प्रकाश थापामगर ##
भनेकै थिए एकजनाले
“जन्मिँदै गरिब हुनु पाप होइन
गरिबै भएर मर्नु पाप हो”
सुनेछन् क्यार !
सुकुम्बासी बस्तीका “पापी” ले
तब त भेटियो लाश
खोलाकिनारमा
बुद्धजयन्तीको अवसर पारेर
ए सरकार !
कसरी बन्न सकेको यति निष्ठुर
जनताले दिएको दुईतिहाइ
उनैप्रति निष्ठुर हुन हो र ?
आँखामा तिम्रो आँसु छैन र ?
यस्तो लाग्दैछ–
मोबाइल खेलाउँदा–खेलाउँदै
सुखा भइसकेछन् तिम्रा आँखा
रित्तिसकेछन् आँसु
तिम्रो आँखाबाट
अर्की एउटी आमा
भइछन् बेहोस
सुकुम्बासी बस्तीमै ती पनि
तर तिम्लाई ‘बाल’ मतलब ?
त्यो पनि तिम्रा लागि
महत्त्वहीन नै होला !
जहाँ छोएन तिमीलाई लाशले
के छोला र बेहोस तनले ?
खेल्दाखेल्दै मोबाइल र एआईसित
भइसकेछौ तिमी पनि
निर्जीव, प्राणहीन पुर्जा
‘दिल’ भन्ने पनि हुन्छ र ?
यसरी तर्क गर्छौजस्तो
लाग्न थाल्यो हामीलाई
हुँदाहुँदा त
भन्ने हो कि तिमीले
जन्माएको हामीलाई
आमाबुबाले होइन
रोबोट र एआईले हो
चीत्कार, आँसु र प्रश्न
लगाइरहेछन् फन्को
वरिपरि–देशैभरि
होस गर भाइहरू
सिंहदबारमा बसेर
शासन चलाउने भनेको
एप्स र मोबाइलमाथि होइन
ज्युँदा मानिसमाथि हो
ज्युँदा मानिसमाथि पनि हो
२०८३ वैशाख १९ गते, काठमाडौँ