गिरीप्रसाद बुढा
कालो कोटसँगै कालो चश्मा टल्कायो
चट्ट शिरमा कालै टोपी ढल्कायो
साना तहरा सोझाउँदै डोजर पठायो
युद्ध भुमिमा झै पल्टन खटायो
भुँई मान्छेहरूमा लाठी बर्सायो
अधिकार माग्नेहरूलाई तर्सायो
नबोली नबोली दिन बितायो
वाह ! क्या विन्दास छ
लुसिफरको दिनचर्या ।
गरिखानेहरूको विजोग बनायो
सास फेर्ने आधार भट्कायो
महङगीले देशको ढाड सेक्यो
गरिबीको घाउमा नुन चुक लगायो
दुःखित जनको मृत्युमा हर्ष मनायो
बिद्यार्थीका आस्थामा प्रतिबन्ध सोझायो
गरिबमारा योजना सजायो
अन्धभक्तहरूको जयजयकार सुन्यो
शक्तिको दम्भमा मदमत्त बन्यो
गाँजा तान्यो, मख्ख पर्यो
वाह! क्या बिन्दास छ
लुसिफरको दिनचर्या ।
जनताको आँसुको मर्म बुझ्नु छैन
चारैतिर आक्रोस बलिरहेको देख्नु छैन
आक्रोसको आगोले जलाउछ कि भन्ने सोच्नु छैन
फाँसिवादी सान देखायो
तानाशाही बन्न खोज्यो
निरंकुशताको गन्ध छर्यो
अभिमानमा आत्मरति लियो
एकाध घन्टा कतै गुमनाम भयो
जनतसँग दुईचार कुरा गर्नु छैन
आफुलाई रहस्यमा राख्यो
वाह ! क्या विन्दास छ
लुसिफरको दिनचर्या ।