मोहनविक्रम सिंह ##
मेरो साहित्यिक यात्रा करिब ७ दशक लामो रहेको छ । ठिक त्यही अवधि मेरो राजनीतिक जीवनको पनि हो । यी दुवैमध्ये कुन प्रकारको जीवन पहिले सुरु भयो ? त्यही प्रकारले यी दुवैमध्ये मेरो जीवनमा कुन पक्ष प्रधान रह्यो ? त्यो बताउन भने मलाई कुनै मुस्किल पर्ने छैन । समग्र रूपमा लिने हो भने यो भन्न सकिन्छ, मेरो जीवनको राजनीतिक पक्ष नै प्रधान रह्यो तर त्यसका साथै मेरो साहित्यिक जीवन पनि करिब करिब समानान्तर रूपले अगाडि बढ्यो भन्दा पनि सायद अतिशयोक्ति हुने छैन तर यो लेखमा मैले मेरो जीवनको राजनीतिक यात्रा, सैद्धान्तिक वा राजनीतिक विषयमा लेखेका पुस्तक वा लेखबारे होइन, मुख्य रूपले मेरो साहित्यिक यात्राबारे नै सङ्क्षिप्तमा प्रकाश पार्ने प्रयत्न गर्नेछु ।
काठमाडौँ आएपछि म लैनचौरको शान्ति विद्यागृह स्कुलको ३ कक्षामा भर्ना भएँ । त्यहाँ धर्मराज थापाले हामीलाई भूगोल पढाउनुहुन्थ्यो । अन्य शिक्षकको भन्दा उहाँको बोली, हावभाव र स्वरसमेत बेग्लै प्रकारको थियो, केही मृदुल प्रकारको । त्यसले मलाई धेरै नै प्रभावित पार्यो । एक दिन म रत्नपार्कबाट ठमेलको आफ्नो डेरातिर जाँदै थिए, त्यो बेला पानी पर्यो र म एउटा घरको ओतमा उभिएँ । त्यहीँ धर्मराज थापा पनि कतैबाट आइपुग्नुभयो । मलाई देख्नेबित्तिकै उहाँले लेख कसरी लेख्ने ? त्यो कुरा बताउनुभयो । उहाँले भन्नुभयो– “एउटा नोटबुक र कलम सधैँ सँगै राख्नुपर्छ । मनमा जे कुरा आए पनि नोट गर्नुपर्छ । अरू केही नपाए आफ्नो अगाडि देखेका गाई, भैँसी, कुकुर, चराचुरुङ्गी, रुख, पात आदिबारे नै लेख्नुपर्दछ ।” त्यही दिन मैले एउटा नोटबुक किने र दिनदिनै केही लेख्न थालेँ । सायद मेरो साहित्यिक यात्रा त्यही दिनदेखि सुरु भयो । त्यो सायद २००४ सालको कुनै दिन थियो ।
पछि उहाँले स्कुलमा पढाउन छाड्नुभयो तर मेरो उहाँसितको सम्बन्ध बढ्दै गयो । उहाँले लोकगीतको क्षेत्रमा आफ्ना कार्य बढाउँदै लैजानुभयो । त्यो क्रममा उहाँले एउटा “डाँफेचरी” पत्रिका निकाल्न थाल्नुभयो । अहिले मलाई पूरै त याद छैन । उहाँले मलाई त्यो पत्रिकाको व्यवस्थापक नै बनाइदिनु भएको थियो वा अन्य कुनै जिम्मा दिनुभएको थियो तर जुनसुकै रूपमा भए पनि ‘डाँफेचरी’ सितको मेरो सम्बन्ध बढ्दै गयो । मैले पनि प्युठानतिर गएको बेलामा लोकगीत सङ्कलन गर्ने र त्यो पत्रिकामा पठाउने गर्न थालँे । पछि लोकगीतसम्बन्धी मेरो एउटा लामो लेख त्यो पत्रिकामा छापिएको पनि थियो । त्यो लेख २००९ सालमा छापिएको थियो । मेरो प्रकाशित रचनामध्ये त्यो नै मेरो पहिलो लेख थियो भन्न सकिन्छ ।
पहिले शान्ति निकुञ्ज विद्यालयबाट प्रकाशित ‘आँखा’ पत्रिकामा र गोरखापत्रमा पनि मेरा एकाध साना लेख प्रकाशित भएका थिए तर अहिले मसित तिनीहरूको कुनै रेकर्ड छैन । त्यसैले “डाँफेचरी” मा प्रकाशित मेरो लेख नै मेरो पहिलो प्रकाशित लेख हो भन्नुपर्ने हुन्छ ।
त्यो बेला काठमाडौँबाट प्युठान जान लामो र घुमाउरो यात्रा गर्नुपथ्र्यो । काठमाडौँबाट बसद्वारा थानकोट, त्यहाँबाट पैदल चिसापानीगढी हुँदै भीमफेदी, त्यहाँबाट बसद्वारा अमलेखगञ्ज, त्यहाँबाट रेलद्वारा वीरगञ्ज, रक्सौलबाट रेलद्वारा मुजफ्फरपुर, सोनपुर, छपरा हुँदै गोरखपुर, त्यहाँबाट रेलद्वारा नौतनवा त्यहाँबाट बसद्वारा सुनौली र त्यहाँबाट बसद्वारा बुटवल, त्यहाँबाट पाल्पा हुँदै तीन दिनको पैदल यात्रापछि प्युठान पुगिन्थ्यो । त्यो पूरै यात्राका लागि करिब ६ दिनको समय लाग्दथ्यो । १३–१४ वर्षको उमेरमा म त्यो लामो र घुमाउरो यात्रा गरेर एक्लै काठमाडौँबाट प्युठान जाने र त्यहाँबाट काठमाडौँ आउने गर्दथेँ ।
२००६ सालतिरको कुरा हो, म मिनपचासको छुट्टीमा घर जान रक्सौलको रेल स्टेसनमा रेल पर्खेर बसेको थिएँ । नेपाली कङ्ग्रेसका केही मानिसहरू पनि त्यो स्टेसनमा बसिरहेका थिए । उनीहरूमध्ये एक जना केदारमान व्यथित हुनुहुन्थ्यो । पछि काठमाडौँमा उहाँलाई देख्दा मैले रक्सौलमा उहाँसित भेट भएको कुरा सम्झेँ । त्यहाँ उहाँले लेख्ने कुराको चर्चा गर्दै एउटा कुरा भन्नुभएको थियो– “प्रत्येक दिन डायरीमा केही न केही लेख्ने गर्नुपर्छ । त्यसो गर्दा लेख्ने अभ्यास हुँदै जान्छ ।” त्यही दिन मैले एउटा नोटबुक किनेर डायरी लेख्न थालेँ ।
लामो समयसम्म मेरो डायरी लेख्ने बानी रहिरह्यो तर भूमिगत कालमा डायरी राख्दा खतरा हुने सोचेर मैले डायरी लेख्न बन्द गरेँ यद्यपि पहिले लेखेका कतिपय डायरी अहिले पनि सुरक्षित छन् । केही वर्षसम्म मैले डायरी लेख्ने जुन अभ्यास गरेको थिएँ, त्यसबाट जीवनभरि नै मलाई लेख्ने कार्यमा धेरै नै मदत पुग्यो ।
पछि मैले खास गरेर कविता र लघुकथा लेख्न थालेँ । त्यही सिलसिलामा २००९ सालमा मैले एउटा कथा लेखेर झापामा हुन थालेको एउटा राष्ट्रिय कथा प्रतियोगितामा पठाएँ । पछि काठमाडौँको एउटा समाचारपत्रमा मेरो कथा प्रथम भएको समाचार प्रकाशित भयो । त्यसपछि मलाई झापाको त्यो कथा प्रतियोगिताबारे केही पनि थाहा भएन । अब मसित त्यो कथाको प्रतिलिपि पनि छैन । मैले पछि त्यो कथाको प्रतिलिपि प्राप्त गर्न धेरैतिर प्रयत्न गरेँ तर मलाई त्यो कथा प्रतियोगिता वा त्यो कथाबारे कतैबाट केही जानकारी हुन सकेन यद्यपि त्यसको प्लट अहिले पनि मलाई याद छ । पछि आजभन्दा तीन/चार वर्षपहिले म स्वयम् झापा पुगेर त्यहाँका कतिपय साहित्यकार वा लेखकसित सम्पर्क गरेँ तर त्यो कथा वा कथा प्रतियोगिताबारे मलाई कतैबाट केही जानकारी प्राप्त हुन सकेन । (धेरै पुरानो कुरा भएको हुनाले त्यो कथा मैले झापामा नै पठाएको थिएँ वा इलाममा, अहिले मेरो मनमा त्यसबारे पनि केही दुविधा छ ।)
मैले क्षेत्रपाटीको जुद्धोदय पब्लिक हाइस्कुलमा पढ्दा त्यहाँ आयोजित हुने विद्यार्थीको साहित्यिक कार्यक्रममा पनि भाग लिने गर्थें । त्यहाँका साहित्यिक कार्यक्रममध्ये एउटामा (मेरो टुकी) भन्ने रचना पनि मैले प्रस्तुत गरेको थिएँ । त्यसलाई मैले कथाका रूपमा प्रस्तुत गरेको थिएँ तर रचनाको जाँच गर्ने शिक्षकले त्यसलाई कथा नभएर निबन्ध बताउनुभएको थियो र त्यो प्रथम पुरस्कृत पनि भएको थियो । त्यो रचना कतै प्रकाशित भएजस्तो लाग्छ । सम्भवत: त्यो २००८ सालतिरको कुरा हो । त्यो बेला मैले कतिपय कथा लेखेको थिएँ तर अब ती कतै सुरक्षित छैनन् । हाइस्कुलमा पढ्दाखेरिका रचनामध्ये बचेको एउटा रचना ‘मेरो टुकी’ मात्र हो।
२००७ सालमा म प्युठानमा नेपाली कङ्ग्रेसका तर्फबाट राणाविरोधी आन्दोलनमा सामेल भएँ । त्यही नै मेरो राजनीतिक जीवनको प्रारम्भ थियो र २००८ सालमा मैले कङ्ग्रेसबाट राजीनामा दिएँ ।
२००९ सालमा मैले काठमाडौँमा त्यो बेलाको अखिल नेपाल विद्यार्थी फेडरेसनमा काम गर्न थालेँ र २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यताका लागि पाल्पाको तानसेन गएर कमलराज रेग्मीलाई आवेदन दिएँ । यस सन्दर्भमा एउटा कुराको उल्लेख गर्नु सायद अप्रासङ्गिक हुने छैन । २०१७ सालको घटनापछि उहाँ तुरुन्तै गिरफ्तार हुनुभएको थियो भने म एक सालपछि गिरफ्तार भएको थिएँ । पछि उहाँ पञ्चायती व्यवस्थामा सामेल हुनुभयो । पछि पञ्चायती व्यवस्थाको अन्त्य भयो र देशमा बहुदलीय व्यवस्था आयो । लामो अन्तरालपछि २०७२ सालमा उहाँले पार्टीको सदस्यताको लागि मलाई दरखास्त दिनुभयो । त्यो बेला उहाँले भन्नुभएको थियो– “पहिले मैले पार्टीको सदस्यताका लागि तपाईंबाट दरखास्त लिएको थिएँ, अब मैले पार्टीको सदस्यताका लागि तपाईंलाई दरखास्त दिँदैछु ।”
पाल्पामा मैले पार्टीको सदस्यताका लागि दरखास्त दिएको लगत्तैपछि प्युठानको ओखरकोटको मच्छीमा प्रगतिशील अध्ययनमण्डलको गठन भयो र त्यसको तŒवावधानमा प्युठानको रातामाटामा २०१० साल पुसदेखि चैतको पहिलो हप्तासम्म आवासीय जनता शिक्षण शिविरको सञ्चालन भएको थियो । त्यही शिविर चलिरहेको बेलामा २०१० सालको माघमा नेपाल कम्युनिस्ट पार्टीको प्युठान जिल्ला सङ्गठन समिति गठन भयो । त्यो बेला शिविरका लागि मैले एउटा प्रार्थना गीत लेखेको थिएँ, जसको शीर्षक थियो– ‘जय जय जय नेपाल’ ।
शिविरपछि प्युठानमा कैयौँ किसान आन्दोलन चलेका थिए । त्यही बेला मैले प्युठानको किसान समस्या र प्युठानको किसान आन्दोलनसम्बन्धी एउटा लेख लेखेको थिएँ र २०११ सालमा त्यो एउटा पुस्तिकाका रूपमा प्रकाशित भएको थियो । त्यो साहित्यिक रचना थिएन तैपनि त्यो पुस्तिकाका आकारमा प्रकाशित मेरो पहिलो रचना भएको हुनाले मैले यहाँ त्यसको पनि उल्लेख गरेको छु ।
२०११ सालमा प्युठानमा अखिल नेपाल किसान सङ्घ र नेपाली कङ्ग्रेसको तर्फबाट सञ्चालित भ्रष्टाचारका विरुद्ध संयुक्त सङ्घर्षको सिलसिलामा अन्य पाँच जना साथीहरूसहित म प्युठानमा गिरफ्तार भएको थिएँ । अन्य साथीहरूमा खगुलाल गुरुङ, रुमबहादुर पाण्डे, नन्दलाल गुरुङ, सिद्धिमान सिंह र कङ्ग्रेसका हेमराज पण्डित हुनुहुन्थ्यो । पछि अन्य दुई जना साथीहरू खगुलाल गुरुङ र हेमराज पण्डितसहित मलाई पाल्पा जेलमा चलान गरिएको थियो । पाल्पा जेलमा छँदा भूमिगत रूपले बन्दीको एउटा सम्मेलन भएको थियो । त्यो बेला मैले ‘पाल्पा जेलबन्दी सङ्घको प्रतिवेदन’ पनि लेखेको थिएँ, जो पछि पुस्तिकाको आकारमा प्रकाशित भएको थियो । पछि त्यो लेख २०४६ सालमा विमल शर्माद्वारा जनसाहित्य प्रकाशनका तर्फबाट मेरा लेखको सङ्ग्रहको प्रथम भाग ‘चार दशक’ मा प्रकाशित भएको थियो ।
जेलभित्र बन्दीको भूमिगत रूपले सम्मेलन भएको, त्यसको प्रतिवेदनसमेत प्रकाशित भएको सायद त्यो नेपालको राजनीतिको नै पहिलो र अन्तिम उदाहरण पनि थियो ।
मेरो साहित्यिक जीवन वास्तवमा पाल्पा जेलबाट नै सुरु भयो भने पनि हुन्छ । पाल्पा जेलमा १६ ओटा भवन थिए, पुरुषतर्फ १२ ओटा र महिलातर्फ ४ ओटा । बिचमा अग्लो पर्खाल थियो । चारओटै भवनका माथिल्ला तलाका झ्यालमा बसेर पुरुष र महिला बन्दीले वारिपारि एकअर्कालाई देख्न र कुराकानी गर्न सक्थे । हामीलाई ४ नम्बर घरको माथिल्लो तल्लामा राखिएको थियो । ती झ्यालमा बसेर महिला र पुरुष बन्दीले आपसमा दोहोरो कुरा गरिरहन्थे तर उनीहरूका बिचमा सामान्य कुराकानीभन्दा पनि बढी दिनभरिजसो नै दोहोरी गीत चलिरहन्थ्यो । हामी आफ्नो कोठामा बसेर दिनभरि ती गीत सुन्थ्यौँ वा सुन्नुपथ्र्यो ।
ती गीतका कारणले जेलको वातावरण पनि दिनभरिजसो नै सङ्गीतमय भइरहन्थ्यो । ती गीतले मेरो मनलाई पनि छुने गर्थे र मलाई पनि गीत लेख्न मन लाग्न थाल्यो । त्यही क्रममा मैले पाल्पा जेलमा बस्दा कैयौँ कविता र गीत लेखेँ । ती यस प्रकार छन्– साइत, इङ्क्लाब जिन्दावाद ¤, क्रान्ति दीप जलाउँछु, पर्ख पर्ख लाहुरे दाइ, मलाई हाँसो लाग्छ, ए मेरी पियारी आमा ।
पाल्पा जेलमा बस्दा २०१२ सालमा मैले दुइओटा उपन्यास पनि लेखेको थिएँ– ‘बुढा बा’ र ‘झिलिमिली’ । पहिलो उपन्यास प्युठानको किसान आन्दोलनसित सम्बन्धित थियो भने दोस्रो उपन्यास एक प्रकारले रहस्य र रोमाञ्च प्रकारको थियो । त्यो बेला पाल्पा जेलमा मैले करिब १०० ओटाजति कथा पनि लेखेको थिएँ ।
पाल्पा जेलबाट सल्यान जेलमा चलान हुँदा मैले आफ्ना रचनाहरू तानसेनमा दुकान गरेर बस्ने प्युठान कुटेचौरका एक जना व्यापारी मित्रलाई राख्न दिएको थिएँ तर पछि जेलबाट छुटेर आएर सोध्दा तीमध्ये एउटा पनि रचना प्राप्त हुन सकेन । त्यो बेला लेखेका रचनामध्ये केही कविता र दुइओटा कथा मात्र मैले सँगै जेलबाट ल्याएका कागजपत्रमा बचेका थिए । ती कविता २०५७ मा दुर्गा पौडेलका तर्फबाट जनशिक्षा गृह काठमाडौँद्वारा प्रकाशित ‘युगनृत्य’ कवितासङ्ग्रहमा प्रकाशित भएका थिए । त्यो बेला पाल्पा जेलमा लेखेका र बचेका दुइओटा कथामध्ये ‘त्यो’ कथा जीवन शर्माद्वारा सम्पादित ‘रातो लालटिन’ मा २०५७ सालमा प्रकाशित भएको थियो भने त्यो कथा पछि मधुपर्कमा पनि प्रकाशित भएको थियो ।
अर्को कथा थियो ‘बालैमा दिनमा लाएको माया’ । त्यो कथा पनि मसँगै थियो तर लामो समयसम्म त्यो भेटिएको थिएन । अहिले केही दिनपहिले मात्र मेरा पुराना कागजमा त्यो कथा अकस्मात भेटिएको छ तर अहिलेसम्म मैले त्यसलाई प्रकाशित गर्न पाएको छैन । ७ दशक पहिले लेखेको त्यो कथा प्रकाशित गर्न पाउँदा मलाई धेरै खुसी लाग्नेछ ।
पाल्पा जेलबाट सल्यान जेलमा चलान गर्दा हामीलाई पहिले प्युठान जेलमा राखियो । त्यो बेला प्युठान जेलमा मैले २०१३ सालमा ‘लेफ्ट राइट कदम बढाऊ’ कविता लेखेको थिएँ ।
हामीलाई प्युठान जेलबाट सल्यान जेल पठाउँदा त्यो बेला दशैँको बिदा परेको हुनाले हामीलाई केही दिन दाङको पुलिस ब्यारेकमा लगेर राखिएको थियो । पुलिसले प्युठानबाट दाङ र दाङबाट सल्यान लैजाँदा हामीले त्यो गीतलाई मार्च गीतका रूपमा गाउँदै हिँडेका थियौँ ।
२०१७ सालमा वाराणसीमा ‘म भागिरहेको छु वा..’ भन्ने कविता लेखेको थिएँ ।
२०१० सालमा पार्टीको सदस्यताका लागि दरखास्त दिँदा मैले काठमाडौँको जुद्धोदय हाइस्कुलमा ९ कक्षामा पढ्दै थिएँ । म बिचैमा पढाइ छाडेर पार्टीको होलटाइमर भएँ । त्यो बेला पार्टीमा कम्युनिस्टले बुर्जुवा शिक्षा पढ्नु हुन्न भन्ने सोचाइको निकै प्रचार भएको थियो तर मैले त्यो सोचाइलाई सही मानिनँ र सकेसम्म आफ्नो पढाइलाई अगाडि बढाउने प्रयत्न गरिरहेँ । बिचबिचमा अवसर निकालेर परीक्षा दिने कोसिस मैले बारम्बार गरिरहेँ ।
२०१४ सालमा काठमाडौँको फोहरा दरबारमा सम्पन्न द्वितीय महाधिवेशनमा म पार्टीको केन्द्रीय समितिमा चुनिएको थिएँ । २०१५ सालको आमचुनावमा म प्युठानबाट उम्मेदवार बनेको थिएँ तर चुनावको बेलामा पनि बिहान सबेरै उठेर वा राति अबेलासम्म बसेर परीक्षाको तयारी गर्ने गर्थें र चुनावको लगत्तैपछि पाल्पा तानसेनको जनता हाइस्कुलबाट एसएलसीको प्राइभेट परीक्षा दिएँ ।
एसएलसीको परीक्षापछि आफ्नो पढाइलाई अगाडि बढाउनेबारे मैले विचार गर्न थालेँ । त्यसका लागि मैले केन्द्रीय समितिमा छुट्टीका लागि दरखास्त दिएँ र मेरो छुट्टी स्वीकृत पनि भयो । त्यसपछि पिताजी खिमविक्रम र मेराबिचमा म र मेरो राहिलो भाइ शङ्करविक्रमलाई लगेर दार्जिलिङमा पढ्न जाने र त्यहाँ बी.ए. गरेपछि लन्डन पढ्न जाने योजना बन्यो तर त्यही बिचमा पिताजीले टिमुरचौरको एउटा किसानको सालको रुख काटेर ल्याएको विषयमा किसानले मसित उजुर गरेपछि हामी दुवै बाबुछोराका बिचमा ठुलो झगडा पर्यो । त्यसपछि दार्जिलिङ र त्यहाँबाट लन्डन पढ्न जानका लागि मैले उहाँसित आर्थिक सहयोग माग्ने वा उहाँले दिने कुरा पनि भएन । त्यसपछि मेरो दार्जिलिङ र लन्डन पढ्न जाने कुरा स्वत: खारेज भयो । त्यसपछि मैले बनारसमा आएर आई.ए. को परीक्षाको तयारी गर्न थालेँ ।
पढाइका लागि मैले केन्द्रीय समितिबाट छुट्टी लिएपछि केन्द्रीय समितिमा कतिपय साथीहरूले ममाथि पार्टीबाट पलायन गरेको आलोचना गर्नुभएको थियो । त्यही बेला मैले “म भागिरहेको छु वा..” भन्ने कविता लेखेको थिएँ ।
म बनारसमा आई.ए. को परीक्षाको तयारी गर्दै थिएँ । त्यही बेला २०१७ पुस १ गते एउटा घटना घट्यो । राजाले सम्पूर्ण सत्ता आफ्नो हातमा लियो र सबै पार्टीमाथि प्रतिबन्ध लगाइदियो । त्यसपछि देशभरि हाम्रो पार्टी वा कङ्गे्रसका कैयौँ साथी गिरफ्तार हुनुभयो । त्यसपछि म आफ्नो पढाइलाई छाडेर निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको सङ्घर्षमा नै पूरै सक्रिए भएँ ।
२०१८ सालको अन्त्य र २०१९ सालको प्रारम्भमा दरभङ्गा प्लेनम सम्पन्न भयो । त्यो प्लेनममा तीनओटा प्रस्ताव आएका थिए– डा. केशरजङ्ग रायमाझीको केन्द्रीय समितिको बहुमतद्वारा संसदीय प्रणालीको पुनस्र्थापनाको प्रस्ताव, पुष्पलालद्वारा विघटित संसद्को पुनस्र्थापनाको प्रस्ताव र मेरो संविधानसभा चुनावको प्रस्ताव । केन्द्रीय कमिटीमा संविधानसभा चुनावको मेरो प्रस्तावको पक्षमा म एक जना मात्र थिएँ, तर प्लेनमको अत्यधिक बहुमतले संविधानसभा चुनावको प्रस्तावलाई नै स्वीकार गरेको थियो ।
प्लेनमपछि राजावादी पक्षसित हाम्रो तीव्र मतभेद उत्पन्न भयो र पार्टीमा विभाजनको स्थिति तयार भयो । हामी तेस्रो महाधिवेशनको तयारीमा लाग्यौँ । त्यही महाधिवेशनको तयारीको सिलसिलामा प्युठान र अर्घाखाँची गएर फर्कंदा शक्ति लम्साल र खिमानसिंह गुरुङसहित हामी तौलिहवामा गिरफ्तार भयौँ । त्यो जेलमा बस्दा म ‘ओखरकोट’ उपन्यास लेख्ने काममा लागेँ । त्यो उपन्यास लेख्न मलाई करिब चार वर्षको समय लाग्यो ।
त्यो बेला मैले अरू कैयौँ लेख वा पुस्तिका पनि लेखेको थिए । तिनीहरूमध्ये एउटा थियो– ‘विश्व कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास’ ।
पछि तौलिहवा जेलबाट मलाई भैरहवा जेलमा चलान गरियो । त्यसरी चलान हुँदा मैले आफ्ना ३–४ बाकस आफूले लेखेका कैयौँ रचना र कैयौँ पुस्तक त्यो बेलाका तौलिहवाका वामपन्थी नेता टेकबहादुर पन्थीकहाँ राख्न दिएको थिएँ । त्यसमा ‘ओखरकोट’ उपन्यासको पाण्डुलिपि पनि थियो । तिनीहरूमा त्यो बेला लेखेका रचनामध्ये ‘विश्व कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास’ मैले सँगै ल्याएको थिएँ र पछि त्यो पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो ।
९ वर्षपछि २०२७ सालको चैतमा जेलबाट छुटेपछि म तौलिहवा आउँदा पन्थीको निधन भइसकेको थियो । मैले त्यो बेला उहाँका इष्टमित्रसित सम्पर्क गरेर ती रचना खोज्ने प्रयत्न गरेँ तर धेरै प्रयत्न गर्दा पनि त्यो पाण्डुलिपि प्राप्त हुन सकेन । पछि मैले भैरहवामा बद्रे आलमद्वारा पन्थीकी श्रीमतीकहाँ पनि त्यसबारे सोध्न पठाएँ तर उहाँबाट पनि केही पत्ता लाग्न सकेन ।
त्यो उपन्यासका प्रमुख पात्र हर्के र उजेली थिए । ती दुवै काल्पनिक पात्र थिए तर हर्केको बारेमा त्यो कुरा पूरै सत्य होइन । उपन्यासमा हर्के अवश्य पनि काल्पनिक पात्र थिए तर वास्तविक जीवनमा उनी मेरा बालककालका घनिष्ठ साथी थिए । हर्के र हमाने जुम्ल्याहा थिए । ती दुबै मेरा बालककालका साथी थिए तर मेरो बढी घनिष्ठता हर्केसित नै थियो र उनलाई नै मैले उपन्यासको एउटा प्रमुख पात्रको रूपमा अगाडि सारँेको थिएँ । उजेली भने पूरै काल्पनिक पात्र थिइन् ।
तौलिहवा जेलमा लेखेको ‘ओखरकोट’ उपन्यास हराए पनि पछि मेरा अन्य कैयौँ रचनामा मैले हर्के र उजेलीलाई सामेल गर्दै गएँ । ‘फागुन २४ गते’ नाटकमा मैले पुन: हर्के र उजेलीलाई निरन्तरता दिने प्रयत्न गरेँ, अर्को नाटक ‘१२ मई’ मा पुन: हर्के र उजेलीको चित्रण गर्ने प्रयत्न गरेको छु ।”
२०२९ सालको चैतमा ओखरकोटमा लेखेको एउटा कविता ‘हर्केको युद्धको घोषणा हो यो’ मा मैले एउटा क्रान्तिकारी युवकको रूपमा हर्केलाई पुन: चित्रित गर्ने प्रयत्न गरेँ ।
पछि त्यो कवितालाई ‘युग बोल्छ’ एकाङ्कीमा बदलेर हर्के र उजेली दुवैलाई मार्च गर्दै अगाडि बढिरहेको देखाउने प्रयत्न गरिएको छ । पछि त्यो एकाङ्की नाटक अच्युत घिमिरेको आवजमा ‘युगको आह्वान’ (कल अफ द इरा) मा प्रसारित गरिएको थियो । त्यो युट्युबमा मेरा अन्य साहित्यिक रचना पनि प्रसारित हुने गरेका छन् । हर्के र उजेली मेरो उपन्यास ‘का. जलजला’ का मुख्य पात्र त होइनन् तैपनि मैले त्यो उपन्यासमा उनीहरू दुबै जनालाई क्रान्तिकारी आदर्श जोडीको रूपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छु ।
भैरहवा जेलमा म करिब एक वर्षजति रहेँ । त्यसपछि मलाई काठमाडौँ जेलमा चलान गरियो । काठमाडौँमा म विभिन्न जेलमा बसेँ† जस्तै : सेन्ट्रल जेल, नख्खु जेल, डिल्लीबजार खोर, हनुमानढोका खोर र भद्रगोल जेल । हनुमानढोका खोरमा बस्दा ‘बुढा बा’ भन्ने एउटा उपन्यास लेखेँ । त्यो उपन्यास २०१२ सालमा पाल्पा जेलमा बस्दा लेखेको ‘बुढा बा’ उपन्यासको परिमार्जित रूप थियो । त्यो बाहेक हनुमानढोका खोरमा बस्दा मैले एउटा सानो कविता पनि लेखेँ, जसको शीर्षक ‘मसानघाट’ थियो । त्योबाहेक सेन्ट्रल जेल र भद्रगोल जेलमा पनि कतिपय साना कविता लेखेको थिएँ† जस्तै : जीवन के हो ?, तिम्रो हाँसो, जीवन रेखा, क्रान्तिप्रति, सहिदप्रति, प्रजातन्त्र, सूर्य, टुटेका आशाहरू, आत्मसमर्पण, ताण्डवनृत्य, मेरो अपराध, युग नृत्य, इस्पातको टुक्रा, जीवन र मृत्यु, त्यो को आइरहेको ? ती सबै कविता मेरा कविताको सङ्ग्रहको पुस्तक ‘युगनृत्य’ मा दिइएका छन् ।
ती कविता, लघु कविता लेख्ने दिशामा मेरो एउटा नयाँ प्रयोग थियो । तलका केही कविताबाट त्यो कुरा प्रस्ट हुनेछ ।
जीवन के हो ?
जीवन के हो ?
कोइलीको कुहुकुहु,
झरनाको झर्झर वा
‘दालभात–डुकूँ’
जीवनरेखा
बादलको प्रत्येक टुक्राले
जीवनको रेखालाई मेटिदिन खोज्छ
हावाको प्रत्येक झोँकाले
टुटेको तारलाई जोडिदिन्छ
तिम्रो हाँसो
डुब्न थालेको सूर्यलाई हेरेर किन हाँस्छौ ?
एकपल्ट अस्ताएको सूर्य
अर्को बिहान पूर्वमा उदाइरहन्छ
तर तिम्रो हाँसो एकपल्ट अस्ताएपछि
सधैँका लागि
पश्चिमको क्षितिजमा डुब्नेछ
जीवन र मृत्यु
कुनै बेला मेराअगाडि
जीवन र मृत्युका बिचमा
चुनाव गर्ने अवस्था आए
मैले जीवनलाई नै रोज्नेछु,
तर यो सर्तमा कि
बाँच्नु नै मर्नु नहोस्
ती जेलमध्ये म बढी समय भद्रगोल जेलमा नै बसेँ । सेन्ट्रल जेलमा बस्दा मैले आई.ए. को र भद्रगोल जेलमा बस्दा बी.ए. को परीक्षा दिएको थिएँ । त्यही बेला मनमोहन अधिकारी, निर्मल लामा, रोहित आदिले पनि जेलबाट नै विभिन्न परीक्षा दिनुभएको थियो । त्यो बेला मैले माथि उल्लेख गरेका साना कविताबाहेक केही कविता र एउटा खण्डकाव्य ‘झिमरुक नदी र चिबे चराको कथा’ पनि लेखेको थिएँ । त्यो बेला लेखेका कविता यी हुन्– तुफानको सङ्गीत, प्रलयको नाच, आदि विद्रोही, तर कहिलेसम्म ?, भद्रगोल जेलको झ्यालबाट ।
२०२७ सालको चैतमा ९ वर्षपछि म जेलबाट छुटेको थिएँ । २०२६ सालमा भद्रगोल जेलमा त्यहाँ भएका हामी १०–१५ जना साथीका बिचमा एक महिनासम्म एउटा भेलाजस्तो भएको थियो । त्यो बैठकले कङ्ग्रेलाई हाम्रो पार्टीको पहिलेको राष्ट्रिय पुँजीपति वर्गको पार्टी र जनवादी क्रान्तिको मित्रशक्ति भन्ने विश्लेषणलाई बदलेर राजाजस्तै सामन्त तथा दलाल र नोकरशाही पुँजीपति वर्गको पार्टी भएको विश्लेषण गर्दै त्यसलाई दुस्मन शक्ति घोषित गरेको थियो । त्यससम्बन्धी दस्तावेज हामीले भूमिगत रूपले जेलबाट बाहिर पनि पठाएका थियौँ । हाम्रो त्यस प्रकारको विश्लेषण बाहिर गएपछि नेपाली कङ्ग्रेसप्रति पुरानो प्रकारको विश्लेषणलाई समर्थन गर्ने कतिपय साथीहरू धेरै क्रुद्ध हुनुभयो र उहाँहरूले मेरा विरुद्ध कैयौँ आक्षेप लगाउन थाल्नुभयो । त्यस प्रकारका आक्षेपमा राजाका अगाडि आत्मसमर्पण गरेको वा राजाबाट लाखौँ रुपैयाँ लिएकाजस्ता आक्षेप पनि थिए । त्यस प्रकारको पृष्ठभूमिमा नै मैले “माटामा नै जन्मेको हुँ, माटामा नै मर्नेछु” कविता लेखेको थिएँ ।
जेलबाट छुटेपछि मैले अरू पनि कतिपय कविता लेखेँ; जस्तो : ‘हर्केको युद्धको घोषणा हो यो’ पहिले पनि उल्लेख भइसकेको छ, त्यो बाहेक मैले ‘मैले ईश्वरलाई मारिदिन्छु’ भन्ने कविता पनि लेखेको थिएँ ।
म जेलबाट छुटेर आउँदा मैले हनुमानढोका खोरमा लेखेको ‘बुढा बा’ पुस्तकको पाण्डुलिपि मसित सँगै थियो । जेलबाट छुटेर आउँदा मसित ५–६ बाकस पुस्तक वा रचना थिए । मैले ती सबै रचना प्युठान बाङ्गेको काउछेमा बस्ने मेरो राहिलो भाइ शङ्करविक्रमकहाँ राखेको थिएँ । २०३४ सालको पर्चा आन्दोलनको बेलामा देशका अन्य जिल्लाका साथै प्युठानमा पनि धेरै साथीहरूलाई गिरफ्तार गरियो । त्यो घटनाबाट आतङ्कित भएर मेरो भाइले मेरा सबै पुस्तक र रचना जङ्गलको एउटा ओढारमा लगेर फालिदिएछ । त्यही बेला मेरा अन्य सबै पुस्तक र रचनाका साथै ‘बुढा बा’ को पाण्डुलिपि पनि नष्ट भएको हुन सक्छ ।
बनारसमा बस्दा मैले एउटा लघुउपन्यास लेखेको थिएँ– ‘तारा’ । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि काठमाडौँ आउँदा मेरा सामानमा त्यो उपन्यासको पाण्डुलिपि पनि थियो तर पछि कति खोज्दा पनि मैले त्यसलाई पाउन सकिनँ । २०३४ सालमा जलजला प्रेम प्रकरणमा पार्टीले मलाई महामन्त्री पद र केन्द्रीय सदस्यको पदबाट हटायो र पार्टी सदस्यबाट तीन वर्षका लागि निष्कासित गर्यो । त्यो निष्कासित कालमा म पहिले मद्रास गएँ र पछि केरल । केरलको त्रिभेन्द्रममा म १० महिनाजति बसेँ । त्यही बेला २०३६ सालमा मैले एउटा कविता लेखेको थिएँ– ‘गङ्गाकावेरी एक्सप्रेस’। म पार्टीद्वारा कारबाहीमा परेपछि र पार्टी सदस्यताबाट निष्कासित भएपछि एक्लै बनारसबाट गङ्गा काबेरी एक्सप्रेसमा मद्रासका लागि हिँडेको थिएँ । त्यही गङ्गाकाबेरी एक्सप्रेसको शीर्षक दिएर मैले त्यो कविता लेखेको थिएँ ।
त्यो कविताको अङ्ग्रेजी अनुवाद प्राध्यापक दिल साहनीले गर्नुभएको थियो । त्यो अङ्ग्रेजी कविता सन् २०२४ मा कोलम्बियाबाट प्रकाशित ‘पोएट्री प्लानेटेरियट’ मा प्रकाशित भएको थियो । पछि त्यो कविता नेपाली र अङ्ग्रेजी दुबै भाषामा ‘युगको आह्वान’ युट्युबमा पनि प्रसारित गरिएको थियो । त्यो कविताको नेपालीमा वाचन अच्यूत घिमिरेले र अङ्ग्रजीमा वाचन प्रतिभा रोकाले गर्नु भएको थियो । ‘कामरेड जलजला’ उपन्यासको एउटा परिच्छेद “निष्कासित” पनि त्यही कवितासित सम्बन्धित छ । ‘युगनृत्य’ मा प्रकाशित मेरा कवितालाई विन्देश्वरी पटेलले अङ्ग्रेजीमा अनुवाद गरिदिनुभएको थियो र जनशिक्षा गृहद्वारा अङ्ग्रेजी नेपाली दुबै भाषामा एकैसाथ पुस्तिकाका रूपमा प्रकाशित गरिएको थियो ।
म केरलमा नै बसेको बेलामा गोविन्दसिंह थापाले अर्थशास्त्रमा एमएको परीक्षा दिनको लागि आगरा युनिभर्सिटीमा मेरो फाराम भरिदिनुभयो । त्यसपछि म त्रिभेन्द्रमबाट आगरातर्फ लागे ।
परीक्षाका बेलामा एकाध महिना आगरामा बस्ने गर्दथे । बाँकी समयमा पार्टीले दिएको जिम्मा पूरा गर्न कतै जान्थेँ । दुई वर्षपछि पार्टीले मलाई पुन: पार्टीको सदस्यता दिने निर्णय गरेको थियो । केही समयपछि जलजलालाई पनि पार्टीको सदस्यता प्रदान गर्यो । मैले एम.ए. को जाँच दिन थालेको बेलामा उनी पनि आगरा आएर मसित एक महिनाजति बसेकी थिइन् । त्यसबाट मलाई जाँच दिन धेरै नै सजिलो भएको थियो । उनले बनारसको काशी विश्वविद्यालयमा बि.ए. को जाँच दिने बेलामा पनि मैले सँगै बसेर उनलाई केही मदत गरेको थिएँ । उनको मृत्युपछि उनी बि.ए. को परीक्षामा उत्तीर्ण भएको मार्कसिट आएको थियो ।
अर्थशास्त्रमा एमएको परीक्षामा उत्तीर्ण भएपछि मैले आगरा विश्वविद्यालयबाट नै पिएचडी गर्ने योजना बनाएँ । मैले कुमाउ, गढवाल र कर्णाली प्रदेशका पहाडी जिल्लाको कृषिको संरचनाको तुलनात्मक अध्ययनको विषयमा पिएचडी गर्ने निर्णय गरेको थिएँ । त्यसको सिनोप्सिस तयार पार्न डा. बाबुराम भट्टराईले मदत गर्नुभएको थियो । शोधपत्रको यो विषयमा सामग्री जुटाउन मैले कुमाउ–गढवालका धेरै स्थानको भ्रमण गरेँ र आगरा, दिल्ली, नैनिताल, लखनऊ, इलाहावाद, बनारससहितका पुस्तकालयमा गएर अध्ययन गरेँ । समय बित्दै जाँदा एकातिर पञ्चायत विरुद्ध सङ्घर्ष, अर्कातिर पार्टीभित्रको अन्तरसङ्घर्ष र विभाजनका कारणले पूरा समय त्यसमा दिनुपर्ने भएर मैले पिएचडीको अध्ययनलाई बिचमै छाड्नुपर्यो ।
पिएचडीको तयारीको सिलसिलामा मैले कुमाउ–गढवालको भ्रमण तथा विभिन्न पुस्तकालयमा अध्ययन गरेर जुन सामग्री जुटाएको थिएँ, त्यसका आधारमा मैले एउटा उपन्यास लेख्ने योजना बनाएँ– ‘का. जलजला उपन्यास ।’ त्यो उपन्यासका लागि सामग्री जुटाउनका लागि गढवाल र कुमाउको भ्रमण गर्ने क्रममा दुर्गा पौडेलले पनि मलाई साथ दिएकी थिइन् । खास गरेर त्यहाँका महिलासित कुराकानी गर्न उनी सँगै भएको हुनाले मलाई धेरै मदत पुगेको थियो । त्यो उपन्यास लेख्न सुरु गर्ने बेलासम्म जलजलाको मृत्यु भइसकेको थियो । उपन्यासको स्थलगत भ्रमण गर्ने सिलसिलामा कुमाउको यात्रा गर्ने बेलामा धार्चुलामा उनी र म झन्डै गिरफ्तार भएका थियौँ । त्यो निषेधित एरिया रहेछ र हामीलाई त्यो कुरा थाहा भएन र पहिले म र पछि मलाई खोज्न उनी धार्चुला पुगिन् । सन्जोगले हामी गिरफ्तार भएनौँ । सायद त्यहाँका चौकीले हामीलाई कुमाउकै बासिन्दा ठानेर सोधपुछ पनि गरेका थिएनन् होला ।पार्टीका अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न दिल्लीमा गएको बेलामा २०३८ मङ्सिर १ गते एउटा बस दुर्घटनामा जलजलाको मृत्यु भएको थियो । उनको मृत्यु भएको करिब २० वर्षपछि नै मैले त्यो उपन्यास लेख्न थालेको थिएँ ।
करिब २३ वर्षको लामो अवधिमा मैले उपन्यास लेखेर सिध्याएँ । २०८१ मङ्सिर १५ गते चित्रबहादुर केसीले त्यो उपन्यासको विमोचन गर्नुभएको थियो । त्यो उपन्यास केही लामो त छ नै तर त्यो उपन्यास लेख्नका लागि मैले जुन तयारी गर्नुपर्यो, त्यसको विवरण लेख्ने हो भने त्यसको आकार त्यो उपन्यासको भन्दा बढी नै लामो हुन सक्छ । त्यो उपन्यासको क्यान्भास नेपाल, भारतका विभिन्न क्षेत्र, युरोपका कैयौँ देश, संसारका सबै महाद्वीप, सौर्यजगत् र सम्पूर्ण ब्रह्माण्डसम्म फैलिएको छ । त्यो पुस्तकको कथावस्तु तयार पार्दा सम्बन्धित क्षेत्रको स्थलगत अध्ययनमा मैले धेरै जोड दिएको छु ।
उपन्यासमा चर्चा गरिएका काठमाडौँ उपत्यका, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, प्युठान, रोल्पा र कर्णाली प्रदेश आदि स्थान मैले पहिलेदेखि नै भ्रमण गर्दै आएका र प्रत्यक्ष रूपले थाहा भएका स्थान हुन् । उपन्यासमा भारतका ती स्थानको बढी चर्चा गरिएको छ, जोसँग मेरो धेरै सम्बन्ध रहेको छ† जस्तो : गोरखपुर, वाराणसी, लखनऊ, कानपुर, दिल्ली, कुमाउ, गढवाल र केरल । पिएचडी तयारीको सिलसिलामा मैले कुमाउ र गढवालको धेरै भ्रमण गरेको थिएँ । त्यस प्रकारको भ्रमण वा अध्ययनका सिलसिलामा जम्मा गरेका सामग्रीलाई आधार बनाएर नै मैले उपन्यास लेख्ने काम सुरु गरेको थिएँ । त्यसैको परिणाम हो कि त्यो उपन्यासको पहिलो भाग नै कुमाउबाट सुरु हुन्छ र मैले कुमाऊबाट नै उपन्यासका कैयौँ महत्त्वपूर्ण पात्र लिएको छु । तिनीहरूमध्ये एउटा प्रमुख हुन्, सुनन्दा । उनको चुनाव गर्नको लागि पनि मैले कुमाऊ र गढवालका धेरै ठाउँको स्थलगत भ्रमण गरेको थिए वा धेरै स्थानको अध्ययन गरेको थिएँ । उपन्यासमा उनको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको छ र अन्त्यमा उनी जलजलामा नै रूपान्तरित हुन्छिन् ।
गढवालबाट कामरेड गढवालीजस्ता पात्र पनि लिइएका छन्, जसको सम्पूर्ण जीवन पार्टी क्रान्तिप्रति समर्पित हुन्छ । त्यो उपन्यासमा अल्मोडा कौसानीकी सरला बहनको पनि चर्चा गरिएको छ, जो एउटी विदेशी गान्धीवादी महिला थिइन् तर जसले आफ्नो सम्पूर्ण जीवन कुमाउका महिलालाई शिक्षित गर्नका लागि समर्पण गरेकी थिइन् ।
उपन्यासमा युरोपका पनि ती देशको नै मुख्य चर्चा गरिएको छ, जहाँ मलाई पार्टीका विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमका सिलसिलामा भ्रमण गर्ने वा स्थलगत अध्ययन गर्ने अवसर प्राप्त भएको छ† जस्तो कि फ्रान्स, जर्मनी, रुस र युनान । इङ्गल्यान्ड, इटली, स्पेन आदि पनि युरोपका महत्त्वपूर्ण देश हुन् तर ती देशमा मैले भ्रमण गर्न नपाएको हुनाले उपन्यासको कथावस्तुमा तिनीहरूको चर्चा गरिएको छैन किनभने जुन देशको मैले भ्रमण गरेको छैन र जसबारे मलाई प्रत्यक्ष जानकारी छैन, तिनीहरूबारे उल्लेख गर्दा उपन्यासमा यथार्थता र स्वाभाविकता आउन सक्दैनथ्यो ।
उपन्यासमा कैयौँ महाद्वीप, महासागर, सौर्यजगत्, दुधपथ तारामण्डल अन्य सुपर आकाशगङ्गा आदिको पनि चर्चा गरिएको छ । ती सबैको स्थलगत भ्रमण गर्नु त सम्भव थिएन तैपनि मैले तिनीहरूसम्बन्धी सामग्रीको अधिकतम अध्ययन गरेर स्थलगत भ्रमणको कमीलाई सकेसम्म पूरा गर्ने प्रयत्न गरेको छु ।
उपन्यासलाई सकेसम्म वास्तविक घटना र पात्रका आधारमा निर्माण गर्ने प्रयत्न गरिएको छ । उपन्यासमा ठुलो सङ्ख्यामा वास्तविक पात्रको पनि चर्चा गरिएको छ† जस्तै कि निर्मल लामा, जयगोविन्द शाह, चित्रबहादुर केसी, खगुलाल गुरुङ, मोहनविक्रम सिंह आदि । भारतका पनि कतिपय वास्तविक पात्रलाई उपन्यासमा उल्लेख गरिएको छ† जस्तो कि कुमाउ कौसानीका सुन्दरलाल बहुगुणा, विमला बहुगुणा, राधा बहन, मालतिदेवी आदि । उपन्यासमा तीबाहेक अरू पनि कैयौँ वास्तविक पात्रको उल्लेख गरिएको छ । जलजला स्वयम् वास्तविक पात्र हुन् तर अजित र सुनन्दा काल्पनिक पात्र हुन् यद्यपि उनीहरूलाई पनि बढीभन्दा बढी यथार्थ धरातलमा चित्रण गर्ने प्रयत्न गरिएको छ ।
उपन्यासको अवधि करिब २०३१ सालदेखि २०४२ अर्थात् करिब एक दशकको रहेको छ । त्यो पूरै नै पञ्चायत कालको अवधि हो । त्यसैले त्यो कालको पञ्चायती शासनको तथ्यगत विवरण पनि दिने प्रयत्न गरिएको छ । कतिपय राजनीतिक वा कम्युनिस्ट पार्टीसँग सम्बन्धित घटनालाई पनि उपन्यासमा समावेश गरिएको छ । त्यसका साथै उपन्यासमा त्यो कालका नेपालभन्दा बाहिरका अन्तर्राष्ट्रिय घटनालाई पनि समावेश गर्ने प्रयत्न गरिएको छ ।
उपन्यासको मुख्य जोड उच्चस्तरको मानवीय र क्रान्तिकारी विश्व दृष्टिकोणमा नै केन्द्रित छ । त्यस सन्दर्भमा सर्वप्रथम विश्वलाई आमामय बनाउन जोड दिइएको छ । त्यसका साथै प्रेमीप्रेमिका वा पतिपत्नीका बिचको प्रेमलाई अधिकतम हदसम्म निस्वार्थ बनाउने तथा विद्यमान संसारलाई बदलेर एउटा स्वतन्त्र, सुखी र सुन्दर संसार निर्माणको आन्दोलनसित जोड्ने प्रयत्न गरिएको छ । उपन्यासले दृढतापूर्वक यो मत राख्ने प्रयत्न गरेको छ कि त्यो अवस्थामा नै प्रेम वास्तविक अर्थमा सच्चा र आदर्श बन्न जान्छ । त्यसैले उपन्यासलाई प्रेमको कथा र विश्वको दर्शन बताइएको छ ।
त्यो उपन्यासको अङ्ग्रेजीमा अनुवादको कार्य पूरा भइसकेको छ । अनुवादको त्यो कार्य डा. हरि शर्माले गर्नुभएको थियो । हिन्दीमा पनि अनुवादको काम सुरु भएको छ तर त्यो उपन्यास कहिलेसम्म अङ्ग्रेजी वा हिन्दीमा प्रकाशित हुनेछ वा कहिल्यै पनि प्रकाशित हुनेछैन ? त्यो कुरा भविष्यमा नै थाहा हुनेछ ।
अहिले ‘सन्दर्भ कामरेड जलजला’ उपन्यास शीर्षकमा मैले एउटा धारावाहिक लेखिरहेको छु । ‘युगदर्शन’ अनलाइनमा प्रत्येक आइतबार ती लेख प्रकाशित भइरहेका छन् । अहिलेसम्म त्यससम्बन्धी ५१ ओटा लेख प्रकाशित भइसकेका छन् । यो लेख प्रकाशित हुने बेलासम्म अर्काे एउटा लेख पनि प्रकाशित भइसक्नेछ र त्यसरी तिनीहरूको सङ्ख्या ५२ पुग्नेछ । त्यो लेख प्रकाशित भएपछि तिनीहरूलाई पुस्तकको रूपमा प्रकाशित गर्ने मेरो विचार छ ।
उपन्यासमा पात्रको आन्तरिक मनोभावको पक्ष पनि महत्त्वपूर्ण हुन्छ । अङ्ग्रेजीमा त्यसलाई सेन्स अफ कन्ससनेस भनिन्छ । नेपालीमा मैले त्यसको अनुवाद ‘मनोगत संवाद’ का रूपमा गरेको छु । सन्दर्भ ‘कामरेड जलजला उपन्यास’ का लेख लेख्दा मैले त्यो उपन्यासका केही प्रमुख पात्र अजित, जलजला र सुनन्दाका मनोभावलाई समावेश गरेर एउटा बेग्लै पुस्तिका ‘मनोगत संवाद’ पनि प्रकाशित गर्ने विचार गरेको छु ।
पत्रसाहित्यतिर पनि मेरा एकाध पुस्तक तयार भइसकेका छन् । त्यसलाई प्रकाशित गर्ने मेरो विचार छ । मेरो छोरा विश्वमोहन २–३ वर्षको शिशु हुँदा भारत वा युरोपतिर गएको बेलामा मैले उसलाई सम्बोधन गरेर पत्र लेख्ने गर्थें । अब ती सबै पत्र “एउटा पिताले शिशु छोरालाई लेखेका पत्र” शीर्षकले प्रकाशित गर्ने तयारी भइरहेको छ । ती पत्रलाई अङ्ग्रेजीमा अनुवाद गर्ने कार्य पनि भइरहेको छ ।
जलजला प्रेम प्रकरणमा जस्तो कि पहिले पनि उल्लेख गरियो, अनुशासनको कारबाही गरेर मलाई पार्टीको सदस्यताबाट समेत निस्कासित गरेपछि उनी र म एकअर्काबाट धेरै नै टाढा भएका थियौँ । त्यो बेला म केरलको त्रिभेन्द्रममा बसेको थिएँ भने उनी बनारसमा नै थिइन् । हामी दुई जनाले एकअर्कालाई कैयौँ पत्र लेखेका थियौँ । ‘का. जलजला’ उपन्यासको दुइटा परिच्छेद ‘दु:खान्त प्रेम’ र ‘अनिश्चित यात्रा’ मा ती पत्रको उल्लेख गरिएको छ । अब मैले ती सबै पत्रलाई एउटा पुस्तकका रूपमा प्रकाशित गर्ने विचार गरेको छु र त्यसबारे आवश्यक तयारी भइरहेको छ ।
पाल्पा जेलमा मैले लेखेका करिब १०० कथा हराएपछि मैले कतिपल्ट उपन्यास लेख्ने प्रयत्न त गरेँ तर कथा लेख्नेतिर मेरो ध्यान गएन तैपनि तनहुँको चुँदी रम्घाको बेसीमा भानुभक्तको सम्झनामा भएको एउटा साहित्यिक कार्यक्रममा आयोजकले मलाई एउटा कथा लेखेर पठाउन र त्यो कार्यक्रममा सामेल हुनका लागि आमन्त्रण पनि गर्नुभएको थियो । त्यो कार्यक्रममा म स्वयम् त जान सकिनँ, मैले दुर्गा पौडेलका हातबाट एउटा कथा ‘मास्टर सत्तलसिंह’ लेखेर पठाएको थिएँ । त्यो कथा पूरै काल्पनिक थिएन । हाम्रो गाउँमा एउटा विकलाङ्ग प्रकारको शिक्षक हुनुहुन्थ्यो । सबै गाउँलेले उहाँलाई मास्टर सत्तलसिंह भनेर बोलाउने गर्थे । मैले उहाँको जीवनलाई आधार बनाएर नै त्यो कथा लेखेको थिएँ ।
पछि एउटा लामो अन्तरालपछि मैले अङ्ग्रेजीमा एउटा कथा लेखेँ, जसको शीर्षक थियो– “द मदर : आई वोन्ट ले हिम डाई” । त्यो कथा सन् २०२२ मा काठमाडौँमा “रिसर्च डिपार्टमेन्ट मोटभेसन फनेल प्रालि” द्वारा प्रकाशित एउटा जर्नल “द हर्बिङगर” मा प्रकाशित भएको थियो । त्यसलाई मैले नेपालीमा पनि अनुवाद गरेर प्रकाशित गर्ने विचार गरेको छु वा अरू कसैले त्यो काम गरेमा पनि मलाई खुसी नै लाग्ने छ । अहिले पनि मैले लघुकथा लेख्नका लागि करिब दुई दर्जनजति प्लट सोचेको छु तर अन्य कार्यमा व्यस्त भएको हुनाले तिनीहरूलाई लेख्न मैले समय निकाल्न सकेको छैन ।
म जेलमा भएको बेलामा मैले छओटा कृतिबारे समालोचना लेख्ने विचार गरेको थिएँ । तिनीहरूमध्ये तीनओटा कृतिको समालोचना लेख्ने काम पूरा गरेँ† जस्तो कि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘सुलोचना’ महाकाव्यबारे ‘मृत्युको महाकाव्य’ वा जीवनको कथा (भद्रगोल जेल, २०२७), हृदयचन्द्रसिंह प्रधानको मरुभूमिका लेखकबारे ‘मरुभूमिका लेखक वा मुक्तिका अन्वेषक’ (भद्रगोल जेल २०२७) तथा चेर्नेसेभस्कीको उपन्यास ‘के गर्ने ?’ बारे ‘महिला मुक्तिको महान् गाथा !’ लेख मैले पूरा गरेँ । टालस्टायको उपन्यास ‘युद्ध र शान्ति’, गोपालप्रसाद रिमालको ‘आमा’ र लेखनाथ पौड्यालको ‘धनमहिमा’ बारे पनि समालोचना लेख्ने विचार गरेको थिएँ तर म त्यही बिचमा जेलबाट छुटेको कारणले मैले ती लेख पूरा गर्न सकिनँ र जेलबाट बाहिर आएपछि पनि म त्यो काममा लाग्न पाएको छैन ।
मेरो उपन्यास ‘का. जलजला’ को दार्शनिक पक्षबारे पनि मैले एउटा पुस्तक लेख्ने विचार गरेको छु । जस्तो कि माथि उल्लेख गरियो, त्यसबारे ‘सन्दर्भ कामरेड जलजला उपन्यास’ को धारावाहिक पूरा भइसकेको छ तर त्यो उपन्यासको दार्शनिक पक्षबारे लेख्ने कार्य कहिले पूरा हुन सक्नेछ वा कहिल्यै हुन सक्ने छैन ? त्यसबारे अहिले मैले केही भन्न सक्दिनँ । मनोज भट्टले त्यो पुस्तकको वैचारिक पक्षबारे ‘कामरेड जलजला उपन्यासको विवेचना’ शीर्षकले एउटा पुस्तक लेख्नुभएको छ र त्यो हालै प्रकाशित पनि भएको छ । त्यो पुस्तकले पनि मैले लेखेको ‘कामरेड जलजला’ उपन्यासको वैचारिक पक्षबारे धेरै नै प्रकाश पारेको छ ।
जेलबाट वा त्यहाँबाट छुटेपछि मैले कतिपय समालोचनासम्बन्धी लेख लेख्ने प्रयत्न गरेँ । २०७६ सालमा मोहन दुलालद्वारा जनमत प्रकाशन नेपालका तर्फबाट प्रकाशित मेरो ‘साहित्य समालोचना र सौन्दर्य’ पुस्तकमा मेरा समालोचनासम्बन्धी कतिपय लेख दिइएका छन् । मैले विभिन्न समयमा लेखेका समालोचनासम्बन्धी लेख यस प्रकार छन् : १. नेपाली साहित्य र राजनीतिको अन्तरसम्बन्ध (भद्रगोल जेल, २०२६), २. उजेली र हर्के : आदर्श पात्रको निर्माणबारे मेरो अनुभव (हलकारा, २०४६), ३. लक्ष्मीप्रसाद देवकोटा : वैचारिक पक्षको अध्ययन (भृकुटी २०६६), ४. प्रमिथस र प्रमिथस महाकाव्यबारे (२०६६), ५. सौन्दर्य र साहित्यको अन्तरसम्बन्ध (त्यो लेख त्रिभुवन विश्वविद्यालयको कुनै जर्नलमा प्रकाशित भएको थियो, अहिले मलाई त्यो जर्नलको नाम र प्रकाशन मितिको सम्झना छैन) ।
भद्रगोल जेलमा छँदा मैले साहित्य ‘संवाद शीर्षक’ ले एउटा पुस्तिका लेखेको थिएँ । त्यसमा विभिन्न साहित्यकारका विभिन्न पत्रिकाहरूमा प्रकाशित लेखमा प्रकट गरेका विचारलाई संवादका रूपमा प्रस्तुत गरेर साहित्यबारे विवेचना गर्ने प्रयत्न गरेको थिएँ । त्यो लेखमा मैले डा. ईश्वर बराल, ताना शर्मा, सिद्धिचरण श्रेष्ठ, श्यामप्रसाद, वासु रिमाल, गोविन्द भट्ट, सरिता ढकाल, रत्नध्वज जोशी, अभि सुवेदी, वासुदेव शर्मा, निनु राल्फा, पारिजात, आनन्ददेव भट्ट, बोधराज काफ्ले, दुर्गा आचार्य, शान्ता श्रेष्ठ, प्रो. जनकनाथ प्याकुरेल, कृष्णप्रसाद उपाध्याय, माधवप्रसाद देवकोटा, प्रा. चूडानाथ भट्टराई, शक्ति लम्साल, वी.पी. कोइराला, भूपि शेरचन, जगदीश घिमिरे, अरुणकुमार, गोविन्द विकल, दीपेन्द्रबहादुर क्षेत्री आदिका विभिन्न पत्रपत्रिकामा प्रकाशित विचारलाई समेटेर उक्त पुस्तिका तयार पारेको थिएँ । त्यो पुस्तिकाका तीन भाग रहेका छन्– प्रथम– साहित्यमा विचार र कला पक्षको अन्तरसम्बन्ध, द्वितीय– साहित्य र यौन र तृतीय– साहित्य र राजनीति । त्यो पुस्तिकामा उक्त सबै संवादको आधिकारिक स्रोतसमेत दिइएको छ ।
मैले गत कालमा कतिपय उपन्यास वा नाटकको भूमिका पनि लेख्ने गरेको छु । तिनीहरूमध्ये मुख्य मेक्सिम गोर्कीको ‘आमा’ को भूमिका हो । पहिले रुसबाट ‘आमा’ को नेपाली अनुवाद प्रकाशित भएको थियो । त्यसको भाषामा केही सुधार गरेर दुर्गा पौडेलद्वारा २०५८ सालमा जनशिक्षा गृह, काठमाडौँबाट त्यो उपन्यासको एउटा संस्करण प्रकाशित भएको थियो । मैले त्यसको एउटा लामो भूमिका लेखेको थिएँ, जसको शीर्षक ‘जीवनको महाकाव्य, क्रान्तिको दर्शन – जीवनको दर्शन, क्रान्तिको महाकाव्य’ रहेको थियो । मैले ‘रातो लालटिन’ को अनुवाद गरेर त्यसको पहिलो संस्करण २०४४ सालमा प्रकाशित भएको थियो । मैले त्यसको पनि भूमिका लेखेको थिएँ । त्यसै गरेर रामप्रकाश पुरीको ‘नानीकी आमा’ र आहुतीको उपन्यास ‘नयाँ घर’ को पनि भूमिका लेखेको थिएँ ।
भद्रगोल जेलमा छँदा २०२७ सालमा मैले एउटा नाटक लेखेको थिएँ– ‘फागुन २४ गते’ त्यो नाटक २०१० सालमा प्युठानको नारीकोटमा चलेको एउटा किसान आन्दोलनसँग सम्बन्धित थियो । सन् १९८७ मा बनारसमा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको प्रथम सम्मेलनमा त्यसको प्रदर्शन पनि भएको थियो । पछि काठमाडौँमा रक्तिमका कलाकारले त्यसको एउटा फिल्म बनाएर प्रदर्शन पनि गर्नुभएको थियो ।
२०४३ मा नेपालमा भएको पञ्चायतको चुनाव बहिष्कार आन्दोलनको समर्थनमा दिल्लीमा सन् १९८६ को १२ मईमा नेपाली एकता समाजका तर्फबाट ठुलो आन्दोलन भएको थियो । त्यो आन्दोलनको सिलसिलामा नेपाली एकता समाजका ९६ कार्यकर्ताहरू, जसमा एक दर्जनजति महिला पनि हुनुहन्थ्यो, लाई गिरफ्तार गरिएको थियो र उनीहरूलाई २–३ महिनासम्म दिल्लीको तिहाड जेलमा राखिएको थियो । त्यो आन्दोलनलाई आधार बनाएर मैले ‘१२ मई’ शीर्षकले एउटा नाटक लेखको थिएँ । त्यो नाटकको सन् १९८९ मा कानपुरमा अखिल भारत नेपाली एकता समाजको तेस्रो सम्मेलनमा प्रदर्शन भएको थियो । त्यही बेला मैले लेखेको एकाङ्की नाटक ‘क्रान्ति किन हुन्न ?’ पनि त्यहाँ प्रदर्शन गरिएको थियो । मेरा ती दुइटा नाटक र दुइटा एकाङ्की मेरो पुस्तक ‘दुई नाटक, दुई एकाङ्की’ शीर्षकले दुर्गा पौडेलद्वारा जनशिक्षा गृहका तर्फबाट काठमाडौँमा प्रकाशित भएका थिए ।
माथि मैले जुन साहित्यिक रचनाको चर्चा गरेँ, त्यसका साथै सैद्धान्तिक, राजनीति वा कम्युनिस्ट आन्दोलनसम्बन्धी मैले जुन लेख वा पुस्तक लेखेको छु, तिनीहरू यो लेखका विषय होइनन् र त्यसैले मैले यहाँ तिनीहरूको चर्चा पनि गरेको छैन यद्यपि तिनीहरूमध्ये प्रसङ्गवश एकाध पुस्तकबारे यो लेखमा उल्लेख हुन गएको पनि हुन सग्दछ ।
२०८२ फागुन २८ गते
वनस्थली, काठमाडौँ