लक्ष्मण बेलबासे ##
घाम ढलेर जुन लाडिएको बेला
तिमी आउछ्यौ भनेर
घण्टौँ माडिएको म
तिमीलाई बिझ्ला भनेर
कसैको बुटले गाडिएको म
अरुसँगै लाडियौ तिमी—माडिएँ म
तिमीले ऊसँग आँखा जुधाउन नसक्दा
तिमीबाटै गोडिएको म
घाम आयो सुकायो—हावासँगै उडेँ म
जूनको शीतलतामा तिमी रमाउँदा
साक्षी मात्र बनेँ म
तिमीसँगै लाडियो अरु कोही
फगत निसास्सिएँ म
जून पनि रोयो कि क्या हो ?
भिजेको छु म
ताराले देखेको छ,
म रोएँ कि जून
तर पनि भिजेको छु म
तिमी त उठ्यौ गयौ
स्पर्श त मसँगै छ
घरीघरी हावा आउँछ
त्यही पनि लान्छु भन्छ
भोलि घाम आउँछ—सुकाउछु भन्छ
आफै सुकेर भए पनि
तिम्रो स्पर्श लुकाउन मन छ
थाहा छ
मत झार
तिमीमाथि के अधिकार ?
तर पनि यही झार
तिमी बस्ने आधार
बन्न अझै मन छ
जूनजस्तै एक्लै हुन पनि मन छैन
तिमी मसँगै हुने
अर्को कतै बन्नु पनि छैन
तिमीजस्तै हिँड्न सक्ने
तन पनि छैन
गोडेर कतै फालिदिए
पलाउने मन छैन
बरु सुकेरै हावासँगै
उड्ने मन छ
उडेरै हेर्न मन छ
तिमी बस्ने कतै अर्को पनि वन छ
आकाशैभरी तारा भए पनि
जून एक्लै बस्ने रीत छ
रातभरी रुन्छ र त होला,
मेरो शरीरभरी शीत छ
आँसु पुछ्न घाम आउँछ
जुन लुकिदिन्छ
यस्तै छ रीत
घाम डुबेपछि जुन झुल्किदिन्छ
तारासँगै मुस्कुराउँछ
धर्तीभरी खुलिदिन्छ
घाम ढली नै सकेको छ
औँसी रात
जून पनि हराएको छ
त्यसैले त यहाँ टुकी बलेको छ
बातीसँगै तेल जलेको छ
तिमी पनि जूनजस्तै हौ
जो आफै उज्यालो फाल्दैन
त्यसैले तेल थप्दै जाऊँ
तेलविना बाती जल्दैन
तिमी चम्किरहने
घाम बन्न सक्दैनौँ
आफै जलेर राप र तापको
मालिक बन्न सक्दैनौँ
त्यसैले तिमी घाम हैन, बाती हौ
बातीले तेलको मान राख
खुट्टा तेलमै चोपिराख
हैन भने
मजस्तै गोडिएको झार
जमिनमाथि हावाको लयमा
उडिरहनेछौँ—न जमिनको, न आकाशको
यात्रा तिम्रो—गन्तव्य हावाको
यात्रा घोडाको—गन्तव्य सवारको