–रामप्रकाश पुरी
(यो लेख रामप्रकाश पुरीद्वारा लिखित Factionalism in the Nepali Communist Movement: An Epistemological Perspective शीर्षकमा International Journal of Multidisciplinary and Innovative Research Volume 02 Issue 10, October 2025 मा प्रकाशित अनुसन्धानात्मक लेखको सारांश हो । पूर्ण लेख गुगल, रिसर्च गेट, गुगल स्क्यालर लगायतका विभिन्न साइटमा 10.58806/ijmir.2025.v2i10n05 ठेगाना दिएर पढ्न सकिने छ । यो लेखले नेपाली कम्युनिस्ट आन्दोलनभित्रको फुटलाई ज्ञानमीमांसीय दृष्टिकोणबाट विश्लेषण गर्दछ र विभाजनहरू मुख्यतः ज्ञान र सत्यको फरक–फरक बुझाइबाट उत्पन्न हुन्छन् भन्ने निष्कर्ष दिएको छ । लेख अनुसन्धानमाथि आधारित भएकोले निष्पक्ष र स्वतन्त्र छ ।)
ज्ञानसम्बन्धी खोजले ज्ञानका स्रोत र त्यसको वैधताको अध्ययन गर्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा वैज्ञानिक समाजवाद, नेताहरूका व्यक्तिगत व्याख्या, ऐतिहासिक अनुभव, तथा व्यवहारिक राजनीति जस्ता विविध स्रोतहरू सक्रिय देखिन्छन् । यी फरक स्रोतहरूले फरक–फरक “सत्य” निर्माण गर्छन्, जसले अन्ततः वैचारिक विवाद र संगठनात्मक फुटलाई जन्म दिन्छ । मिचेल फोकल्टको “सत्य र शक्ति”को अवधारणाअनुसार सत्य कुनै स्थिर वा निरपेक्ष वस्तु नभई शक्ति सम्बन्धसँग गाँसिएको हुन्छ । उनले यस्तो भनिरहँदा नेपाली सन्दर्भमा पनि नेताहरूले आफ्नो शक्ति प्रयोग गरी आफ्नै सत्यलाई वैध ठहर्याउने प्रयास गरेका देखिन्छन् । यस सन्दर्भमा मुख्य द्वन्द्व वस्तुगत र सिद्धान्तमा आधारित ज्ञान—जस्तै मार्क्सवादी–लेनिनवादी दृष्टिकोण र व्यक्तिगत, नेतृत्वकेन्द्रित तथा राजनीतिक स्वार्थद्वारा प्रभावित व्याख्याबीच देखा पर्छ । साथै, ज्ञानको चयनात्मक प्रयोग, विगतको वर्तमान स्वार्थअनुसार पुनर्व्याख्या, बहुसत्यको अस्तित्व, तथा जनस्तरका अनुभव र औपचारिक ज्ञानबीचको असमान मूल्याङ्कनजस्ता ज्ञानमीमांसीय चुनौतीहरूले यस द्वन्द्वलाई अझ फराकिलो बनाउँछन् । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनभित्रको फुट केवल राजनीतिक वा संगठनात्मक समस्या मात्र नभई ज्ञानको उत्पादन, व्याख्या र वैधतासँग सम्बन्धित गहिरो ज्ञानमीमांसीय समस्या हो ।

विवादहरू मुख्यतः ज्ञान निर्माणका विभिन्न आधारहरूबाट प्रभावित हुन्छन् । पहिलो, वैचारिक भिन्नता—मार्क्सवाद–लेनिनवाद, माओवाद वा माओविचारधारा र क्रान्तिकारी रणनीतिबारे फरक व्याख्याले दीर्घकालीन फुट जन्मायो । दोस्रो, नेतृत्वकेन्द्रित सत्य—नेताहरूका अभिव्यक्तिलाई अन्तिम सत्यको रूपमा स्वीकार गर्ने प्रवृत्तिले समूहगत निष्ठा र रणनीतिलाई निर्धारण गर्यो । तेस्रो, अन्तर्राष्ट्रिय वैचारिक प्रभाव—जस्तै चीन–सोभियत विभाजनले स्थानीय ज्ञान प्रणालीलाई प्रभावित गर्दै पार्टीभित्र द्वन्द्व बढायो । चौथो, अनुभवमा आधारित ज्ञान र संस्थागत ज्ञानबीचको द्वन्द्व—जसमा तल्लो तहको अनुभव पार्टी सिद्धान्तसँग ठोक्कियो । अन्ततः, सङ्गठनात्मक संरचनाले कुन ज्ञान वैध मान्ने भन्ने निर्धारण गर्यो, जसले आन्तरिक सङ्घर्षलाई थप गहिरो बनायो ।
ऐतिहासिक दृष्टिले, १९५०–६० को दशकमा दरभंगा प्लेनम (१९६०) र त्यसपछिका घटनाहरूले ज्ञानमीमांसीय विवादको स्पष्ट उदाहरण प्रस्तुत गर्छन् । मोहन बिक्रम सिंहको प्रस्ताव स्वीकृत भए पनि रायमाझी र पुष्पलालबिचको वैचारिक विभाजनले पार्टीभित्र ज्ञानको बहुलता र वैधतामाथिको विवाद देखायो । पछि रायमाझीको राजतन्त्र समर्थनले उनलाई निष्कासनसम्म पुर्यायो, भने तुल्सीलालको “राष्ट्रिय प्रजातन्त्र” लाइनलाई पनि विभिन्न समूहहरूले फरक–फरक रूपमा व्याख्या गरे । यसले देखाउँछ कि पार्टीभित्र सत्यको निर्धारण औपचारिक संरचनाभन्दा बढी वैचारिक, व्यक्तिगत र भावनात्मक पक्षबाट प्रभावित थियो । साथै, विश्वास र विश्वसनीयताको संकट, एउटै घटनाको फरक–फरक व्याख्या, जसले सत्यहरुको बहुलतालाई प्रस्तुत गर्दछन् अर्थात् एउटै वस्तु, घटना वा वास्तविकतालाई फरक फरक सत्यको रुपमा बुझ्ने समस्याबाट नेपालको कम्युुनिस्ट आन्दोलन बाहिर आउन सकेन । यसबाट शक्ति–ज्ञान सम्बन्धले कुन सत्य स्वीकार हुन्छ भन्ने कुरालाई निर्धारण गरेको स्पष्ट बुझ्न सकिन्छ ।

१९९० मा बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि, विवादहरू अझ बढी रणनीतिक ज्ञानमीमांसा वरिपरि केन्द्रित भए । मुख्य बहस संसदवादी सहभागिता र क्रान्तिकारी सङ्घर्षबिच थियो । एक पक्षले प्रजातान्त्रिक प्रक्रियालाई व्यावहारिक र ऐतिहासिक रूपमा उचित ठाने भने अर्को पक्षले वर्गसङ्घर्ष र द्वन्द्वात्मक भौतिकवादमा आधारित क्रान्तिलाई मात्र वैज्ञानिक मार्ग माने । यसरी, यी विवादहरू केवल रणनीतिक नभई सामाजिक परिवर्तनसम्बन्धी ज्ञानको उत्पादन र वैधताबारे गम्भीर ज्ञानमीमांसीय द्वन्द्वको अभिव्यक्ति थिए ।
वैचारिक दायरा अन्तर्गत मार्क्सवाद–लेनिनवाद र माओवादका विभिन्न व्याख्याहरूले रणनीतिक निर्णयलाई प्रभाव पारेका छन । नेतृत्वकेन्द्रित सत्यका कारण नेताहरूका आकर्षक अभिव्यक्तिहरू नै ज्ञानात्मक सन्दर्भ बिन्दु बने, जसले गुटप्रतिको निष्ठा निर्धारण गर्यो । साथै, अनुभवमा आधारित कार्यकर्ता तहको ज्ञान र औपचारिक ज्ञानबिचको द्वन्द्वले जनस्तरमा बुझाइ र नेतृत्वका निर्देशनबिच तनाव सिर्जना गर्यो ।
२०२० मा नेपाल कम्युनिस्ट पार्टीको विभाजनले आधुनिक सन्दर्भमा पनि ज्ञानमीमांसीय आधार कति सशक्त छ भन्ने देखाउँछ । यो विभाजन मुख्यतः नेतृत्व प्रतिस्पर्धा र संवैधानिक राजनीतिसँग सम्बन्धित थियो, तर यसको मूलमा ज्ञानसम्बन्धी विवाद नै थिए । विभिन्न नेताहरूले पार्टी सिद्धान्त, राज्य सञ्चालन, र आधुनिक नेपालमा मार्क्सवादी सिद्धान्तको प्रयोगबारे फरक–फरक व्याख्या प्रस्तुत गरे । उनीहरूले आफ्नो दाबीलाई बलियो बनाउन ऐतिहासिक उदाहरण, कानुनी व्याख्या र रणनीतिक विश्लेषण प्रयोग गरे, जसले ज्ञानात्मक अधिकारको दाबीलाई दर्शाउँछ । यस अवस्थामा पनि गुटप्रतिको निष्ठा त्यही व्याख्यामा आधारित रह्यो जुन “सही” वा “वैध” ठानियो, जसले नेतृत्वकेन्द्रित ज्ञानलाई अझै कायम रहेको पुष्टि गर्छ ।

यसका अतिरिक्त, बहुसत्यको अवस्थाले संवैधानिक र राजनीतिक रणनीतिमा फरक–फरक ज्ञानात्मक संरचनाहरू देखायो । अन्तर्राष्ट्रिय प्रभावले पनि विश्व समाजवादी अभ्यासहरू मार्फत स्थानीय व्याख्यालाई प्रभावित गर्यो । अन्ततः, ज्ञान–शक्ति सम्बन्ध, जसलाई मिचेल फोकल्टले स्पष्ट गरेका छन्, अनुसार नेतृत्वको प्रभुत्वले कुन व्याख्या संस्थागत हुन्छ भन्ने निर्धारण गर्यो, जसले पुनः गुट द्वन्द्वलाई पुनरुत्पादन गर्यो ।
सोभियत संघको प्रभावलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दी र वैचारिक विभाजनसँग ज्ञानसम्बन्धी दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । सोभियत सङ्घ विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्सवाद–लेनिनवादको प्रमुख केन्द्र भएकाले यसले एक प्रकारको प्रमुख ज्ञान–संरचना प्रदान गर्यो, जसलाई नेपाली कम्युनिस्टहरूले वैचारिक वैधताको स्रोतका रूपमा ग्रहण गरे । यसका कारण स्थानीय स्तरमा मार्क्सवाद–लेनिनवादको व्याख्या सोभियत मापदण्डसँग तुलना गरेर गरिन थाल्यो । तर, चीन–सोभियत बिचको महान बहस (१९५०–६० को दशक) पछि नेपाली कम्युनिस्टहरू पनि दुई धारमा विभाजित भए—एक पक्षले मस्को–आधारित व्याख्या (संसदीय सहभागिता र केन्द्रीकृत संगठन) लाई समर्थन गर्यो भने अर्को पक्षले माओत्सेतुङ विचारधारा वा माओवाद प्रेरित दृष्टिकोण (क्रान्तिकारी संघर्ष, ग्रामीण वर्गसङ्घर्ष र विकेन्द्रीकरणलाई प्राथमिकता दियो । यी भिन्नताहरू केवल रणनीतिक नभई फरक–फरक ज्ञानात्मक संरचनाहरू थिए, जसमा दुवै पक्षले आफूलाई “सही” ज्ञानको वाहक ठान्थे । साथै, सोभियत मोडेललाई प्रत्यक्ष रूपमा नेपालमा लागू गर्ने प्रयास गर्दा स्थानीय सामाजिक, सांस्कृतिक र आर्थिक यथार्थसँग असंगति देखियो । औद्योगिक मजदुर केन्द्रित सोभियत रणनीति नेपाल जस्तो कृषिप्रधान र अर्धसामन्ती समाजमा पूर्ण रूपमा लागू हुन सकेन, जसले वैचारिक द्वन्द्वलाई अझ गहिरो बनायो । यसले आयातित विचारधारा र स्थानीय ज्ञानबिचको द्वन्द्व सिर्जना गर्यो, जहाँ प्रश्न उठ्यो—के “सही” मार्क्सवाद विदेशी व्याख्यामा आधारित हो कि स्थानीय यथार्थअनुसार पुनःनिर्मित ? यही विवादले गुटबादलाई ज्ञानमिमांसात्मक सङ्घर्षमा रूपान्तरण गर्यो ।

अन्ततः, ज्ञान–शक्ति सम्बन्धको सन्दर्भमा सोभियत समर्थक समूहहरूले बाह्य वैधतालाई आफ्नो शक्ति बनाउँदै आफ्ना दृष्टिकोणलाई “वैज्ञानिक” ठहर्याए र विरोधीहरूलाई अवैध देखाए । यसरी, शक्ति र ज्ञान एकआपसमा गाँसिएर गुट विभाजनलाई संस्थागत बनाउँदै लगे । परिणामस्वरूप, संसदीय राजनीति विरुद्ध क्रान्तिकारी संघर्ष, केन्द्रीकरण विरुद्ध विकेन्द्रीकरण, र अन्तर्राष्ट्रिय विरुद्ध राष्ट्रिय मोडेलजस्ता बहसहरू केवल रणनीतिक विवाद नभई “कुन ज्ञान सही हो ?” भन्ने गम्भीर ज्ञानमिमांसात्मक द्वन्द्वका रूपमा विकसित भए ।
नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दीलाई ज्ञानसम्बन्धी दृष्टिकोणबाट विश्लेषण गर्दै सोभियत संघ र चिनियाँ कम्युनिस्ट पार्टीको प्रभावलाई व्याख्या गर्दा यो निष्कर्ष अगाडि आउँछ कि गुटबन्दी र वैचारिक विखण्डन केवल सङगठनात्मक कमजोरी नभई ज्ञानको उत्पादन, व्याख्या र वैधतामाथिको सङ्घर्षका रूपमा बुझिनुपर्छ । बाह्य वैचारिक मोडेलहरू—जस्तै सोभियत वा चिनियाँ—लाई बिना समालोचनात्मक रूपमा ग्रहण गर्दा ती स्थानीय सामाजिक यथार्थसँग ठोक्किन्छन्, जसले विभाजनलाई जन्म दिन्छ । साथै, स्थानीय नेताहरूले यी आयातित विचारहरूको पुनर्व्याख्या गर्दा विभिन्न “सत्य” निर्माण हुन्छन्, जसले अधिकार, वैधता र सत्यको निरन्तर विवाद सिर्जना गर्छ । यसर्थ, नेपाली कम्युनिस्ट आन्दोलनको गुटबन्दी वा गुटवादलाई बुझ्न आयातित विचारधारा, स्थानीय सन्दर्भ र शक्ति सम्बन्धबिचको अन्तरक्रियालाई विश्लेषण गर्न आवश्यक हुन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले नेपाली कम्युनिस्ट आन्दोलनको ज्ञानात्मक ढाँचालाई गहिरो रूपमा प्रभावित गरेको देखिन्छ । सीसीपीले माओविचारधारा वा माओवाद, दीर्घकालीन जनयुद्ध, ग्रामीण संगठन र कार्यकर्ता निर्माणजस्ता अवधारणामार्फत “वैज्ञानिक क्रान्तिकारी ज्ञान” को मोडेल प्रदान गर्यो, जसलाई नेपालमा माओको लाइन मान्नेहरुले व्यवहारमा लागू गरे । तर, यही ज्ञानको आयातले विभिन्न व्याख्याहरू जन्मायो—केही समूहले ग्रामीण सशस्त्र संघर्षलाई प्राथमिकता दिए भने अन्यले संसदीय राजनीति र सहरी आन्दोलनलाई महत्व दिए । यसले सीसीपीको सिद्धान्तको “सही प्रयोग” के हो भन्ने ज्ञानमिमांसात्मक विवाद सिर्जना गर्यो, जसले गुटवादलाई थप तीव्र बनायो । साथै, सीसीपी शैलीको केन्द्रीकृत निर्णय प्रक्रिया र नेतृत्वकेन्द्रित ज्ञान संरचनाले केही नेताहरूलाई ज्ञानात्मक प्राधिकारीका रूपमा स्थापित गर्यो, जसले “कसको व्याख्या सही हो ?” भन्ने आधारमा समूहगत सङ्घर्षलाई संस्थागत बनायो ।
यस सन्दर्भमा अन्तर्राष्ट्रिय वैचारिक द्वन्द्व—विशेषगरी चीन–सोभियत बहसले नेपाली कम्युनिस्टहरूलाई दुई फरक ज्ञानात्मक मार्गबिच छनोट गर्न बाध्य बनायो । सीसीपी वा सोभियत पक्षमा उभिनु केवल राजनीतिक निर्णय नभई “सही ज्ञान” को दाबी पनि थियो । साथै, स्थानीय कार्यकर्ता स्तरको अनुभवले कतिपय अवस्थामा सीसीपीको सैद्धान्तिक मोडेलसँग मेल खाएन, जसले आयातित विचारधारा र स्थानीय अनुभवबिचको द्वन्द्वलाई अझ गहिरो बनायो । अन्ततः, यही ज्ञानमिमांसात्मक असङ्गति—स्थानीय अनुभव बनाम बाह्य सिद्धान्त—ले गुटबन्दीलाई केवल शक्ति सङ्घर्ष नभई “कुन ज्ञान वैध हो ?” भन्ने गहिरो दार्शनिक विवादका रूपमा स्थापित गर्यो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को प्रभावलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दीवाद र वैचारिक विभाजनसँग गहिरो ज्ञानमिमांसात्मक सम्बन्ध छ । सीसीपीको प्रभावले विभिन्न क्रान्तिकारी रणनीतिबारे फरक–फरक व्याख्या जन्मायो, जसले ज्ञानात्मक विविधता सिर्जना गर्यो । साथै, ज्ञान–शक्ति सम्बन्ध अन्तर्गत सीसीपी–आधारित वैधताको दाबी गर्ने समूहहरूले प्रायः निर्णय प्रक्रियामा प्रभुत्व जमाउँदै गुटीय गठबन्धनलाई संस्थागत बनाए । यसैगरी, सन्दर्भअनुसार ज्ञानको वैधता परिवर्तन हुने भएकाले स्थानीय र ऐतिहासिक अवस्थाअनुसार वैचारिक सिद्धान्तको पुनर्मूल्याङ्कन हुँदै गयो । समग्रमा, सीसीपी एकातिर “अधिकारिक ज्ञानको मोडेल” बनेको छ भने अर्कोतर्फ त्यसकै व्याख्यामाथि हुने प्रतिस्पर्धा गुटबन्दीवादको मुख्य स्रोत बनेको छ । विभिन्न समूहहरूले ऋऋए सिद्धान्तको “सही व्याख्या” मा आधारित भएर आफ्नो नेतृत्व र रणनीतिलाई वैध ठहर्याउने प्रयास गरे, जसले अन्तर्राष्ट्रिय वैचारिक प्रभाव र स्थानीय अनुभवसँग मिलेर निरन्तर विभाजन र बहसलाई जन्म दियो। यसरी गुटबन्दीवादलाई ज्ञानमिमांसात्मक दृष्टिले हेर्दा यो केवल सङ्गठनात्मक वा व्यक्तिगत द्वन्द्व नभई ज्ञानको उत्पादन, वैधता र अधिकारमाथिको सङ्घर्षका रूपमा देखिन्छ ।
विभिन्न विद्वानहरूको अध्ययनले पनि यही निष्कर्षलाई सुदृढ बनाउँछ । माइकल हट र प्रत्युष वन्त (२०१७) ले साहित्यिक शिक्षाले वैचारिक धारणा निर्माणमा प्रभाव पारेर नेतृत्व र जनस्तर बिच अन्तर सिर्जना गरेको देखाएका छन् । सारा स्हेनेइडेरमन (२००३) ले पिस्कार गाउँका किसानहरूले माओका विचारलाई आफ्नै सामाजिक सन्दर्भअनुसार पुनर्निर्माण गरेको देखाउँदै अनुभवजन्य ज्ञानको महत्त्व देखाउँछन् । कैलमेल र पेरीअर(२००७) र अधिकारी (२०२३) ले नेतृत्वद्वारा उत्पन्न ज्ञानात्मक द्वन्द्वले सङ्गठनात्मक एकता कमजोर बनाउँदै गुटबादलाई बढाएको तर्क गर्छन् । साथै, चौँलागाइले (२०२४) ले वैचारिक द्वन्द्व र लोकतान्त्रिक प्रक्रियाबिचको अन्तर्सम्बन्ध देखाउँदै नीति निर्माणमा ज्ञानमिमांसात्मक संघर्षको भूमिका स्पष्ट पारेका छन् । यी सबै अध्ययनहरूले देखाउँछन् कि नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दी केवल राजनीतिक वा सङ्गठनात्मक समस्या मात्र नभई ज्ञान निर्माण, नेतृत्वको व्याख्या, वैचारिक द्वन्द्व र सङ्गठनात्मक प्रक्रियासँग गाँसिएको गहिरो ज्ञानमिमांसात्मक प्रक्रिया हो ।

पार्टीभित्रका फुट र विवादहरू केवल संगठनात्मक कमजोरी वा व्यक्तिगत द्वन्द्व होइनन्, बरु ज्ञानको स्रोत, त्यसको वैधता र सही व्याख्याबारे हुने संघर्ष हुन् । पहिलो, गुटबन्दी स्वयंमा ज्ञानमिमांसात्मक सङ्घर्ष हो, जहाँ विभिन्न समूहहरूले वैज्ञानिक समाजवाद, नेतृत्वकेन्द्रित अधिकार, विदेशी मोडेल वा व्यावहारिक राजनीतिक अनुकूलनका आधारमा आफ्नो वैधता स्थापित गर्न खोज्छन् । १९६० को दरभंगा प्लेनम जस्तो घटनाले देखाउँछ कि बहुमतको निर्णय र नेतृत्वको व्याख्यामध्ये कुन “सत्य” मान्ने भन्ने प्रश्न नै मुख्य विवादको विषय थियो । दोस्रो, आन्दोलनभित्र बहुसत्यको अवस्था देखिन्छ, जहाँ एउटै घटनालाई नेपालक विभिन्न कम्युनिस्ट नेताहरूले फरक–फरक तरिकाले व्याख्या गरे, जसले फरक ज्ञानात्मक सत्य निर्माण गर्यो । तेस्रो, सत्य स्थिर नभई सन्दर्भअनुसार परिवर्तनशील रह्यो—कहिले संसदीय सहभागिता “सही” ठानियो भने कहिले संशोधनवाद भनेर अस्वीकार गरियो । चौथो, ज्ञान–शक्ति सम्बन्ध अत्यन्त महत्त्वपूर्ण रह्यो, जहाँ कुन सत्य वैध हुन्छ भन्ने कुरा सिद्धान्तभन्दा बढी नेतृत्व र गुटको शक्ति सन्तुलनले निर्धारण गर्यो । यस प्रक्रियामा नेपालका कम्युनिस्ट नेताहरूको प्रभाव निर्णायक रह्यो, र सोभियत वा चिनियाँ पक्षसँगको निकटताले पनि ज्ञानात्मक वैधता निर्माण गर्यो ।
पाँचौँ, सत्य उत्पादन स्थिर नभई अन्तरक्रिया, बहस र प्रतिस्पर्धाबाट निर्माण हुने प्रक्रिया हो । पार्टी सम्मेलन, जनसभा र संगठनभित्रका छलफलहरूले ज्ञानलाई निरन्तर पुनर्निर्माण गरे, जहाँ व्यक्तिगत भावना, निष्ठा र अनुभवले पनि भूमिका खेले । यसले देखाउँछ कि ज्ञानमिमांसा सामाजिक रूपमा निर्माण हुने प्रक्रिया हो । साथै, गुटबन्दीवादलाई ज्ञानमिमांसात्मक संघर्षको रूपमा हेर्दा, सोभियत र चिनियाँ मोडेलबिचको विभाजनले फरक–फरक ज्ञान दाबीहरूलाई जन्म दियो—एक पक्षले मस्को–आधारित नीतिलाई “सही” ठान्यो भने अर्कोले माओको व्याख्यालाई वैज्ञानिक सत्यका रूपमा ग्रहण गर्यो ।

अन्ततः, आयातित विचारधारा र स्थानीय अनुभवबीचको अन्तर्क्रियाले ज्ञानात्मक बहुवादको सिर्जना गर्यो । नेपालजस्तो कृषिप्रधान समाजमा विदेशी मोडेलहरू पूर्ण रूपमा लागू हुन नसक्दा जनस्तरमा नयाँ व्याख्याहरू उत्पन्न भए, जसले थप विभाजनलाई संस्थागत बनायो । चीन–सोभियत विभाजन जस्ता अन्तर्राष्ट्रिय वैचारिक द्वन्द्वहरूले पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई गहिरो रूपमा प्रभावित गर्दै गुटीय राजनीति र नेतृत्वको वैधता निर्धारण गरे ।
समग्रमा, नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दीवाद र फुट मूलतः “कुन ज्ञान सही हो ?” भन्ने गहिरो ज्ञानमिमांसात्मक प्रश्नसँग सम्बन्धित छ, जसले संगठनात्मक दिशा, रणनीति र एकतालाई निरन्तर प्रभावित गर्दै आएको छ । विभाजनहरू केवल संगठनात्मक कमजोरी वा व्यक्तिगत स्वार्थका कारण नभई मार्क्सवादी सिद्धान्त, नेतृत्वको व्याख्या र विदेशी मोडेलबिचको द्वन्द्वका कारण उत्पन्न भए । वर्गआधारित दृष्टिकोण बलियो हुँदा एकता सम्भव देखिए पनि नेतृत्वकेन्द्रित व्यक्तिवाद हावी हुँदा फुट तीव्र भयो । विदेशी (सोभियत/चिनियाँ) मोडेलको अन्धानुकरणले स्थानीय ज्ञान र यथार्थलाई कमजोर बनाउँदै वैचारिक असंगति बढायो । यसरी, फुट आकस्मिक नभई सत्यको परिभाषा र ज्ञान–शक्ति सम्बन्धमा आधारित संरचनात्मक समस्याका रूपमा बुझ्नुपर्छ ।
