्ति” भिडियो सुटिङ अर्घाखाँचीको मसुरपाटामा गरिँदै थियो । अर्घाको डाँडामा मैले पहिलोपटक पाइला टेक्न पाइरहेको थिएँ । सुन्दर प्रकृतिले भरिपूर्ण यो ठाउँ गन्धर्व जातिको बस्ती पनि रहेछ । स्थानीय साथी रणबहादुर बस्नेतसँग घुम्न गइयो । डाँडामा पुरानो दरबार रहेछ । त्यो दरबार नगरपालिकाले पुनःनिर्माण गर्दै रहेछ ।

    सुटिङ बिहान ९ बजेदेखि सुरु भएर बेलुका ७ बजेसम्म चल्यो । बिहान र बेलुकाको खाना कार्यालयतिरै खाएर निस्कियौँ । राति जीवनारायण खनालको घरमा सुत्यौँ ।

    असार ३ गते झोला बोकेर फेरि जिल्ला कार्यालयतिर गयौँ । नास्ता बनाएर खायौँ । त्यसपछि बोलेरो चढेर १० जना आल्याखोला आटीकापाटा गच्छे दुवारको यात्रामा उकालो लाग्यौँ । फेरि घुम्ती मोड छिचोल्दै ओरालो झ¥यौँ । आधा घण्टाजतिको यात्रापछि बल्ल कुरदुवार मुकुन्द आचार्यको घरमा आइपुग्यौँ ।

    कोही साथीहरू फेरि सुटिङतिर लाग्नुभयो । गीतको बोल “सलल बग्यो गण्डकी” रहेछ । मुकुन्द सर ८० वर्ष लाग्नुभयो रे  सुन्दर, आकर्षक डिजाइन गरिएको झ्यालका फोटो मोबाइलमा कैद गरेँ ।

    आजको खानाको सम्पूर्ण व्यवस्था मुकुन्द सरले गर्नुभएको थियोे । हामी आफ्नो जिम्माको खाना पकाउने काममा लाग्यौँ । दिउँसो १२ बजेतिर खाना खायौँ । स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयवासीले दर्शकको भूमिका निभाउनुभएको थियोे ।

    असार ४ गते बिहान ९ बजेतिर गाडी चढेर सन्धिखर्कबाट भूमिकास्थान नगरपालिका, असुरकोट गाउँपालिका र छापेखोला हुँदै हामी नौ जना र अरू यात्रु प्युठानको ऐरावतीतर्फ लाग्यौँ । गाडी सीमित भएका कारणले कतिपय यात्रुले झुन्डिएर यात्रा गर्नुपर्ने रहेछ । हामी पनि त्यसरी नै यात्रा गर्न विवश थियौँ । चुँजाठाँटीमा आएर चिसो धाराको पानी पियौँ ।

    दिउँसो ११ः३० बजे फेरि हाम्रो यात्रा अगाडि बढ्यो । खलङ्गा बजार ओरालो झर्दै झिमरुक, खोलाको पुल तर्दै प्युठानको बिजुवार आएर फेरि अर्को गाडीमा हाम्रो टोली जुम्रीबजार हेर्दै अघि बढ्यो ।

    असार ५ गते बिहानै ५ः३० बजे रोल्पाको सदरमुकाम लिबाङ जाने सल्लाहअनुसार सचित्र केसी, हेमराज आश्रम, मानबहादुर नेपाली र म मर्निङवाक गर्दै उकालो चढ्दै जाँदा सुनिलस्मृति गाउँपालिका कार्यालयनजिकै पुग्यौँ । वरिपरि सेरिङ वाल उठाइँदै रहेछ । बिस्तारै हामी छोटो बाटो हिड्दै वारिपारिका डाँडा, पाखापखेरा हेर्दै ३ किलोमिटर बाटो हिँडियो । गाडी आइपुगेको थिएन, फोटो खिच्दै अघि बढ्दै थियौँे । अटो आयो । रोकेर सोधेँ– ‘कहाँसम्म हो ? माथिसम्म कति रुपैयाँ हो ?’ एक जनाको पचास रुपियाँ लाग्ने थाहा पाएसँगै त्यही अटोमा चढेर ३ किलोमिटर अगाडि बढियो ।

    चिया खाने सल्लाह भयो । त्यतिकैमा सरकारी गाडी आयो । हेमराजजीले हात दिनुभयो । गाडी रोकियो । हामी लिबाङ जाने हो भनेर गाडीमा चढियो । सोध्दै जाँदा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी हुनुहुँदो रहेछ । उहाँ द्वन्द्वपीडित महिला हिंसा विषय कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । “जनयुद्ध” को स्मृति भ्यू टावरमा चढियो । वारपारका आँखाले भ्याएसम्मका त्यो डाँडाकाँडा भिरपाखा, वनजङ्गल, गाउँघर नागबेली बाटोघाटो हेर्दै ती दृश्य मोबाइलमा कैद गरियो । सहिद स्तम्भ हेरियो । ७७५ भन्दा रोल्पालीले द्वन्द्वकालमा जीवन आहुति दिएका रहेछन् । त्यो नामको सूची हेरेर भावुक भयौँ । प्रायः जनजातिको नाम देखेँ । उहाँहरूको सपना पूरा होस् । मनमनै श्रद्धाञ्जली अर्पण गरेँ । सलाम गरेँ । उहाँका आफन्तमा धैर्यधारण गर्ने शक्ति मिलोस् ।

    अप्ठ्यारो छ ठाउँ । रोल्पाली जनताको अवस्था उस्तै छ । बाटो पुगेको छ तर जीवन दुःखदायी छ । सातदोबाटोमा सबैले खाना खायौँ । फेरि उहाँकै गाडीमा बसेर रोल्पाको सदरमुकाम लिबाङबजार पुग्यौँ । बजार ठुलो थिएन । बजारको दृश्यावलोकन गर्याैँ। छोरीमान्छेहरू लुँगी र घलेकीमा सजिएका, सुन्दर देखिन्थे । मगर खाम भाषा बोल्दा रहेछन् । सुन्दा आनन्द लाग्यो ।

    हामी सुमो चढेर सुलिचौरको यात्रामा अगाडि बढ्यौँ । बिचबिचमा मान्छे चढ्नेओर्लने भइरहेको थियोे । सवाघण्टाको यात्रापछि सुलिचौर पुगियो । साथीहरू खाना खाएर आराम गरिरहेका रहेछन् । हामी पनि केही समय आरामपछि साँझ ४ बजेतिर कार्यक्रमको मञ्च तयार पार्न आरती होटल पुग्यौँ । दुई घण्टाको लगातार मिहिनेतपछि हामीले मञ्च हेर्नलायक बनायौँ । कलाकार साथीहरू रिहर्सलमा लागे । रेडियो मालश्रीबाट रक्तिम अभियानका अध्यक्ष गिरीप्रसाद बुढासँग “रक्तिम विशेष साँभ –२०८३” बारे होटलको छतमा अन्तवार्ता चल्यो ।

    असार ६ गते बिहान हलमा पुग्यौँ । साउन्ड सिस्टम, टेबलकुर्सी मिलायौँ । सुनिलस्मृति गाउँपालिका वडाअध्यक्ष विष्ट सरले रक्तिमका सम्पूर्ण कलाकारका लागि आवश्यक प्रबन्ध गर्नुभएको रहेछ । दिउसो ११ बजे खाना खाएर हामी हल पुग्यौँ ।

    मान्छेको बिस्तारै भिड लाग्दै थियोे । कार्यक्रम सुरु भयो । “हामी एक बनौँ” गीतबाट रोल्पाली जनतालाई स्वागत गरियो । “कम्युन संस्कृति”, “आएन परदेशी” गीतले सबैको हृदयलाई छियाछिया बनाएकोजस्तो लाग्थ्योे । त्यसपछि “फेरि पनि हुकुमी शासन” मा पुलिसको ज्यादती देखेर आक्रोशित बनेका दर्शक नाटक “युग बोल्छ” गम्भीर बने । “ज्वालामुखी” जस्ता गीतले अझ ती अनुहारमा क्रान्तिको भाव झल्काउने काम गरेको थियोे ।

    कार्यक्रम हेर्न आउँदा धेरै खर्च हुँदोरहेछ तर पनि कार्यक्रमलाई माया गरेर साथ दिनुभयो । उहाँका तस्बिर हाम्रा आँखामा सधैँभरि रहिरहनेछ । यो वर्गीय मायाले रक्तिम सांस्कृतिक अभियानलाई उत्साह प्रदान गरेका छन् ।

    कार्यक्रम सकेपछि सबै साथीहरू सँगै बसेर माया चिनोस्वरूप रोल्पाको फोटो खिचेका छौँ । हामी २४ जना कलाकार बसमा चढेर बेलुका ६ः१८ बजे रोल्पालाई छोडेर प्युठानयात्रामा अगाडि बढ्यौँ । गीत गाउँदै, ताली बजाउँदै खलङ्गा बजारमा राति ९ः३० बजे आइपुग्यौँ । सुरेश थापा, बोमबहादुर खत्री, प्रकाश जिसी, राम पहाडी, कृष्ण बराल आदिले खानाको प्रबन्ध गरिसक्नुभएको रहेछ ।

    असार ७ गते बिहान बिहान खाजा खाएर, ८ बजे भ्यानमा कार्यक्रमको सामान राखेर सुरेश थापा, गिरीप्रसाद बुढा, हेमराज आश्रम, मानबहादुर नेपाली र म खलङ्गास्थित राजमो कार्यालयबाट बिजुवार जुम्रीबजारस्थित होटल आयुष्मा पुग्यौँ । सामान झारेर मञ्च व्यवस्थापन गर्ने काममा लाग्यौँ । मञ्च तयार बनाएर खाना खायौँ, तबसम्म कलाकार, दर्शक पनि आइपुगे । बिस्तारै मञ्च भरिँदै थियोे । कलाकार ड्रेस लगाउन थाले । कार्यक्रमको सञ्चालन सचित्र केसी र उषा पुनले गर्नुभएको थियोे ।

    अतिथि, दर्शकको आआफ्नो ठाउँमा आसनग्रहणपछि हल खचाखच थियो । कार्यक्रम १२ः३० बजे औचारिक रूपमा सुरु भयो । “हामी एक बनौँ” गीतबाट दर्शकलाई स्वागत गरियो । सबै ओठ गाइरहेका थिए । “कम्युन संस्कृति” गीत र नाचले मन्त्रमुग्ध बनाएको थियोे । “फेरि पनि हुकुमी शासन” ले अहिलेको सरकारको आततायी अवस्था झल्काउने गीत र नृत्यबाट प्युठानी जनताको आँखामा आक्रोश ज्वाला दन्केको महसुर हुन्थ्यो । कुलर र पङ्खाले शीतल दिन नसक्दा पनि गर्मीको प्रवाह नगरी दर्शकहरूले लगातार पौन चार घण्टाको यो सोलाई पूर्ण रूपमा सफल बनाइदिनु भएको थियो । अन्तिममा प्रतिज्ञा प्रतिबद्ध सामूहिक “रुख भन्छ पात भन्छ” गीतले अझ थप जोस भरेको थियोे ।

    कलाकार सबैले खाजा खानुभयो । सचित्र केसी, मीना बुढाथोकी, रीता पुन, क्षितिजा राहादी, क्रिस्टिना राई, सिर्जना पुन, अस्मिता थापा, मानबहादुर नेपाली, आरती सूर्यवंशीले बुटवलको यात्रा गर्नुभयो भने हेमराज आश्रम काठमाडौँ र सङ्गीता महतारा आआफ्ना घर गए । बाँकी गिरीप्रसाद बुढा, हरि सर्तुङ्गी, विजय, विकास, विश्व, रमेश, पल्लव, उत्सव, स्वर्णिम र म सामान राखेर खलङ्गास्थित राजमो कार्यालय फर्कियौँ । साँझपख खलङ्गा बजार घुमियो ।

    असार ८ गते । मोबाइलमा दुई दिनदेखिको यात्रा संस्मरण टाइप गर्न बाँकी थियोे । स्वर्णिम थापा दाङको यात्रामा निस्किइन् । समयको सदुपयोग गरेर संस्मरण टाइप गरेँ । औषधी किन्न मेडिकल पुगे । सरसफाइ गरेर फेरि टाइप गरेँ ।

    बेलुका घुम्दै जाँदा विदुर मल्लसँग उहाँकै कार्यकक्षमा भेट भयो । समसामयिक कानुन, राजनीतिबारे कुराकानी चल्यो ।

    बिदा लिएर गिरीजी र म केही परसम्म बिजुवार बजारको दृश्यवलोकन गरियो । सरकारी कार्यालय हेर्दै तल झरियो ।

    त्यहाँ पिपलको चौतारी रहेछ । वरिपरिका सुन्दर प्राकृतिक दृश्यलाई मोबाइलमा कैद गरियो । केही समय शीतलछहारीमा बसेर आनन्द लिइयो । ६ः३० बजे सिँढीबाट ओरालो झरियो ।

    असार ९ गते ५ बजे मर्निङवाकको लागि हरिकान्तजी र म मल्लरानी डाँडातिर निस्कियौँ । केही समयपछि फर्किएर एक्लै विस्तारै वरिपरिका वातावरण सहरलाई नियाल्न थालेँ । बस्तीको सिरानमा खानेपानीको ठुलाठुला ट्याङ्की रहेछन् ।

    नयाँ सिँढी बनाएको ठाउँबाट मल्लरानीको डाँडालाई टार्गेट बनाएर सिँढी गन्दै गए । १६२ ओटा खुड्किला रहेछन् । अझ जोसमा सल्लाका बचिलाउनेका बोट आदि हेर्दै, चराचुरुङ्गीको आवाज सुन्दै भिडियो बनाउदै माथि उक्लिएँ । खासै मान्छे हिँडेको बाटो होइन रहेछ ।

    संसार बदल्ने माक्र्सको कोटेसनलाई मनमा सजाएर कार्यक्रमस्थल होटल माला इनतर्फ अगाडि बढ्यौँ । हलको सरसफाइ, एसी मर्मतसम्भार भइरहेको थियोे । गणेश आचार्य, जीवन शाही, मानबहादुर नेपाली र म हिँड्दै, बजार हेर्दै होटल पुग्यौँ । चियागफ चल्यो । फोटो खिचियो । केही साथीलाई निम्तो दिइयो । त्यहाँबाट बिदा भएर होटलतर्फ अगाडि बढ्दै जाँदा नयाँ ठाउँ भएकाले केही अन्यौल पनि भयोे । पसलहरू ग्राहक पर्खेर बसेका थिए । दिउसोको ११ बजिसकेको थियोे । हतारहतारमा खाना खायौँ । कार्यक्रम दिउँसो १ बजेदेखि सुरु गर्ने तालिकाअनुसार अटोमा सामान राखेर मानबहादुर र म होटल पुग्यौँ । मञ्च व्यवस्थापन गर्नुभएकाले थकाइ नमारी मञ्च सिँगार्दा १ बजिसकेको थियो । दर्शक आइसकेका थिए । कार्यक्रम ठिक १ः३० बजे सुरु भयो ।

    कार्यक्रमको सञ्चालन जीवन शाही र थुमराज ढुङ्गानाले गर्नुभयोे । पार्टीपङ्क्ति, पत्रकार, कलाकार, साहित्यकारसहितको दर्शकले हल खचाखच भरियो । कार्यक्रम तालिकाअनुसार “हामी एक बनौँ” गीतबाट स्वागत गरियो । गीत र नृत्यबाट “कम्युन संस्कृति” प्रस्तुत गरियो । “आएन परदेशी” गीत र अभिनयले नेपाली समाजको यथार्थ चित्रण गरेको थियोे । दर्शकमा गम्भीर देखिन्थे । “किन चाहियो सङ्घीयता”, “फेरि पनि हुकुमी शासन” ले बालेन सरकारले गरेको ज्यादतीलाई देखाएको थियोे । कौडागीतले नेपाली समाजमा रहेका संस्कार र पहिचान उजागर गरेको थियोे । “युग बोल्छ” नाटकका पात्रले साहुको चरित्र चित्रण गरेको थियोे । हर्के र उजेली गाउँका लुटिएर कसरी क्रान्तिकारी भए ? विद्रोही सेनाको ड्रेसमा मार्चपास गर्दा हलमा रहेका दर्शक जोसले ताली ठोकिरहेका थिए ।

    “ज्वालामुखी” गीत र नृत्यले दर्शक भावुक थिए । अन्तिममा रक्तिमका अध्यक्ष गिरीप्रसाद बुढाको प्रतिज्ञा मन्तव्य र “रुख भन्छ पात भन्छ” गीतले अझ उत्साहित हुँदै घरघरमा जानुभयो । बाहिर पानी परिरहेको थियोे । यो नै त्यहाँको अन्तिम प्रस्तुति अन्त्य थियोे ।

    हामी आफ्ना सामान सुरक्षित पोको पारेर मानबहादुर र म हामी बसेको होटल थ्रिस्टारमा पुग्यौ । राति ८ बजे खाना खाएर बिदाइ कार्यक्रम राखियो । कार्यक्रमको सञ्चालन हेमराज आश्रमले गर्नुभयोे । अध्यक्षता गिरीप्रसाद बुढाले प्रमुख अतिथि सुरेश थापा, अन्य अतिथि हरिकान्त शर्मा, काशीनाथ पोखरेल, सचित्र केसी, मीना बुढाथोकी र कलाकारको तर्फबाट रमेश पुन र स्वर्णिम थापाले मन्तव्य राख्नुभएको थियोे । सबै कलाकारलाई सम्मान पत्र दिएर सम्मान गरियो ।

    असार १५ गते । अघिल्लो दिनको सूचनाअनुसार साथीहरू आआफ्नो झोला बोकेर कोही बुटवलको यात्रामा भने कोही काठमाडौँको यात्रामा बिदा भए । सिमसिम पानी परिरहेको थियोे । सबैलाई बिदाइ गरेपछि हामी सुरेशजीको घरतिर लाग्यौँ । कार्यक्रमको समीक्षासँगै खाना खायौँ ।

    केही समय हामीले सुरेश थापाको गाईफर्मको अवलोकन गर्याैँ। बारीमा कागती र अम्बा (बेलौती) खेती पनि हेरियो । लटरम्म फल लागिरहेको थियोे । समीक्षा केही बाँकी थियोे । अन्तमा यो विशेष रक्तिम साँझ–२०८३ भव्य रूपमा सफल भएको निष्कर्ष निकालियो । आगामी कार्यक्रमको केही खाका कोरेर हामी ४ः३० बजे छुट्टियौँ । अध्यक्ष र महासचिव काठमाडौको यात्रामा, हामी बुटवलको यात्रामा लाग्यौँ ।

    शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.