छविलाल बस्नेत ##
दूरदराजका गरिबका छोराछोरीलाई
रङ्गीन सपना देखाइयो
आकाश छुन सकिन्छ भनियो
विदेशमा सुन बर्सिन्छ भनियो
आफ्नो जन्मभूमिलाई
अभाव, अन्धकार र असफलताको कथाजस्तो
चित्रण गरियो
आशाका किरण बेच्नेहरू
वास्तवमा अँध्यारोका व्यापारी रहेछन्,
मानवताको मुखौटा लगाएका
नरपिशाच
मानव तस्कर,
मान्छेलाई माल बनाएर किनबेच गर्ने
दिल्लीका गल्लीदेखि
अरबका तातो बालुवासम्म
कति सपना भत्किए
कति जीवन रित्तिए
कति आँखा अझै पर्खाइमै छन्
एउटा उज्यालो भोलिको
एउटा सुरक्षित घरको
तर यथार्थ कस्तो छ ?
झिनो सपना बोकेर हिँड्नेहरू
बिच बाटोमै लुटिए
कुटिए, बेचिए,
आफ्नै पसिनाको मूल्यसमेत नपाई
दासजस्तै बाँचे
न घरका रहे,
न परका बने
बिच आकाशमा झुन्डिएको जीवन
पहिचान हराएको अस्तित्व
आमाको आँखाको नुनिलो पानी
अझै सुक्न पाएको छैन
बुबाको आशा
अझै फर्किएन घरको आँगनमा
तर दलालहरू
अझै मुस्कुराइरहेका छन्
नयाँ सिकारको खोजीमा
राज्यसत्ता मौन छ
कानुन निदाएको छ
न्यायको तराजु
कसैको पैसामा झुकेको छ
कारबाही हुनुपर्नेहरू
सत्तानजिकै बसेका छन्, पीडित
अझै आवाज खोज्दैछन्
सुन्ने कानको
किन यस्तो ?
किनकि मेरो देश
दलालको कब्जामा परेको छ
जहाँ सपना बेचिन्छ
रगत साटिन्छ,
भविष्य बन्दगी राखिन्छ
अब समय आएको छ
मौनता तोड्ने
आवाज उठाउने,
अन्यायसँग जुध्ने
अब डराएर बस्ने होइन
सत्य बोल्ने समय हो
मानव बेच्ने हात
कानुनले मात्र होइन
जनताको आवाजले पनि बाँधिनेछ
हामी चुप लागेर बस्ने छैनौँ
आँखा बन्द गर्ने छैनौँ
किनकि हरेक आँसुको हिसाब हुनेछ
हरेक अन्यायको जवाफ हुनेछ
एक दिन
यी अँध्यारा गल्लीमा
उज्यालो पस्नेछ
मानवताको जित हुनेछ
तस्करको साम्राज्य ढल्नेछ