मोहनविक्रम सिंह ##
सुनन्दा रुस जानको लागि पेरिसमा पुगेकी थिइन् । डा. जगदीशले उनलाई विवाहको लागि प्रस्ताव पठाएका थिए । मस्कोमा विवाह हुने ठेगान भएको थियो । उनी एउटा अध्ययनको सिलसिलामा लन्डन गएका थिए र दुवै जनाले पेरिसमा भेट हुने र त्यहाँबाट सँगै मस्को जाने सल्लाह भएको थियो ।
पहिले उनी गान्धीवादी थिइन् र डा. जगदीश कम्युनिस्ट । अब उनी पनि माक्र्सवादी–लेनिनवादी भएकी थिइन् । त्यसैले डा. जगदीश र उनका बिचमा त्यो बेला भएको एउटा महत्त्वपूर्ण अन्तरमा कमी आएको थियो । उनीहरूका बिचमा रहेको एउटा वैचारिक अन्तर समाप्त भएको थियो तर फेरि उनलाई लाग्दथ्यो ‘समाप्त’ शब्द सही थिएन । कुनै दुई जना व्यक्ति एउटै पार्टी, जाति वा सम्प्रदायका भए पनि उनीहरूका बिचमा पूर्ण एकरूपता हुँदैनथ्यो । त्यहाँ कैयौँ भिन्नता, अन्तर वा अन्तर्विरोध रहन्छन्, विचार, स्वभाव, व्यवहार वा समग्र रूपमा हेर्ने हो भने विश्वलाई हेर्ने विश्व दृष्टिकोणमा पनि । त्यसकारण डा. जगदीश र उनका बिचमा भएको अन्तर पूरै समाप्त भएको जस्तो कुनै कुरा सोच्नु सही हुँदैनथ्यो ।
आफ्नो बेग्लाबेग्लै प्रकारको विकास र स्वभाव वा चिन्तनको पृष्ठभूमिका कारणले उनीहरूका बिचमा अहिले पनि कैयौँ अन्तर हुन सक्दथे । ती जनमभरि नै रहन पनि सक्दथे तैपनि आधारभूत रूपले वैचारिक रूपमा उनीहरूका बिचमा भएको अन्तर समाप्त भएको थियो । माक्र्सवादी दर्शनले उनीहरू दुवै जनालाई एकै ठाउँमा ल्याएको थियो ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “पहिले उनले डा. जगदीशलाई आफ्नो एउटा गुरु वा पथप्रदर्शकको रूपमा मात्र हेर्थिन् । त्यो बेला पनि उनका मनमा उनीप्रति धेरै नै सम्मान र आत्मीयताको भावना हुन्थ्यो तर अब उनीहरूको सम्बन्धमा एउटा गुणात्मक फड्को आएको थियो ।
‘गुणात्मक फड्को ¤’ उनी मनमनै हाँसिन् । अब उनले विभिन्न विषयलाई बुझ्न माक्र्सवादी–लेनिनवादी शब्दावली नै प्रयोग गर्न थालेकी थिइन् । क्रमश: त्यो उनको बानीजस्तै बन्दै गएको थियो । त्यसकारण उनीहरू दुवै जनाका बिचको सम्बन्धमा भएको परिवर्तनको सन्दर्भमा पनि उनले त्यही माक्र्सवादी–लेनिनवादी शब्द प्रयोग गरेकी थिइन्, मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनलाई बुझाउन द्वन्द्वात्मक भौतिकवादी दर्शनमा प्रयोग गरिएको शब्द ।”
उपन्यासमा अगाडि लेखिएको छ– “पहिले डा. जगदीशप्रतिको उनको भावनामा उनका मनमा भएको ‘मात्रात्मक प्रकारले’ परिवर्तन हुँदै गयो र अब एउटा विन्दुमा पुगेपछि त्यसमा गुणात्मक परिवर्तन भएको थियो । त्यो सम्बन्धमा गुणात्मक फड्को थियो, विवाह ।
अब उनी आफूलाई आफ्नो जीवनलाई सम्पूर्ण रूपले डा. जगदीशलाई समर्पण गर्न गइरहेकी थिइन् तर सायद होइन । त्यो कुरा सत्य थियो । सायद पूरा सत्य थिएन । उनले आफूलाई सम्पूर्ण रूपले डा. जगदीशलाई होइन, पार्टी र क्रान्तिलाई समर्पण गरेकी थिइन् ।
उनले आफ्ना अगाडि उभिएका डा. जगदीशलाई हेरिन् । अब उनी पहिलेका डा. जगदीश थिएनन् । अब उनीहरूका बिचको सम्बन्धमा वैचारिक र भावनात्मक दुवै प्रकारले नयाँ आयाम थपिएको थियो । अब उनले उनीसित (डा. जगदीशसित) विवाह गर्ने निर्णय गरेकी थिइन् ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “दुईओटा विन्दु एकै ठाउँमा मिलेका थिए । त्यसरी एउटा रेखा निर्माण भएको थियो तर सिधा वा वक्ररेखा ? सायद ती दुवैको बिचमा विभाजन गर्नु सरल कुरा थिएन । सायद दुवै एकअर्कामा अन्तर्निहित हुन्छन् ।
सरल रेखा वक्ररेखामा बदलिन सक्दछ । वक्ररेखा सरलरेखामा । सायद जीवन पनि त्यस्तै हुन्छ । त्यो सधैँ सरल रेखामा अगाडि बढ्दैन । त्यसमा कैयौँ उतारचढाव, घुम्ती वा वक्ररेखा हुन्छन् । सायद उनीहरूको जीवन पनि सधैँ र पूरै सरलरेखामा अगाडि बढ्ने छैन । त्यसमा कतिपय उतारचढाव हुन सक्नेछन् । घुम्ती हुनेछन् । वक्ररेखा हुनेछन् । ती कहिले, कहाँ र कसरी हुनेछन् ? अहिले नै अन्दाज गर्नु सम्भव थिएन । ती भविष्यका कुरा थिए तर अहिलेको कुरा यो थियो– अब उनीहरू दुवै जनाको जीवन, भविष्य एउटै बन्न गइरहेको थियो ।”
सुनन्दाले हर्के र उजेलीलाई सम्झिन् । उनीहरू सधैँ दु:ख र कष्टका बिचमा हुन्थे । सधैँ जेल वा भूमिगतको अवस्थामा हुनुपर्दथ्यो ।
एकअर्काबाट प्राय: टाढा भइरहन्थे तैपनि उनीहरू पूरै नै पार्टी र क्रान्तिको काममा लागेका थिए र उनीहरूका बिचमा एकअर्काप्रति पूरै प्रेम थियो । उनले कामरेड जलजला र अजितलाई पनि सम्झिन् । उनीहरू अधिकतर अवस्थामा सँगै बस्न पाउँदैनथे । त्यही पनि उनीहरू एकअर्काबाट जति टाढा भए पनि एकअर्कालाई माया गरिरहन्थे र पार्टीको काममा पूरै लागिरहन्थे ।

अब सुनन्दालाई लागेको थियो, उनलाई अब बाँच्न र अगाडि बढ्नका लागि एउटा बलियो आधार प्राप्त भएको थियो । डा. जगदीशको योग्यता, क्षमता र विद्वता मुख्यत: माक्र्सवादी–लेनिनवादी दर्शनमाथि उनको उच्चस्तरको ज्ञान र विश्वासबारे उनलाई राम्ररी ज्ञान थियो । त्यसकारण उनलाई यस कुरामा कुनै द्विविधा लागिरहेको थिएन, डा. जगदीशको योग्य पथप्रदर्शन र साथ पाएर उनी लगातार क्रान्तिको दिशामा अगाडि बढिरहन सक्नेछिन् । त्यसरी उनी जलजला दिदीको योग्य उत्तराधिकारी बन्न सक्नेछिन् । उनले मनमनै प्रतिज्ञा गरिन्, दिदी, म तपाईंले देखाएको बाटोमा सधैँ अगाडि बढिरहनेछु ।
पहिले उनी गान्धीवादी थिइन् तर अब उनी माक्र्सवादी–लेनिनवादी बनेकी थिइन् तर उनले त्यसबारे डा. जगदीशलाई केही बताएकी थिइनन् र विवाहको पहिलो रातमा नै उनले उनलाई त्यो कुरा बताउने विचार गरेकी थिइन् । उनले सोचेकी थिइन्, त्यो उनलाई विवाहको पहिलो उपहार हुनेछ । उनी कम्युनिस्ट भएको थाहा पाएर उनी (डा. जगदीश) कति धेरै खुसी हुनेछन् ? त्यो उनका लागि एउटा सरप्राइज नै हुनेछ ।
पेरिसमा डा. जगदीशले बुक गरेको होटेलमा पुगेपछि केही बेर आराम गरेर उनीहरू सहर अवलोकनका लागि बाहिर निस्के । एउटी फ्रेन्च युवती जुलियटले उनीहरूलाई गाइड गरिरहेकी थिइन् । उनी एउटी शोधछात्रा र पेरिसको युनिभर्सिटीका विद्यार्थीको एउटी वामपन्थी नेता पनि थिइन् ।
जुलियटले उनीहरूलाई सर्वप्रथम अवेलार्ड र हेलोसीको शवगृहमा लैजाने कुरा गरिन् । उनले भनेकी थिइन्, मैले तपाईंहरूको पेरिसको यात्रा त्यो स्थानबाट सुरु गराउन चाहन्छु, जहाँ पेरिसका अमर प्रेमीका शव राखिएका छन्… । तपाईंहरूले छिट्टै विवाह गर्दै हुनुहुन्छ । त्यसरी तपाईंहरूको सुखद दाम्पत्य जीवन सुरु हुनेछ । त्यसैले सर्वप्रथम फ्रान्सका अमर प्रेमीका शवको भ्रमण गर्नुहोस्, जसबाट तपाईंहरूको प्रेम पनि त्यस्तै अमर बनोस् ।
जुलियटले ती दुवै प्रेमीको कथा सुनाइन् । अवेलार्डको जन्म सन् १०७९ मा र मृत्यु सन् ११४२ मा भएको थियो भने हेलोसीको जन्म सन् ११०१ मा भएर मृत्यु सन् ११६४ मा भएको थियो । अवेलार्ड त्यो बेला फ्रान्सका एउटा महान् दार्शनिक थिए र हेलोसी उनकी शिष्य थिइन् । उनीहरूका बिचमा प्रेम भयो र गोप्य प्रकारले विवाह पनि भयो तर इसाई धर्मको मान्यताअनुसार कुनै पादरीका लागि प्रेम वा विवाह गर्नु निषेध थियो ।
त्यसैले उनीहरू एकअर्काबाट अलग हुनुपर्यो । मृत्युपछि उनीहरू दुवै जनाका शव एकै ठाउँमा राखियो तर पछि कट्टर धर्मावलम्बीको विरोधले करिब ३०० वर्षपछि उनीहरूका शवलाई बेग्लाबेग्लै ठाउँमा राखियो तर केही वर्षपछि प्रगतिशील पक्षपातीको जोडले उनीहरूका शवलाई पुन: एकै ठाउँमा राखिएको थियो र अहिले पनि ती दुवै शव एकै ठाउँमा छन् । उनीहरूको दुखान्त प्रेमकथा सुनेर सुनन्दा मनमनै धेरे दुखित भइन् ।
अवेलार्ड र हेलोसीका शव राखिएका ठाउँ हेरेपछि उनीहरू पेरिस कम्युनका स्मारक भएको ठाउँ हेर्न गए । त्यहाँ पेरिस कम्युनको अन्तिम लडाइँ भएको थियो र त्यो बेला करिब ३० हजार क्रान्तिकारीलाई गोली हानेर हत्या गरिएको थियो । त्यो महान् बलिदानको स्मारकको अवलोकन गरेपछि उनले मनमनै भनिन्, म पेरिस कम्युनले देखाएको बाटोमा सधैँ अगाडि बढिरहनेछु ।
पेरिस कम्युनको स्मारकपछि उनीहरू फ्रान्सको इतिहासको सङ्ग्रहालय हेर्न गएका थिए । त्यसको द्वारमा नै साइनबोर्डमा फ्रेन्च भाषामा केही लेखिएको थियो । जुलियटले त्यसको अर्थ लगाउँदै भनेकी थिइन्, “साहस वा स्वतन्त्रता” अर्को ठाउँमा लेखिएको थियो, “राष्ट्रको विजय प्राप्त गर्नका लागि मृत्युका लागि तयार होऊ ।”
ती वाक्य पढेपछि सुनन्दाका मनमा एकै साथ कैयौँ विचार उठे । ती भनाइका अर्थ कति गम्भीर थिए ? सायद फ्रेन्च क्रान्तिको सम्पूर्ण अर्थ ती भनाइमा निहित थियो । फ्रेन्च क्रान्तिको सम्पूर्ण इतिहास, साहस वा महानता ती भनाइमा सूत्रका रूपमा अभिव्यक्त भएको थियो । साहस र स्वतन्त्रताका बिचमा घनिष्ठ सम्बन्ध थियो ।
साहसको जगमा नै स्वतन्त्रताको भव्य महल निर्माण हुन सक्थ्यो । त्यो जग भत्कनेबित्तिकै साहसको ठाउँ कायरताले लिनेबित्तिकै स्वतन्त्रता समाप्त हुन्थ्यो । कैयौँ देशको इतिहास त्यो कुराको साक्षी थियो । क्रान्तिकारीको ठुलो साहसको प्रदर्शन गरेकाले नै फ्रेन्च क्रान्ति सफल भएको थियो । पेरिस कम्युनको जस्तो महान् क्रान्ति सम्पन्न हुन सकेको थियो ।
एक ठाउँमा केही महिलाका सुन्दर कलात्मक मूर्ति राखिएका थिए । त्यसको मुनि लेखिएको थियो– “विवेकले स्वतन्त्रता र समानतालाई बाटो देखाइरहेको” । त्यसको अर्थ हुन्थ्यो, सबै पुराना विचार, अन्धविश्वासमाथि विवेकले विजय प्राप्त गरेपछि नै स्वतन्त्रता र समानताका उद्देश्य प्राप्त हुन सक्छन् । जबसम्म मानिस पिछडिएका विचारमा अल्झिरहन्छन्, उनीहरूको स्वतन्त्रता र समानताको मार्ग अवरुद्ध हुन्छ । तर पछि फ्रेन्च क्रान्ति असफल भएको थियो र त्यहाँ कायम भएको गणतन्त्रको ठाउँमा राजतन्त्र पुन:स्थापना भएको थियो । फ्रान्सको त्यति महान् क्रान्तिको असफलताले सुनन्दालाई धेरै दु:ख पुर्याएको थियो ।
उनको ध्यान कामरेड जलजलाले भनेको यो कुराप्रति गयो : “विश्वको इतिहासको अध्ययनले बताउँछ, क्रान्ति सिधा र सरल रेखामा अगाडि बढ्दैन । त्यो कैयौँ बाङ्गाटिङ्गा, टेढामेढा बाटा हुँदै अगाडि बढ्छ तर अन्तत: त्यसको गति निम्नबाट उच्च चरणमा नै हुन्छ । क्रान्तिलाई क्रान्तिकारीको भूमिकाले मात्र होइन, प्रतिक्रियावादीको शक्तिले पनि प्रभावित पार्दछ तर अन्तमा निर्णयात्मक पक्ष भौतिक परिस्थिति र जनताको भूमिका नै हुन्छ । त्यसले अन्तत: क्रान्तिलाई अगाडि बढाउँदै लैजान्छ । इतिहासको त्यो अग्रगतिलाई कसैले रोक्न सक्दैन ।
उनलाई यो देखेर खुसी लागेको थियो, फ्रान्सको इतिहासले पनि इतिहासको त्यो नियमलाई सही साबित गरेको थियो । त्यहाँ गणतन्त्र विरुद्ध बारम्बार राजतन्त्र पुनस्र्थापना भएको भए पनि अन्तमा गणतन्त्रको नै जित भएको थियो र त्यो पूर्ण रूपमा स्थापित भएको थियो ।
साँझ होटेलमा पुगेपछि डा. जगदीश खाटमा सुते भने सुनन्दा एउटा डनलप र तन्ना ओछ्याएर भुइँमा सुतिन् । उनी बिस्तरामा पल्टिन् तर उनलाई धेरै बेरसम्म निद्रा लागेन । उनका मनमा कैयौँ कुरा खेलिरहे । सर्वप्रथम उनको ध्यान जुलियटतिर गयो । उनी सधैँ प्रसन्न र हँसमुख देखिन्थिन् । यस्तो लाग्दथ्यो, उनी जीवन्त शक्तिले परिपूर्ण थिइन् ।
अब उनको ध्यान अवेलार्ड र हेलोसीतिर गयो । धर्मले उनीहरूलाई मिल्न दिएको थिएन । मृत्युको ३०० वर्षपछि पनि उनीहरूका शवलाई अलग बनाइएको थियो । अब उनीहरू दुवै जना चीर निद्रामा थिए : मृत्युको काखमा । जीवनले उनीहरूलाई आपसमा मिल्न दिएको थिएन तर मृत्युले उनीहरूलाई आपसमा मिलाइदिएको थियो । कमसेकम मृत्युपछि भए पनि उनीहरूका शव साथसाथै राखेको देखेर उनलाई केही सन्तोष लाग्यो ।
उपन्यासमा अगाडि लेखिएको छ– “अवेलार्ड र हेलोसीबारे सोच्दासोच्दै उनको ध्यान कामरेड जलजला र अजितप्रति गयो । उनीहरू दुवैका बिचमा अगाध प्रेम थियो तर उनीहरू मिल्न सकेनन् । त्यो प्रेमका कारणले नै अजितले मद्रास र केरला निस्कासित जीवन बिताउनुपरेको थियो, कामरेड जलजला ग्वालियर । उनी केही समय आफ्नो मावल ग्वालियरमा बसेकी थिइन् । त्यसपछि नेपालका विभिन्न जिल्लामा भूमिगत रूपमा घुम्दै हिँड्नुपरेको थियो । अन्तमा अन्तर्राष्ट्रिय रूपमा पार्टीको काम गर्न उनी दिल्ली गएकी थिइन् । उनले त्योभन्दा अगाडि सोच्न सकिनन् ।”
अर्को दिन उनीहरू जोन अफ आर्कको सङ्ग्रहालय हेर्न गए । उनी फ्रान्सको मध्येयुगीन एउटी सामान्य ग्रामीण किसोरी थिइन् । उनले अङ्ग्रेजका विरुद्ध युद्ध गरेकी थिइन् र अन्तमा उनलाई अङ्ग्रेजद्वारा जिउँदै आगोमा जलाइएको थियो । उनको जन्म सन् १४११ वा सन् १४१२ मा भएको अनुमान गरिएको थियो ।
सुनन्दाले जोन अफ आर्कलाई जिउँदै जलाइएको ठाउँलाई हेरिन् र त्यसका नजिकैको एउटा चौतारामा गएर बसिन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “जोनका विषयमा सोच्दासोच्दै उनी अत्यन्त भावुक भएकी थिइन् । उनीप्रति उनका मनमा अगाध श्रद्धाको भाव पैदा भएको थियो । एउटा भर्खरकी किशोरी । उनमा त्यति ठुलो इच्छाशक्ति, दृढता, देशभक्तिको भावना वा महानता कसरी उत्पन्न भएको थियो ? त्यो विश्व इतिहासको नै एउटा अनुपम घटना थियो ।
प्रकृतिमा कैयौँ विचित्रता छन् । मानिसले ती सबै पत्ता लगाउन सकेका छैनन् । मानव जीवनमा पनि सायद त्योभन्दा कैयौँ गुणा बढी विचित्रताका कुरा हुन्छन् । त्यसले अद्भुत प्रकारका चरित्र वा व्यक्तिलाई जन्म दिन्छ । त्यस्तै एउटा अद्भुत र रहस्यमय चरित्र वा व्यक्तित्व जोन अफ आर्कको पनि थियो… ।”
अर्को दिन उनीहरू लुभ्र म्युजियम हेर्न गए । सुनन्दाले म्युजियममा राखिएका कैयौँ कलाकृति हेर्दै थिइन् । त्यसका साथै उनले ती कलाकृतिबारे कैयौँ कुरा सोच्दै थिइन् । ती सबै कलाकृति कागज, ढुङ्गा, माटो वा सङ्गमरमरका टुक्राबाट बनेका थिए । त्यसकारण ती सबै जड थिए । त्यहाँ अङ्कित मूर्ति निर्जीव थिए तर ती कृतिसित मानिसका कतिका भावना जोडिएका थिए । प्रत्येक कलाकृतिको आफ्नै बेग्लै इतिहास थियो । प्रत्येक कलाकृतिले बेग्लाबेग्लै युगको सभ्यता र संस्कृतिको विकासको स्तर, मानव चेतना, कला र संस्कृतिसम्बन्धी धारणा वा सम्बन्धित कलाकारको प्रतिमा, दृष्टिकोण वा मानवीय संवेदनाको पनि प्रतिनिधित्व गर्थे ।
ती कुरा सोच्दासोच्दै सुनन्दालाई यस्तो अनुभूति हुन थाल्यो, उनले आफ्नो अगाडिको प्रत्यक्ष संसारभन्दा बेग्लै संसारमा प्रवेश गरेकी थिइन्, कलात्मक कृतिका पछाडिको जीवित, मूर्त, वास्तविक र मानवीय संसार । उनको अगाडि सबै कलाकृतिका निर्माणका पछाडि सबै कलाकार, उनीहरूका मानवीय भावना, संवेदना त्यस बेलाको इतिहास, संस्कृति, त्यस बेलाका सम्पदा मानिसको चहलपहल प्रत्यक्ष भएजस्तो लाग्यो ।
केही बेरपछि उनीहरू मोनालिसाको चित्र हेर्न पुगे । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “मोनालिसाका फोटा ता उनले वर्षौंदेखि हेर्दै आएकी थिइन् तर अब त्यो चित्र उनका अगाडि बिल्कुलै नयाँ रूपमा प्रस्तुत भएको थियो । त्यसमा उनले पहिले कहिल्यै अनुभव नगरेको सौन्दर्य थियो । अन्य कैयौँ प्रकारका भाव देखा परिरहेका थिए ।”
त्यो चित्रबारे उपन्यासमा लेखिएको थियो, त्यो एउटा सरल प्रकारको चित्र थियो । एउटा हातमाथि अर्को हात राखेर बिना कुनै शृङ्गार साधारण, भेषभूषाका बसेकी महिलाको चित्र । त्यो सरलताभित्र एउटा शान्त र गम्भीर भाव अन्तर्निहित छ । उनी हाँस्न खोजेजस्तो देखिन्थ्यो तर हाँसो प्रकट रूपमा देखा परेको थिएन । त्यो चित्रको आँखा, चिउँडो, आँखिभौँ, ओठ र त्यसका पछाडिको पृष्ठभूमि सबैले त्यो पूरै चित्रलाई अत्यन्त सुन्दर, रहस्यमय, आनन्दप्रद: रूपमा प्रस्तुत गर्दथे ।
हिँड्दाहिँड्दै सुनन्दाको ध्यान एउटा चित्रतिर गयो । त्यो एउटा जहाजी बेडाको दृश्य थियो । त्यस चित्रमा कैयौँ मानिस पल्टिएका थिए भने कतिपय मृत अवस्थामा थिए । त्यो चित्रको एउटा वृद्ध व्यक्तिको चित्रले उनलाई सबैभन्दा बढी आकर्षित गर्यो । उनको काखमा एउटा मृत व्यक्तिको नाङ्गो शरीर थियो । त्यो वृद्ध व्यक्तिको बाया हात त्यो मृत व्यक्तिको छातीमा थियो भने दाया हात घुँडामाथि अडाएर गालामा राखिएको थियो । त्यो वृद्ध चेहरामा एकातिर, आसपास पल्टेका, मरेका र कराइराखेका व्यक्तिप्रति गहिरो संवेदना तथा अर्कातिर चेहरामा गम्भीर भाव थियो ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “सुनन्दाले त्यो चित्र हेरिरहेकी थिइन् । जुलियटले सुनन्दाको चेहरामा अनि त्यहाँ उठिरहेका भावलाई नियालिरहेकी थिइन् । उनलाई (जुलियटलाई) यस्तो लागिरहेको थियो, त्यो चित्र तथा त्यहाँको वृद्ध व्यक्तिको मुखमा देखा परिरहेका सबै भाव सुनन्दाको चेहरामा प्रतिबिम्बित भइरहेका थिए । उनलाई यस्तो लाग्यो, त्यो वृद्ध व्यक्ति र सुनन्दा दुवैको बिचमा खास प्रकारको तादाम्य सम्बन्ध कायम भएको थियो : दुवै एकअर्कामा एकाकार भएका थिए । उनलाई यस्तो लाग्यो सुनन्दा गहिरो मानवीय संवेदनाले भरिएकी थिइन् । जुलियटले अत्यन्त श्रद्धाका साथ सुनन्दालाई हेरिन् र उनी (सुनन्दा) प्रति उनका मनमा गहिरो आत्मीयताको भाव उत्पन्न भयो… ।”
अन्त्यमा जुलियटले सुनन्दालाई एउटा चित्र देखाइन् । त्यसको शीर्षक थियो– “स्वतन्त्रताले जनतालाई पथप्रदर्शन गरिरहेको ।” त्यो चित्रमा एउटी महिला झन्डा समातेर उभिएकी थिइन् । सायद उनी नै स्वतन्त्रताको प्रतीक थिइन्, जसले स्वतन्त्रता सङ्ग्रामलाई पथ प्रदर्शन गरिरहेकी थिइन् । महिलाले तल कपडा लगाएकी थिइन् तर छाती पूरै नै खुला थियो ।
त्यो रोमान्टिक खालको चित्र थियो । त्यो चित्र फ्रान्सको सन् १९३० को क्रान्तिको बेलामा बनाइएको थियो । त्यो चित्र परम्परागत नवशास्त्रीय शैलीका विरुद्ध थियो । त्यसकारण त्यसको ठुलो विरोध गरियो । सरकारले त्यो चित्रलाई किन्यो तर सरकारी अफिसरले त्यो चित्रले जनतालाई क्रान्तिका लागि बढी उक्साउन सक्ने आशङ्का प्रकट गरेपछि त्यो चित्रलाई सार्वजनिक प्रदर्शन गर्न दिइएको थिएन । खालि सन् १८४८ को क्रान्तिपछि नै त्यो चित्रलाई सार्वजनिक गरेर त्यसलाई लुभ्र म्युजियममा राखिएको थियो ।
सुनन्दाले त्यो चित्र हेरिरहिन् र उनलाई त्यो चित्र धेरै नै राम्रो लाग्यो ।
अर्को दिन जुलियटले उनीहरूलाई पेरिसका विभिन्न स्थानमा घुमाउन लगिन् । उनले उनीहरूलाई जीन पल सात्र, सिमन डी वुभाले प्राय: बसेर कफी खाने ठाउँ देखाइन् । उनले बताएकी थिइन्, उनीहरू दुवै जनाले विवाह गरेका थिएनन् तर उनीहरू दुवै जनाले एकअर्कालाई धेरै नै प्रेम गर्दथे । उनीहरू दुवै जनाले कफी खाने ठाउँमा बसेर उनीहरूले पनि कफी खाए । त्यहाँ कफी खाँदा सुनन्दालाई धेरै नै खुसी लागेको थियो ।