• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाली कम्युनिस्ट आन्दोलनको द्वन्द्वात्मक विश्लेषण : ऐतिहासिक, वैचारिक, सङ्गठनात्मक तथा सामाजिक यथार्थ


  •   बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
  • रामप्रकाश पुरी ##

    Advertisement

    विस्तृत लेख DOI: 10.31014/ aior.1991 .08.04.607, https://www.asianinstituteofresearch.org/, Research Gate, Academia.ed., Google scholar आदि साइटमा पढ्न सकिन्छ । जर्नल अफ सोसियल एन्ड पोलिटिकल साइन्सेज Vol.8, No.4, 2025: 129-149 मा ‘अ डाइलेक्टिकल एनालिसिस अफ द नेपाली कम्युनिस्ट मुभमेन्ट : हिस्टोरिकल, आइडोलोजिकल, अर्गनाइजेसनल एन्ड सोसियल रियालिटिज’ प्रकाशित अनुसन्धानात्मक यो लेखले नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विकास, वैचारिक द्वन्द्व, सङ्गठनात्मक संरचना, तथा सामाजिक–राजनीतिक यथार्थलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट विश्लेषण गरेको छ । अध्ययनको मुख्य तर्क के हो भने नेपाली कम्युनिस्ट आन्दोलनभित्र देखिने विवाद, गुटबन्दी, र फुट केवल आकस्मिक सङ्गठनात्मक कमजोरी होइनन् बरु ती आन्दोलनभित्र विद्यमान ऐतिहासिक, वैचारिक, रणनीतिक, र सङ्गठनात्मक अन्तर्विरोधको परिणाम हुन् । गुणात्मक तथा व्याख्यात्मक–आलोचनात्मक अनुसन्धान पद्धतिमा आधारित यस अध्ययनले पार्टी दस्तावेज, नेताका लेखन, राजनीतिक प्रतिवेदन, संस्मरण तथा विद्यमान शैक्षिक साहित्यको विश्लेषण गरेर आन्दोलनभित्रका अन्तर्विरोधको प्रकृति पहिचान गरेको छ ।

    ऐतिहासिक रूपमा नेपाली कम्युनिस्ट आन्दोलनले राणा शासन विरुद्धको सङ्घर्षदेखि माओवादी जनयुद्ध र गणतान्त्रिक परिवर्तनसम्म नेपालको राजनीतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ तर यसको विकासक्रम सधैँ वैचारिक विवाद, नेतृत्व सङ्घर्ष, सङ्गठनात्मक अस्थिरता र निरन्तर फुटले प्रभावित रह्यो । अध्ययनले देखाउँछ कि नेपाली कम्युनिस्ट पार्टीहरूले क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी–माओवादी आदर्श र संसदीय राजनीतिका व्यावहारिक आवश्यकताबिच सन्तुलन कायम गर्न निरन्तर सङ्घर्ष गरेका छन् । क्रान्तिकारी विचारधारा र संसदीय व्यवहारबिचको यही अन्तरविरोधले वैचारिक विचलन, वर्गीय राजनीतिमा कमजोरपन र बारम्बार हुने फुटलाई जन्म दिएको छ ।

    अध्ययनले लेनिनवादी “जनवादी केन्द्रीयता” को सिद्धान्त र व्यवहारमा देखिने नेतृत्व–केन्द्रीकृत संरचनाबिचको विरोधाभासलाई पनि विश्लेषण गरेको छ । सैद्धान्तिक रूपमा कम्युनिस्ट पार्टीहरूले सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रको पक्ष लिने भए पनि व्यवहारमा पार्टीहरू प्राय: शक्तिशाली नेताको नियन्त्रणमा केन्द्रित भएका छन् । रोबर्ट माइकल्सको “आइरन ल अफ ओलिग्रेसी” को आधारमा अध्ययनले देखाउँछ कि नेतृत्वमा शक्ति केन्द्रित हुँदा आन्तरिक बहस, उत्तरदायित्व र वैचारिक लोकतन्त्र कमजोर बन्छ, जसले गुटबन्दी र विभाजनलाई बढावा दिन्छ । त्यसैले फुट केवल वैचारिक मतभेदको परिणाम नभई सङ्गठनात्मक संरचना, नेतृत्व प्रतिस्पर्धा, र वैधानिकताको सङ्घर्षसँग पनि सम्बन्धित रहेको निष्कर्ष निकालिएको छ ।

    यस अध्ययनको अर्को महत्त्वपूर्ण पक्ष नेपाली समाजको जातीय, लैङ्गिक, क्षेत्रीय र वर्गीय असमानतासँग कम्युनिस्ट आन्दोलनको सम्बन्ध हो । कम्युनिस्ट आन्दोलनले दलित, जनजाति, मधेसी, महिला, किसान तथा उत्पीडित समुदायलाई राजनीतिक रूपमा सङ्गठित गर्न महत्त्वपूर्ण भूमिका खेले पनि व्यवहारमा पार्टी संरचना अझै पनि उच्च जातीय तथा पुरुष–केन्द्रीकृत नेतृत्वद्वारा नियन्त्रणमा रहेको अध्ययनले देखाउँछ । विशेषत: माओवादी जनयुद्धको समयमा सामाजिक समावेशीकरणको विस्तार भए पनि शान्ति प्रक्रियापछि ती उपलब्धि क्रमश: कमजोर हुँदै गएको निष्कर्ष प्रस्तुत गरिएको छ । यसले आन्दोलनको समानतामूलक दाबी र वास्तविक सङ्गठनात्मक व्यवहारबिच गम्भीर अन्तर रहेको देखाउँछ ।

    अध्ययनले बाह्य कारकहरू—राज्यदमन, बहुदलीय प्रजातन्त्रको उदय, निर्वाचन प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको प्रभाव तथा भारतचीन भूराजनीतिक सन्दर्भ—ले पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई गहिरो रूपमा प्रभावित गरेको देखाउँछ । यी बाह्य प्रभाव आन्तरिक अन्तर्विरोधसँग अन्तरक्रिया गर्दै रणनीतिक परिवर्तन, वैचारिक पुनव्र्याख्या तथा सङ्गठनात्मक पुनर्संरचनालाई प्रभावित गर्छन् ।

    साहित्य समीक्षाले विद्यमान अध्ययनमा देखिएका मुख्य विषय—वैचारिक विरोधाभास, नेतृत्व–केन्द्रीकरण, सामाजिक बहिष्करण, शान्ति प्रक्रियाको अपूर्णता तथा समावेशीकरणका सीमा—लाई समेटेको छ । यसै आधारमा अध्ययनले चार प्रमुख अनुसन्धान खाडल पहिचान गरेको छ : पहिलो– क्रान्तिकारी विचारधारा र संसदीय व्यवहारबिचको अन्तर, दोस्रो– जनवादी केन्द्रीयताको व्यवहारमा अल्पतन्त्रीकरण, तेस्रो– सामाजिक समावेशीकरणको भाष्य र पार्टीभित्र कायम सामाजिक असमानताबिचको विरोधाभास र चौथो– नेपाली सन्दर्भअनुसार माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा/माओवादको निरन्तर पुनव्र्याख्या ।

    अन्तत: अध्ययनले निष्कर्ष निकाल्छ कि नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य यसको आन्तरिक लोकतान्त्रिकीकरण, वैचारिक स्पष्टता, उत्तरदायी नेतृत्व तथा वास्तविक सामाजिक समावेशीकरणमा निर्भर छ । यदि आन्दोलनले आफ्ना वैचारिक आदर्श र व्यवहारबिचको दुरी घटाउन सकेन भने निरन्तर फुट, वैचारिक अस्पष्टता र राजनीतिक वैधताको क्षय झन् गहिरिँदै जानेछ तर यदि यसले आफ्ना अन्तर्विरोधलाई द्वन्द्वात्मक रूपमा समाधान गर्दै सङ्गठनात्मक र वैचारिक पुनर्निर्माण गर्न सफल भयो भने नेपाली राजनीतिमा पुन: रूपान्तरणकारी शक्ति बन्न सक्ने सम्भावना अध्ययनले औल्याएको छ ।

    यो अध्यायले नेपाली कम्युनिस्ट आन्दोलनलाई ऐतिहासिक, वैचारिक, सङ्गठनात्मक तथा सामाजिक यथार्थका आधारमा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट विश्लेषण गर्दछ । अध्ययनले कम्युनिस्ट सिद्धान्त र व्यवहारबिचको अन्तरलाई आन्दोलनको मूल अन्तर्विरोधका रूपमा प्रस्तुत गरेको छ । माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादित साम्यवादको आधार वर्गसङ्घर्ष, उत्पादनका साधनमाथिको सामूहिक स्वामित्व, सामाजिक समानता तथा वर्गविहीन समाजको निर्माण हो तर व्यवहारमा सोभियत सङ्घ, चीन, उत्तर कोरियालगायतका देशमा शक्ति केन्द्रीकरण, नेतृत्ववादी प्रवृत्ति, आर्थिक अकार्यक्षमता तथा गुटबन्दीका कारण सैद्धान्तिक आदर्श पूर्ण रूपमा कार्यान्वयन हुन सकेनन् । नेपालमा पनि भूमिसुधार, सामाजिक चेतना तथा उत्पीडित समुदायको राजनीतिक सहभागिता बढे पनि मजदुर र किसानको वास्तविक सशक्तीकरण सीमित रह्यो ।

    ऐतिहासिक रूपमा नेपाली कम्युनिस्ट आन्दोलनले राणाशासन, पञ्चायत व्यवस्था तथा राजतन्त्र विरुद्ध महत्त्वपूर्ण सङ्घर्ष गरेको छ । सन् १९४९ मा कम्युनिस्ट पार्टी स्थापना भएपछि आन्दोलनले राजनीतिक चेतना विस्तार, वर्गीय सङ्घर्ष तथा सामाजिक परिवर्तनमा योगदान पुर्‍यायो तर यसको इतिहास निरन्तर फुट, वैचारिक विवाद तथा नेतृत्व सङ्घर्षले पनि भरिएको छ । पञ्चायत कालमा भूमिगत सङ्घर्षले सङ्गठनात्मक दृढता विकास गर्‍यो तर यही अवस्थाले विभिन्न रणनीतिक र वैचारिक विभाजनलाई पनि तीव्र बनायो । सन् १९९६–२००६ को माओवादी जनयुद्ध आन्दोलनको सबैभन्दा क्रान्तिकारी चरण थियो, जसले जातीय, वर्गीय, लैङ्गिक तथा क्षेत्रीय उत्पीडनलाई चुनौती दियो र दलित, महिला, तथा जनजातिको सहभागिता बढायो तर शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा प्रवेश गर्दा वैचारिक अस्पष्टता, गुटबन्दी, तथा नेतृत्वकेन्द्रित राजनीति पुन: बलियो बन्यो ।

    वैचारिक रूपमा आन्दोलन सधैँ क्रान्तिकारी राजनीति र संसदीय व्यवहारबिचको द्वन्द्वमा फसेको देखिन्छ । सशस्त्र सङ्घर्ष वा शान्तिपूर्ण परिवर्तन, क्रान्ति वा सुधारवाद तथा माक्र्सवादी शुद्धता वा व्यावहारिक संसदीय सहभागिताबिचको बहसले आन्दोलनभित्र निरन्तर विभाजन उत्पन्न गरेको छ । यसरी नेपाली कम्युनिस्ट आन्दोलनले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान दिए पनि यसको विकासक्रम वैचारिक अन्तर्विरोध, सङ्गठनात्मक अस्थिरता र पुनरावृत्त फुटद्वारा निरन्तर प्रभावित भएको निष्कर्ष अध्ययनले प्रस्तुत गर्दछ ।

    यस खण्डले नेपाली कम्युनिस्ट आन्दोलनको सङ्गठनात्मक तथा सामाजिक–सांस्कृतिक यथार्थलाई विश्लेषण गर्दै आन्दोलनभित्रको गुटबन्दी, नेतृत्व सङ्घर्ष तथा सङ्गठनात्मक अस्थिरताको संरचनात्मक आधार स्पष्ट गरेको छ । अध्ययनले रोबर्ट माइकल्सको “आइरन ल अफ ओलिग्रेसी” को आधारमा कम्युनिस्ट पार्टीहरू प्रारम्भमा लोकतान्त्रिक र क्रान्तिकारी उद्देश्य बोकेका भए पनि समयसँगै नेतृत्वकेन्द्रित, केन्द्रीकृत तथा अल्पतन्त्री संरचनामा रूपान्तरण हुने तर्क प्रस्तुत गरेको छ । नेपाली कम्युनिस्ट पार्टीहरूले औपचारिक रूपमा “जनवादी केन्द्रीयता” स्वीकार गरे पनि व्यवहारमा निर्णयप्रक्रिया सीमित नेतृत्व वर्ग र केन्द्रीय समितिमा केन्द्रित हुने गरेको देखिन्छ । यसले वैचारिक विविधता, आन्तरिक बहस तथा सहभागी लोकतन्त्रलाई कमजोर बनाएको छ । असन्तुष्ट नेता वा कार्यकर्तालाई प्राय: किनारामा पारिने भएकाले गुट निर्माण र फुट संस्थागत प्रक्रियाजस्तै बनेको अध्ययनले देखाउँछ ।

    अध्ययनले नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दी धेरै अवस्थामा वैचारिक मतभेदभन्दा पनि शक्ति, पद, स्रोत तथा नेतृत्व प्रतिस्पर्धासँग सम्बन्धित रहेको तर्क गरेको छ । नेतृत्व हस्तान्तरणको अस्पष्टता, व्यक्तिवादी राजनीति तथा आन्तरिक लोकतन्त्रको कमजोरीले सङ्गठनात्मक तनाव बढाएको छ । विशेष गरी सन् १९९० पछिको बहुदलीय व्यवस्था र सन् २००६ पछिको शान्तिप्रक्रियापछि पार्टी विस्तारसँगै सङ्गठनात्मक अनुशासन कमजोर हुँदै गएको, अवसरवादी प्रवृत्ति बढेको र व्यावसायिक क्रान्तिकारी कार्यकर्ताको स्थान नोकरशाही संरचनाले लिएको अध्ययनले उल्लेख गर्दछ । यसले लेनिनवादी सङ्गठनात्मक आदर्श र व्यवहारबिच गहिरो अन्तर रहेको देखाउँछ ।

    सामाजिक–सांस्कृतिक पक्षमा अध्ययनले नेपाली कम्युनिस्ट आन्दोलनको स्थायित्व यसको सामाजिक प्रतिनिधित्वसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको देखाउँछ । दलित, जनजाति, मधेसी, महिला, किसान तथा श्रमिक समुदायको प्रभावकारी प्रतिनिधित्व हुन नसक्दा जनविश्वास कमजोर हुने, जनसहभागिता घट्ने र नयाँ गुट तथा असन्तुष्टि जन्मिने गरेको निष्कर्ष प्रस्तुत गरिएको छ । यसको विपरीत माओवादी जनयुद्धका क्रममा सामाजिक समावेशीकरण बढ्दा आन्दोलनले व्यापक जनसमर्थन, वैचारिक विश्वसनीयता तथा सङ्गठनात्मक एकता हासिल गरेको थियो । यसरी सामाजिक प्रतिनिधित्व र पहिचान राजनीति नेपाली कम्युनिस्ट आन्दोलनको सङ्गठनात्मक स्थायित्व र विघटन दुवैका केन्द्रीय तत्त्व भएको अध्ययनले निष्कर्ष निकालेको छ ।

    यस अध्ययनले नेपाली कम्युनिस्ट आन्दोलनलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट विश्लेषण गर्दै यसको ऐतिहासिक विकास, वैचारिक अन्तर्विरोध, सङ्गठनात्मक संरचना, सामाजिक प्रतिनिधित्व तथा बाह्य प्रभावको समग्र अध्ययन प्रस्तुत गरेको छ । अध्ययनको मुख्य निष्कर्ष के हो भने नेपाली कम्युनिस्ट आन्दोलनभित्र देखिने निरन्तर गुटबन्दी र फुट कुनै आकस्मिक कमजोरी नभई आन्दोलनभित्र विद्यमान गहिरा संरचनात्मक तथा वैचारिक अन्तर्विरोधको स्वाभाविक परिणाम हो । यसले आन्दोलनलाई एकातिर सामाजिक परिवर्तनको शक्तिका रूपमा स्थापित गरेको छ भने अर्कोतर्फ आन्तरिक अस्थिरता र वैचारिक विचलनको स्रोत पनि बनाएको छ ।

    अध्ययनले देखाउँछ कि नेपाली कम्युनिस्ट आन्दोलन राज्य दमन, राजनीतिक अवसर, अन्तर्राष्ट्रिय वैचारिक प्रभाव, तथा क्षेत्रीय राजनीतिक परिवेशबाट गहिरो रूपमा प्रभावित भएको छ । पञ्चायतकालीन दमनले आन्दोलनलाई भूमिगत बनायो र वैचारिक बहसलाई तीव्र गरायो भने सन् १९९० को बहुदलीय प्रजातन्त्र र २०६२–६३ को जनआन्दोलनपछि सिर्जित राजनीतिक अवसरले पार्टीभित्र रणनीतिक तथा वैचारिक प्रतिस्पर्धा बढाए । सोभियत सङ्घ, चीन तथा अन्य समाजवादी धाराको प्रभावले नेपाली कम्युनिस्ट आन्दोलनको रणनीति, सशस्त्र सङ्घर्ष तथा संसदीय सहभागितासम्बन्धी बहसलाई आकार दिएको अध्ययनले उल्लेख गर्दछ ।

    अध्ययनको अर्को महत्त्वपूर्ण निष्कर्ष “संसद्वाद र क्रान्तिबिचको अन्तर” हो । संसदीय राजनीतिमा सहभागी हुँदा कम्युनिस्ट पार्टीले संस्थागत वैधता प्राप्त गरे पनि त्यसले क्रान्तिकारी वर्गीय राजनीति कमजोर बनाएको देखिन्छ । चुनावी प्रतिस्पर्धा, सत्ताकेन्द्रित व्यवहार तथा व्यावहारिक राजनीतिक सम्झौताले वैचारिक स्पष्टता घटाउँदै लगेको छ । यसले पार्टीभित्र नेतृत्वकेन्द्रित संरचना, अवसरवाद तथा वैचारिक अस्पष्टता बढाएको छ । विशेषत: एमाले, माओवादी केन्द्र तथा एकीकृत समाजवादीजस्ता मुख्यधाराका वाम दलले समाजवाद, सामाजिक न्याय तथा क्रान्तिकारी परिवर्तनका नारा दिए पनि व्यवहारमा भ्रष्टाचार, निजीकरण, गुटबन्दी तथा सत्ताकेन्द्रित राजनीतिले तिनका वैचारिक प्रतिबद्धतामाथि प्रश्न उठाएको अध्ययनले देखाउँछ ।

    अध्ययनले आन्दोलनका विभिन्न आयाम—ऐतिहासिक, वैचारिक, सङ्गठनात्मक, सामाजिक–सांस्कृतिक तथा रणनीतिक पक्ष—एकअर्कासँग द्वन्द्वात्मक रूपमा सम्बन्धित रहेको तर्क गर्दछ । इतिहासले वैचारिक स्पष्टता पनि दिन्छ र विभाजन पनि बढाउँछ; वैचारिक विवादले सङ्गठनात्मक फुट जन्माउँछ; सामाजिक समावेशीकरणले सङ्गठनात्मक एकता बलियो बनाउँछ भने बहिष्करणले असन्तुष्टि र फुट बढाउँछ । यसरी नेपाली कम्युनिस्ट आन्दोलन निरन्तर “एकता–फुट–पुनर्गठन” को प्रक्रियाबाट अगाडि बढेको देखिन्छ ।

    अध्ययनले नेपाली कम्युनिस्ट आन्दोलनका सकारात्मक तथा नकारात्मक पक्ष पनि विश्लेषण गरेको छ । सकारात्मक रूपमा आन्दोलनले दलित, महिला, किसान, श्रमिक तथा उत्पीडित वर्गमा राजनीतिक चेतना विस्तार गरेको, सामाजिक न्याय, सङ्घीयता, गणतन्त्र तथा समावेशीकरणका मुद्दालाई स्थापित गरेको देखिन्छ तर नकारात्मक रूपमा गुटबन्दी, व्यक्तिवादी नेतृत्व, अवसरवाद, आर्थिक योजनाको कमजोर कार्यान्वयन तथा सामाजिक विभेदको निरन्तरताले आन्दोलनलाई कमजोर बनाएको छ ।

    अन्तत: अध्ययनले नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य दुई सम्भावनामा निर्भर रहेको निष्कर्ष प्रस्तुत गर्दछ । पहिलो– आन्तरिक लोकतान्त्रीकरण, उत्तरदायी नेतृत्व, सामाजिक समावेशीकरण तथा वैचारिक स्पष्टतामार्फत आन्दोलनले पुनर्निर्माण र रूपान्तरणको बाटो समात्न सक्छ । दोस्रो– यदि वर्तमान अवसरवादी, नेतृत्वकेन्द्रित तथा सत्तामुखी प्रवृत्ति जारी रह्यो भने आन्दोलन थप विखण्डन, वैचारिक पतन तथा जनविश्वासको क्षयतर्फ जानेछ । त्यसैले आन्दोलनको दीर्घकालीन स्थायित्व यसको आन्तरिक अन्तर्विरोधलाई कसरी व्यवस्थापन र रूपान्तरण गर्छ भन्ने कुरामा निर्भर रहेको अध्ययनले निष्कर्ष निकालेको छ ।

    बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.