मोहनविक्रम सिंह ##
२०८२ चैत २८ गते काठमाडौँमा सम्पन्न कामरेड जलजला उपन्यासको विमर्श कार्यक्रममा उपन्यासका लेखकद्वारा प्रस्तुत मन्तव्य
आदरणीय अतिथि तथा उपस्थित सबै सहभागी मित्रहरू
आज “कामरेड जलजला” उपन्यासको विमर्श कार्यक्रममा उपस्थित हुनुभएका सबै अतिथि र सहभागी मित्रहरूलाई मैले हार्दिक अभिनन्दन गर्न चाहन्छु । यो विमर्श कार्यक्रमले उक्त उपन्याससित सम्बन्धित विभिन्न पक्षलाई बुझ्नका लागि मदत पुग्नेछ भन्ने मैले आशा गरेको छु ।
उपन्यासका विभिन्न पक्षबारे यो विमर्श कार्यक्रममा सम्मानित साहित्यकार, समालोचक वा उपन्यासका ज्ञाताबाट धेरै प्रकाश पर्नेछ । त्यस कारण यहाँ मैले त्यसको एउटा पक्षबारे मात्र केही प्रकाश हाल्न चाहन्छु ।
जस्तो कि उपन्यासको उपशीर्षकमा लेखिएको छ, यो उपन्यास प्रेमको कथा र विश्वको दर्शन हो । उपन्यासले प्रेमलाई अत्यन्त उच्च मानवीय, दार्शनिक वा क्रान्तिकारी स्तरमा स्थापित गर्ने प्रयत्न गरेको छ । जब हामीले प्रेमको चर्चा गर्दछौँ, आमाको आफ्ना सन्तानप्रतिको माया प्रेमको सर्वाेच्च रूप हो । त्यो प्रेमको महत्त्व यो कुरामा छ कि त्यो पूरै निस्वार्थ हुन्छ र बदलामा आमाले कुनै कुराको आशा गरेका हुँदैनन् । उनीहरूले विनाकुनै प्रतिफलको आशा नगरीकन आफ्ना सन्तानको सुख र कल्याणका लागि सबै प्रकारको दु:ख, कष्ट उठाउन वा त्याग र बलिदान गर्न तयार हुन्छन् र त्यसमा उनीहरूले परम सुखानुभूति अनुभव गर्दछन् ।
त्यसपछि प्रेमीप्रेमिका वा पतिपत्नीका बिचको प्रेम नै उच्च र आदर्श रूप हो तर त्यो प्रेम त्यो बेला नै उच्च र आदर्श हुन जान्छ, जब त्यसमा आमाको सन्तानप्रतिको प्रेमको तत्त्व समाविष्ट हुन्छ । त्यसको अर्थ हो– जब प्रेमीप्रेमिका वा पतिपत्नीले बदलामा के पाइन्छ भन्ने स्वार्थबाट माथि उठेर पूरै नै निस्वार्थ भावले एकअर्कालाई प्रेम गर्दछन्, तब त्यो उच्च र आदर्श प्रेम हुन जान्छ तर त्यसको विपरीत जब त्यस प्रकारको प्रेममा आमा तत्त्वको मात्रा कम हुन्छ वा प्रेमीप्रेमिका वा पतिपत्नीले आपसको प्रेमलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने एउटा साधनको रूपमा लिन थाल्दछन्, त्यो अवस्थामा प्रेम वास्तवमा प्रेम नभएर व्यापार वा सौदाबाजीको विषय बन्न पुग्दछ । यो आम रूपमा थाहा भएको कुरा हो कि व्यापारमा मानिसले बढी लाभ प्राप्त गर्नका लागि अर्काे पक्षलाई बढीभन्दा बढी ठग्ने पनि कोसिस गर्दछन् । आमाको सन्तानप्रतिको प्रेम राम्रो वा नराम्रो सबै प्रकारको अवस्थामा कायम रहन्छ तर पे्रमीप्रेमीका वा पतिपत्नीबिचको प्रेम एकअर्काप्रतिको निस्वार्थ र सच्चा प्रेमका आधारमा नै कायम रहन सक्दछ अन्यथा कमजोर हुन्छ वा टुट्छ पनि । त्यस प्रकारको प्रेमले एकअर्कालाई सुख होइन पीडा नै दिन्छ । उपन्यासमा एङ्गेल्सको भनाइलाई उद्धृत गर्दै भनिएको छ, त्यस प्रकारको प्रेम कायम रहनुभन्दा टुट्नु नै दुवै पक्षका लागि राम्रो हुन्छ ।
प्रेम मानव जीवनको नै अत्यन्त महत्त्वपूर्ण तत्त्व हो र उपन्यासमा त्यसलाई उच्च रूपमा प्रतिष्ठापित गर्ने प्रयत्न गरिएको छ । त्यही प्रकारले आदर्श पात्र र खलनायकको पनि चित्रण गरिएको छ ।
उपन्यासले यो कुरामा जोड दिन्छ कि आमाको सन्तानप्रतिको जुन प्रेम हुन्छ, त्यो विश्वव्यापी रूपमा नै व्याप्त हुनुपर्छ । अर्को शब्दमा सारा विश्व आमामय हुनुपर्छ । त्यो अवस्थामा सम्पूर्ण धर्ती स्वर्ग हुनेछ । निश्चय नै प्रस्तुत उपन्यासमा स्वर्ग र नर्कलाई दैवी अर्थमा होइन, भौतिक र लौकिक अर्थमा नै लिइएको छ । उपन्यासले यो कुरामा पनि जोड दिन्छ कि प्रेमको उच्च दार्शनिक र क्रान्तिकारी रूपमा पनि विकास हुनुपर्छ । जब प्रेम सामान्य, दाम्पत्य वा पारिवारिक सुखको सीमाबाट माथि उठेर सम्पूर्ण समाज वा मानवताको सेवाका लागि अगाडि बढ्छ र दुवै प्रेमीप्रेमिका वा पतिपत्नीले समेत त्यसका लागि आफूलाई समर्पित गर्दछन्, उनीहरूका बिचको प्रेमले उच्च, दार्शनिक र क्रान्तिकारी रूप लिन पुग्दछ । त्यस प्रकारको प्रेमबाट प्राप्त हुने सुख व्यक्तिगत, पारिवारिक वा दाम्पत्य जीवनको सीमाभित्र प्राप्त हुने सुखभन्दा कैयौँ गुणा बढी उच्च तहको हुन्छ । त्यस प्रकारको प्रेमबाट प्राप्त हुने सुख, गीतामा कृष्णले भनेजस्तो परमानन्द प्रकारको हुन्छ ।
कृष्णले आफूलाई सम्पूर्ण रूपले भगवानमा समर्पण गरेपछि त्यस प्रकारको सुख प्राप्त हुने बताएका छन् । उपन्यासले प्रेमको त्यस प्रकारको दैवि रूपमाथि विश्वास गर्दैन तर त्यसले लौकिक रूपमा सबै क्रान्तिकारीले, उनीहरूले आपसमा गर्ने प्रेमलाई पनि सम्पूर्ण रूपले गीतामा कृष्णले भनेजस्तै व्यक्तिगत फलको आशा नगरीकन सम्पूर्ण रूपले क्रान्तिप्रति समर्पण गर्ने कुरामा जोड दिन्छ । त्यसको अर्थ हुन्छ– विद्यमान नारकीय संसारलाई बदलेर एउटा स्वतन्त्र, सुखी र सुन्दर संसार निर्माणको लागि आफूलाई सम्पूर्ण रूपले आहुति दिनु । उपन्यासमा त्यो उद्देश्यमाथि ध्यान दिएर नै कैयौँ पात्र वा उनीहरूका बिचको प्रेम र दाम्पत्य जीवनको उल्लेख गरिएको छ र उपन्यासको सम्पूर्ण कथानक त्यही उद्देश्यतिर लक्षित छ ।
समग्रमा उपन्यासले सम्पूर्ण संसारलाई, जस्तो कि माथि पनि उल्लेख गरियो, सम्पूर्ण विश्वलाई आमामय बनाउने कुरामा जोड दिन्छ र क्रान्तिको उद्देश्य पनि त्यही हो । जब आमाको सन्तानप्रतिको प्रेमको दायरा आफ्नो परिवार, जाति, देश आदिभन्दा माथि उठेर सम्पूर्ण मानव जाति वा विश्वसम्म फैलिँदै जान्छ, त्यो अवस्थामा सम्पूर्ण विश्व आमामय बन्न जान्छ र त्यो अवस्थामा धर्ति पूरै स्वर्ग बन्न जान्छ ।
उपन्यास यो कुरामा आशावादी रहेको छ कि सम्पूर्ण मानव समाज त्यही दिशामा अगाडि बढिरहेको छ र उपन्यासको उद्देश्य पनि त्यही उद्देश्यका लागि वैचारिक धरातल तयार पार्नु हो । त्यही अर्थमा नै उपन्यास प्रेमको कथा हो ।
उपन्यासले सम्पूर्ण मानव समाज, संसारका सबै देश, महाद्वीप, सौर्यजगत्, सम्पूर्ण अन्तरिक्ष र अहिलेसम्म ज्ञात हुन नसकेका अज्ञात ब्रह्माण्डको समेत अवलोकन गर्ने प्रयत्न गर्दछ । त्यसरी उपन्यासले यो देखाउने प्रयत्न गरेको छ कि संसार बेग्लाबेग्लै देशमहादेश, सौर्य जगत् वा अन्तरिक्ष, अतीत, वर्तमान र भविष्य आदिमा विभाजित भएको भए पनि सम्पूर्ण विश्व वा त्यसभित्रका व्यक्ति लाखौँकरोडौँ प्रकारका प्राणी वा पदार्थ सबै आपसमा सम्बन्धित छन् र सबै एकअर्कामा अन्तर्निहित छन् । उपन्यासको पहिलो वाक्यमा नै, जस्तो कि उपन्यासको प्राक्कथनमा लेखिएको छ, संसारका सबै व्यक्ति वा पदार्थ एकअर्कामा अन्तर्निहित छन् । उपन्यासले सम्पूर्ण विश्वलाई त्यसरी समग्र रूपमा नै हेर्ने प्रयत्न गरेको छ । त्यो वास्तवमा विश्वबन्धुत्व वा अन्तर्राष्ट्रवादको दृष्टिकोण हो । त्यस रूपमा नै उपन्यासले सम्पूर्ण विश्वलाई बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न गरेको छ । त्यही नै विश्वको दर्शन हो ।
त्यसरी प्रेम र विश्वको दर्शन उपन्यासका दुई मूलभूत पक्ष हुन् र तिनीहरूमाथि नै उपन्यासको सम्पूर्ण संरचना उभिएको छ तर ती दुवै पक्ष पनि प्रेम र विश्वको दर्शन एकअर्काबाट अलग छैनन् र ती दुवै एकअर्कासित जोडिएका छन् । वास्तवमा ती दुवै पक्ष एक अर्कासित जोडिनुपर्दछ र त्यो अवस्थामा नै सम्पूर्ण विश्व आमामय हुनेछ र संसार वास्तविक अर्थमा स्वतन्त्र, सुखी र सुन्दर हुनेछ । त्यो मूलभूत उद्देश्यमाथि नै उपन्यासको सम्पूर्ण संरचना खडा भएको छ । त्यसका अन्य सबै कथानक वा पात्र त्यो उद्देश्यको पूर्तिका दिशाका इँटा नै हुन् ।
उपन्यासले जसरी प्रेम र दर्शनको भव्य महलको निर्माण गर्ने प्रयत्न गरेको छ वा त्यो कुरालाई अझै स्पष्ट शब्दमा भन्ने हो भने एउटा आमामय विश्व वा स्वतन्त्र, सुखी र सुन्दर संसारको निर्माण गर्ने सपना देखेको छ, वास्तविक जगतमा त्यो सायद एउटा कल्पना नै हुन सक्दछ तर जस्तो कि उपन्यासको प्राक्कथनमा भनिएको छ, जुन कुरा वास्तविक जगत्मा सम्भव देखिँदैन, तिनीहरूलाई पूरा गर्नका लागि मानव जातिसँग एउटा अमोघ हतियार छ, जसलाई ब्रह्मास्त्र पनि भन्न सकिन्छ, त्यसको माध्यमद्वारा संसारका सबै अकल्पनीय कार्यलाई पनि सफल पार्न सकिन्छ । त्यो अमोघ अस्त्र हो– कल्पना ।
उपन्यासमा कल्पनालाई ठुलो पैमानामा प्रयोग गरिएको छ । निश्चय नै त्यो कल्पना वास्तविकताभन्दा धेरैमाथि टाढा टाढासम्म वा अन्तरिक्षसम्म पुग्दछ तर त्यसको जग धर्ती नै हुन्छ । त्यसरी त्यो कल्पना धर्तीभन्दा धेरै टाढा भए पनि त्यसको जग धर्तीमाथि नै हुन्छ । त्यसरी त्यो कल्पनाले धर्तीलाई ठिकसँग बुझ्न वा त्यसलाई बदल्न पनि मदत गर्दछ । “कामरेड जलजला” को स्वरूप पनि त्यही प्रकारको नै रहेको छ । उनी एकातिर कल्पनाको आकाशमा धेरै माथिसम्म उठेकी हुन्छिन् तर अर्कातिर उनी धर्तीसित नै जोडिएकी हुन्छिन् । त्यसरी उनी एकैसाथ धर्तीभन्दा धेरै माथि र धर्तीको धेरै नजिक पनि हुन्छिन् । सामान्य रूपले हेर्दा त्यो कुरामा विरोधाभासजस्तो देखिन्छ तर त्यही द्वन्द्ववाद हो । अर्का शब्दमा त्यो क्वान्टम भौतिकि पनि हो, जहाँ कुनै कुरा एकैसाथ हुन्छ पनि र हुँदैन पनि । एकैसाथ सत्य पनि हुन्छ र असत्य पनि ।
अवश्य पनि माक्र्सवादी द्वन्द्ववाद र क्वान्टम भौतिकी दुवै एउटै कुरा होइनन् । ती दुबैका बिचमा कैयौँ भिन्नता हुन्छन् तर त्यसका साथै यी दुबैका बिचमा कैयौँ समानता पनि छन् । त्यसरी एकैसाथ भिन्नता र समानता पनि पुन: त्यो द्वन्द्ववाद हो । जलजलाको चरित्रमा पनि त्यस प्रकारको द्वन्द्ववाद पूरै नै पाइन्छ । त्यससँग जोडिएको अर्काे महत्त्वपूर्ण पक्ष हुन् सुनन्दा ।
सुनन्दाको चित्रणमा द्वन्द्ववादको धेरै नै प्रयोग भएको छ । उनको चरित्रमा लगातार गतिशीलता छ । एउटा गान्धीवादीबाट उनी एउटा सच्चा माक्र्सवादी–लेनिनवादी बन्न पुग्दछिन् । अन्तमा उनी भामा बन्दछिन् र जलजलामा रूपान्तरित हुन्छिन् ।
उपन्यासलाई पढ्दै गएपछि उपन्यास भरि नै त्यस प्रकारको द्वन्द्वात्मक विशेषता धेरै पाइनेछन्, जहाँ कैयौँ कुरा एकअर्काबाट बेग्लै पनि हुन्छन् तर जो बेग्लाबेग्लै भएर पनि एकैसाथ मिलेका पनि हुन्छन् । जलजला त्यसको एउटा प्रतिनिधि उदाहरण हुन् ।
त्यसरी उपन्यासले समग्र रूपमा प्रेम र विश्वको दर्शनलाई उच्च र क्रान्तिकारी रूपमा बुझ्ने प्रयत्न गर्दछ र त्यसमाथि नै उपन्यासको सम्पूर्ण संरचना निर्माण गरिएको छ ।
अन्तमा आजको यो “कामरेड जलजला” उपन्यासको विमर्श कार्यक्रममा उपस्थित हुनु भएका सबै लेखक, साहित्यकार र सहभागी मित्रप्रति मैले धेरै नै आभार प्रकट गर्न चाहान्छु । उपन्यासको प्राक्कथनको पहिलो खण्डको भिडियो तयार पार्न मदत गरेकोमा मैले मिलन सिंहलाई पनि धेरै धन्यवाद दिन चाहान्छु । उहाँले कैयौँ दिनसम्म लगातार परिश्रम गरेर त्यसलाई तयार पार्नुभएको छ । यो कार्यक्रमको तयारीमा डा. हरि सिलवालले पनि लामो समयदेखि धेरै मदत गर्नुभएको छ र मेरा पुत्र समीर सिंहले पनि त्यसका लागि धेरै मदत गरेका छन् । यी सबै कार्यक्रमको तयारीमा गोविन्द शर्माले पनि धेरै मदत गरेका छन् । वास्तवमा त्यो उपन्यासको टाइपको कार्यमा उनले दुई दशकभन्दा बढी समयसम्म कडा मिहिनेत गरेका छन् । यो कार्यक्रम जनशिक्षा गृहका तर्फबाट आयोजना गरिएको छ । उपन्यासको प्रकाशनको समयदेखि नै दुर्गा पौडेलले धेरै मदत गर्दै आएकी छिन् । त्यसका साथै त्यो पुस्तकको प्रकाशन र व्यवस्थापनसमेतका कार्यमा छोरा विश्वमोहनले पनि आन्तरिक रूपमा धेरै नै योगदान दिएका छन् । त्यसका साथै यो पुस्तकको वैचारिक विवेचनाको कार्यमा मनोज भट्टले पनि महत्त्वपूर्ण योगदान दिनुभएको छ । मैले उहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
आजको भिडियोमा उपन्यासको प्राक्कथनको पहिलो जलजलासित सम्बन्धित भागको मात्र प्रदर्शन गरिएको छ, त्यसको अर्काे सुनन्दा र कुमाउसित सम्बन्धित भागलाई छिट्टै प्रदर्शन गरिनेछ र त्यसलाई “युगको आह्वान” (कल अफ इरा) युट्युब च्यानलमा प्रसारित गरिनेछ ।