भीष्म जोशी ##
उसको सहर
उसको लागि पो सौक र खेल हो, राजनीति
एक्कासि ऊ आयो
हामीलाई नसोधी
हाम्रो घर डोजरले बढारेर लग्यो
सहर सुन्दर बनाउने रहर, थियो होला उसको
उसको सहरमा
चिटिक्क मिलेका अढाइ तले महल होउन्
आँगनमा बाघको डमरु र बाख्राका पाठी
सँगै खेलिरहुन्
आँगनअगाडि सुन्दर चार लेनको
कालो चिल्लो सडक बनोस्
प्रत्येक घरको पछाडि सुन्दर बगैँचा, स्विमिङ पुल हुन्
बगैँचाभित्र झुल्ने कोच
अन्डरग्राउन्ड पार्किङ
प्रत्येक एक किलोमिटर दुरीमा सुन्दर बगैँचा
अनि ठुल्ठुला आरामदायी पार्क
दुई किलोमिटरको दुरीमा सुविधासम्पन्न स्कुल
पाँच मिनेटको दुरीमा अत्याधुनिक अस्पताल
एक मिनेटको दुरीमा सुरक्षाचौक
घरभित्रै ग्यास, बिजुली र दुधका पाइप
वाकिङ गर्न सुविधासम्पन्न सडक छेउमा
रुखैरुख, फुलैफूलले भरिभराउ पदमार्ग
र साइकल लेन
आकाशबाट फोटो लिँदा सुन्दर कुवेर नगरी देखियोस्
उसको सहरमा फोहोर र फोहोरी एकादेशको कथा बनुन्
उसको सहरमा गरिब र गरिबी भन्नेजस्ता
प्रत्येक कुरा
सहर निवासीको कल्पनाबाटै मेटिइसकेका हुन्
चारैतिर सम्पन्न नै सम्पन्नको बास होस्
सबै सुखी र निरोगी हुन्
सुनैसुनका कार पार्किङ भएका
सुनकै चर्पी भएका
सयौँ तलाका सुविधासम्पन्न होटेल होउन्
उसको सहर यस्तै यस्तै होओस्
हाम्रो पनि कामना
तर यो सहर हाम्रो पनि हो
यो सहर आफू बन्दै गर्दा
हामी लाखौँको घरबार उजाडिएका छन्
लाखौँलाखले श्रम, पसिना र रगत बगाएका छन्
हामी कसैलाई पनि माथि उसकै सहरमा बस्ने
रहर नभएको हो र ?
आफ्नो भन्नु केवल खुला आकाशको छानो थियो
एक इन्च जमिनविना
गन्हाउने खोला किनारमा बस्थ्यौँ
त्यो न रहर थियो न त सौक नै
केवल बाच्ने जिजीविषा थियो
एक छाक खानाको लालसा थियो
सबै पीडा पिएर बनाएको
एक आफ्नो भन्ने सानो झुप्रो थियो
एक्कासि तिम्रो डोजर आयो
तिम्रो सौकको राजनीति
अनि आफ्नै मतदानको परिणाम
यस्तै, यस्तै भयो ।
केही अर्कै खाले सपना हो कि विपना हो
के हो ? के देख्दैछौ ? के भोग्दैछौ ?
अनि हाम्रा लालाबाला
हाम्रो भोको पेट र
खुला आकाशको छानोले
नाना, दानापानी र छानो खोज्यो भने ?
तिम्रो राजनीति ?
राजनीति,
तिम्रो लागि खेल
तर हाम्रो जीवन र मरणको सवाल बनायौ, किन ?
यो सहर हाम्रो पनि होइन र ?