सम्झना पौडेल
राष्ट्रिय जनमोर्चा मात्र त्यस्तो एउटा पार्टी हो, जो निरन्तर सडक र सदनमार्फत् जनताका पक्षमा आवाज उठाउने गरेको छ । जब जब राष्ट्र, राष्ट्रियता र जनतामाथि खतरा उत्पन्न हुन्छ, तब राष्ट्रिय जनमोर्चा जनतालाई सचेत बनाउँदै दुस्मनबैरीलाई खबरदारी गर्छ ।
२०८२ फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव पनि त्यस्तै एउटा सङ्घर्षको पाटो थियो । चुनावले साम्राज्यवाद विरुद्ध खबरदारी गर्दै आम नेपाली जनतालाई सचेत बनाउने माध्यमको रूपमा काम गरेको छ । त्यस क्रममा नेपालभरिबाट राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ ४२ जिल्लाबाट ७० क्षेत्रमा उम्मेदवार उठाएको थियो । त्यसमध्ये नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको क्षेत्र नं. २ बाट म उम्मेदवार रहेकी थिएँ ।
मेरो अनुभवमा यो चुनाव जनतासँग जाने एउटा सङ्घर्षको माध्यम रहेको थियो । यो क्षेत्रमा ४० ओटा वडा रहेका छन् । चुनावको समयमा प्रत्येक वडामा हामी प्रचार अभियायन सञ्चालन गर्न सफल भएका थियौ ।
अहिले देशमा विषम परिस्थिति रहेका छ । जब राष्ट्र र राष्ट्रियता खतरामा पर्छ, हामी जनताको घरघरमा मात्रै होइन, सडकदेखि सदनसम्म जनतालाई सचेत बनाउँदै आएका छौँ । चाहे त्यो सङ्घीयता खारेजीको माग गर्दै होस् वा महँगी र भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्दै, कहिले प्रतिगमनको खतरा विरुद्धमा त कहिले एमसिसी विरुद्धमा हामी आन्दोलनमा छौँ । महिला बेचविखन, बलात्कार तथा हत्याको बारेमा दोषीमाथि कारबाही गर्नुपर्छ भन्दै त कहिले सहकारीपीडितका हकको पक्षमा हामी सडक र सदनमा निरन्तर आवाज बुलन्द गरिरहेका छौँ । त्यस्तै अहिले पनि साम्राज्यवादले नेपाललाई आफ्नो पक्षमा पार्न खोजेको छ ।
२०७८ सालतिर सत्तामा रहेका ठुला दलहरूले एमसिसी पास गरे । एसपिपी पास नगरेका कारण भदौ २३ र भदौ ४ गतेको घटना घटाइएको हो । त्यसैले फागुन २४ गते चुनावको मिति घोषणा भएको थियो ।
चुनावमा प्रचारप्रसार गर्दै हिँड्दा ‘हजुरहरूले जानेरबुझेर आफ्नो विवेक प्रयोग गरेर भोट दिनुहोला भन्दा’ जनताले हामीसित राजनीतिक बहस गरेनन् । ‘अहिले भोट फेर्ने हो, हुन्छ तपाईंलाई नै दिन्छौँ’ भन्थे तर जनतालाई सचेत गराउँदा गराउँदै पनि हाम्रो मत कम आयो । जनताले राम्रो पार्टी छान्नुको साटो झन् ठग र अमेरिकी साम्राज्यवाद तथा भ्रष्टाचारीलाई छाने । नयाँको नाममा जनता चुके । देश बचाउनेलाई नभई देश बेच्नेलाई भोट दिए ।
अमेरिकी साम्राज्यवाद सफल हुनुमा विभिन्न कारण जिम्मेवार छन् । एउटा त ठुला राजनीतिक दलको कुशासन हो । अर्को कुरा हरेक घरका छोराछोरी विदेशमा छन् । दिनको २० पटक फोन गेर बाबाआमालाई टर्चर दिएका भेटियो । ‘भोट घन्टीमा हाल्नू, नत्र पैसा पनि पठाउन्न’—यति मात्र नभएर मिडिया प्रचार, एल्गोरिदम, सुशीला कार्कीको सरकारलगायत चुनावको मुखमा नै बिबिसले सार्वजनिक गरेको रिपोर्ट आदि सबै कुराले पनि आम नेपाली जनताको दिमागमा घर गरेको पाइन्छ ।
यी सम्पूर्ण कुराले गर्दा साम्राज्यवादले जनतालाई यसरी आफ्नो पासोमा पार्यो कि उनीहरूले उम्मेदवार पनि चिनेनन्; घोषणापत्र पनि हेरेनन्; सही र गलत छुट्याउने कुरै भएन, एकछाप लगाइदिए । जनताले यसरी मत दिँदै गर्दा राष्ट्र र राष्ट्रियतामाथि गम्भीर प्रकारले खतरा आइपर्ने देखिएको छ ।
यस्तो परिस्थितिमा राष्ट्रिय जनमोर्चा अब नयाँ शिराबाट जनतालाई सचेत बनाउन सडकमा जानुपर्ने देखिन्छ । एउटा क्रान्तिकारी पार्टी र त्यसका सिपाही हामी निरन्तर जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्दे वैरीलाई खबरदारी गर्दै निरन्तर सङ्घर्षको बाटो आगाडि बढ्नेछौँ । फागुन २१ गतेको निर्वाचन परिणामले हामीले फरक पार्दैन† हामीलाई निराश बनाएको छैन किनकि हामीले विगतदेखि हालसम्म सबै प्रकारका गलत नीति र कार्यक्रमको विरुद्ध आवाज उठाउँदै आएका छौँ ।