परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा प्रहरी हस्तक्षेपका बाबजुद चार पार्टीहरूले एम.सी.सी. कार्यान्वयन विरुद्ध विरोधसभा सम्पन्न गरेका छन् ।
२०८० भदौ १३ गते राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी (मसाल), क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी र नेकपा विप्लवको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
एम.सी.सी. विरुद्ध बर्दघाट चिसापानी चोकमा कार्यक्रम गरिरहँदा प्रहरी हस्तक्षेप भएको थियो । कोणसभामा वक्ता बोलिरहेका बेला प्रहरीको एक टोलीले माथिको आदेश भन्दै माइक, व्यानर, झन्डा, पम्पलेट खोस्ने तथा सहभागीलाई तितरबितर बनाउन खोजेको थियो तर प्रदर्शनकारीले एम.सी.सी. सम्झौता खारेज गर ! अमेरिकी साम्राज्यवाद मुर्दावाद ! साम्राज्यवादी दलाल मुर्दावाद ! संयुक्त सङ्घर्ष जिन्दावाद ! लगायतका नारा लगाएका थिए ।
केही समय तनावको स्थितिपछि राजमो लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीले प्रमुख जिल्ला अधिकारीसँग फोन सम्पर्क गर्दा माथिको आदेश कार्यक्रम गर्न नदिनू भन्ने छ भन्ने जवाफ दिएका थिए । त्यसको जवाफमा नेता सुवेदीले संविधानप्रदत्त अधिकारको हस्तक्षेपले परिणाम अझ भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएपछि कार्यक्रम गर्न दिन प्रशासन बाध्य भएको थियो ।
त्यसपछि अगाडि बढेको कार्यक्रमलाई राजमो नेता सुवेदी, नेकपा (मसाल) का नवलपरासी प्रवक्ता धनपति सापकोटा, क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी महाधिवेशन आयोजक कमिटी सदस्यका रवि पाण्डे, नेकपा विप्लवका विष्फोटले सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रम राजमो नवलपरासीका सल्लाहकार रेम रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
