दुर्गानाथ खरेल ##
राजनीति गर्ने भनेको वर्गसङ्घर्षको वैज्ञानिक प्रयोग गर्ने हो ।
वर्गको उत्पत्ति भएको सुरुअवस्थादेखि नै वर्गसङ्घर्ष सुरु भएको थियो । जतिखेरदेखि व्यक्तिगत सम्पत्तिको सुरुआत भयो, त्यतिखेरदेखि नै आफ्नो व्यक्तिगत सम्पत्तिका मालिकलाई सम्पत्तिबाट उत्पादन लिन आफूहरूको मात्र श्रमले सम्भव भएन, अतिरिक्त कामको आवश्यकता पर्यो । त्यो समस्या समाधान गर्न आफ्नो क्षेत्रको सीमा सुरक्षा गर्ने लडाइँमा हार्नेलाई मार्नेको सट्टा दास बनाउने काम सुरु भएको थियो । त्यतिखेर त्यो काम प्रगतिशील काम थियो । उत्पादन बढेको थियो । सबैका आवश्यकता पूरा भएका थिए र समाजलाई नियमन गरिएको थियो । अराजकताको समस्या समाधान भएको थियो । त्यस्तो हुनुको कारण त्यतिखेर दास व्यवस्थाभन्दा उच्च किसिमको राजनीतिक व्यवस्थाको आविष्कार भएको थिएन । समाजमा विकास भएको सांस्कृतिक स्तर निम्न स्तरको थियो । दासले आफूहरू मारिने मान्छे बाँच्न पाएकोमा गौरव मानेर दासत्व स्वीकार गरेका थिए । दासमालिक र दास दुवैको सङ्गठन प्रारम्भिक स्तरमा थियो । मालिकले उत्पादनको व्यवस्थापनमा आफ्नो योग्यता पूरा उपयोग गर्दथे भने दासले हिच्किचाहटविना निर्देशनको पूरा पालना गर्दथे । विरोधी स्वार्थका कारण वर्गसङ्घर्ष सुशुप्त अवस्थाबाट गतिशील अवस्थामा अघि बढ्दै गरेको थियो । आफ्नो मालिकत्वको रक्षा गर्न आफूहरू मात्र सक्षम हुन नसकेका कारण मालिकले दासलाई बलप्रयोग गरेर दमनसहित उत्पादन गतिशील बनाइराख्न सशस्त्र जत्थाको गठन गरेर राज्यसत्ताको सुरुआत गरेका थिए । मालिकको राज्यसत्ता र उत्पादक शक्ति दासबिच वर्गसङ्घर्ष गतिशील भइरहन्थ्यो । राज्यसत्ता सशक्त बनाएर दमन बढाउने तथा सङ्गठित सङ्घर्षको उठान गरेर प्रतिरोध गर्ने काम अघि बढ्दै गयो । वर्गसङ्घर्ष उच्चस्तरमा विकसित हुँदै गयो । राज्यसत्ताका अधिकारीले अन्याय र दमन बढाउँदै जाँदा दासले उत्पादन कार्यलाई भन्दा बढी महत्त्व मालिक विरोधी सङ्घर्षलाई दिएका कारणले दासव्यवस्था गएको हो ।
दासव्यवस्थाको अन्त्य कुनै विद्यमान घोषणापत्र उच्च दर्शन र राजनीतिको आधारमा भएको सङ्गठित आन्दोलनबाट भएको थिएन । दासव्यवस्थाको दमनको प्रतिरोध गर्ने सिलसिलामा सङ्गठित विद्रोहका कारणले व्यवस्था थाम्न नसकेर व्यवस्था परिवर्तन गरिएको हो । समाजलाई नियमन गर्न नसकेको अवस्थाको स्वाभाविक परिणाम सामन्ती व्यवस्था स्थापना भएको हो । सामन्त जग्गाको मालिक बनेर किसानबाट उत्पादन गराउने प्रगतिशील व्यवस्था सुरु गरिएको थियो । दासमालिक र दास दुवैको अस्तित्व समाप्त भएको थियो । सामन्त र किसान भएर समाज नियमन भएको थियो । उत्पादन बढेको थियो । सबैका आवश्यकता पूरा भएका थिए र सांस्कृतिक स्तर उच्च हुँदै अगाडि बढेको थियो । राज्यसत्ता अझ बढी व्यवस्थित भएको थियो । सामन्त शासक भएका थिए र किसानहरू शासित वर्गको रूपमा उत्पादनमा लागिरहेका थिए । सामन्तले ठाँटबाँठ, धाकरवाफको जिन्दगी जिएर सुन्दरीसित प्रेम गर्ने र विरोधीसित लडाइँ लड्ने उद्देश्यसहित समाज गतिशील भएको थियो ।
समाजमा सामन्ती व्यवस्था विकल्पविहीन प्रगतिशील व्यवस्थाको रूपमा सञ्चालन भइरह्यो । सामन्ती व्यवस्थाको गर्भमा हुर्नेको व्यापारव्यवसाय र उद्योगधन्दाको विकासले पुँजीपति वर्गलाई जन्माएर हुर्कायो । पुँजीपति वर्ग प्रगतिशील वर्गको रूपमा विकास भएर मजदुरलाई सहुलियत र सुविधासहित आफ्नो कार्यकर्ता बनाएर सामन्त वर्गको प्रतिस्पर्धी वर्गको रूपमा विकसित भयो । पुँजीपति नेता र मजदुर कार्यकर्ता भएर नयाँ राजनैतिक शक्तिको रूपमा अस्तित्वमा आए । सामन्तसँग सशस्त्र युद्धमा विजयी नभएसम्म पुँजीपति वर्ग शासक बन्न पाएन । पुँजीपति वर्ग निश्चित विधान, घोषणापत्रसहितको पहिलो र व्यवस्था सञ्चालकको हिसाबले तेस्रो शासक वर्ग हो । यो पहिलेका दुइटै शासक वर्गभन्दा प्रगतिशील शासक वर्ग हो ।
पुँजीपति वर्गले धेरै प्रगतिशील काम गरेको छ । गाउँगाउँमा छितरिएर रहेका जनसङ्ख्यालाई ठुला ठुला सहरमा केन्द्रीकरण गरेको छ । एक्लाएक्लै काम गरिरहेका किसान र निम्नपुँजीपति वर्गका जनसङ्ख्यालाई ठुलाठुला उद्योगमा केन्द्रीकरण गरेको छ । सामूहिक काममा आपसमा मिलेर काम पूरा गर्ने अनुशासनको पाठशाला बनाएको छ । त्यसको साथै बौद्धिक प्रतिष्ठा जमाएर बसेका डाक्टर, वकिल, इन्जिनियर, शिक्षक, प्राध्यापक, वैज्ञानिक सबै सबैलाई आफ्नो वेतनभोगी जागिरे आफ्नो साँचोमा ढाले पनि दिनदिनै सयौँको सङ्ख्यामा सर्वहारा वर्ग उत्पादन गरिरहेको छ । आधुनिक सर्वहारा वर्गसँग आफ्नो सम्पत्ति सबै गुमिसकेको छ । सम्पत्तिको ठुलो हिस्सा पुँजीपति वर्गसँग केन्द्रीकरण भइरहेको छ । काम सामाजिक बनाएको छ तर स्वामित्व व्यक्तिगत भएको छ ।
सर्वहारा वर्ग वर्गीय रूपमा सङ्गठित भएर राजनैतिक आन्दोलनबाट शक्ति केन्द्रीकरण गर्दै राज्यसत्ता कब्जा गर्ने र सामूहिक स्वामित्वमा रूपान्तरण गर्ने काम पनि अब त्यही सर्वहारा वर्गको जिम्मामा गएको छ । राजनीतिमा पुँजीपति वर्गले आफ्नो अधिनायकत्व स्थापित गरेको छ । नियमकानुनमा पुँजीपति वर्ग र सर्वहारा वर्ग समान अधिकार र कर्तव्यअन्तर्गत परिभाषित गरेको छ । खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगार हुने सबै क्षेत्रमा पाएको नाफा कमाउने छुटका कारणले वर्गीय उत्पीडन चर्को छ । दल खोल्न, सभासङ्गठन गर्न पाउने, आवधिक चुनाव गर्ने, विजयी हुने राजनैतिक दलले शासन सञ्चालन गर्ने, कानुन सबैका लागि समान हुने, मतदानबाट भएको विजय–पराजय सबैले स्वीकार गर्नुपर्ने र राज्यले व्यक्तिगत सम्पत्तिको रक्षा गर्ने, सबैले निर्वाध रूपमा नाफा कमाउन पाउने सबै पुँजीपति वर्ग शासक बन्ने नियम कानुन हुन् ।
वर्तमान अवस्थाको मूल प्रवाह पुँजीवादी व्यवस्था हो । पुँजीपति वर्गको शक्ति बढी नाफा कमाएर पुँजी केन्द्रीकरण गर्नेमा छ तर बहुमत श्रमजीवी जनताको शक्ति सङ्गठनमा छ र व्यक्तिगत अर्थतन्त्रमा होइन, सम्पत्तिको सामूहिक स्वामित्वमा छ । त्यही कामको बाधक राज्यसत्ता छ । राज्यसत्ताको बलप्रयोग गरेर पुँजीवादी व्यक्तिगत सम्पत्तिको रक्षा भइरहेको छ ।
पुँजीवादी राजनीति जतिसुकै प्रगतीशिल र वैज्ञानिक भए पनि त्यो सन् १४९२ देखि १८४८ सम्मको प्रगतिशील व्यवस्था हो । त्यो अवधिभित्रको विकल्पविहीन प्रगतिशील व्यवस्था हो । यो व्यवस्थाको वैज्ञानिकता त्यहीसम्म मात्र सीमित छ । पुँजीवादी व्यवस्था मजदुरले स्थापना, सञ्चालन र अस्तित्व स्थापित गरेको व्यवस्था हो । मजदुरको साथसहयोग र योगदानविना यो व्यवस्था हो । मजदुरको साथसहयोग र योगदानविना यो व्यवस्था चल्न सक्दैन । त्यति मात्र होइन, मजदुरको शोषणमा अडेको व्यवस्था हो । शोषणमा परेका मजदुरले आफ्नो र पुँजीपति वर्गको यथार्थ हैसियत नबुझेको अवस्थासम्म मात्र यो व्यवस्था यस्तै रूपमा सञ्चालन हुनेछ । यस व्यवस्थाको वैधानिकता मजदुरको राजनैतिक चेतनास्तर निम्न हुँदासम्म मात्र सुरक्षित रहनेछ ।
कार्ल माक्र्सले १८४८ फेब्रुअरीमा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेर भने कि संसारका मान्छे भाइभाइ होइनौँ । संसारका मान्छेमध्ये पुँजीपति शोषक हुन् र मजदुर शोषित हुन् । शोषकप्रति शोषितको व्यवहार मित्रतापूर्ण होइन, शत्रुतापूर्ण सम्बन्ध रहनुपर्छ । त्यसकारण विरोधी वर्गको राज्यसत्तालाई राजनैतिक सङ्घर्षको माध्यमबाट हराएर राज्यसत्ता कब्जा गर्नुपर्छ । सङ्घर्षबाट नै सम्पूर्ण व्यक्तिगत स्वामित्वमा रहेका उत्पादनका साधन सामूहिक स्वामित्वमा बनाइसकेपछि वर्गउन्मूलन हुनेछ, तब मात्रै संसारका सबै मान्छे भाइभाइ हुनेछौँ । कुनै पनि एउटा मान्छेले अर्को मान्छेलाई शोषण गर्ने अवस्था रहने छैन । सबै मान्छे श्रमजीवी हुनेछन् । पुँजीजीवी कोही पनि बाँकी रहने छैनन् । त्यसैका लागि संसारका मजदुर एक होऔँ । त्यही शीर्ष वाक्यसहितको कम्युनिस्ट घोषणापत्रको प्रकाशनपछि वैज्ञानिक समाजवादको सिद्धान्त मानव समाजमा समानताको सैद्धान्तिक हतियार प्राप्त भयो । त्यसपछि त्यसलाई व्यवहारमा प्रयोग गर्ने काम मात्र बाँधी बस्यो । पुँजीवादी सिद्धान्त प्रतिगामी सिद्धान्त भयो । समाजवादी सिद्धान्त र समाजवादी व्यवस्था प्रगतिशील व्यवस्था भयो । त्यो व्यवस्थालाई समाजमा प्रयोग गर्ने काम मात्र बाँकी भयो ।
द्वन्द्वात्मक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, ऐतिहासिक भौतिकवाद र समाजवादको सिद्धान्तसँगै काल्पनिक समाजवाद वैज्ञानिक समाजवादमा परिणत भएको हो । इतिहासमा बलप्रयोगको महत्त्व भएको हुनाले सर्वहारा वर्गको नेतृत्वमा सङ्गठन निर्माण गरेर सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्दा मात्र समाजवादको स्थापना र सञ्चालन हुनेछ भन्ने माक्र्सको निष्कर्ष थियो । माक्र्सभन्दा पहिलेका विद्वान्ले व्याख्या गर्नको लागि अध्ययन गर्दथे तर माक्र्सले व्यवहारको महत्त्वसहित बदलका लागि अध्ययन गर्नुपर्ने वास्तविकता उद्घोष गरे । बदल्ने भनेको शासकलाई शासितमा र शासितलाई शासकमा स्थापित गराउने पनि हो ।
मानव इतिहासमा दश हजार वर्ष पहिलेदेखि यो वा त्यो रूपमा व्यक्तिगत सम्पत्तिका मालिक नै शासक भएर आफ्नो व्यवस्था सञ्चालन गर्दै आएका छन् । समाजवादी व्यवस्था त्यसको ठिक विपरीत किसिमले अगाडि बढ्ने हो । त्यो भनेको व्यक्तिगत स्वामित्वमा उत्पादनका कुनै साधन नभएका सर्वहारा वर्गको नेतृत्वमा राजनैतिक व्यवस्था स्थापना र सञ्चालन गर्ने वैज्ञानिक समाजवादी व्यवस्था हो । यो व्यवस्था सञ्चालनमा आएपछि राज्यसत्ता उपयोगविहीन अवस्थामा पुग्छ । व्यक्तिगत स्वामित्वको सम्पत्ति जोगाउन बलप्रयोग गर्ने उद्देश्यसहित राज्यसत्ता सुरु गरिएको थियो । व्यक्तिगत सम्पत्ति जोगाउने उद्देश्य समाप्त भएपछि स्वाभाविक रूपमा राज्यसत्ता उपयोगविहीन हुनेछ । औचित्य समाप्त भएर बिलाउँदै जाने हुनाले राज्यसत्तालाई इतिहासको अध्ययन गर्ने वस्तु बनाइनेछ । बलप्रयोग गर्ने शक्तिलाई बलप्रयोगबाट नै हराउनुपर्ने भएको हुनाले अहिलको राज्यसत्तालाई जनताको सशस्त्र शक्ति अनिवार्य चाहिन्छ । विरोधी वर्ग रहँदासम्म विरोधको सामना गर्न पनि राज्यसत्ताको अनिवार्य आवश्यकता पर्दछ । सर्वहारा वर्गको हातमा राज्यसत्ता प्राप्त भएपछि जनताको राजनैतिक चेतनास्तर उच्च हुँदै जान्छ । बलप्रयोगको औचित्य समाप्त हुन्छ । जनतालाई बलप्रयोगले काम पनि गर्दैन, उनीहरूलाई सत्य तथ्य बुझाउँदै जानुपर्छ ।
वैज्ञानिकद्वारा प्रमाणित गरेको विषय उच्च बौद्धिकस्तरको हुन्छ । सर्वसाधारण जनतालाई दैनिक समस्या समाधान गर्न धौ धौ भएको हुन्छ । उनीहरूको दैनिकीमा धर्म र परम्परा सबैभन्दा पहिले आउँछन् । समाजमा परस्पर विरोधी वर्गको उपस्थिति छ । वर्गीय स्वार्थरक्षा हुने भएकाले सत्तासिन सम्पन्न वर्गले धर्म र परम्परालाई प्राथकितासहित शोषणको औजारको रूपमा प्रयोग गर्छन् । उनीहरूले त्यसको प्रचारप्रसारमा जोडबल लगाउँछन् । सर्वसाधारण जनताले त्यो वास्तविकता सजिलै र छिट्टै बुझ्न सक्दैनन् । स्वतन्त्र चिन्तन र अध्ययनको आवश्यकता पर्दछ । अध्ययन र स्वतन्त्र चिन्तन र सङ्घर्षमा निरन्तरताको लागि सङ्गठित र अनुशासित हुन धेरै समय लाग्छ । त्यो काम सामाजिक अस्तित्वको विरोधी हुन्छ । त्यही कारण हो, सर्वसाधारण जनतालाई राजनैतिक कार्यकर्ताको सम्पर्क उच्च महत्त्वको हुन्छ । राजनैतिक कार्यकर्ताको सम्पर्क उच्च महत्त्वको हुन्छ ।
राजनैतिक क्षेत्रमा जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन प्रयत्न गर्नेभन्दा जनताको पिछडिएको राजनैतिक चेतनास्तरबाट फाइदा उठाउने धेरै हुन्छन् । तिनीहरूमध्ये त्यही थोरै हुने कार्यकर्ताको उच्च महत्त्व हुन्छ तर पनि जनता आफूहरू झुक्किएको र धोका पाएको बुझ्दै जान्छन् र क्रान्तिकारी कार्यकर्ताको सम्पर्कमा पुग्दै गर्छन् किनभने तिनीहरूले राजनीतिमा वैज्ञानिक अनुसन्धान र प्रयोग भएका विषयबाट जनतालाई प्रशिक्षित गर्छन् । अवश्य पनि परम्परागत वैचारिक स्तर भएका व्यक्तिलाई उन्नत वैज्ञानिक राजनीतिक विषय बुझाउन अप्ठेरो हुन्छ तर पनि त्यसमा सत्यता र वास्तविकता रहेको हुन्छ । जति बढी बुझ्दै जान्छन्, उति महत्त्व बढी भएको महसुस गर्दै जान्छन् । त्यसैले कम्युनिस्ट कार्यकर्ता जनताको सम्पर्कमा रहँदा दुवैलाई फाइदा हुन्छ । जनतालाई सत्य र वास्तविकताको जानकारी हुन्छ भने कार्यकर्तालाई जनताको साथ र सहयोग प्राप्त हुन्छ । माक्र्सले समाजवादको वैज्ञानिकता पुष्टि गरेपछि पहिलो पेरिस कम्युन, दोस्रो सोभियत रुसमा र तेस्रो चीनमा प्रयोग भएको र उच्च अनुभवसमेत प्राप्त भइसकेको छ । अबको सफलता झन् उच्च स्तरको हुनेछ ।
पेरिस कम्युन जम्मा ७२ दिन अस्तित्वमा रह्यो । त्यसका कमीकमजोरी हटाएर रुसमा स्थापना भएको दोस्रो समाजवादी सत्ता ४० वर्ष अथवा झन्डै दुई पुस्तासम्म सञ्चालन भयो । रुसमा समाजवादी सत्ता सञ्चालन भएकै समयमा नयाँ जनवादी सत्ता चीनमा स्थापना भएर २७ वर्षसम्म समाजवादको अभ्यास भयो । नयाँ जनवादी सत्ता पनि समावादी सत्ताको एकाइ थियो । त्यसको उद्देश्य पुँजीवादको विकास गर्नु थियो तर पार्टीले पुँजीवादी बाटो लिन खोज्दा दश वर्षसम्म महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरेर पनि प्रतिगमन रोक्न सकेन । यी तीनओटै देशका समाजवादी सत्ता उच्च स्तरको समाजवादी सत्ताका वैज्ञानिक प्रयोग हुन् ।
अहिले संसारका कुनै पनि देशमा समाजवादी राज्यसत्तामा ती तीनओटै राज्यसत्ताका अनुभव र उपलब्धिको संरक्षण त गर्नैैपर्छ । त्यत्तिलै मात्रै पुग्ने छैन, नयाँ परिस्थितिको ठोस अवस्थाको ठोस विश्लेषण पनि आवश्यक पर्नेछ । नेपाली समाजमा राजनैतिक चेतनास्तर निम्न छ । जहानिया राणाशासन, निर्दलीय पञ्चायती सामन्ती शासन ब्यहोरेको र निरङ्कुश राजतन्त्र ब्यहोरेको नेपाली समाज विकासको हिसाबले पनि धेरै पिछडिएको अवस्थामा छ । दुई दशकपहिले राजतन्त्र हटाएर गणतन्त्र स्थापना भएको भए पनि प्रतिगमन भई राजतन्त्र पुनस्र्थापना हुने सम्भावना अझै बलियो छ ।
समाजवादजस्तो उच्च विकसित समाजमा लागु हुने वैज्ञानिक किसिमको राजनीतिक व्यवस्था छिटै र सजिलै लागु हुने अवस्था नेपालमा छैन । त्यो भनेको समाजवाद लागु गर्न सक्ने राजनैतिक पार्टीको अझै विकास हुन सकेको छैन । माक्र्सवादले आन्तरिक पक्षलाई मुख्य मान्दछ । पुँजीवादलाई निषेध गरेर मात्र लागु हुन सक्ने समाजवादी व्यवस्था हो । निषेध गर्ने र लागु गर्ने उत्पादक शक्तिले हो । उत्पादक शक्ति मजदुर–किसानको राजनैतिक चेतनास्तर निम्न छ । त्यसलाई उच्च स्तरमा विकास गरेर मात्र त्यही शक्तिले समाजवाद लागु गर्ने हो ।