रवि पौडेल ##
विश्व मजदुर आन्दोलनले एक सय ३६ वर्ष पूरा गरेको छ र एक सय सैतिसौँ वर्षमा प्रवेश गरेको छ । हामीले मे १ लाई मजदुर दिवसको रूपमा मनाउँदै आएका छौँ । यस वर्ष पनि एक सय सैतिसौँ मजदुर दिवस भब्य रुपमा मनाउने तयारीमा छौँ । यस सन्दर्भमा मजदुर आन्दोलनसँग जोडिएका केही तथ्य खोजौँ ।
सन १८८६ मा अमेरिकाको सिकागो सहरका मजदुरले आठ घण्टा कामको माग राखेर आन्दोलन गरे । आमहड्ताल भयो । सबै कम्पनी र कारखाना बन्द भए । यो आन्दोलनमा बम प्रहार भयो । बम कसले हान्यो ? कुनै जानकारी हुन सकेन तर यही निहुँ पारी प्रहरीले मजदुरमाथि लाठीचार्जसँगै गोली बर्साउन सुरु गरे । आधा दर्जनभन्दा बढीको ज्यान गयो । सयौँको सङ्ख्यामा घाइते भए । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्रामको माग गर्दै यो आन्दोलनले सफलता हासिल गरेको थियो ।
सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स मिलेर कम्युनिस्ट घोषणापत्र तयार पारे । त्यो घोषणापत्रमा मजदुरका हकहित र उनीहरूको शक्ति तथा वर्गदुस्मनका विरुद्ध मजदुर एकता गर्न जोड दिने कुरा सशक्त रूपमा अघि सारियो र त्यस विषयलाई प्रमुखता दिइयो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठनका नेताहरूको बैठकले मजदुर दिवस विश्वभरि मनाउने निर्णय गरे । त्यसपछि मात्र सन् १८९० देखि हरेक वर्ष मे १ लाई श्रमदिवसको रूपमा मनाउन थालिएको हो । आफ्ना हकअधिकार सुनिश्चितताका लागि मजदुरले यो दिनलाई पर्वका रूपमा लिने गरेका छन् ।
मजदुरको आन्दोलनलाई एकत्रित गर्न कार्ल माक्र्स र एङ्गेल्सले सन् १८६४ मा प्रथम अन्तर्राष्ट्रिय गठन गरे, जसमा कैयन् देशका मजदुर सङगठनको प्रतिनिधित्व थियो ।
१८६६ सेप्टेम्बरमा नेसनल लेबर युनियनद्वारा प्रस्ताविक आठ घण्टा कामको मागलाई पास गर्ने काम भयो । सन् १८९० पछि मात्रै सम्भव भयो । सन् १८७१ मा पेरिसमा विद्रोह भयो । पेरिस विद्रोहले पेरिस कम्युनको स्थापना समेत हुन पुग्यो । मजदुर एकता र वीरताका प्रदर्शन गर्दै मजदुर विश्व सर्वहारा वर्ग र श्रमजीवीमा रक्तसञ्चार थपियो । सन् १८८० को दशकदेखि मजदुर आन्दोलनको विकासमा तीव्रता आएको थियो । आठ घण्टा कामको मागलाई लिएर मुख्य केन्द्रबिन्दु अमेरिकाको सिकागो सहर बन्यो ।
न्युयोर्क, वासिङटन, मिलवाकी, सिमासिनारी, डिट्राइड र सेन्टलुई आदि स्थानमा साथै अन्तर्राष्ट्रिय स्तरमा पनि मजदुर आन्दोलन चल्यो । ती आन्दोलनमा वामपन्थीको उपस्थिति र प्रभावका कारण ती आन्दोलन सफल भएका थिए । न्युयोर्कमा भएको मजदुर आन्दोलनमा २५ हजार मानिसको उपस्थिति थियो । सहर ठप्प थिए । कारखाना बन्द थिए । मजदुरको सङ्गठित शक्तिको अघि पुँजीपति वर्ग थर्कमान् भयो । यो आन्दोलनले पुँजीपतिको राज्यसत्ता हल्लियो ।
यसरी सन् १८६४ मा आठ घण्टा कामको मागको समर्थन, १८८६ मे १ को आन्दोलनमा मजदुरको हत्या, सन् १८९० देखि १ मे लाई अन्तर्राष्ट्रिय प्रदर्शन दिवस र सङ्गठित गर्दै आएको वीरतापूर्ण आन्दोलन, प्रदर्शन र सङ्घर्षका कारणले पुँजीपति वर्गलाई २४ घण्टा, २० घण्टा, १८ घण्टा र १६ घण्टा कामको समयलाई आठ घण्टाको समय निर्धारण गर्न बाध्य हुनुपरेको थियो । त्यसकारण एकत्रित आन्दोलनले नै पुँजीपति वर्गलाई घुँडा टेकाउन सक्छ भन्ने प्रमाण हो मे १ गते ।
नेपालमा २००७ सालमा विराटनगरका मजदुरले यो दिवस मनाउन सुरु गरे । २०४६ सालदेखि मे १ गतेलाई सार्वजनिक बिदा दिने सरकार दिन थालेको छ तर नेपालमा मजदुरको स्थिति निकै कमजोर छ । एक त काम नै पाइदैन । पायो भने पनि कम ज्याला । त्यसकारण लाखौँ युवा विदेशी भूमिमा कष्टकर जीवन बिताउनुपरेको छ । २००७ सालदेखि समय समयमा सरकार परिवर्तन, ठुला आन्दोलन नभएका भने होइनन् तर औद्योगिक मजदुर र खेतमजदुरको पक्षमा देशको कुनै पनि सरकारले उपलब्धिमूलक कार्यक्रम ल्याउन सकेन । ल्याओस पनि कसरी ? समयसमयमा सरकार सत्ताको खिँचातानी, राजनीतिक भागबन्डा आफ्नो प्रवृत्तिले गर्दा साना किसान, घरेलुु किसानको लागि न्यायोचित सामग्रीको वितरण हुन सकेको छैन ।
हाम्रोजस्तो कृषिप्रधान देशमा उत्पादनको अवस्था निकै कमजोर भएर गएको छ । युवाहरू विदेशिनु र बसाइँसराइको कारणले पनि लाखौँ बिघा जमिन बाझो बनेको छ । सरकारले कुनै पनि समयमा कृषकका माग पूरा गर्ने, मलबिउको समयमा वितरण गर्ने हो भने पनि उत्पादनमा केही सजिलो हुने थियो । त्यो पनि हुन सकिरहेको छैन ।
समग्रमा मजदुर आन्दोलन र मे दिवस र त्योसँग जोडिएका थुप्रै महत्त्वपूर्ण दिन छन् । अधिकार मागेर पाइँदैन । अधिकारको लागि लडाइँ लड्नुपर्दछ । सरकार, सत्ता र सत्ताधारी सबै प्रकारले तिगडम गर्ने, अत्याचार गर्ने, दमन गर्ने हुनाले मजदुर वर्गले आफ्नो जित हासिल गर्न र समानताको अधिकार प्राप्त गर्न नौलो जनवादी व्यवस्थासम्मको प्रतीक्षा गर्नुपर्छ तर त्यो व्यवस्था छिट्टै र त्यसै आउँदैन । यसको लागि मजदुर वर्ग स्वयम् एक भएर अघि बढ्नुपर्छ । मजदुरको शक्तिशाली आन्दोलनले मात्रै मजदुरको राज्यसत्ता ल्याउन सक्छ । त्यसकारण सबै मजदुर एकजुट होऔँ ।

