दुर्गानाथ खरेल ##
समाजवाद पुँजीवादको अन्त्यपछि आउने सामाजिक व्यवस्था हो । समाजवादमा महिलामुक्तिको सुरुआत भएर साम्यवादमा पुरा हुनेछ ।
व्यक्तिगत सम्पत्ति प्रथाको सुरुआतसँगै महिलाको पराधीनता सुरु भएको हो । त्यस्तो हुनुको कारण नयाँ सन्तान जन्माएर हुर्काउने काममा प्रकृतिले दिएको बढी जिम्मेवारीले गर्दा हो । नयाँ सन्तान जन्माएर हुर्काउनको लागि महिलाले प्रत्येक महिनामा महिनावारी व्यहोर्नुपर्छ । नौ महिनासम्म पेटमा बच्चा हुर्काउनुपर्छ । दुई वर्षसम्म बच्चालाई दुध चुसाउनुपर्छ । यी तीनओटै अवस्थामा महिलाको शरीर कमजोर भई पुरुषजत्तिकै कडा शारीरिक काममा खट्न सक्दैनन् । त्यसकारण पुरुषहरूले त्यो अवस्थाको अशक्ततालाई कमजोरीको रूपमा स्वीकार गरेर घरेलु कामको अप्ठेरो जिम्मा महिलालाई सुम्पेका हुन् ।
त्यो जिम्मा महिलाले नलिई नहुने अवस्था पनि भएको हो किनभने परिवार आर्थिक एकाइ हो । परिवारका श्रमिक महिला र श्रमिक पुरुष दुवैको आम्दानीबाट घरको आवश्यक खर्च पूरा गर्नुपर्छ । पुरुषको शरीर हल्का हुन्छ । घरबाहिरका उत्पादनका क्षेत्रमा निश्चित समयसम्म काम गर्छ । त्यसबाट आउने आम्दानी यसको हातमा पर्छ ।
महिलाले घरमा खाना पकाउने, लुगा धुने, सरसफाइ गर्ने, बच्चाको स्याहारसुसार गर्ने सबै काम सबैभन्दा धेरै समयसम्म खटेर गर्नुपर्छ तर आम्दानी उनको हातमा लोग्नेले दिएपछि मात्र पर्दछ । आफ्नो आम्दानीमा गिन्ती हुन पाउन्न । त्यसैले गर्दा परिवारको अधिपति लोग्ने हुन्छ । उसले अधिपत्य प्रयोग गर्छ र स्वास्नीले दासत्व स्वीकार्नुपर्छ । अब भन्न बाध्य हुन्छिन्– घर तपाईंंको हो । सम्पत्ति सबै तपाईंको हो । छोराछोरी पनि सबै तपाईंका हुन् । म पनि तपाईंकै हुम् । “मारे पाप पाले पुण्य” पनि तपाईंलाई नै हो । त्यो अवस्थाको अन्त्य गर्न घरेलु कामलाई सार्वजनिक उद्योगको रूपमा सञ्चालन गर्नुपर्छ । यो पहिलो आधारभूत सर्त हो । निश्चित निश्चित समयसम्म तोकिएको जिम्मेवारी व्यक्तिले पूरा गर्ने र सुत्केरी अवस्थामा आमा बच्चाको स्याहारलाई राजकीय सम्मान दिने ।
पुँजीवाद व्यवस्था रहेसम्म महिलालाई समानताको अधिकार प्राप्त हुन सक्दैन । सरकारले सबै सम्पत्तिका मालिकको सम्पत्ति टुक्राउन चाहन्न । मालिकको अधिनायकत्व कायम राख्छ । महिलामाथि भेदभाव कायम राख्छ । त्यसकारण बढीभन्दा बढी महिलाहरू कम्युनिस्ट पार्टीमा सङ्गठित हुन पर्ने पहिलो आवश्यक सर्त हो ।
कम्युनिस्ट पार्टी संसारका सबै मान्छे भाइभाइ हौँ भन्ने शीर्ष वाक्यलाई छाडेर त्यसको सट्टामा “संसारका मजदुर एक हौँ” भन्ने शीर्ष वाक्यसहित सुरु भएको हो । त्यसको अर्थ ‘शोषितहरू एक भएर शोषकका विरुद्ध समानताको लडाइँ लडौँ’ भनेको हो
समानताको लडाइँ लड्न सङ्गठन चाहिन्छ । अनुशासन सङ्गठनविना शक्तिको प्रदर्शन हुन सक्दैन । शक्तिविना त विजय हुने कुरा भएन । धनीसम्पन्नको बल पैसामा हुन्छ भने विपन्न, गरिब र श्रमजीवीको बल उनीहरूको बढ्दो एकतामा हुन्छ । सङ्गठनमा हुन्छ । शोषितहरूमा सबैभन्दा धेरै सङ्ख्या महिलाको हुन्छ । त्यसकारण धेरै महिलाहरू संलग्न नभएसम्म कम्युनिस्ट पार्टीको उद्देश्य पूरा हुन्न ।
महिला मुक्तिका कुरा कम्युनिस्ट पार्टीको राज्यसत्ता स्थापित नभएसम्म सुरु हुन सक्दैन तैपनि वर्तमान व्यवस्थाभित्रै रहेको अवस्थामा महिलामाथि हुने अन्याय र शोषण कम गर्ने सङ्घर्षमा पनि महिलाको संलग्नता बढाउनुपर्छ ।
वर्तमान व्यवस्थाभित्र सङ्घर्ष गरेर प्राप्त गर्न सकिने अधिकार सम्पत्तिमा समान अधिकार एउटा हो । विवाह र सम्बन्धविच्छेदमा महिलालाई पूर्ण अधिकार दोस्रो हो । त्यसबाहेक सन्तान पेटमा हुर्काउने वा गर्भपतन गर्ने महिलाको पूरा अधिकारजस्ता समान्य सुधारात्मक काम हुन् । ती उद्देश्य पूरा गर्न पनि कम्युनिस्ट पार्टीले नेतृत्व गरेको महिला सङ्गठनमा सङ्गठित भएर विजयी आन्दोलन गर्नुपर्छ । त्यसको लागि अध्ययन, सङ्गठन, सङ्घर्ष र निरन्तरतामा ध्यान दिनुपर्छ । त्यही सङ्गठित आन्दोलनको आधारमा राज्यसत्ता कब्जा गर्ने गरी सशस्त्र आन्दोलन उठ्ने र विजयी बन्ने हो ।
उत्पादनमा प्रमुख भूमिका जसको हुन्छ, समाजमा अधिनायकत्व पनि उसैको सञ्चालन हुन्छ । पशुपालन र कृषिकर्ममा पुरुषको प्रमुख भूमिका भएको अवस्थामा पुरुषको अधिनायकत्व सञ्चालन भएको थियो ।
एकनिष्ठ परिवार पनि आर्थिक कारणले सुरु भएको थियो । एकनिष्ठ परिवारको तीन हजार वर्षको अभ्यासले परिवारमा पुरुषको अधिनायकत्व र महिलाको दासत्व स्थापित गरेको छ । जुन समाजमा महिला स्वतन्त्रता उच्च भएको हुन्छ, त्यही समाजमा उच्च स्वतन्त्रता भएको मूल्याङ्कन गरिन्छ । महिला समानता र स्वतन्त्रताका लागि सबैभन्दा पहिले महिलालाई घरको चौघेरा पार गरेर सामाजिक उत्पादनमा सहभागी बनाउनुपर्दछ । त्यसबाट आफ्नो श्रमको मूल्य प्राप्त हुन्छ र आफ्नो स्वाभिमानको प्रदर्शन हुन्छ । श्रमको मूल्यमा हिसाब गर्न नसकिने तर काममा लगातार खटिरहनुपर्ने घरेलु काममा मात्र सीमित हुँदा आफ्नो श्रमको मूल्य अवमूल्यन भएको हुन्छ । त्यही कारण हो कि आफूले अप्ठेरो कष्टसाध्य काम गरेर पनि दासत्व स्वीकार गर्नुपरेको छ ।
सम्पत्तिमा समान स्वामित्व भए पनि उत्पादन र पुनरुत्पादनमा आफ्नो सहभागिता हुन सकेन भने आफ्नो अवमूल्यन भइरहनेछ । महिलाहरू धेरै पुस्तासम्म शोषण–दमनमा परेर रहेका कारण उनीहरूको राजनैतिक चेतना र समानताको स्तर धेरै निम्न तहमा छ । त्यसलाई उच्चस्तरमा विकास गर्नु आजको आवश्यकता हो । त्यसको दायित्व कम्युनिस्ट पार्टीले पूरा गर्नुपर्छ ।
धेरैभन्दा धेरै महिलालाई सङ्गठनमा गोलबन्द गरेर अध्ययन, सङ्गठन, सङ्घर्षका काममा निरन्तर अभ्यास नगराएसम्म महिलामुक्तिको विषय अगाडि बढ्न सक्दैन । प्रतिगमन रोकेर अग्रगमनको दुरी पार गर्न पनि महिला सहभागिता बढाउनुको अर्को विकल्प छैन । महिला मुक्तिको आन्दोलन महिलाको सहभागितामा अगाडि बढ्ने हो । त्यसमा पुरुषको पूराका पूरा सहयोग हुनुपर्दछ ।
पुरुष र महिलाबिचको सम्बन्ध मानव मात्रको नैसर्गिक अधिकार हो । समाजको उन्नति र विकासमा महिलापुरुष एक भई अघि बढ्नुको विकल्प छैन । पुँजीपतिले श्रमजीवी जनताको शोषण गरेर आफ्ना महिलालाई सन्तान उत्पादन गर्ने औजारको रूपमा उपयोग गर्छन् ।
महिलाको छुट्टै वर्ग हुन्न । किसान, मजदुर, विद्यार्थी, युवक, जनजाति, दलितजाति आदि विभिन्न जनवर्गीय सङ्गठनको आवादीमा महिलाको उपस्थिति रहन्छ ।
समाजमा परस्पर विरोधी वर्ग रहेको हुनाले पुँजीपतिले कम्युनिस्टलाई विभिन्न अफवाह फैलाउँछन् । कम्युनिस्टले सम्पत्तिमा सामूहिक स्वामित्वको कुरा गर्दा झुटा आरोप लगाएर भन्छन् कि कम्युनिस्टले श्रीमती पनि साझा बनाउँछन् । सम्पत्तिको व्यक्तिगत स्वामित्व नरहने भएपछि विवाहको कुरा मायाप्रेममा मात्र आधारित हुनेछ । वर्तमान समाजमा व्यक्तिगत स्वामित्वको सम्पत्ति प्रथा छ । त्यसकारण विवाह मायाप्रेमलाई भन्दा सम्पत्तिको मात्राको आधारमा गरिन्छ । त्यसको साथसाथै एकनिष्ठ विवाह प्रथामा वेश्यावृत्ति पनि सञ्चालन हुन्छ । वेश्यावृत्तिमा पुरुष र महिला दुवैको सहभागिता रहने भए पनि त्यसबाट महिलालाई मात्र अपमानित हुने अवस्था आउँछ ।
पुरुषको सम्पत्तिमा अधिपत्य हुने भएका कारण समाजमा चोखो भएर प्रस्तुत हुन्छ तर सम्पत्तिमा सामूहिक स्वामित्व भएपछि र व्यक्तिगत स्वामित्व नरहेपछि एकनिष्ठता व्यावहारिक रूपमा पुरुषलाई पनि लागु हुनेछ । विवाह गर्ने र सम्बन्धविच्छेद गर्ने अधिकार महिला र पुरुष दुवैलाई समान रूपले लागु हुनेछ । सम्पत्तिको छेकबार नभएपछि मायाप्रेम रहँदासम्म वैवाहिक सम्बन्ध कायम रहनेछ । मायाप्रेम टुटेपछि सम्बन्धविच्छेद हुनेछ । अरू केहीले पनि छेकवारको काम गर्ने छैन । वेश्यावृत्ति पनि दुवै पक्षबाट रोकिनेछ । कुनै पक्ष पनि वेश्यावृत्तिमा सहमागि हुने छैनन् । समाज पूरै अनुशासित हुनेछ ।
अहिलेको समाजमा पुँजीवादी व्यवस्था प्रचलित व्यवस्था हो । मानव समाज कुनै बेला दास व्यवस्था र सामन्ती व्यवस्था प्रचलनमा व्यवस्था थिए । आफ्नो समयमा ती व्यवस्था निकै बलिया थिए । त्यति बलिया व्यवस्था परिवर्तन हुन्छन् र समाप्त हुन्छन् भन्ने अनुमान लगाउन सकिँदैनथ्यो तर त्यस्ता व्यवस्था रूपान्तरण भएर पुँजीवादी व्यवस्थासम्म आइपुगे । अहिलेको पुँजीवादी व्यवस्था र पुँजीवादी समाज पनि अवश्य परिवर्तन रूपान्तरण भएर समाजवादी व्यवस्था र समाजवादी समाज प्रचलनमा आउनेछ । त्यो व्यवस्था स्वतस्फूर्त रूपमा आफै आउने छैन । वर्तमान शोषणयुक्त व्यवस्थामा उत्पीडनमा परेका समाजका उत्पीडित वर्गको सङ्गठित प्रयत्न आवश्यक पर्नेछ ।
शोषित–उत्पीडित वर्गले महसुस गर्ने पहिलो आवश्यकता हो कि हामी उत्पीडिनमा परेका छौँ । हाम्रो मुक्ति अरू कसैले ल्याइदिन्नन्, हामीले नै ल्याउने हो । हामीमाथि उत्पीडन थोपर्ने वर्ग विरुद्ध सङ्गठित रूपमा आन्दोलन उठाएर त्यो आन्दोलनलाई सफल पारेर राज्यसत्ता कब्जा गर्ने पनि हाम्रो जिम्मेवारीअन्तर्गतको काम हो ।
सबैभन्दा बढी उत्पीडनमा पर्ने वर्ग महिला नै हुन् । तिनीहरू सम्पन्न र विपन्न वर्गमा विभाजित छन् । विपन्न वर्गका श्रमजीवी महिला पनि किसान, मजदुर, दलित जाति, जनजाति आदि विभिन्न जनवर्गीय सङ्गठनमा छन् । आआफ्नो तर्फबाट र संयुक्त रूपमा पनि सङ्गठित र अनुशासित भई आन्दोलन उठाउनु अति आवश्यक काम हो । त्यसो नगर्ने हो भने महिला मुक्तिको काम झन् झन् टाढा हुँदै जानेछ । पहिलेका व्यवस्था पनि आन्दोलनले राज्यसत्तालाई सुदृढ र बलियो बनाएका थिए । अबको आन्दोलनले राज्यसत्तालाई कमजोर बनाउँदै उपयोगविहीन अवस्थामा पुर्याउने हो । जनताका सबै समस्या आपसी सल्लाहद्वारा जनतले नै समाधान गर्ने र सबै जनता आदर्श नागरिकको भूमिकामा रहने हो ।
वर्तमान अवस्थामा सबैभन्दा ठुलो सङ्गठित शक्ति राज्यसत्ता हो । यो जनतामा कर उठाउने र सशस्त्र सैन्यशक्ति राख्ने दुईओटै अधिकारसहित हुन्छ । जतिसुकै ठुलो शक्ति भनिए पनि जनताको तुलनामा एक प्रतिशत मात्रै छ । जनता उनान्सय प्रतिशत छन् । जनताको निम्न राजनीतिक चेतनास्तर भएका जनताबाट करको रकम उठाएर जनतालाई नै शासन गरेका छन् । सशस्त्र सेनासहित भएकोले दमनसहितको शासन गरेका छन् । जनस्तरबाट सचेत, सङ्गठित र अनुशासित आन्दोलन उठाएर राज्यसत्ता जनताको पहुँच हुन सक्ने गरी कब्जा गर्न सकिन्छ र सक्नुपर्छ । जनतालाई ब्युँझाउन राजनैतिक पार्टीको कार्यक्रमसहित आमूल परिवर्तनको उद्देश्य पुर्याउनुपर्छ । राज्यसत्ता कब्जा हुनुभन्दा पहिले सम्पूर्ण शक्ति राज्यसत्ता कब्जा गर्नमा लगाउनुपर्छ । राज्यसत्ता जनताको राजनैतिक पार्टीको नेतृत्वमा उठाइएको आन्दोलन विजयी भएर कब्जा हुने हो । जनताको सशस्त्र सैन्यशक्तिले राज्यसत्ताको सशस्त्र सैन्यशक्तिलाई हराएर कब्जा हुने हो ।
लेनिनले जनताको आन्दोलन उठेकै बेलामा कम्युनिस्ट पार्टीले सैन्य शक्तिको विकास र विस्तार गरेर विजयी हुनुपर्ने भएको हुनाले कम्युनिस्ट पार्टीको काँधमा महान् जिम्मेवारी छ भन्नुभएको छ । बढीभन्दा बढी महिलाको सहभागिताविना आन्दोलन विजयी हुन सक्दैन । समाजवादी राज्यसत्ता वर्गसङ्घर्षको उपलब्धिस्वरूप स्थापना हुने हो । राज्यसत्ता कब्जा भएपछि व्यक्तिगत स्वामित्वमा रहेको उद्योग–व्यवसाय खोसेर सामूहिक स्वामित्वमा लैजानुपर्ने भएको हुनाले सर्वहारा वर्गको अधिनायकत्व आवश्यक हुन्छ । कम्युनिस्ट पार्टी मजदुर, किसान र श्रमजीवी बुद्धिजीवीको भए पनि नेतृत्व भने सर्वहारा वर्गको हुनैपर्छ ।
राजनीतिक चेतनास्तर निम्न भएका कारण वर्तमान समाजका महिलाहरू अध्ययन, सङ्गठन र सङ्घर्षमा पछि परेका हुन्छन् । महिलालाई सचेत सङ्गठित र अनुशासित बनाएर कम्युनिस्ट पार्टीमा गोलबन्द गरेपछि मात्र कम्युनिस्ट आन्दोलन अघ बढ्छन् ।
समाजवादी व्यवस्थामा मात्र महिलाले पुरुषसरहका सबै सुविधा उपभोग गर्न पाउँछन् । वर्तमान अवस्थाका विभिन्न सडेगलेका नियमकानुनले महिलालाई विभिन्न किसिमका उत्पीडन ब्यहोर्न बाध्य पारेका हुन्छन् ।
समाजवादी व्यवस्था स्थापना भएपछि महिलामुक्ति अभियानले प्राथमिकतासहित अघि बढ्ने अवसर पाउँछ । थोरै समयसम्म भए पनि जनवादी जनवादी र समाजवादी व्यवस्था सञ्चालन भएका देशमा महिलाका समानताका अधिकार गुमिसकेका छैनन् । त्यस्तो हुनुको कारण ती व्यवस्थाले महिला अधिका स्थापना गर्न र महिलाको राजनैतिक चेतनास्तर उच्च बनाउन पहिलो प्राथमिकता दिएका थिए । महिलाको मुक्ति महिलालाई मात्र दिलाउन सकिने काम होइन, अरू श्रमजीवी वर्गको मुक्ति अभियानसँगै महिलामुक्ति अभियान अघि बढ्न हो ।
श्रमजीवी वर्गको मुक्ति मानव समाजका कुनै पनि व्यक्तिले अर्को व्यक्तिलाई शोषण गर्न नपाउने अवस्थालाई मात्र मानिन्छ । समाजका सबै व्यक्तिले आपसमा मिलेर प्रकृति विरुद्ध सङ्घर्ष गर्ने र आपसी समस्या आपसी सहयोग र आपसी छलफलबाट समाधान गर्ने अवस्थामा मात्र मानवमुक्ति सम्भव हुने कुरा हो । व्यक्तिगत समस्या समाधानका लागि निश्चित समयसम्म काम गर्ने र कामअनुसार दाम लिने अवस्था आउँछ तर वर्तमान अवस्थामा आन्दोलन गरेर राज्यसत्ता कब्जा गरेपछि मजदुरलाई रोजगारीको ग्यारेन्टी गर्दै मजदुरको अवस्था कायम राखेर बाँकी रहेका अरू सबै मान्छेलाई पनि मजदुरले सरह गरेर आवश्यकता पूरा गर्न ज्याला बुझ्ने बनाउने हो ।
समाजवादी समाजमा मजदुर–किसान र बुद्धिजीवी तीन थरीका मान्छे हुन्छन् र सबै श्रमजीवी वर्गअन्तर्गत मान्छे हुन्छन् । मजदुरले उद्योगमा, किसानले खेतमा काम गर्छन् र बुद्धिजीवीले तिनीहरूके सहयोगी काम गर्छन् । बुद्धिजीवीले धेरै समय बौद्धिक काम र मजदुर किसानले थोरै बौद्धिक काम गरेर बाँकी समय शारीरिक काम गर्छन् ।