समीर सिंह
श्रमजीवी जनताको हक र अधिकारको पक्षमा विश्वभरि नै विभिन्न प्रकारका संघर्ष हुँदै आएको गौरवमय इतिहास छ । त्यस प्रकारका सङ्घर्षका कारण नै विभिन्न प्रकारका परिवर्तन पनि हुँदै आएका छन् । विभिन्न प्रकारका विभेद र शोषणको अन्त्य हुँदा समाज तथा राज्यले नयाँ नयाँ प्रकारले काँचुली फेर्दैै आएको प्रष्ट नै छ । विभिन्न प्रकारका सङ्घर्षमध्ये १८८० मा अमेरिकाका मजदुरले सुरु गरेको सङ्घर्षलाई एउटा महत्वपूर्ण घटनाको रूपमा लिने गरिन्छ ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको विषयलाई लिएर उठान गरिएको सो आन्दोलनले १ मे १८८६ सम्ममा उच्च रूप लिएको थियो । वर्कस टाइम्सका सम्पादक अगस्ट स्पाइसको सो आन्दोलन अगाडि बढाउन महत्वपूर्ण भूमिका थियो । सिकागो शहरको हे मार्केट मजदुर आन्दोलनको केन्द्रबिन्दु थियो । ५ लाख मजदुर विशाल हडतालमा सहभागी भएका थिए । सिकागो शहरमा मात्र ८० हजार मजदुर प्रदर्शनमा उत्रिएका थिए ।
त्यतिबेला प्रहरीको व्यापक दमनका कारण कैयौँ मजदुर र प्रहरीको मृत्यु भएको थियो । आन्दोलनलाई दमन गर्न मजदुर नेताहरू अल्बर्ट पार्सन्स, अगस्ट स्पाइस, सेमुयल फिडेल, ओस्कर नेबे, मिखाइल स्काउब, जर्ज एङ्गेल, एडोल्फ फिसर र लुइस लिङ्गेलाई तुरुन्तै गिरफ्तार गरियो, जसमध्ये पार्सन्स, स्पाइस, एङ्गेल र फिसरलाई मृत्युदण्डको सजाय दिइएको थियो । जबकि लिङ्गेको मुखमा विष्फोट गराइएको थियो । तर आन्दोलन रोकिएन । मजदुर आन्दोलनले विश्वव्यापी रूप ग्रहण गर्दै गयो । अन्ततः मजदुरको आन्दोलनले सफलता पाएरै छाड्यो । १८८९ मा सम्पन्न दोश्रो अन्तर्राष्ट्रियको बैठकले १८९० देखि १ मेलाई विश्वव्यापी रूपमा मनाउने घोषणा ग-यो । त्यही मजदुर आन्दोलनलाई संस्मरण गर्दै विश्वभरि नै मे दिवस मनाउने प्रचलन चल्दै आएको छ ।
मे दिवसले हामीलाई दिएको सन्देश भनेको ‘सङ्घर्ष गरेपछि नै अधिकार पाइन्छ’ भन्ने हो । सङ्घर्ष किन गर्नुप¥यो ? किनकि समाज तथा राज्य वर्गीय रूपमा विभाजित छ, आधारभूत रूपले हुने खाने वर्ग र हुँदाखाने वर्गको रूपमा । विभिन्न वर्गीय स्वार्थका कारण नै सङ्घर्ष हुने गर्दछन् । आदिम साम्यवाददेखि अहिलेसम्मको मानवजातिको इतिहासलाई अध्ययन गर्ने हो भने पनि विभिन्न वर्गको स्वरूपमा परिवर्तन हुँदै आएको छ । तर वर्गसङ्घर्ष कहिल्यै अन्त भएको छैन । समाज र व्यवस्थामा नयाँ नयाँ अन्तरविरोध देखा पर्ने गर्नछन् र त्यही अन्तरविरोधको बिचबाट वर्गसङ्घर्ष नयाँ प्रकारले उठान हुने गर्दछ । अन्ततः परिवर्तन भएरै छोड्छ । पुरानोको अन्त र नयाँको उदय हुन्छ । पुरानो समाज, व्यवस्था, संस्कृतिको अन्त हुन्छ र त्यसको स्थान नयाँले लिन्छ । यो नै समाज तथा व्यवस्थाको ऐतिहासिक भौतिकवादी मान्यता हो ।
अहिले नेपाली समाजमा पनि नयाँ नयाँ अन्तरविरोध सिर्जित हुँदै गइरहेका छन् । राज्यले आम श्रमजीवी जनताका मूलभूत समस्या समाधान गर्न नसकेको अवस्था छ । महङ्गी, बेरोजगारी, भ्रष्टाचार, कमिसनतन्त्र, जातीय तथा क्षेत्रीय विभेद बढ्दै गइरहेको अवस्था छ । धनी झन् धनी हुँदै जाने तथा गरिब झन् गरिब हुँदै गइरहेको अवस्था छ । यसरी वर्गीय खाडल झन् बढ्दै गइरहेको प्रष्ट नै छ । दलाल पुँजीको आकार बढ्दै जाँदा देशको अर्थतन्त्र ओरालो लाग्दै गइरहेको छ । साम्राज्यवादी संस्कृतिको हालीमुहाली बढ्दै गइरहेको छ । देशमा आफूलाई वामन्थी भन्नेको सरकार भए पनि यी अन्तरविरोधले झनै भयानक रूप लिँदै गइरहेको अवस्था छ । परिणाम यो भएको छ कि मजदुर तथा किसानको दैनिकी झनै कष्टकर बन्दै गइरहेको छ । आज मजदुर दिवस मनाइरहेको सन्दर्भमा श्रमजीवी जनताका यी समस्या र चुनौतीप्रति पनि हामी गम्भीर हुनुपर्ने आवश्यकता छ ।
कोरोना भाइरसले विश्व नै आतङ्कित छ । हाम्रो देश पनि यो आतङ्कबाट मुक्त हुन सकेको छैन । विशेष गरेर यो महामारीका कारण श्रमजीवी जनता बढी पीडित छन् । दिनभरै काम गरेर बिहान–बेलुकाको छाक टार्ने श्रमजीवी जनताको अवस्था निकै पीडादायी हुँदै गइरहेको छ । रोग मात्र होइन, भोकसित कसरी लड्ने ? यो प्रश्न गम्भीर रूपमा तेर्सिएको छ । विश्वव्यापी महामारीले मजदुरको अगाडि नयाँ परिस्थिति सिर्जना हुँदै गइरहेको छ । करोडौं मजदुरले आफ्नो रोजगारी गुमाउने स्थिति सिर्जना भएको छ । रेमिट्यान्स अर्थतन्त्रले धानिएको हाम्रो मुलुकलाई त यसले अझ विशेष प्रभाव पार्ने छ ।
यी विभिन्न प्रकारका समस्याका विरुद्ध सिङ्गो राज्य एकजुट भएर लाग्नुपर्नेमा सत्तामा बसेकाहरू फोहोरी राजनीति गर्नमै व्यस्त छन् । उनीहरूको फोहोरो राजनीतिले जनताबाट उनीहरू झनै घृणित हुँदै गइरहेको अवस्था छ । त्यस प्रकारको फोहोरो राजनीतिका विरुद्ध सशक्त प्रतिरोधी आवाजको आवश्यकता देखिएको छ । परिवर्तनकामी जनताको सशक्त आवाजले नै अहिलेका जटिलताको समाधानको दिशामा केही न केही भए पनि भूमिका निर्वाह गर्ने सक्ने छ ।
विश्वव्यापी रूपमा फैलिएको महामारीको मूल कारण पुँजीवादी राज्य संरचना नै हो । नाफाका लागि बढीभन्दा बढी प्रकृतिको दोहन गर्ने उसको पद्धतिका कारण नै पर्यावरण प्रतिकूल हुँदै गइरहेको अवस्था हो । कार्बन उत्सर्जनको मात्रा बढ्दै जाने, ओजोन लेयर पातलो हुँदै जाने, प्रकृतिमा शुद्ध अक्सिजन दुषित हुँदै जाने, रासायनिक खानेकुराले मानवजातिको प्रतिरोधी क्षमता घट्नै जाने, यी सबै कारणले नै नयाँ नयाँ भाइरस निर्माणका लागि अनुकूल स्थिति सिर्जना हुँदै गएको अवस्था हो । माक्र्सवादले पहिले भविष्यवाणी गरेको थियो– ‘पुँजीवादले आफ्नो खाल्डो आफै खन्छ तथा नाफाका लागि पुँजीवाद सिङ्गो मानवजातिको विरुद्ध क्रियाशील हुन्छ ।’
आज माक्र्सवादले भनेजस्तै सिङ्गो मानवजाति त्यही अवस्थाबाट गुज्रिनुपरेको छ । अहिलेको विषम परिस्थितिबाट पनि स्पष्ट हुन्छ, पुँजीवाद र विश्व साम्राज्यवाद मानवजातिको हितमा छैन । उसको उदेश्य बढीभन्दा बढी शोषण गरेर अतिरिक्त मूल्य आर्जन गर्नु मात्र हो । यसको विकल्पमा समाजवादी दिशामा अग्रसर हुनु नै परिवर्तनकामी जनताको हितकर हुन्छ । विश्वस्तरमा माक्र्सदेखि माओसम्मका महान् नेताको सकारात्मक पक्षको अनुशरण गर्दै न्याय र समानताको पक्षमा आफूलाई उभ्याउनु नै सही कदम हुन्छ । विश्वभरिका श्रमिक जनताको अधिकार, सङ्घर्ष र परिवर्तनको परम्परा निरन्तर रूपमा बढ्दै जानेमा हामी विश्वस्त हुनुपर्दछ ।
अन्तमा, अगस्ट स्पाइसले आफ्नो मृत्युदण्डको समयमा भनेको यो धारणा : The time will come when our silence will be more powerful than the voice you strangle today.

