ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले अकल्पनीय ‘मानवीय विपत्ति’ निम्त्याउने बताउनुभएको छ।
वासिङ्टन र कराकसबीच बढ्दो तनाव र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका शक्तिशाली नेता निकोलस मदुरोको सरकारविरुद्ध युद्धको सम्भावनालाई सङ्केत गरेपछि लुलाको टिप्पणी आएको हो ।
अमेरिकी सेनाले हालैका महिनाहरूमा क्यारिबियन क्षेत्रमा आफ्नो उपस्थिति बढाएको छ र यस क्षेत्र र प्रशान्त क्षेत्रमा कथित लागुऔषध डुङ्गाविरुद्ध हवाई आक्रमण गरेको छ ।
मदुरोले यो अभियान कराकसमा शासन परिवर्तन गर्ने व्यापक प्रयासको हिस्सा भएको बताउनुभएको छ।
“फकल्यान्ड युद्धको चार दशकपछि दक्षिण अमेरिकी महाद्वीप फेरि एक पटक विदेशी शक्तिको उपस्थितिले प्रेतवाधित भएको छ,” लुलाले दक्षिणी शहर फोज डो इगुआकुमा सन् १९८२ मा दक्षिण एटलान्टिकमा विवादित टापुहरूलाई लिएर बेलायत–अर्जेन्टिना द्वन्द्वलाई सङ्केत गर्दै भन्नु्भयो ।
उहाँले भन्नुभयो, “भेनेजुएलामा सशस्त्र हस्तक्षेप यो गोलार्धका लागि मानवीय विपत्ति र विश्वका लागि खतरनाक नजिर हुनेछ ।”
एनबीसी न्यूजसँगको अन्तर्वार्तामा युद्धको सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले भन्नुभयो, “म यसलाई होइन भनेर अस्वीकार गर्दिनँ।”
बिहीबार लुलाले ब्राजिलको ढोकामा बढ्दो सङ्कटको बारेमा ‘धेरै चिन्तित’ रहेको र सशस्त्र द्वन्द्व रोक्न मध्यस्थकर्ताको रूपमा सेवा गर्न तयार रहेको बताउनुभएको थियो ।
वामपन्थी नेता ८० वर्षीय लुलाले भन्नुभयो, “गोली हानेर समस्याहरू समाधान हुँदैनन्, समाधान खोज्नको लागि वार्तामा बस्नु राम्रो हुन्छ।”
भेनेजुएलामा लागुऔषध बोकेको आरोपमा भएको अमेरिकी आक्रमणमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ । यद्यपि, ट्रम्प प्रशासनले अहिलेसम्म आफूले लक्षित गरेका डुङ्गाहरू लागुऔषध बोकेको भन्ने कुनै ठोस प्रमाण प्रदान गरेको छैन।”
अमेरिकी सरकारले मदुरोमाथि ‘कार्टेल अफ द सन्स’को नेतृत्व गरेको आरोप लगाएको छ ।
ट्रम्पले भेनेजुएलाबाट बाहिरिने वा पुग्ने प्रतिबन्धका कारण तेल ट्याङ्करमाथि नाकाबन्दी लगाउने घोषणा पनि गर्नुभएको छ।