कोलकाता (भारत) । भारतीय कम्युनिस्ट पार्टी (माले) मासलाइनले भारत–पाकिस्तानबिचको युद्धविरामलाई स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको आत्मसमर्पणको विरोध गरेको छ ।
महासचिव प्रदीपसिंह ठाकुरको हस्ताक्षरमा मे १२, २०२५ का दिन प्रेसवक्तव्य जारी गर्दै मासलाइनले सो धारणा व्यक्त गरेको हो ।
युद्धविराम भारत र पाकिस्तानी जनताको साझा आकाङ्क्षा भएको उल्लेख गर्दै वक्तव्यमा राष्ट्रिय स्वयम्सेवक सङ्घ र सत्तारूढ भारतीय जनता पार्टीको कथित विश्वगुरुको दाबी खोक्रो भएको बताइएको छ ।
भारत र पाकिस्तानका जनताले धर्मनिरपेक्षताको पक्षमा तर आतङ्कवादको विरोध गर्दै भाइचारा सम्बन्ध कायम गर्ने सम्बन्धमा भूमिका खेल्ने अपेक्षा वक्तव्यमार्फत गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“युद्धविरामको स्वागत गर्दै ट्रम्पप्रतिको आत्मसमर्पणको निन्दा गर्दछौ ।
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मास लाइनको केन्द्रीय समितिले भारत सरकार र पाकिस्तानी सरकारको “युद्धविराम” घोषणाको हार्दिक स्वागत गर्दछ । यो दुवै देशका आम जनताको साझा आकाङ्क्षा थियो । आधुनिक युद्धको चार दिनको भयानक परिणाम उनीहरूले पर्याप्त मात्रामा अनुभव गरेका थिए ।
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मासलाइन केन्द्रीय समितिले भारत र पाकिस्तानको द्विपक्षीय समस्यामा स्पष्ट अमेरिकी हस्तक्षेपको कडा निन्दा गर्दछ । यहाँ अमेरिकी साम्राज्यवादसँग दुवै देशको निर्भर सम्बन्धले द्विपक्षीय मामिलामा हस्तक्षेप गर्न ठाउँ दिएको थियो । यसले आरएसएस–भाजपाको “विश्वगुरु” को अग्लो दाबीलाई पनि पूर्ण रूपमा उजागर गर्दछ ।
हाम्रो हार्दिक आशा छ कि युद्धविरामको घोषणा पाकिस्तान र भारतबिचको असल छिमेकी सम्बन्ध पुनर्स्थापनाको सुरुवात मात्र हो । दुई छिमेकीबिचको दिगो शान्तिपूर्ण द्विपक्षीय सम्बन्धको लागि कुनै पनि प्रकारको विदेशी हस्तक्षेपबिना कस्मिरलगायतका सञ्चित समस्यालाई सौहार्दपूर्ण रूपमा समाधान गर्ने उद्देश्यले अर्थपूर्ण राजनीतिक वार्ताको सुरुआत आवश्यक छ ।
हामी पूर्ण रूपमा विश्वस्त छौँ कि भारत र पाकिस्तानका शान्तिप्रेमी र धर्मनिरपेक्ष जनताले असल छिमेकी सम्बन्ध कायम राख्न र हरेक प्रकारको आतङ्कवाद, साम्प्रदायिकता र विदेशी शक्तिको हस्तक्षेपको विरोध गर्न आफ्नो उचित भूमिका खेल्नेछन् ।
हाम्रो अन्तिम आशा भारत र पाकिस्तानका अनुभवी जनतामा निहित छ ।”