काबुल । अफगानिस्तान र पाकिस्तानबिच बढ्दो सीमापार तनावबिच अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानमा हवाई आक्रमण गरेको बताएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्त्वपूर्ण पाकिस्तानी सैन्य सुविधालाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको हो ।
विज्ञप्तिमा आक्रमणमा रावलपिन्डीको नुर खान एयरबेस, क्वेटा, बलुचिस्तानको बाह्रौँ ब्रिगेड बेस र खैबर पख्तुनख्वाको मोहमन्ड एजेन्सीको खोइजाई क्याम्पका साथै अन्य प्रमुख सुविधा तथा सैन्य स्थल समावेश रहेको जनाइएको छ ।
तस्बिरले चारओटा पाकिस्तानी हवाई अड्डामा आक्रमणबाट भएको क्षति देखाएको छ, जसमा रावलपिन्डीको नुर खान एयर बेस, सरगोडाको पिएएफ बेस मुशफ, भोलारी एयर बेस, र ज्याकोवावादको पिएएफ बेस शाहबाज रहेका छन् ।
यसैबिच, अफगान रक्षामन्त्रालयले पनि पाकिस्तानी सेनाले काबुल, बगराम र अन्य क्षेत्रमा गरेको हवाई आक्रमणको बदलामा अभियान सुरु गरिएको बताएको छ ।
‘प्रारम्भिक जानकारीअनुसार यी आक्रमणले उल्लेखित लक्ष्यमा ठुलो क्षति पुर्याएको छ । अपरेसन पाकिस्तानी सेनाले काबुल, बगराम र केही अन्य क्षेत्रलाई लक्षित गरी गरेको हवाई आक्रमणको जवाफमा गरिएको जनाइएको छ ।
थप आक्रमण वृद्धि विरुद्ध चेतावनी दिँदै मन्त्रालयले अफगान हवाई क्षेत्रको नियम उल्लङ्घनलाई कडा जवाफ दिइने बताएको छ । (रासस/एएनआई)