जगतप्रसाद रेग्मी
आउने इच्छा छ मेरो भूमिमा आऊँ म कसरी
मेरो पसिनाले तन्त्र चलेको थियो साहु भएजसरी
कस्तो दिन आयो आज घर जाने ढोका बन्द भयो
टपटप रगत मेरो विदेशीको सेवामा यसै खेर गयो
आयो नसोचेको आपत्ति आज संसारकै मानवमा
जीवन झन् सङ्कटमा थोपरियो विदेशकै भरमा
आँगनीमा टोलाउँदै होलान् आफन्तको खोजीमा
बसौँ काम माम छैन हिडौँ छैन धन गोजीमा
अझै हिक्मत हारेको छैन बादलुभित्र हुँदा नि
धनी शासकको मन नदुख्ने रहेछ गरिब रुँदा नि
कैयौँ दिन अनि महिनौं भयो मैले देश खोजेको
कतै पाइन मेरो देशको भरोसा कति आशा लिएको
आकाशमा आवाज आउँदा हेर्छु कतै मेरो बाटो आयो कि
भन्ने शासन कहिले आउला मेरो जनताले दुख पायो कि
भन्यो बिन्ती गरे पनि संसारकै विपत्ति हो भनी टार्दछ
मरेपछि रोग पत्ता लाउँछ मेरो देश भने अझै मार्दछ
तैपनि मर्न मन छ मेरै भूमिमा त्यो आमाको गोधुलीमा
हिँडौँ छैन सम्भव दुरी टाढाको समुद्रपारिको सीमा
आपत्बिपत् अनि सङ्कटको बेलामा चाहियो अभिभावक
त्यो हो हुनुपर्दछ मेरो देश सिक अरू देशबाट सबक
भन्थेँ सुन्थेँ मैले घरिघरि जनता शासन चाहिन्छ भनी
रहेछ सत्य यो कुरा भएन अब शोषित–पीडित नभनी
एकजुट हुनैपर्ने भयो गरिब–दुखी हामी सब जनता
कति बस्ने विदेशीको दास बनी अब तोडौँ मौनता
देशमा मेरो व्यवस्था ल्याउन लड्न हिड्छु म अब
सुख समृद्धि हुने छ सबैमा जनवाद आउने छ जब
आउने इच्छा छ मेरो भूमिमा आऊँ म कसरी
मेरो पसिनाले तन्त्र चलेको थियो साहु भएजसरी
सुख समृद्धि हुने छ सबैमा जनवाद आउने छ जब
देशमा मेरो व्यवस्था ल्याउन लड्न हिँड्छु म अब

