विक्रम गिरी
नेपालीलाई भारतीय सीमामा रोकेर केही फाइदा छैन । जति दिन रोक्यो त्यति नै घाटा छ । भारतले सीमामा नेपालीलाई शरण दिएको हो । क्वारेन्टिनमा राखेको होइन ।
हामी ठूलो भ्रममा छौँ । एउटा कोठामा २० देखी ३० जनासम्म भेडा झैँ खाँदिएर बसेका छन् । समयमा खाना छैन । पानी छैन । स्वास्थ्य बिग्रँदै गएको छ । यसरी बस्नुलाई क्वारेन्टिनमा राखिएको भनिन्छ र? घर फर्कनु उनीहरुको अपराध हो र?
विदेशबाट घर फर्केका नेपालीलाई नेपाल सरकारले स्वास्थ्य जाँचको प्रकृयामा समावेश गर्न सकेको छैन । अनी १३० करोड जनसंख्या भएको भारतले सीमामा अलपत्र सबै नेपालीको स्वास्थ्य परिक्षण गर्न सम्भव छ ?
समय घर्की सकेको छ । चाहेर पनि गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले समस्या समाधान गर्न सक्दैनन् । त्यसैले भारतबाट घर फर्कन चाहनेलाई उनीहरुको गाउँमा लैजानु हुन्न । यो झन् ठूलो जोखिम हो । सीमामै खुला ठाउँमा पूर्वाधार निर्माण गरी क्वारेन्टिनमा राख्नु आवश्यक छ ।

अलपत्र परेकालाई उनीहरुको गाउँसम्म पुर्याउने सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत बाटोमै कोरोनाबाट संक्रमित भएको समाचार आउन बाँकी छ । विद्यालयमा बेन्चमा सुत भनेर राखिएकाहरु गाउँका भट्टीमा गाउँकै ठूलो जमातसित रमाइलो गरिरहेको त हामी सबैलाई थाहै छ ।
भारतबाट फर्कने सबैलाई सीमा नजिक खुला ठाउँमा क्वारेन्टिनमा राखौँ । स्वास्थ्य परीक्षण तीब्र गतिमा गरौं । यसको जिम्मा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीलाई दिइनु पर्छ । सँगैसँगै स्वास्थ्यकर्मीको टोलीलाई उपचार गर्ने कार्यमा सघाउनु पर्छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पर्याप्त बजेट उपलब्ध गराउनु पर्छ ।
यसका लागि सबैभन्दा बढी सुरक्षित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हुनुपर्छ । याद रहोस, १० रुपैयाँको मास्क र बन्दुकको डरले कोरोना भाइरस भाग्दैन ।

