मनोज भट्ट
राष्ट्रिय अर्थतन्त्रको निर्माणमा प्राकृतिक स्रोतको योगदान र दलाल पुँजीवादको असर शीर्षकले निम्न विषयमा छलफलको माग गर्दछ । ती विषयमा छलफलपश्चात् निस्कने निष्कर्षबाट हामी सामान्य रूपले राष्ट्रिय अर्थतन्त्रमा प्राकृतिक स्रोतको योगदान र दलाल पँुजीवादको असरलाई छुट्याउन सक्नेछौँ । अब हामी छलफल गर्नुपर्ने विषयमा जाऊँ :
१. प्राकृतिक स्रोत भनेको के हो ?
२. प्राकृतिक स्रोतबाट राष्ट्रिय अर्थतन्त्रमा पुगिरहेको योगदान ।
३. दलाल पुँजीवाद के हो ?
४. दलाल पुँजीवादले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको असर ।
प्राकृतिक स्रोत
कुनै पनि मुलुकको विकासका लागि उपलब्ध प्राकृतिक स्रोतको उपयोगको ठुलो महŒव हुन्छ । सामान्यतया प्राकृतिक स्रोत भन्नाले मानवनिर्मित नभएर प्रकृतिप्रदत्त स्रोत बुझ्ने गरिन्छ । नेपालको हकमा प्राकृतिक स्रोतको दायराभित्र हामीले जलस्रोत, भूमि, वन, जैविक, वायु तथा ऊर्जा स्रोतलाई लिन सक्दछौँ । नेपालको विकासका मुख्य आधार पनि कृषि, जलस्रोत तथा पर्यटनको विकास नै हो । कृषिको सम्बन्ध प्राकृतिक स्रोत भूमि, जलस्रोतको सम्बन्ध नदीनालासँग, खनिज/खानी, पर्यटनको सम्बन्ध, प्रकृति, हिमाल, पहाड, वनजङ्गल अर्थात् प्रकृतिबाट निःशुल्क रूपमा प्राप्त हुने वस्तुलाई प्राकृतिक स्रोत भनिन्छ ।
प्राकृतिक स्रोतबाट राष्ट्रिय अर्थतन्त्र योगदान
कुनै पनि देशको अर्थतन्त्रको विकासका लागि देशमा मुख्य रूपले उपलब्ध प्राकृतिक स्रोतको धेरै ठुलो योगदान हुन्छ । कतिपय मुलुकले पर्यटन क्षेत्रमा जोड दिएर मुलुकको अर्थतन्त्रलाई माथि उठाएको पाइन्छ । पर्यटनको सम्बन्ध प्राकृतिक पर्यटनसँग पनि जोडिएको छ । मध्यपूर्वका कतिपय मुलुकमा उपलब्ध वा अन्वेषित पेट्रोलियम खानी पनि प्रकृतिबाट प्राप्त निःशुल्क उपहार नै हो । पेट्रोलियम पदार्थको ठुलो पैमानामा विक्रीबाट ती देश धनी भएका छन् । कतिपय मुलुक अन्नका भण्डार मानिन्छन्† जस्तै : युक्रेन । युक्रेनमा भूमिका कारण त्यहाँ उत्पादित गहुँ विश्वका धेरै मुलुकमा निर्यात हुने गर्दछ । गहुँको निर्यात युक्रेनको अर्थतन्त्रको मुख्य हिस्सा हो । ठिक त्यसै प्रकारले नेपालमा उपलब्ध प्राकृतिक स्रोतबाट नेपालको अर्थतन्त्रको विकासले धेरै ठुलो छलाङ लगाउन सक्ने सम्भावना मात्र नभएर प्रचुर सम्भावना छ तर त्यसतर्फ अहिलेसम्मका सरकारहरूले योजनाबद्ध ढङ्गबाट केन्द्रित नभएको हुनाले प्राकृतिक स्रोतबाट मुलुकको अर्थतन्त्रको विकासमा एकदमै सीमित वा नगण्य प्रकारको मात्र योगदान पुगेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिभाषाभित्र पर्वतारोहण, वन, खानी, खनिज, पानी र अन्य गरी समेटेको छ । आर्थिक वर्ष २०८०/८१ मा प्राकृतिक स्रोतबाट जम्मा ६ अर्ब ३० करोड ४५ लाख ५६ हजार मात्र राजस्व सङ्कलन भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड थियो । बजेटको यो रकमलाई आधार बनाउँदा यो कुल बजेटको जम्मा ०.३६ प्रतिशत हुन जान्छ । यो रकमले प्राकृतिक स्रोतबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुगेको देखिन्छ, जुन अत्यन्तै नगण्य प्रकारको योगदान रहेको छ । त्यसबाट यो बुझ्न गाह्रो पर्दैन कि प्राकृतिक स्रोतबाट नेपालको अर्थतन्त्रको विकासमा सामान्य प्रकारले मात्र योगदान पुगेको देखिन्छ ।
नेपाल सरकारले ४१४ ओटा हिमचुली आरोहणका लागि खुल्ला गरेको अवस्था छ । विद्युत् प्राधिकरणले निर्माण गरेका १ मेगावाट क्षमताभन्दा ठुला ९८ ओटा आयोजना सञ्चालनमा रहेका छन् ।
नेपालमा खनिज पदार्थका सम्बन्धमा सरकारी तथा निजी दुवै स्तरबाट खोजतलास, उत्खनन्, उत्पादन, शुद्धीकरण, प्रशोधन, ढुवानी, सञ्चय वा विक्रीवितरण गर्ने कार्य हुँदै आएको छ । आ.व. २०७८/७९ मा चुनढुङ्गा, कोइला, खरी, शिशा, मार्बल, रातोमाटोलगायत विभिन्न १७ प्रकारका खनिज उत्खननका लागि १४९ ओटा अनुमतिपत्र जारी गरिएको ९० ओटा खानीबाट १२ प्रकारका खनिज पदार्थ उत्खनन् हुँदै आएका छन् तर सरकारी दस्तावेजले पेट्रोलियम पदार्थलाई खनिज वा खानीको परिभाषाभित्र समेटेको छैन ।
वन
वन पनि महŒवपूर्ण प्राकृतिक स्रोतभित्र पर्दछ । नेपालमा वनलाई विभिन्न प्रकारले वर्गीकरण गरिएको छ । सरकारले आरक्षण, मध्यवर्ती, संरक्षित, सामुदायिक, कबुलियत, राष्ट्रिय वनलगायत विभिन्न प्रकारले वर्गीकरण गरेको छ । नेपालको कुल भूभागमध्ये करिब ४३.३८ प्रतिशत क्षेत्र वनले ओगटेको छ (अनलाइन खबर डट कम, २०८२ जेठ १५ गते) । त्यस हिसाबले वन क्षेत्रले ६३ लाख ९९ हजार ३ सय ४९ हेक्टर भूभाग ओगटेको छ । आ.व. २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार वन क्षेत्रबाट १ अर्ब ६८ करोड रुपियाँ राजस्व सङ्कलन भएको देखिन्छ (नेपालखबर डट कम, जुन १, २०२५) ।
पानी
पानी पनि प्राकृतिक स्रोत नै हो तर पानीबाट अत्यन्तै नगण्य मात्र राजस्व उठ्ने गरेको छ ।
भूमि
भूमिलाई अनेक प्रकारले वर्गीकरण गर्न सकिन्छ तर यो लेखमा कृषियोग्य भूमिको चर्चासम्म सीमित गरिएको छ । नेपालमा २०७८ सालमा भएको जनगणनाअनुसार २०६८ देखि २०७८ सम्म खेतियोग्य जमिन १६.६ प्रतिशतले अर्थात् २३ लाख हेक्टरबाट १८ लाख हेक्टरले घटेको छ (गोरखापत्र अनलाइन, २०८२ असार २१ गते) । कृषियोग्य भूमिमा सहरीकरण हुनुको कारण त्यो घट्दो छ । नेपालको कुल भूभागमध्ये करिब २६ प्रतिशत जमिन खेतियोग्य छ । कृषिक्षेत्रको कुल गार्हस्थ उत्पादन (जी.डी.पी.) मा योगदान करिब २४–२५ प्रतिशतको हाराहारीमा छ । यदि कृषि क्षेत्रको योगदानलाई २४–२५ प्रतिशत मान्ने हो भने कृषि क्षेत्रबाट प्राप्त हुने राष्ट्रिय आयमा लगभग १.४ देखि १.६ खर्बजति योगदान हुन जान्छ (केन्द्रीय तथ्याङ्क कार्यालय) ।
उपर्युक्त प्राकृतिक स्रोतबाट आ.व. २०८०/८१ मा कुल प्राप्त रोयल्टी ६ अर्ब ३० करोड ४५ लाख ५६ हजार सङ्कलन भएकोमा जसमध्ये विद्यत्बाट ५४.६३ प्रतिशत, वनबाट २२.६० प्रतिशत, पर्वतारोहणबाट १२.२२ र खानी तथा खनिजबाट १०.५५ प्रतिशत रोयल्टी सङ्कलन भएको थियो (राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सम्माननीय राष्ट्रपतिज्यू समक्ष सातौँ वार्षिक प्रतिवेदन पेस गरेको प्रेसविज्ञप्तिको पृ. ६ बाट) ।
कुल बजेटको जम्मा ०.३६ प्रतिशत रकम मात्र प्राकृतिक स्रोतबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुगेको छ तर नेपालसँग प्राकृतिक स्रोतको अभाव भएर होइन, त्यसको समुचित उपयोग र विकास हुन नसक्नुको परिणाम हो ।
दलाल पँुजीवाद
अर्थतन्त्रमा दलाल पुँजीवाद कैयौँ प्रकारले देखा पर्दछ । स्वदेशी वा विदेशी दुइटै खाले पुँजी दलाल पुँजीको वर्गीकरणभित्र पर्दछ । स्वदेशी पुँजी पनि दलाल प्रकारको चरित्र बोकेको हुन सक्दछ† जस्तै : ब्याजबाट प्राप्त हुने पुँजी, व्यापारिक पुँजी वा सामन्ती शोषणलाई कायम राखेर सामन्ती तŒव वा अवशेषलाई खतम गरेर होइन, त्यससँग साँठगाँठ गरेर विकासित हुने, पुँजी सेयर बजारको लगानीबाट प्राप्त हुने पुँजी, धितोपत्रबाट प्राप्त हुने पुँजी, बैङ्किङलगायतका यी सबै दलाल पुँजीको श्रेणीभित्र पर्दछन् ।
बैङ्क र उद्योगका बिच साँठगाँठ भएर निर्माण हुने वित्तपुँजी, जग्गा कारोबारबाट प्राप्त पुँजी, राजनीतिक पहुँचका आधारमा कमाइएको पुँजी दलाल पुँजीको श्रेणीभित्र राख्न सकिन्छ । पुँजीबाट वस्तु उत्पादन गरेर वा पुँजीलाई उद्योगसँग जोडेर त्यसबाट प्राप्त हुने पुँजी राष्ट्रिय पुँजी हो । राष्ट्रिय पुँजीले मुलुकको विकासमा योगदान गर्दछ । त्यसले समाजवादका लागि आधार तयार पार्दछ । कृषिलाई राष्ट्रिय उद्योगसँग जोड्ने र त्यसबाट उत्पादित उत्पादनको बिक्रीबाट प्राप्त पुँजी र त्यो पुँजी पुनरुत्पादनमा प्रयोग भयो भने त्यसबाट राष्ट्रिय पुँजीको निर्माणमा बल पुग्छ तर पुँजीबाट उत्पादन, उत्पादनको विक्रीबाट पुँजी र त्यो पुँजी पुनः पुनरुत्पादन लगाउने खालको पुँजीवादको विकास नेपालमा नगण्य रूपमा नै भएको छ । राष्ट्रिय पुँजीपति कहलिएका व्यक्तिहरू पनि विदेशीको उत्पादन बिक्री गरेर त्यसबाट नाफा कमाउने र आफ्नो पुँजी सुरक्षित राख्ने प्रवृत्तिबाट ग्रस्त छन् ।
सर्वप्रथम दलाल पुँजीवादलाई चिन्ने र त्यसलाई व्याख्या गर्ने काम विश्व कम्युनिस्ट आन्दोलनमा का. माओले गरेका हुन् । उनका विभिन्न समयमा प्रकाशित लेखमा दलाल पुँजी र त्यस विरुद्धको सङ्घर्षका बारेमा विशद् व्याख्या गरिएको छ । माओको व्याख्याअनुसार विदेशबाट आयात पुँजी दलाल पुँजी हुन्छ । हाम्रोजस्तो अर्धऔपनिवेशीक र अर्धसामन्ती समाजमा दलाल पुँजी सामन्तवादसँग सङ्घर्ष गरेर त्यसलाई निधेष गरेर होइन, त्यससँग साँठगाँठ गर्ने चरित्र बोकेको हुन्छ । त्यसैले यसको चरित्र पुँजीवादजस्तो प्रगतिशील नभएर प्रतिकृयावादी हुन्छ ।
नेपालको अर्थतन्त्रमा झन्डै साढे सात हजारको हाराहारीमा भारत, चीनलगायत वा स्वदेशी पुँजीपतिले खोलेका उद्योग छन् । त्यसबाट हाम्रो अर्थतन्त्रको आकार केही बढेकोजस्तो देखिए पनि त्यसबाट राष्ट्रिय अर्थतन्त्रको विकासमा खासै उल्लेखनीय योगदान पुग्नेभन्दा राष्ट्रिय पुँजीको विकासमा बाधा पुगेको छ ।
उपर्युक्त तथ्यहरूमाथि ध्यान दिँदा प्राकृतिक स्रोतको समुचित उपयोगको अभाव र अर्कोतिर दलाल पुँजीको नेपालमा बढ्दो प्रभाव र प्रभुत्वको परिणाम हाम्रो अर्थतन्त्रको विकासमा बाधा पुगेको छ ।