समीर सिंह ##
मानिसका विचार, भावना र अनुभूतिलाई कलात्मक ढङ्गले अभिव्यक्त गर्ने माध्यम नै साहित्य हो । प्रत्येक व्यक्तिमा फरकफरक सिर्जनात्मक क्षमता हुन्छ । कसैले गीत गाउँछ: कसैले कविता लेख्छ† कसैले कथा, उपन्यास वा वैचारिक लेख सिर्जना गर्छ, त कसैले सङ्गीत, नृत्य वा अन्य कलात्मक विधामार्फत आफ्नो अभिव्यक्ति दिन्छ । कुनै पनि स्रष्टाको साहित्यिक उचाइ उसको कलात्मक प्रस्तुति र वैचारिक धरातलले निर्धारण गर्छ । सिर्जना कति कलात्मक छ ? त्यसको वैचारिक आधार के हो ? यी प्रश्नले नै साहित्यको स्तर मापन गर्छन् ।
राजनीतिक तथा सामाजिक जटिलताको समयमा विचार, नारा र आन्दोलनको आआफ्नै भूमिका हुन्छ । देशको विकास र समृद्धिका लागि असल राजनीति अपरिहार्य हुन्छ तर जब राजनीतिमा विकृति, भ्रष्टाचार र स्वार्थ हावी हुन्छन्, तब समाजमा निराशा र अन्योल बढ्न थाल्छ । यस्तो अवस्थामा चर्का भाषण, नारा र आन्दोलनले मात्र जनताको मन जित्न सक्दैनन् । जनता असल राजनीतिप्रति समेत निराश बन्न पुग्छन् र “सबै राजनीति उस्तै हो” भन्ने मनोविज्ञान विकसित हुन्छ ।
नेपाली जनता पटकपटक आन्दोलनमा सहभागी भए । विभिन्न राजनीतिक शक्तिलाई विश्वास गरे । परिवर्तनका लागि सङ्घर्ष गरे तर सत्ता प्राप्तिपछि धेरै नेता जनअपेक्षाअनुसार चल्न सकेनन् । उनीहरूमा सत्ताकेन्द्रित प्रवृत्ति बढ्यो; भ्रष्टाचार मौलायो† जनभावनाप्रति विश्वासघात गरियो । जनताको पीडाभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिइयो । परिणामस्वरूप देशको विकास र समृद्धिको यात्रामा अवरोध सिर्जना भयो ।
नेपाली राजनीतिको इतिहास हेर्दा जनता निरन्तर विकल्पको खोजीमा रहेको देखिन्छ तर सही विकल्प पहिचान गर्नु सजिलो कुरा होइन । भावनात्मक उत्तेजना र अधुरो विश्लेषणका कारण कतिपय अवस्थामा नयाँ ‘मुक्तिदाता’ जन्मिन्छन् तर समयसँगै उनीहरूको वास्तविक चरित्र प्रकट हुन्छ । केवल भाषण, नारा र क्रान्तिकारी आवरणले मात्र जनविश्वास कायम गर्न सक्दैन । व्यवहार र विचारबिचको एकता नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
माक्र्सवादी दर्शनले संसारको व्याख्या मात्र होइन, त्यसलाई बदल्ने कार्यलाई मुख्य मानेको छ । वास्तवमा परिवर्तनको प्रश्न व्यवहारसँग जोडिएको हुन्छ । आफूलाई ‘क्रान्तिकारी’, ‘समाजवादी’, ‘माक्र्सवादी’ भनेर घोषणा गर्नु मात्र पर्याप्त हुँदैन, व्यवहार पनि त्यहीअनुसार हुनुपर्छ । जब विचार र व्यवहारबिच दुरी बढ्छ, तब जनतामा निराशा पैदा हुन्छ र परिवर्तनको यात्रामा अवरोध उत्पन्न हुन्छ यद्यपि माक्र्सवाद, समाजवाद र प्रगतिशील विचार स्वयम्मा अत्यन्त मानवीय र वैज्ञानिक अवधारणा हुन् । विश्व इतिहासमा यिनै विचारले ठुला सामाजिक परिवर्तन सम्भव बनाएका छन् । नेपालमा पनि त्यस्तो परिवर्तन सम्भव छ, यदि सिद्धान्तलाई व्यवहारसँग जोड्न सकियो भने ।
अहिले नेपालको परिस्थिति चुनौतीपूर्ण छ । यस्तो प्रतिकूल अवस्थामा पनि सुन्दर र असल राजनीतिको खोजी जारी रहनुपर्छ । श्रमजीवी तथा उत्पीडित जनतालाई सङ्गठित गर्दै परिवर्तनको चेतना विस्तार गर्नु आवश्यक छ । माक्र्सवादी दृष्टिकोणले भनेजस्तै ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्दै समाज परिवर्तनको अभियानलाई अगाडि बढाउनुपर्छ ।
यही सन्दर्भमा सांस्कृतिक तथा साहित्यिक आन्दोलनको महत्त्व अझ बढेर गएको छ । जब राजनीतिक नारा र भाषणले जनमानसमा अपेक्षित प्रभाव पार्न सक्दैनन्, तब साहित्य, कला र संस्कृतिले चेतनाको नयाँ ढोका खोल्न सक्छन् । साहित्यले मानिसलाई सोच्न, प्रश्न गर्न र परिवर्तनको आवश्यकता महसुस गर्न प्रेरित गर्छ ।
रक्तिम सांस्कृतिक अभियानले जेठ १६ गतेबाट देशव्यापी सांस्कृतिक प्रस्तुति गर्ने तयारी गरिरहेको छ । त्यसैगरी विभिन्न प्रगतिशील सांस्कृतिक मोर्चाको साझा संस्था प्रगतिशील लेखक सङ्घ नेपालले साहित्यिक तथा वैचारिक गतिविधिमार्फत समाजमा चेतनाको विस्तार गर्ने प्रयास गरिरहेको छ । महाकालीको कञ्चनपुरमा सम्पन्न अन्तर्राष्ट्रिय सङ्गोष्ठीपछि जारी गरिएको ‘दोधाराचाँदनी घोषणापत्र’ ले राष्ट्रियता, जनतन्त्र र साहित्यिक आन्दोलनबिचको सम्बन्धलाई अझ स्पष्ट रूपमा अघि सारेको छ ।
यसैबिच २०७३ वैशाख २३ गते स्थापना भएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले पनि विचार र सिर्जनाको संयोजनमार्फत आफ्नो विशिष्ट पहिचान निर्माण गर्दै आएको छ । जेष्ठ ३१ गते आयोजना हुने राष्ट्रिय भेलामार्फत यसले अझ व्यापक र फराकिलो ढङ्गले आफ्नो वैचारिक तथा सिर्जनात्मक अभियानलाई विस्तार गर्ने घोषणा गरेको छ ।
आजको युग विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को युग हो । यस्तो अवस्थामा सिर्जनात्मक क्षमतालाई प्रगतिशील अभियानसँग कसरी जोड्ने ? सिर्जनालाई श्रमजीवी जनताको हितमा कसरी प्रयोग गर्ने ? विश्वव्यापी सञ्जालभित्र प्रगतिशील स्रष्टाबिच कसरी सहकार्य गर्ने ? सिर्जनाको सामाजिक तथा आर्थिक मूल्य कसरी स्थापित गर्ने ? यस्ता गम्भीर प्रश्नको उत्तर खोज्ने प्रयास पनि आजको साहित्यिक आन्दोलनको महत्त्वपूर्ण दायित्व हो ।
विभिन्न यात्रा, विमर्श, कार्यशाला र सांस्कृतिक अभियानमार्फत सिर्जनात्मक क्षमतालाई अझ निखार्ने प्रयास भइरहेका छन् । यस प्रकारका गतिविधिका साथै अन्पाको राष्ट्रिय भेलाको सन्दर्भमा संसारभरिका प्रगतिशील स्रष्टालाई भर्चुअल माध्यमबाट जोड्ने प्रयासले साहित्यिक आन्दोलनलाई अझ व्यापक र प्रभावकारी बनाउने मूल्याङ्कन गर्न सकिन्छ ।
अन्त्यमा कार्ल माक्र्सको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ– “साहित्य समाजको दर्पण मात्र होइन, त्यसलाई बदल्ने शक्ति पनि हो ।”