साहित्यकार पूर्ण ओली सल्यानमा कार्यरत हुनुहुन्थ्यो । त्यही जिल्लामा बसेर उहाँले ‘मुसी’ नाटकको परिकल्पना गरिरहनुभएको रहेछ । एकदिन मेरो म्यासेन्जरमा उहाँले यस्तो म्यासेज पठाउनुभयो– “सर, कथाको विषयवस्तु गजबको हुने छ । पौराणिकता, राजदरवारभित्रको द्वन्द्व, नारीवाद, क्रान्तिकारी प्रदर्शन । यी पात्र तथा स्थानविशेषमा नाटक मञ्चन हुने छ जी । मेरो सोचाइँले नपुगेको कुरा गिरीजी तथा मनलालजीबाट थपथाप हुने छन् ।”
यति लेखिसकेपछि उहाँले यसै म्यासेन्जरमा पात्र, मञ्चनस्थल तथा नाटकमा आवश्यक पर्ने सामग्री तथा साजसज्जाको सम्पूर्ण रूपरेखासमेत उल्लेख गर्नुभएको थियो । तर मैले यो म्यासेजमा कुनै प्रतिक्रिया जनाइनँ । किनकि मलाई यो नाटकप्रति खासै रुचि जागेको थिएन ।
यसरी समय बित्दै गयो । एकदिन खलङ्गा बजारमा पूर्ण ओलीसँग मेरो भेट भयो । भेट हुँदा उहाँले ‘मुसी’ नाटकको खेस्रा पनि साथैमा ल्याउनुभएको रहेछ । साथमा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओली पनि हुनुहुन्थ्यो । ओलीजीले त्यो ‘मुसी’ नाटकको खेस्रा हामी दुवैजनालाई देखाउनुभयो । रुचि नभएर होला, मैले त्यो खेस्रा हल्का हेरेँ मात्रै तर खासै गम्भीर रूपमा लिइनँ । चियागफमै ओलीजीले भन्नुभयो– “अब यो नाटकमा राजाको भूमिका गिरीजीले र मुख्तियारको भूमिका मनलालजीले निभाउनुपर्छ है ।” उहाँले यसो भनिरहँदा पनि मैले ठट्टाजस्तै ठानिरहेको थिएँ । किनकि मलाई कला–साहित्यप्रति रुचि भएता पनि अभिनय मेरो क्षेत्र थिएन अर्थात् अभिनयको मलाई छेउटुप्पो पनि थाहा थिएन । उहिल्यै सानो छँदा अर्थात् कक्षा छमा पढ्दै गर्दा “सौतेनी आमा” शीर्षकको नाटकमा टुहुरो बालकको भूमिका खेलेको र कक्षा नौमा पढ्दै गर्दा “रक्सी” शीर्षकको नाटकमा जड्याहाको भूमिका खेलेकोबाहेक जीवनमा मैले अरू कुनै अभिनय गरेको थिइनँ । यसरी अभिनयको कार्यमा खासै अभ्यस्त नभएको मान्छेलाई अभिनयको क्षेत्रमा प्रस्ताव गर्नु वास्तवमै ठट्टाजस्तै थियो । जे होस्, ‘मुसी’ नाटकको हल्का चर्चा–परिचर्चा गर्दै साँझपख हामी आ–आफ्नो बासस्थानतर्फ लाग्यौँ ।
मैले साहित्य र कलाको उन्नतिका लागि आफ्नो ठाउँबाट सकेको भूमिका निर्वाह गर्दै आएको भएता पनि जस्तो पायो त्यस्तै कला–साहित्यमा जोडिन नसक्ने मूल्यमा म बाँचिरहेको छु । अर्थात् म लामो समयदेखि निरन्तर रूपमा कम्युनिस्ट आन्दोलनको विचार प्रवाहमा प्रवाहित हुँदै आएको मान्छे भएको हुँदा कुनै पनि कला–साहित्यभित्र मैले कम्युनिस्ट मूल्यमान्यता र नैतिकता खोज्नु स्वाभाविक छ । कम्युनिस्ट मान्यतानुरूप कुनै पनि कला–साहित्य सकेसम्म प्रगतिवादमा आधारित हुनुपर्दछ, यदि यो पनि हुन सक्दैन भने कम्तीमा प्रगतिशील अनिवार्य हुनुपर्दछ ।

कम्युनिस्ट विचारको यही मान्यताभित्र रहेर मैले साहित्यकार पूर्ण ओलीको रचना ‘मुसी’ नाटकलाई दृष्टि दिन थालेँ । साहित्यकार पूर्ण ओलीद्वारा लिखित ‘मुसी’ नाटकमा म सामेल हुने वा नहुने भन्ने निर्णय गर्नका लागि यो नाटकको विचार पक्ष प्रगतिशील विचारको कति नजिक छ वा छैन भन्नेबारेमा म गम्भीरतापूर्वक घोत्लिन बाध्य भएँ ।
यसरी हेर्दा यो नाटकको विचार पक्ष प्रगतिशील नै रहेको निष्कर्षमा म पुगेँ । किनकि नाटकले जनताको मौलिक कला र संस्कृतिको पहिचान दिँदै जनताको बिचमा रहेको रूढीवाद र अन्धविश्वासको खरो विरोध गरेको थियो । नाटकले शाषकवर्गको स्वार्थ, उसको चरित्र र गतिबिधिलाई नाङ्गेझार पारेको थियो र नाटकले एक दमित र शोषित ‘मुसी’ पात्रको बिम्बमार्फत् शोषित र दमित विचारलाई अन्तिम जितको रूपमा उभ्याउने कार्य गरेको थियो । अनि, शोषित र दमित वर्गको पाउमा शाषकवर्गलाई झुक्न लगाएको थियो । नाटकभित्र रहेका यिनै सकारात्मक वैचारिक पाटालाई केलाइसकेपछि यो नाटकमा सामेल भएर काम गर्दा राम्रै हुने झिनो विचार मेरो मनमा पलायो । तसर्थ सुरुमा यो नाटकप्रति मेरो खासै चासो नभएता पनि पछि यो नाटकको सफलताका लागि आफ्नो क्षमताले भ्याएसम्म अन्तिमसम्म धैर्यतापूर्वक लागिरहेँ ।
नाटक मञ्चनको कार्य शुभारम्भ हुँदै गर्दा नेपालीहरूको विशेष पर्व दशैँ र तिहार सङ्घारमै थियो । मुसिकोटवरिपरि रहेका घर रङ्गीविरङ्गी भएर रङ्गिँदै थिए । बजारमा चहलपहल कम हुने तर गाउँघरतिर रमाइलो बढ्ने समय हो यो । बिहानको नौ बजेतिर म घरको छतमा बसेर मुसिकोट वरिपरिका रमाइला बस्तीलाई आनन्द मान्दै नियालिरहेको थिएँ । त्यसैबेला कसैको फोनले मेरो ध्यान भङ्ग गरिदियो– ‘ल गिरीजी तल सोलावाङ झर्नुप¥यो । ‘मुसी’ नाटक बनाउने काम आजैदेखि सुरु गर्नुपर्ने भयो । मनलालजीलाई पनि भनेको छु । दुबै जना सँगै आउनुप¥यो ।’
स्वर ओलीजीको थियो । फोनको जवाफमा मैले नाइँ भन्न सकिनँ । दशैँतिहारको समय भएकाले अरू कामको खासै ब्यस्तता थिएन । त्यसैले आज एकदिनलाई घुम्न जानुप¥यो भन्ने सोचेर म मनलालजीको घरमा झरेँ । कला, साहित्य, नाटक भनेपछि हुरुक्कै हुने मनलालजी पहिले नै तयार भएर मलाई पर्खिरहनुभएको रहेछ । हामी दुबै पूर्णजीले दिएको सम्पर्क स्थानमा रहेको बोर्डिङ स्कुलमा पुग्यौँ । त्यहाँ पूर्णजी र बोर्डिङका एक÷दुई जना सरबाहेक अरू कोही हुनुहुन्नथ्यो । निकै समयको प्रतिक्षापछि बल्ल बल्ल एक÷दुई जना साथीहरू थपिए । त्यहाँ सहभागी सबैलाई पूर्णजीले आफूले तयार पारेको नाटकको खाका पढेर सुनाउनुभयो । अनि सहभागी सबैले सोही खाकाबमोजिम एकपटक अभिनय गर्नका लागि अभ्यास गर्ने कुरा भयो । सहभागी सबैले अभिनयको अभ्यास गर्न थाल्यौँ ।
मैले दौरा–सुरुवाल लगाएर राजाको अभिनय गरेँ । मेरा लागि जीवनमा दौरा–सुरुवाल लगाएको पहिलो अनुभव भयो । यसो गरिरहँदा मलाई नितान्त केटाकेटी खेल खेलेजस्तो भान भइरहेको थियो । मलाई त यो नाटक होइन, ख्यालठट्टा चलिरहेको छ । अनि, हामी साथिभाइ जम्मा भएर हाँसोमजाक गरिरहेका छौँजस्तो लागिरहेको थियो । यसरी आजको यो दिन त्यतिकै खेलाँचीमै बित्यो । तैपनि नाटकको खाकामा केही थप्नुपर्ने विषयमा मैले आफूलाई लागेका सुझाव दिएँ ।
वास्तवमा यो नाटकलाई स्तरीय बनाउनका लागि आर्थिक लगानीको ठुलो खाँचो थियो । किनकि एउटा निश्चित वैचारिक बन्धन र अनुशासनमा बाँधिएर निस्वार्थ ढङ्गले स्वयम्सेवकीय भावनाका साथ योगदान दिनसक्ने सङ्गठित कलाकारको टिम ‘मुसी’ नाटकका लागि बनिबनाउ थिएन । त्यसकारण यो नाटकका लागि व्यावसायिक कलाकारलाई पैसा तिरेर खेलाउनुपर्ने अवस्था थियो ।
त्यसैगरी कुशल भिडियोग्राफर अर्थात् भिडियो निर्माणको क्षेत्रमा क्रियाशील अनुभवी प्राविधिकलाई उचित पारिश्रमिक दिएर यो नाटक निर्माण गर्नुपर्ने अवस्था थियो । यसरी नै नाटकका लागि आवश्यक सामग्री जुटाउनुपर्ने अवस्था थियो । यी तमाम कुराको जोहो गर्नलाई सानोतिनो लगानीले सम्भव थिएन । यस्तो अवस्थामा दिल खोलेर यो नाटकका लागि लगानी गर्ने लगानीकर्ता कोही भेटिएन । तसर्थ बिना लगानीमै यो नाटक निर्माण गर्ने उपायमा हामीहरू लाग्न थाल्यौँ ।
सर्वप्रथम त सर्वसुलभ तरिकाले हाम्रो नाटकलाई छायाङ्कन गरिदिने क्यामेराम्यानको खोजीमा हामीले निकै सास्ती पायौँ । दैनिक चार–पाँच हजार नहुन्जेल हाम्रो काम गरिदिने क्यामेराम्यान हामीले बजारमा भेटाउन सकेनौँ । यस्तो अप्ठ्यारो परिस्थितिमा पत्रकारद्वय अमरराज पुन र भरत चन्दले यो नाटकको छायाङ्कन गरिदिने हाम्रो अनुरोधलाई सहर्ष स्वीकार गरिदिनुभयो । पारिश्रमिकको बारेमा उहाँहरू दुवै जनाले अरूले जस्तो मोलमोलाइ गर्नुभएन । “पहिला नाटक पूरा गरौँ, त्यसपछि हाम्रो पारिश्रमिकको बारेमा पछि सोच्नुहोला” भन्दै खुला दिलका साथ उहाँहरू दुवै जना नाटकको छायाङ्कनमा अहोरात्र खट्नुभयो ।
नाटकमा प्रयोग हुने गहना, भेषभुषालगायतका सबै सामग्रीहरू गाउँघरमै निःशुल्क माग्दै प्रयोग ग¥यौँ । नाटकका लागि पारिश्रमिक नखोज्ने मुफ्तमा अभिनय गरिदिने पात्रको खोजी गर्न थाल्यौँ । यस्तो फगत्मा अभिनय गर्नका लागि नाम चलेका कलाकार हामीले कहाँ पाउन सक्थ्यौँ र ? तसर्थ जहाँ जो भेटिन्छ, उसैलाई हामी कलाकारको रूपमा नाटकमा सामेल गर्न थाल्यौँ । गाउँका दिदीबहिनी र आमाबुबालाई सामेल ग¥यौँ । विद्यालयका विद्यार्थी भाइबहिनी र शिक्षक–शिक्षिकालाई अनुरोध ग¥यौँ । बालकदेखि वृद्धसम्म जसले नाटकमा खेल्न रहर गर्छ, जसले निःशुल्क योगदान दिन सक्छ, उनीहरू सबैलाई हामीले हाम्रो नाटकमा स्वागत गर्यौँ । कथामा वर्णित स्थानमा प्रत्यक्ष पुगेर अभिनय गर्यौँ । मुसिकोटआसपासका बस्तीहरू कुप्रीकोट, सोलावाङ, सिम्रुतु, झुलखेत, रातामाटा साँख तथा मठलगायतका तमाम स्थानमा पटक पटक पुग्यौँ । यसरी विभिन्न स्थानमा ओहोरदोहोर गर्दा लाग्ने गरेको खर्च हामी पात्र स्वयम्ले आफ्नै गोजीबाट भरणपोषण ग¥यौँ ।
बेलाबेलामा यस नाटकका लेखक तथा निर्देशक पूर्णजीले यो नाटक राप्ती साहित्य परिषद्् जिल्ला शाखा रुकुम पश्चिमको तर्फबाट निर्माण हुँदै छ भन्नुहुन्थ्यो । हुन पनि राप्ती साहित्य परिषद््का क्रियाशील सदस्यहरू मनलाल ओली, गिरिप्रसाद बुढा, एक्कबहादुर केसी, प्रमोदकुमार शर्मालगायतका व्यक्तिहरू निरन्तर खटिरहेका थियौँ ।
वास्तवमा भन्ने हो भने यो नाटक खासै चित्तबुझ्दो तरिकाले अगाडि बढ्न सकिरहेको थिएन । किनकि यो नाटकलाई सुव्यवस्थित तरिकाले अगाडि बढाउनका लागि न त लेखक तथा निर्देशकको नाताले पूर्णजीको नै कुनै ठोस योजना देखिन्थ्यो, न त राप्ती साहित्य परिषद्् जिल्ला शाखा रुकुम पश्चिमको नै कुनै संस्थागत निर्णय तथा योजना नै बन्न सकेको थियो । वास्तवमा नाटकलाई सुव्यवस्थित तरिकाले अगाडि बढाउनका लागि कि त लेखक तथा निर्देशकले कि त राप्ती साहित्य परिषद्् जिल्ला शाखा रुकुम पश्चिमले विशेष ध्यान दिनुपर्ने थियो । यस प्रकारको योजना बनाएर कार्य गर्ने कुरालाई उपेक्षा गरिएको कारणले नाटक निर्माणको सिलसिलामा थुप्रै कमी–कमजोरी रहन गयो ।
पहिलो कमजोरी त हामीले नाटक निर्माणको बेला प्रयोग गर्नका लागि आवश्यक पर्ने स्तरीय र राम्रा प्रविधि तथा सामग्री जुटाउन सकेनौँ । हामीसँग एउटा राम्रोखालको साउन्ड सिस्टमसमेत थिएन । छायाङ्कनको बेलामा कैयौँ दृश्य मोबाइलबाट पनि खिच्नुपर्ने अवस्था सिर्जना हुन्थ्यो । हामीसँग अमरराजजीसँग भएको क्यामेराबाहेक अर्को अतिरिक्त क्यामेरा नहुँदा बेलाबेलामा समस्यामा पर्नुपर्ने हुन्थ्यो । दोस्रो कमजोरी, नाटकमा अभिनय कलामा निपुण स्थायी पात्र हामीले बनाउन सकेनौँ, जसको परिणाम अधिकांश अस्थायी पात्रको अभिनयबाट नाटकलाई अगाडि बढाउनुपर्ने भयो । नाटकमा सुरुदेखि अन्तिमसम्म योगदान दिनका लागि मानसिक रूपले तयार पात्रहरू खडा गर्न नसक्दा हामीले ‘मुसी’ नाटकमाथि नै अन्याय गर्न पुग्यौँ । ‘मुसी’ जस्तो मुख्य भूमिकामा रहेको पात्रको अनुहारसमेत हामीले एउटै बनाउन नसकी तीन÷तीन वटा अनुहार प्रस्तुत गर्नुपर्ने भयो । रानीको भूमिकाका लागि पनि पटक पटक पात्र फेरिरहनुपर्ने भयो । उही एउटै राजकुमारको भूमिकाको लागि पनि तीन÷तीन वटा फरक फरक अनुहारका पात्रलाई बदलेर प्रस्तुत गर्नुपर्ने भयो । भेषभुषामा पनि हामीले एकरूपता मिलाउन सकेनौँ ।
वास्तवमा पूर्णजीले जुन स्तरमा नाटकको कथावस्तुको परिकल्पना गर्नुभएको थियो, त्यो स्तरमा नाटकलाई हामीले स्तरीय बनाउन नसक्नु साँच्चिकै दुखद् कुरा थियो । यसमा लेखक तथा निर्देशकको नाताले पूर्णजीले नै बढ्ता सोच्नुपर्दथ्यो । उहाँले नाटकलाई स्तरीय बनाउने कुरामा भन्दा पनि छिटोभन्दा छिटो नाटकको कामलाई पूरा गर्ने कुरामा बढी ध्यान दिनुभयो । नाटकलाई स्तरीय बनाउनका लागि कम्तीमा सुरुदेखि अन्तिमसम्म पूरै योगदान दिन सक्ने पात्रको खोजी गर्नुपर्दथ्यो । ‘मुसी’ नाटकमा सामेल मुख्य मुख्य कलाकारलाई सुरुमा अभिनयका लागि नाटकको कथावस्तुअनुरूप प्रशिक्षणको व्यवस्था गर्नुपर्दथ्यो । यी सबै कुरा नहुँदा हामीले नाटकलाई जुन उचाइमा पु¥याउनुपर्दथ्यो, त्यो उचाइमा पु¥याउन सकेनौँ । हुन त पूर्णजीका पनि आफ्नै समस्या र बाध्यताले पनि हुन सक्छ, नाटक निर्माणको दौरानमा उहाँ कैयौँ चोटी भावनामा उद्वेलित भएर निर्णय गर्नुहुन्थ्यो । कुनै कुनै बेला त उहाँले आफूखुशी मनमा जे सुर जाग्छ, त्यही गर्न खोज्नुहुन्थ्यो । पूर्णजीमा देखा परेका यस्ता खालका कैयौँ परिस्थितिजन्य कमजोरीका बाबजुद पनि उहाँमा यदि कुनै काम गर्न सुरु गरिन्छ भने त्यो जसरी पनि पूरा गर्ने उहाँमा राम्रो गुण रहेछ । उहाँमा अन्तरनिहित यही गुणको कारणले ‘मुसी’ नाटक अन्ततः पूरा भएरै छाड्यो ।
यो नाटकको तयारीको सिलसिलामा मैले थुप्रै तितामिठा अनुभूति सँगाल्ने अवसर प्राप्त गरेँ । एउटै यात्रामा सँगै हिँड्दा साथीभाइसँग राम्रा–नराम्रा थुप्रै व्यवहार हुनु स्वाभाविक नै हुँदो रहेछ । एकदिन पूर्णजीसँग मैले गरेको व्यवहार सम्झँदा त्यो दिन मैले त्यसो नगरेको भए पनि हुने भन्ने लाग्दछ ।
त्यो दिन नाटकको अन्तिमतिरको एउटा अंश पूरा गर्नलाई कुप्रीकोटको टाकुरामा पुग्नुपर्ने थियो । त्यसका लागि नाटकमा आवश्यक पर्ने पात्रका लागि केही विद्यार्थी भाइबहिनीलाई जम्मा गरेर कुप्रीकोट पु¥याउनुपर्ने थियो । उनीहरू बिहान निर्धारित समयमा जम्मा नभएका कारण म तनाबमा थिएँ । जसोतसो विद्यार्थी भाइबहिनी जम्मा भइसकेपछि हामी कुप्रीकोट पुग्यौँ । हामीले समयमा नै नाटकको छायाङ्कनको कार्य सम्पन्न गर्न नसकेमा बेलुका वासस्थान फर्किनलाई रात पर्ने अवस्था थियो । तसर्थ यो काम छिटो सम्पन्न गर्नका लागि मनलालजी र म निकै आतुर थियौँ । तर “कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर” भने झैँ पूर्णजीले भने भात पकाएर भोज खाने योजना पो बनाउनुभएको थियो । उहाँले कुप्रीकोटको टाकुराभन्दा अलि तलको एउटा घरनजिकै भात पकाउने भाँडाँकुडा र दाउरापानीको तर्जुमा गर्न लाग्नुभएको थियो ।
“त्यो कामको जिम्मा अरूलाई दिएर हामी माथि टाकुरोमा जाऊँ सर । माथि पुगेका साथीसँग नाटक छायाङ्कनको कामलाई अगाडि बढाउँदै गर्नुपर्छ” भन्दै मनलालजी र म माथि टाकुरामा निस्क्यौँ । टाकुरामा मानिसको ठुलो जमघट भइसकेको थियो । त्यहाँ नाटकमा भाग लिने साथीहरूले छायाङ्कनको काम छिटो गरौँ भन्न थाल्नुभयो । तर यताउति हेर्दा छायाङ्कनका लागि कुनै सामग्री त्यहाँ तयार देखिएन । अमरराजजीले क्यामराको ब्याट्री पनि सकिनै लागेको जानकारी दिनुभयो । छायाङ्कनका बेला हामीले प्रयोग गर्ने गरेको साउन्ड सिस्टम, ल्यापटप पनि त्यहाँ आइपुगेको थिएन । नाटकका निर्देशक पूर्णजी स्वयम् त्यो टाकुरामा आउन निकै ढिला गरिरहनुभएको थियो । एक त बिहानै एउटा तनाव झेल्नुपरेको थियो । यसैमा फेरि पूर्णजी आफै भात पकाएर भोज खाने काममा अल्मलिइरहेको देखेर मेरो रिसको पारो निकै माथि चढ्यो । त्यसैले तुरुन्तै पूर्णजीसँग फोनमा रिसाउँदै कुरा गरे । रिसको पारो चढेको बेला पूर्णजीलाई के भने खै ? मैले फोन राख्दै गर्दा मनलालजी मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । पछि म आफैलाई यसरी रिसाएको उचित लागेन । नरिसाएरै आवश्यक सल्लाह गरेको भए पनि हुन्थ्यो भन्ने लाग्यो । साथीभाइसँग यस्तो व्यवहार गर्नु कुनै हालतमा राम्रो होइन ।
वास्तवमा हामी नाटकका लागि रातदिन नभनी काममा खट्थ्यौँ । एकचोटी यस्तै रातको १० बजेतिरको कुरा थियो, नाटककै विषयवस्तु हेर्दै पूर्णजी ल्यापटपमा काम गर्दै हुनुहुन्थ्यो । नाटकको केही कुरा राख्नका लागि उहाँले मेरो पेन ड्राइभ माग्नुभयो । उहाँलाई मैले मेरो पेन ड्राइभ दिएँ । उक्त पेन ड्राइभमा मैले करिब नौ दश दिनको समय लगाएर तयार पारेको मगर खाम भाषाको सामग्री राखिएको एउटा फोल्डर बनाएको थिएँ । पूर्णजीले नाटकको विषयवस्तु हालेर मेरो पेनड्राइभ दिनेबित्तिकै मैले उक्त पेनड्राइभ मेरो कम्प्युटरमा राखेर हेरेँ । दुःखको कुरा मेरो पेनड्राइभमा राखिएको मगर खाम भाषाको सम्पूर्ण सामाग्री मेटिएछ । म छाङाबाट खसेजस्तै भएँ । पूर्णजीले यो के गर्नुभएको होला ? मैले मनमनै भनेँ । पेनड्राइभमा नाटकको विषयवस्तु राख्दा मेरो सामाग्री उडेको कुरा पूर्णजीलाई तत्कालै सुनाएँ । वास्तवमा त्यति ठुलो परिश्रम गरेर तयार पारेको मेरो सामग्री हराउँदा मलाई ठुलो नोक्सान हुन गएको थियो । पेनड्राइभबाट यसरी मेरो सामग्री हराएकोमा पूर्णजी निकै चिन्तित हुनुभयो तर त्यो सामग्री पुनःप्राप्तिको कुनै विकल्प थिएन । त्यो सामग्री समयमा नै सम्बन्धित ठाउँमा बुझाउनुपर्ने भएकाले नाटकको कामसँगै पुनः रातभरि नसुतेर मगर भाषासम्बन्धी उक्त सामग्री बनाउने कामतिर पनि लाग्नुपर्ने भयो ।
यसरी ‘मुसी’ नाटकमा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमसँग आबद्ध थुप्रै साथीको पसिना बगेको छ । विद्यालयका शिक्षक–विद्यार्थीको योगदान मिसिएको छ । अनि, गाउँघरका आम सर्वसाधारण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीको अमूल्य सहयोग सजिएको छ र रुकुम जिल्लाको अमूल्य सम्पत्तिको रूपमा ‘मुसी’ नाटक तयार भएको छ ।
यो नाटकलाई देशका ठुलाठुला ख्यातिप्राप्त नाट्यकार, कलाकार तथा करोडपति लगानीकर्ताले तयार पारेको नाटकसँग तुलना गरेर यसको स्तरीयताको प्रश्न उठाउनुको कुनै अर्थ छैन । यो नाटकको आफ्नै मौलिकता छ । यो नाटकको आफ्नै स्तरीयता छ ।
सारा कला जगत् पैसाको पछाडि दौडिरहेको बेला, पैँसाको लोभले नग्नता प्रदर्शन गर्न पछि नपर्ने कलाकारिताको जमानामा, पैँसाको खोला बगाए मात्र कला फस्टाउन सक्छ, पैँसा नै सबथोक हो भन्ने पैँसामुखी मान्यतामा चलिरहेको कला जगत्मा पैसा बिना पनि नाटक बन्न सक्छ, पैँसा नै सबथोक होइन भन्ने नमुना प्रस्तुत गर्न सफल भएको छ ‘मुसी’ नाटक ।
शून्य लगानीमा योजतित्तकै स्तरीय नाटक बनाउन सक्छौ भने बनाएर देखाऊ भन्ने चुनौती दिन सफल छ ‘मुसी’ नाटक । यसरी दुनियाँका मै हुँ भन्ने नाटकलाई पनि यसरी चुनौती दिन सक्ने नाटकमा सामेल हुन म झण्डै चुकेछु । सुरुमा पूर्णजीले राजाको भूमिकामा मलाई प्रस्ताव गर्दै गर्दा ख्यालठट्टाजस्तो मानेको थिएँ । ख्यालठट्टाकै साथमा अभिनय गर्दै जाँदा मैले अन्नतः साँच्चिकै राजाको अभिनय पो गरेको रहेछु । यो कुरा मैले मुसिकोट सेरीगाउँमा अवस्थित सहिद स्मृति प्रतिस्ठानको सभाहलमा रहेको पर्दामा प्रदर्शन भएको ‘मुसी’ नाटकमा आफ्नो अभिनय आफैले हेर्दा अनुभूति गरेँ । मैले उक्त पर्दामा आफूलाई होइन, सयौँ वर्षअगाडिको मुसिकोटे राजालाई हेरिरहेको थिएँ । यसैगरी मुसिकोटका दर्शकले पनि उक्त पर्दामा गिरिप्रसाद बुढालाई होइन, मुसिकोटे राजालाई हेरिहेका थिए ।
‘मुसी’ नाटकका पात्र विद्यालयका शिक्षक–विद्यार्थी हुन् । अनि, गाउँघरका आम सर्वसाधारण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनी हुन् । राप्ती साहित्य परिषद् जिल्ला शाखासँग आबद्ध लेखक–साहित्यकार हुन् । पत्रकार हुन् । यिनीहरू कुनै छुट्टै विशेष कलाकार होइनन् । यिनीहरूको अभिनयमा कुनै बनावटीपन छैन । जे गर्न सकेका छन् त्यही गरेका छन् । मान्छेले गर्न नसक्ने काल्पनिक दृष्य त्यहाँ छैनन् । मान्छेले गर्न सक्ने यथार्थ दृष्यको झल्को दिइएको छ । मुसिकोटआसपासका कला, संस्कृति र प्रकृतिको सार खिँचिएको छ । यसकारण लाखौँ–करोडौँ लगानी गरेर बनाइएको नाटक र चलचिरूको तुलनामा यो ‘मुसी’ नाटक कैयौँ गुणा जीवन्त छ ।
यस्तो जीवन्त नाटक सबैले खोजी खोजी हेर्ने कि ?