भिएन्ताइन (लाओस) । चीन र रुसका विदेश मन्त्रीहरूले अतिरिक्त–क्षेत्रीय शक्तिको प्रतिरोध गर्ने प्रतिबद्धता जनाउँदै शुक्रबार आफ्ना दक्षिणपूर्वी एसियाली समकक्षीसँग भेट गर्नुभएको छ ।
लाओसको राजधानी भिएन्ताइनमा आयोजित १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को तीन दिने बैठकमा चीनका विदेशमन्त्री वाङ यी र सी विदेशमन्त्री सर्गेइ लाभरोभको सहभागिता रहेको छ ।
दुबै देशका विदेशमन्त्रीले आसियान सदस्य राष्ट्रका समकक्षीहरुसँग संयुक्त वार्ता गर्नुभएको हो । वाङले नयाँ बेलायती विदेश सचिव डेभिड लमीसँग पनि भेट गर्नुभएको छ ।
वाङ र लाभरोभबिच बिहीबार आयोजित बैठकमा दक्षिणपूर्व एसियाली मामिलामा हस्तक्षेप गर्ने अतिरिक्त क्षेत्रीय शक्तिको प्रतिरोध गर्न दुई देशसँगै काम गर्न सहमत भएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।
उहाँहरूले युरेसियामा नयाँ सुरक्षाका संरचना लागु गर्न पनि छलफल गर्नुभएको लाभरोभले एक विज्ञप्तिमार्फत जारी सन्देशमा बताउनुभएको छ ।
वाङलाई उद्धृत गरी चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले समाचारमा लेखेको छ– “बेइजिङ रुससँग सहकार्य गर्न तयार छ । हामी एकार्कालाई दृढतापूर्वक समर्थन गर्न र एकअर्काको मूल हितको रक्षा गर्न प्रतिबद्ध छौँ ।”
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आसियानका विदेशमन्त्रीहरुसँग वार्ताका लागि शनिबार बिहान भियन्ताइन आइपुग्ने अपेक्षा गरिएको छ । (रासस/एएफपी)