धनविर पुनमगर
Advertisement
उकाली चढ्दै, ओराली झर्दै
घामसँगै पसिना साटेर हुर्किएको यो ज्यान,
ढुङ्गा–माटोसँग खेलेको शरीर,
आज सहरको कङ्क्रिटमा अल्झिएको छ।
गाउँको आँगनमा
गुन्द्रुकको सुगन्ध थियो,
ढिँडोको स्वादमा
ज्यान बलियो बनाउने शक्ति थियो,
तर आज
पिज्जा र बर्गरको रंगीन थालले
भोक त मेट्छ,
तर आत्मा तृप्त हुँदैन।
डनलपको ओछ्यानमा
थकाइ त लड्छ,
तर निद्रा शान्त हुँदैन,
किनकि यहाँ हावामा होइन,
मुनाफाको धुवाँ मिसिएको छ।
गाउँको माटो अझै बोल्छ—
“फर्क, तिमी म भित्रैबाट बनेका हौ।”
तर शहरको उज्यालोले
आँखा त तान्छ,
मनलाई भने हराउँदै लैजान्छ।
अब समय आएको छ—
फेरि उकाली चढ्ने,
फेरि ओराली झर्ने,
तर यसपालि
आफ्नै माटोको पहिचान बोकेर।
गुन्द्रुक र ढिँडोको शक्ति लिएर,
पसिनाको मूल्य फेरि लेखेर,
यो ज्यान अब
केवल बाँच्न होइन—
बदलिनलाई उठेको छ,
क्रान्ति बन्नलाई उठेको छ।