रामप्रकाश पुरी
यहाँ नेकपा (मसाल) का विरुद्ध फैलाइएका अफवाहबारे सामान्य कुरा गरिने छ । यो खुशीको कुरा हो कि वर्षौँदेखि पार्टीभित्र र बाहिरका अनेकौँ आक्रमणमाथि विजय हासिल गर्दै हजारौँ–हजारौँ सदस्यले निर्मित भएको पार्टी आज पनि दृढतापूर्वक आफ्नो गतिमा बढिरहेको छ । ऐतिहासिक आठौँ महाधिवेशनपछि सामाजिक सञ्जालमा ‘दक्षिणपन्थी’ आरोप लागेको पार्टीले गौरवतापूर्वक साम्राज्यवाद विरोधी सङ्घर्ष गर्दै राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको पक्षमा देशव्यापी आफ्ना जोडदार कार्यक्रम दियो ।
विभिन्न जनवर्गीय सङ्गठनलाई व्यापक परिचालन ग¥यो । महत्वपूर्ण सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिए । देशव्यापी रूपमा सङ्गठनात्मक अभियानको लहर चल्यो । प्रकृतिजन्य रोग र समस्याका कारण सङ्घीयता विरोधी कार्यक्रमलाई अहिलेलाई स्थगित गर्नुपरेको भए पनि अनुकूल समयमा त्यसले काठमाडौँमा र देशमा हलचल ल्याउने कुरा निश्चित नै छ । यो बिचमा सङ्घीयता खारेजीका लागि संविधानमा संशोधन प्रस्तावको प्रक्रिया पनि अगाडि बढेको छ ।
संयुक्त आन्दोलनलाई पनि प्रभावकारी बनाउनका लागि पार्टीले भूमिका खेल्यो । यसरी सडक, सदन र साङ्गठनिक जीवनमा भूमिका खेल्दै पार्टीले राष्ट्रिय राजनीतिमा आफ्नो क्रान्तिकारी पहिचान दिन सफल भयो । यो अवधिमा सम्पूर्ण पार्टी सदस्यले निर्वाध रूपले पार्टीका घोषित नीतिलाई कार्यान्वयन गर्नका लागि अपूर्व एकता प्रदर्शन गरे । वास्तवमा यो एकता नै पार्टीको महत्वपूर्ण जीवन थियो र त्यसका कारणले नै पार्टी त्यस प्रकारको राजनीतिक भूमिका निर्वाह गर्न सफल भएको थियो ।
पार्टीको अपूर्व एकताबाट अत्तालिएका पार्टी विरोधी तत्वले आफूले सोचेजस्तो नभएको महशुस गरेका छन् । उनीहरूले सकेसम्म पार्टीलाई तहसनहस गर्नका लागि प्रयास गरेको कुरा लुकेको छैन । ती तत्वका सामाजिक सञ्जाल (पत्रपत्रिका, फेसबुक, ट्विटर, युटुयुब, वेबसाइट आदि) मा हाम्रो पार्टीसित सम्बन्धित टिकाटिप्पणीलाई पार्टीले नियाँलेर हेरिरहेको छ । तिनीहरूको असर पार्टी सदस्यमाथि परेको छैन भन्ने कुरा पनि पार्टीलाई राम्रोसँग जानकारी छ ।
उनीहरूको सामाजिक सञ्जालमा प्रस्तुत भएको पूरा अराजकतावादी गतिविधिलाई पार्टीको नीति तथा कार्यक्रमको पक्षबाट सामाजिक सञ्जाल प्रयोग गरिरहनुभएका केही साथीले उदाङ्गो पार्दै आउनुभएको छ । अहिलेलाई त्यति नै काफी हुने भएकोले पार्टीले त्यसबारे कदम उठाउन आवश्यकता ठानेको छैन । तर त्यसको असरले पार्टी सदस्यलाई छुने सम्भावना अगाडि आयो भने पार्टीले व्यवस्थित रूपले पनि सबै अफवाहलाई उदाङ्गो पारेर आफ्नो स्थितिलाई अरू प्रष्ट गर्ने छ र गर्नु पनि पर्दछ ।
पार्टी विरोधी तत्वहरू पार्टीभित्रको दुईलाइनको सङ्घर्षमा पनि प्रवेश गरेका थिए । पार्टीमा कुन लाइन पास हुन्छ भन्ने कुराले पार्टी विरोधी तत्वलाई खास फरक पार्दैन । उनीहरूले पार्टीलाई तहसनहस पार्नका लागि दुईलाइनको कुनै एउटा पक्षलाई उपयोग गर्ने प्रयास गरेका थिए । तर वास्तवमा उनीहरूको त्यो इरादा हो कि नेपालको राजनीतिक इतिहासमा लामो र गौरवपूर्ण सङ्घर्षको छविका साथ आफ्नो क्रान्तिकारी अस्तित्वलाई कायम राख्न सफल भएको पार्टीलाई राजनीतिक दृश्यबाट गुमनाम बनाउनु ।
त्यसका लागि उनीहरूले हाम्रो पार्टीभित्रको विचारधारात्मक संघर्षको भूमिलाई आफ्नो कवाज खेल्ने मैदान बनाउन खोजेका थिए । तर उनीहरू त्यसमा पूरा असफल भएका छन् र भविष्यमा पनि पूरै असफल हुने छन् । किनभने यो कुरा स्पष्ट छ कि मतमतान्तर भए पनि अनुशासन र सङ्गठनात्मक मूल्यलाई कडाइपूर्वक आत्मसात् गर्दै निर्णयको कार्यान्वयन नै पार्टीलाई एकताबद्ध बनाइरहने सबभन्दा ठुलो अस्त्र हो । यो कुरा वास्तविक रूपले दुईलाइनको संघर्षमा भाग लिएका सबै पार्टी सदस्यले बुझ्दछन् ।
त्यसैले आठौँ महाधिवेशनपछि पार्टी बहुमत र अल्पमतमा होइन, एकताबद्ध भएर आठौँ महाधिवेशनले निर्णय गरेका विषयलाई लागु गराउन प्रतिबद्ध छ । तपाईले कुनै पनि पार्टी सदस्यलाई यो प्रश्न गर्न सक्नुहुन्छ : तपाईको अहिलेको जिम्मेवारी के हो? यसमा उत्तर हुने छ: आठौँ महाधिवेशनका निर्णयको कार्यान्वयन । अर्को महाधिवेशनको सिलसिलामा तपाईले यो प्रश्न सोध्न सक्नुहुन्छ : तपाईको अहिलेको विचार के हो ? यसमा उत्तर हुने छ: आफ्नो विचारको विजयका लागि काम गर्नु ।
पार्टी विरोधी तत्वले हाम्रो पार्टीलाई दक्षिणपन्थी आरोप लगाएर खेल्न खोजेको देखिन्छ । उनीहरूका सामाजिक सञ्जालमा त्यस्ता कुतर्क पाइन्छन् । माओलाई उनीहरूले सामाजिक सञ्जालमा प्रदर्शन गरेर आफूलाई ‘क्रान्तिकारी’ देखाउने होशियारी अपनाएको पनि पाइन्छ । तर त्यसरी कोही पनि क्रान्तिकारी हुँदैन र दक्षिणपन्थी विचारका विरुद्ध पनि लड्न सक्दैन । माओले अनुशासन र कार्यपद्धतिबिना दक्षिणपन्थी विचारका विरुद्ध लडेका थिएनन् । अनुशासनविहीन र अराजकको हुलमा आफूलाई उभ्याएको भए र स्वयम् आफ्नो पार्टीलाई भत्काएर माओलाई दक्षिणपन्थी विचारका विरुद्ध लड्न सम्भव हुने थिएन ।
माओको ‘मुख्यालयमााथि बम वर्षाऊ’ भन्ने भनाइको अराजकतावादीले धेरै नै दुरूपयोग गर्दै आएका छन् । तर वास्तवमा उनीहरूले माओको त्यो भनाइको दुरूपयोग गरेर के गर्दै छन् भन्ने कुराको पटक–पटक छिनोफानो पनि हुँदै आएको छ । हाम्रो पार्टीको जीवनमा माओको त्यो भनाइको दुरूपयोग गरेर आफ्नो पतनको खाडल धेरैले खनेका छन् । हाम्रो पार्टीलाई ‘दक्षिणपन्थी’ को बिल्ला भिराउँदै सामाजिक सञ्जालमा छद्म नाम वा वास्तविक नामबाट पनि व्यक्त भइरहेका ती ‘क्रान्तिकारी’ का केही भनाइ तल दिइएको छ :
* जो जहाँ जहाँ रहे पनि सबै उस्तै उस्तै छन् (अर्थ– भेद केही छैन, त्यसैले बुर्जुवा र कम्युनिस्ट पार्टी एउटै हुन्) ।
* अनि यो के नाटक हो ? पार्टीबाट अनिश्चित कालीन मुद्दा लागेर हटेकाले जेसुकै गरुन्, केको ठ्यासठ्यास हो ? (अर्थ– पार्टीबाट निष्काशितले पार्टीमाथि आक्रमण गर्न पाउनुपर्छ, पार्टीले त्यसका विरुद्ध केही पनि गर्नु हुँदैन) ।
* पानीमाथिको ओभानो बन्ने ? (अर्थ– पार्टीबाट निष्काशित मानिस सही थिए, पार्टी गलत हो) ।
* घिनलाग्दो जुहारी (अर्थ– पार्टीले कुनै विषयमा स्पष्टीकरण दिन पाइन्न, यदि त्यसो गरेमा घिनलाग्दो जुहारी खेलेको हुन्छ) ।
* केपी–पिके कम्पनीतिर विलीन गरे राम्रो हुने हो, कतिञ्जेल ल्याङल्याङ हो ? न गरिखानु न मरिजानु (अर्थ– पार्टीलाई केपीको पार्टीमा विलय गराए हुन्छ भन्ने ‘क्रान्तिकारी’ सुझाव) ।
* चिन्ता होइन, चिन्तन गरौँ, गन्थन होइन, मन्थन गरौँ, ठेकेदार होइन, चौकिदार बनौँ । खबरदारी गरौँ, होशियार बनौँ । अरूको मतियार होइन, हामी अंशियार बनौँ (अर्थ– पार्टीका घोषित नीतिका विरुद्ध लागौँ) ।
* छानी छानी कारबाही गर्दै निष्कासन गर्दै जाने हो भने एकदिन पार्टी अहिलेको नेकपाभन्दा नि ठुलो हुने छ (अर्थ– पार्टीको नीति, अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही गर्नु हुँदैन) ।
* अनुशासन पनि सापेक्षतामा हुन्छ हजुर । (अर्थ– आफूलाई अनुकूल लागेन भने अनुशासन मान्नुपर्दैन) ।
* यिनीहरूले पार्टी फुटाउन फरक मत लिएका हुन् । …यिनीहरू ‘रअ’ का एजेन्ट हुन । …यिनिहरू दुश्मनका एजेन्ट हुन । …यिनीहरूले पार्टी फुटाल्छन । …यिनीहरू पार्टी विरोधी हुन । …यिनीहरू घुसपैठिया हुन । ….यिनीहरूले नेतृत्वका लागि फरक मत राखेका हुन । …यिनीहरू सङ्कीर्णवादी हुन । यिनीहरूले पार्टीको गोपनीयता भङ्ग गरे । … ‘रअ’ ले पार्टीमा फुट पार्न खोजेको छ (अर्थ– ‘क्रान्तिकारी’ माथि पार्टीले आरोप लगाएको थियो भनेर गरिएको ‘क्रान्तिकारी’ सङ्घर्ष) ।
* मसाल चित्रबहादुर र मोहनविक्रम सिंहबाहेक कसैले बोल्न, सभा गर्न पाउँदैन । (अर्थ– मोहनविक्रम र चित्रबहादुर केसीलाई पार्टी जीवनको दृश्यबाट हटाउनुपर्दछ) ।
* आफ्ना कार्यकर्तालाई कारबाही गर, ताक परे तिवारी नत्र गोतामे गर्दै पार्टी चेन्ज गर्दै हिड्ने अवसरवादी कार्याकर्ताको भर गर । (अर्थ– पार्टीको अनुशासनको उल्लङ्घन गर्नेहरू कार्यकर्ता हुन् र पार्टीको अनुशासनमा जोड दिनेहरू अवसरवादी कार्यकर्ता हुन्)
* मसाल वान म्यान वान पार्टीजस्तो हो । मोहनविक्रम नै हो उक्त सबैथोक… (अर्थ– मोहनविक्रम विरुद्ध आक्रमण) ।
* पार्टीलाई निजी गुठी बनाउने विरुद्ध सङ्घर्ष आवश्यक देखियो (अर्थ– पार्टी अनुशासन र घोषित नीतिको कार्यान्वयनमा जोड दिनु पार्टीलाई निजी गुठी बनाउनु हो, त्यसैले त्यसका विरुद्ध सङ्घर्षको आवश्यक छ) ।
सामाजिक सञ्जालमा यस्ता कैयौँ फेसबुक स्टाटस र टिप्पणी उल्लेख भएका छन् । यस्ता कुराहरू सामाजिक सञ्जालमा प्रसारण गर्नेले पार्टीलाई फुटाउन हैन, सहयोग गर्नका लागि काम गरेको दाबी पनि गरेका छन् । सम्भवतः उनीहरू पार्टी सदस्य नहुन सक्दछन् । हाम्रो पार्टीका विरुद्ध वर्षौँदेखि इबी साँधेर बसेका कुनै कुण्ठाग्रस्त मानिस पनि हुन सक्दछन् ।
हाम्रो पार्टीका विरोधी तत्व पनि हुन सक्दछन् । पार्टीबाट निष्काशित मानिस पनि हुन सक्दछन् । उनीहरूले हाम्रो पार्टीलाई ध्वस्त गर्नका लागि न्वारनदेखिको बल लगाउन सक्दछन् । त्यसैले उनीहरू सोसियल मिडियामा नाङ्गो रूपले प्रस्तुत हुन सक्दछन् । त्यसमा हाम्रो कुनै आपत्ति छैन । तर त्यस प्रकारको कार्यमा कुनै पार्टी सदस्यको पनि संलग्नता छ भने त्यो पूरै खेदजनक छ । उनीहरूले आफूलाई छिट्टै सुधार गरेर पार्टी अनुशासनको साँँचोमा आफूलाई ढाल्नु आवश्यक छ ।
माथि उल्लेखित केही उदाहरणबाट हाम्रो पार्टीलाई ध्वस्त पार्ने ध्येयका साथ केही मानिसले ठुलो प्रयत्न गरेका छन् भन्ने कुरा बुझिन आउँछ । उनीहरूले सामाजिक सञ्जालमा पार्टीको खुब निन्दा गरेका छन् र हाम्रो पार्टी नेतृत्वमाथि आक्रमण गरेका छन् । उनीहरूले जताततै जोड दिएको कुरा हो, पार्टी दक्षिणपन्थी दिशामा गएकाले आफूहरूले ‘क्रान्तिकारी’ अभियान चलाइरहेका छन् । उनीहरूको भनाइ छ कि मोहनविक्रम र चित्रबहादुर केसीको विरोध गरेपछि ‘महान् क्रान्तिकारी’ हुन सकिन्छ, तर पार्टीका नीति, अनुशासन र कार्यक्रम मान्नेहरू मोहनविक्रम र चित्रबहादुर केसीका हनुमान, कपडा धुने धोबी आदि आदि हुन् । हजारौँ–हजारौँ सदस्यलाई त्यसरी अपमान गर्नेमा कतिपय कथित बुद्धिजीवी पनि देखिन्छन् । सामान्य लेखकीय धर्मको नाश गरेर नग्न प्रकारले प्रस्तुत हुने ती कथित बुद्धिजीवीको वास्तविकतालाई भविष्यले स्पष्ट गर्ने छ । उनीहरूले के गर्ने छन् ? दक्षिणपन्थी पार्टीभित्रै बसेर ‘क्रान्तिकारी’ कुरा गर्ने छन् वा क्रान्तिकारी पार्टी निर्माण गरेर क्रान्तिको दायित्व पूरा गर्ने छन् ? त्यो हामी भन्न सक्दैनौँ, छिट्टै नै भविष्यले प्रमाणित गर्ने छ ।
त्यस प्रकारको अराजनीतिक तरिकाबाट ‘दक्षिणपन्थी’ विरुद्धका लडाइँ लड्ने भनेर सामाजिक सञ्जालमा व्यक्त हुनुका सट्टा उनीहरूले देखेको ‘क्रान्तिकारी’ सपनालाई सङ्गठित गरेर देशको निम्ति सानोतिनो राजनीतिक कार्य गर्न सके पनि राम्रो हुने छ । तर सामाजिक सञ्जालमा हाम्रो पार्टी र पार्टी नेतृत्वको विरुद्धमा मात्र अफवाह फैलाएर यस प्रकारको कार्य गर्दछन् भने उनीहरू हाम्रो पार्टीका विरुद्धमा खटिएका तत्वबाहेक अरू केही पनि सावित हुने छैनन् ।
पार्टीलाई ध्वस्त पार्न खोज्नेले पार्टीका पक्षबाट पैरवी भएका अभिमतमाथि पनि आक्रमण गरेका छन् । पार्टीका घोषित नीति र कार्यक्रमको पक्षबाट व्यक्त गरिने अभिमत पार्टीनीतिको प्रचार–प्रसार नै हुन् । तिनीहरूले पार्टीका घोषित मूल्यलाई जनताको विभिन्न तहमा पु-याउने काम गर्दछन् । तिनीहरूमाथि पार्टीले ध्यान दिन्छ र पार्टी, कुनै पार्टी सदस्य वा समर्थकमाथि प्रहार भएको वा लाञ्छना लाग्ने अर्थ आएमा आफ्नो अभिमत सार्वजनिक गर्ने साथीलाई त्यस विषयमा ध्यान आकर्षण गराउँछ ।
सम्बन्धित साथी पार्टी सदस्य हुन् वा होइनन् भन्ने कुरालाई प्राथमिकतामा राखेर विचार गरिन्छ । एउटा पार्टी सदस्यका लागि पार्टीको घोषित नीति, कार्यक्रम र अनुशासनको प्रचार, प्रसार र त्यसलाई जनताको बिचमा स्थापित गर्ने प्रयत्न गर्नु मुख्य जिम्मेवारी हुन्छ । त्यसअनुसार विभिन्न जिम्मेवारी बहन गर्दै पार्टीले निर्माण गरेको विधि तथा अनुशासनको माध्ययमबाट नीति र कार्यक्रमलाई पार्टी सदस्यले प्रचार प्रसार गर्नुपर्दछ । तिनीहरूको प्रस्तुति ठिक ढङ्गले भएको छ वा छैन भन्ने कुरालाई पार्टीले सधैँ ध्यानमा राख्दछ ।
पार्टीभित्र मत–मतान्तर हुन्छन् । त्यसरी मत–मतान्तर भए पनि पार्टी अनुशासनको कसीमा रहेर नीति र निर्णयको कार्यान्वयन गर्ने काममा सम्पूर्ण पार्टी सदस्य एकताबद्ध हुनुपर्दछ । पार्टीमा सबै जना एउटै मतका हुन्छन् भन्ने पनि हुँदैन तर पार्टीमा निर्णयको कार्यान्वयन एकमतले नै हुन्छ भन्ने हो । त्यसैगरी पार्टीभित्र कुनै विषयमा विवाद पैदा हुन सक्दछ ।
त्यस सन्दर्भमा आम पार्टी सदस्यले मुख्यतः दुईवटा कुरा साझा रूपले स्वीकार गर्दछन् : पहिलो– अनुशासन, दोश्रो– निर्णयको कार्यान्वयन । जनवाद कार्यान्वयनमा आएको बेलामा सबै पार्टी सदस्यले विवादित विषयमा आफ्नो राय राख्न पाउँछन् र आफ्नो विषयलाई बहुमतद्वारा पारित पनि गराउन सक्दछन् । यो अवस्था विषय र त्यससम्बन्धी गरिने छलफल र त्यसबारे लिइने निर्णयका बिचको जनवादको अवधि हो । जनवादको प्रयोग कम्युनिस्ट पार्टीमा छाडा प्रकारले हुँदैन । जनवाद लागु भएको बेलामा कुनै पनि पार्टी सदस्यको मत महत्वपूर्ण हुन्छ । पार्टी सदस्यको राय, सल्लाह र विचारबाट कुनै विषयको निर्णयमा धेरै नै परिपक्वता र ठोस हुन्छ ।
त्यही कार्य सम्पन्न गर्नका लागि कम्युनिस्ट पार्टीले विशेष निर्णयको समयमा जनवादलाई फराकिलो पारेको हुन्छ । महाधिवेशनको अवधिमा जनवादको घेरा फराकिलो हुन्छ, अन्य समयमा प्रक्रियागतअनुसार नै जनवादको प्रयोग गर्नुपर्दछ । यसको अर्थ हो– जनवादलाई ठिक ठाउँमा प्रयोग गर्नुपर्दछ, पार्टी सदस्यले त्यसलाई सही ठाउँमा जतिबेला पनि प्रयोग गर्न सक्दछ । यो भनेको घोषित नीतिभन्दा फरक कुराको प्रसारण गर्नुहुँदैन । यदि त्यस प्रकारको कार्य भयो भने त्यो राम्रो भए पनि निर्णय विपरीत हुन्छ ।
हाम्रो पार्टीको आठौँ महाधिवेशनले पक्ष–विपक्ष विचारलाई कार्यान्वयनको मैदानबाट बिदा गरिसकेको छ । त्यहाँ एकमतका साथ कार्यान्वयन गर्ने कुराबाहेक अर्को सिद्धान्त लागु गर्न मिल्दैन । तर पक्षविपक्ष विचार सधैँका लागि परित्यक्त भएका हुन्छन् भनेर भन्न मिल्दैन । ती विचार छलफलको क्रममा अर्को निर्णयका लागि पुनर्जीवित भएर आउन पनि सक्दछन् । जनवादको प्रयोग भएको बेलामा ती विचारलाई पुनः छलफलमा ल्याउने अधिकार सबै पार्टी सदस्यलाई हुन्छ । यसरी पार्टी सदस्यले आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने पार्टीको परम्परा रहँदै आएको छ ।
सामाजिक सञ्जालमा पार्टीको विरोध गरेर अफवाह फैलाउने काम पार्टी सदस्यले गर्दैनन् । पार्टी सदस्यले पार्टी नीतिको रक्षाका लागि पहल गर्नु स्वभाविक हुन्छ । त्यसरी नीतिको रक्षा गर्ने काममा सबै सदस्यले एकताबद्ध भएर नै गर्नुपर्दछ । अनुशासन भनेको त्यही हो । अफवाहबाट पार्टीको रक्षा हुन सक्यो भने मात्र प्रत्येक पार्टी सदस्यको विचारको रक्षा हुन सक्दछ, नत्र शत्रुको प्रयोगमा गई पार्टी कमजोर बन्न जाने सम्भावना बढेर जान्छ ।
अहिले सामाजिक सञ्जालमा अफवाह फैलाउने काम पार्टीका विरोधीले नै गर्ने गरेका छन् । कुनै कारणवश पार्टी सदस्य त्यसमा मिसिन पुगेका छन्, उनीहरूलाई सच्चिनका लागि ध्यान आकर्षण गर्नुपर्दछ । सबै पार्टी सदस्यले यो बुझ्नुपर्दछ– हजारौँहजार पार्टी सदस्य पार्टीको अनुशासनमा छन्, उनीहरूले अनुशासनको रक्षा गरेका छन् । किनभने अनुशासनको रक्षा गर्ने सदस्यको मुख्य सम्पत्ति पार्टी हो । अरू वैचारिक कुराको त छिनोफानो हुँदै जान्छ । त्यसमा आत्तिनुपर्ने र मात्तिनुपर्ने कुरा केही हुँदैन ।