काठमाडौं । केही समययता बागलुङ, प्युठान, अर्घाखाँची, कपिलवस्तु लगायत जिल्लामा भइरहेको आपराधिक क्रियाकलाप रोक्न प्रहरीको ‘स्पेसल टास्क फोर्स’ जाने भएको छ ।
शुक्रबार राष्ट्रिय जनमोर्चाको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षकलाई शान्ति सुरक्षाको स्थिती सुदृढ बनाउन निर्देशन दिनुभएको छ ।
राजमो अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री दाहालसँग बागलुङ लगायत जिल्लामा खासगरी महिलाको गहना लुटपाट गर्न हत्या हिंसा भइरहेको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्नुभएको थियो ।
उहाँले गएको मंसिर यतामात्रै बागलुङमा चार जना महिलाको हत्या भएको रिपोर्ट आफूलाई प्राप्त भएको भन्दै प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
जवाफमा प्रधानमन्त्रीले जनतालाई शान्तिसुरक्षा दिनु आफ्नो पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले तत्काल प्रहरी महानिरीक्षकलाई फोन गरेर घटनाबारे जानकारी लिनुभएको थियो ।
प्रधानमन्त्रीले आईजीपीसँग भन्नुभयो, ‘शान्तिसुरक्षाका लागि गम्भीर बन्नुहोस् । त्यसका लागि एउटा स्पेसल टास्क फोर्स तुरुन्त त्यस क्षेत्रमा पठाउनुहोस् ।’
पछिल्लो केही समय यता कतिपय जिल्लामा चोरी डकैती बढ्नुका साथै महिलाको हत्या गरेर गहना लुटपाट गर्ने गिरोह सक्रिय भइरहेको छ ।सो विषयलाई राजमोले ज्ञापन पत्रमा गम्भीरतापूर्वक उठाएको छ ।
प्रधानमन्त्रीले बैठकस्थलबाटै प्रहरी महानिरीक्षकसँग सम्पर्क गरी राष्ट्रिय जनमोर्चाको ज्ञापनपत्र सम्बोधन हुनेगरि शान्तिसुरक्षाको व्यवस्था गर्न निर्देशन दिएसँगै जवाफमा महानिरीक्षकले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितहरूले न्याय पाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
संघीयता खारेजीको माग गर्दै राजमोले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन (तस्बिरहरू)