• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

संगठन र सिर्जनाकर्ममाझ उचित तालमेल : एक विमर्श


  •   शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
  • प्रकाश थापामगर

    Advertisement

    प्रगतिशील लेखक सङ्घको वृत्तभित्र बेलाबखत् टिप्पणी भइरहन्छ– ‘लेखकको सङ्गठन भएर पनि प्रलेस गैरलेखकको सङ्गठन बन्न थालेको छ । एउटा कवितासम्म लेख्न नजान्नेहरू प्रगतिशील लेखक सङ्घको नेतृत्वमा छन् ।’
    यस अभिव्यक्तिभित्र तथ्य नभएका होइनन् । त्यसका बाबजुद प्रलेसभित्र पूरै गैरलेखक छन् भनी मान्न सकिन्न । यदि त्यसो हो भने त प्रलेस लेखकको सङ्गठन नै रहन सक्ने छैन । नलेख्नेहरूको सङ्गठन त यो संसारमा धेरैका छन्, धेरैतिर छन् अर्थात् व्यावसायिक प्रकारका सङ्गठन जति पनि छन् । सवाल रचनाको स्तर (विचारतत्व र शिल्पकला), सङ्ख्या र विधाको हो । लेखक–साहित्यकारले आधारभूत वा प्राथमिक रूपमा साहित्यको यात्रा कविताबाटै प्रारम्भ गर्नुपर्दछ मापदण्ड कहीँ पनि छैन ।

    के यस्तो मापदण्ड बनाउन सकिन्छ : कविता नलेख्नेहरू लेखक–साहित्यकार नै होइनन् ? पक्कै पनि त्यस्तो दावी न त गर्न सकिन्छ, न यस्तो मापदण्ड नै बनाउन सकिन्छ । के त्यसका साथै यति सङ्ख्या—उदाहरणका लागि एउटा कविता सङ्ग्रह (जस्तै– एउटा सङ्ग्रहभित्र १२ वटा कविता)—प्रकाशित नगरेको व्यक्तिलाई या रचना प्रकाशन नगरेकालाई लेखक–साहित्यकार मान्न नसकिने मापदण्ड निश्चित गर्न सकिन्छ ? त्यसो पनि गर्न सकिन्न । एवं प्रकारले एउटा मापदण्ड निश्चित गरेर उक्त कलापक्ष या स्तरभन्दा तलकालाई लेखक–साहित्यकार नमान्ने घोषणा गर्न सकिन्छ र ? त्यो पनि गर्न सकिन्न । अझै एउटा विषय, लेखनमा पेशेवर नरहेकालाई लेखक–साहित्यकार नमान्ने हो भने के होला ? त्यसरी त दुई/चारजनाभन्दा बढीलाई लेखक–साहित्यकार नै मान्न नसकिने स्थिति आउने छ । यो मापदण्डअनुसार समाजमा लेखकको खडेरी नै पर्ने छ ।

    अलिकति तथ्यमा जाऊँ । प्रसङ्ग माथिकै राखौँ । कविता नै साहित्यको मुख्य विधा हो कि होइन ? प्रष्टै छ, साहित्यको मुख्य विधा भनेर कवितालाई मात्र घोषणा गर्न सकिन्न । कविता सर्वाधिक प्रचलित विधा अवश्य हो । विधागत हिसाबले कविहरू नै साहित्यकारमध्ये अत्यधिक बढी सङ्ख्यामा छन् । साहित्यिक कार्यक्रममध्ये धेरैजसो कविता वाचन हुने गर्दछन् । त्यसका पछाडिको एउटा कारण त कविताको सङ्क्षिप्त र सङ्गीतमय संरचना नै हो । निर्धारित समयमा जति कविता, गीत, गजल, हाइकु, मुक्तकजस्ता विधाका रचना वाचन गर्न सकिन्छ, त्यति समयमा लघुकथासम्म वाचन गर्न सकिएला । तर महाकाव्य, कथा, उपन्यास, नाटक, समालोचना, निबन्ध, जीवनी, नियात्रा, संस्मरणलगायतका लागि त्यो सुविधा उपलब्ध छैन । त्यसका लागि त घण्टौँ समय आवश्यक पर्ने छ ।

    त्यही कारणले गर्दा पनि कविता अहिले मुख्य प्रचलित विधा बन्न पुगेको छ । अर्कातिर, पाठक–श्रोता सङ्ख्याको हिसाबले सर्वाधिक प्रचलित स्थान गीत–सङ्गीत र व्यङ्ग्यको छ । सम्प्रेषणीयताका हिसाबले गीत, नाटक, गजलजस्ता विधाहरू बढी लोकप्रिय र सशक्त छन् । नाटकको अवस्था पनि त्यत्तिकै सशक्त छ । बजारको हिसाबले विचार गर्ने भने परिस्थिति बेग्लै छ । अहिलेको बजारमा आख्यान (खासगरी उपन्यास) को प्रथम स्थानमा छ । तर आत्मसंस्मरण, जीवनी, नियात्राको बजार पनि कम छैन । त्यसैगरी, खोजमूलक (नन–फिक्सन) कृतिको बेग्लै बजार छ । यसरी बजारको हिसाबले भन्ने हो भने त कविता अत्यन्त कम अर्थोपार्जन गर्ने विधाअन्तर्गत पर्दछ । बौद्धिकताका हिसाबले निबन्ध, समालोचना उत्कृष्ट छन् । चरित्र निर्माणमा योगदानको हिसाबले जीवनी, आत्मसंस्मरणको महङ्खव त्यत्तिकै छ । यसरी साहित्यक क्षेत्रमा कविताजत्तिकै सशक्त विधा अरू पनि छन् भन्ने निष्कर्षमा हामी पुग्नैपर्ने हुन्छ ।

    कविताको हकमा समस्या यो छ– सर्वाधिक प्रचलित विधा भएर पनि आर्थिक रूपमा कविताको बजार छैन । त्यसका पछाडिको एउटा कारण स्वयं कविताको संरचना पनि हो । जसरी गीत, गजल, ब्यङ्ग्य, नाटकबाट पाठक–श्रोताले सहजै भाव ग्रहण गर्न सक्दछन्, त्यही स्थिति कविताको केही जटिल हुन्न । कविता विचारतत्व र शिल्पकला घनीभूत भएको मूलतः बौद्धिक विधा हो । त्यसकारण स्वयं कविले नअथ्र्याउँदासम्म कविताको भावका बारेमा पाठक–श्रोताले ठिक ठिक अनुमान लगाउन सक्दैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको थुप्रै कविता यही प्रकारको भएको सबैलाई थाहा भएको विषय हो । हालका कैयौँ कविका कविताकृतिको अवस्थासमेत त्यही प्रकारको छ । केही महिनाअघि विमोचन भएको कवि मातृका पोख्रेलको कविताकृति “मित्रताको आकाश” को बारेमा यस्तै टिप्पणी भएको थियो ।

    स्वयं भूमिका लेखक डी.आर. पोख्रेलले त्यही लेख्नुभएको थियो । विमोचन कार्यक्रममा मन्तव्य राख्नुभएका साहित्यकार वासुदेव अधिकारीले पनि त्यस्तै अभिव्यक्ति दिनुभएको थियो । जब वासुदेव अधिकारी, डी.आर. पोख्रेलजस्ता साहित्यकारले कविताको भाव ठम्याउन सकेनन् भने आम पाठकले कवि पोख्रेलको कविताका भाव कसरी बुझ्लान् ? अनि, कविताको बजार कसरी व्यापक हुन्छ ?

    अर्काे प्रसङ्ग सङ्ख्याको छ । सर्जकले लेखेर मात्रै भएन । त्यसलाई सार्वजनिक गर्नुप¥यो अर्थात् प्रकाशित गर्नुप¥यो अर्थात् पुस्तकाकारमा प्रकाशित गर्नुप¥यो । पुस्तकाकारमा प्रकाशित नगरिकन रचनाकृति न त आम जनताको हातमा पुग्न सक्छ, न त पाठकले कृतिको रसास्वादन गर्न सक्छ, न त उक्त कृति समाजमा सुरक्षित नै रहन सक्छ । त्यसका लागि आर्थिक व्यवस्थापन गर्नुपर्ने हुन्छ । सकेसम्म प्रकाशक चाहियो, नभए लेखक स्वयंले भए पनि आर्थिक प्रबन्ध गर्नुप¥यो । यसरी सृजना प्रकाशन स्वतः सामाजिक सम्बन्ध र अर्थोपार्जनसित जोडिन्छ । के त्यसको अर्थ व्यापक सामाजिक सम्बन्ध र आर्थिक व्यवस्थापन नभएर पुस्तक प्रकाशन गर्न नसक्नेजति सबैलाई लेखक–साहित्यकार नै नमान्ने ? त्यस्तो पनि हुन सक्दैन ।

    यसै प्रसङ्गमा रचनाकृति प्रकाशन वा सार्वजनिकीकरणको सन्दर्भमा अहिले परिस्थिति केही फेरिएको उल्लेखनीय छ । खासगरी प्रविधिमा आएको विकास र रूपान्तरणले परिस्थितिमा फरक पारेको हो । दिन–प्रतिदिन व्यापक रूपमा फैलिँदै गएको सूचना प्रविधिले रचना सार्वजनिक गर्ने सुविधा प्रदान गरेको छ । इन्टरनेट प्रविधिको आविष्कारका साथै केही वर्षपहिलेसम्म टेलिभिजन, एफएम, वेबसाइट, ब्लगजस्ता सार्वजनिक माध्यम थिए, अहिले फेसबुक, युट्युब, ट्विटर, इन्स्टाग्राम, लिङ्क्देन, इमो, ह्वाट्सप, भाइबरलगायतका सामाजिक सञ्जाल व्यापक छन् । कम्प्युटरमा मात्र होइन, मोबाइलमा समेत यी सामाजिक सञ्जालको पहुँच भएपछि रचना, सार्वजनिक गर्नमा अनुकूलता थपिएको छ । खासगरी सर्वाधिक व्यक्तिसम्म फेसबुकजस्ता सामाजिक सञ्जालको पहुँच भएपछि रचनाकृति फेसबुकमार्फत् नै सार्वजनिक हुन थालेका छन् । पहिला फेसबुकमा रचना सार्वजनिक गरेर, त्यसबाट प्राप्त सुझावको आधार रचनालाई थप परिष्कृत गर्ने सुविधा पनि यतिखेर लेखक–साहित्यकारलाई उपलब्ध छ ।

    अर्कातिर, सामाजिक सञ्जालको व्यापकताका साथै कृतिसङ्ग्रह प्रकाशनको काम प्रभावित भएको पनि छ । एक अर्थमा त फेसबुकले बजारको विरुद्ध पनि काम गरेको छ । फेसबुकमा पढिसकेपछि पाठक–श्रोताले त्यही रचनाकृति खरिद् गर्न रुचि देखाउँदैनन् । तर यो अवस्था सामान्य रूपमा सत्य हो । यदि रचनाकृति स्तरीय छ वा त्यसले मन छोएको छ भने पाठक–श्रोताले ती रचनाकृति अनिवार्य रूपमा खरिद गर्ने छन् । कारण– सामाजिक सञ्जालमा प्रकाशित ती रचनाकृति त्यहीँ सुरक्षित गर्ने दिगो व्यवस्था हुँदैन । यसरी सामाजिक सञ्जालको कारणले रचनाकृतिको बजार घट्यो भनेर सूचना प्रविधिमाथि नै नकारात्मक धारणा बनाउनु सही हुने छैन ।

    रचनाकृति उत्कृष्ट छ भने पाठकले खरिद गरेरै सुरक्षित राख्ने गरेका पनि छन् । त्यसक्रममा पाठकहरू युट्युब, इलाइब्रेरी हुँदै अन्ततः पुस्तक, सिडी÷भिसिडीसम्म पुग्ने गरेकै छन् । यहाँसम्म कि यस सन्दर्भमा इलाइब्रेरी पनि अपर्याप्त सावित भएका छन् । जसरी पुस्तकलाई बौद्धिक/प्राज्ञिककर्मका लागि सन्दर्भश्रोत बनाउन सकिन्छ, त्यस्तै प्रकारको सुविधा सामाजिक सञ्जालको त कुरै छौडौँ, युट्युब, इलाइब्रेरीबाट पनि सम्भव हुन्न । यस सन्दर्भमा वेबसाइटको उदाहरण लिन सकिन्छ । वेबसाइटलाई सन्दर्भश्रोत मान्न त सकिन्छ । तर पटकपटक वेबसाइटको पुनर्संरचना हुने गर्दछ । त्यसैकारणले गर्दा वेबसाइटलाई सन्दर्भश्रोतको रूपमा उल्लेख गर्दा सो वेबसाइट हेरेको मिति उल्लेख गर्नुपर्ने भएको छ । यसरी विद्युतीय सामग्री पुस्तकजस्तो ठोस वा दिगो सन्दर्भश्रोत बन्न नसकेको प्रष्टै देखिन्छ ।

    यी सङ्क्षिप्त विवरणबाट प्रष्ट हुन्छ, अबको समयमा पुस्तकको रूपमा निश्चित कृति प्रकाशन गरेका व्यक्तिलाई मात्र लेखक–साहित्यकार मान्ने अवधारणाप्रति हामीले पुनर्विचार गर्नुपर्ने भएको छ । अबको परिस्थितिमा फेसबुकजस्ता सामाजिक सञ्जालमा प्रकाशित रचनाको अध्ययनप्रति हाम्रो ध्यान जानुपर्दछ अन्यथा हामी सूचना प्रविधिको वर्तमान युगबाट धेरै पछि परिसकेका हुने छौँ । यस्तो हुनु भनेको हामीले लेखक–साहित्यकारको घेरा साँघुरो बनाउनु हो ।

    कोही पनि लेखक–साहित्यकार बन्न सक्दैन । यस मतका पक्षधरको आसय हुन्छ, साहित्यमा उच्चस्तर कायम नगरिकन जोकसैलाई लेखक–साहित्यकार मान्न सकिन्न । यस मतानुसार त उच्चस्तर वा कलापक्ष नै लेखक–साहित्यकारको मुख्य मापदण्ड हुन जान्छ । तर सबैलाई थाहा छ, रचनाकृतिको उच्चस्तर वा कलापक्षको सवालमा निरपेक्ष मापदण्ड कायम गर्न सकिन्न ।

    रचनाकृतिको मूल्याङ्कन दुई प्रकारले हुन सक्दछ : विचारतत्वको हिसाबले र कलापक्षको हिसाबले । विचारतत्व प्रगतिशील वा क्रान्तिकारी हुनु, त्यसका साथै कलापक्ष वा शिल्पकला पनि उत्कृष्ट हुनु कुनै रचनाकृति उच्चस्तरीय भएको प्रमाण हो । माओत्सेतुङले येनान गोष्ठीको कला–साहित्यसम्बन्धी प्रवचनमा भनेका थिए– “राजनैतिक दृष्टिले जतिसुकै प्रगतिशील भए पनि कलात्मक गुण नभएका कलाकृतिमा कुनै ज्यान हँुदैन ।” तर हामी सबैलाई थाहा छ, यी दुवै पक्षमा संयोजन असाध्यै अप्ठ्यारो काम हो । जसका रचनाकृति विचारतत्वको हिसाबले प्रगतिशील र क्रान्तिकारी हुन्छ, त्यसका लागि यो अपरिहार्य छैन, त्यसको कलापक्ष वा शिल्पकला पनि त्यत्तिकै उत्कृष्ट होस् ।

    त्यसका विपरीत जसको रचनाकृति कलापक्ष वा शिल्पकलाको हिसाबले उत्कृष्ट छ, त्यसका लागि पनि यो अपरिहार्य छैन, उक्त कृति विचारतत्वको हिसाबले पनि प्रगतिशील र क्रान्तिकारी होस् । यसखालको संयोजन सिद्धान्ततः स्वीकार गरिए पनि सबैका कृति यही प्रकारको नरहने गरेको प्रष्ट छ ।

    दुईवटा उदाहरण यस सन्दर्भमा प्रस्तुत गरौँ । एउटा उदाहरणका प्रशिद्ध प्रगतिशील साहित्यकार पारिजातको छ । उनको कृति ‘शिरिषको फूल’ कलापक्ष वा शिल्पकलाको हिसाबले उत्कृष्ट छ । अहिले पनि त्यसबारेमा विवाद छैन । विश्वको कतिपय देशमा त ‘शिरिषको फूल’ लाई पाठ्यक्रममा नै समावेश गरिएको छ । तर स्वयं पारिजातले स्वीकार गरेकी छिन्, यो कृति विचारतत्वको हिसाबले प्रतिगामी छ । उनले आफ्नो आत्मसंस्मरणमा भनेकी पनि छिन्– ‘जति मिहिनेतका साथ मैले “शिरिषको फूल” लेखेकी थिएँ, त्यत्ति नै आनन्दको साथ मैले त्यसलाई डढाएर आगो तापेकी छु ।’ जब पारिजातमा पछिल्लो समयमा प्रगतिशील चेत विकास हुँदै गयो, उनले विचारतङ्खवको हिसाबले आफ्नै कृतिको मूल्याङ्कन गर्न थालिन् । त्यसक्रममा उनको प्रशिद्ध कृति ‘शिरिषको फूल’ पनि बाँकी रहन सकेन, निर्मम आलोचनाका लागि ।

    अर्को उदाहरण वी.पी. कोइरालाको छ । उनको ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ जस्ता थुप्रै प्रशिद्ध कृतिहरू छन् । कलापक्ष वा शिल्पकलाको हिसाबले उनको कृतिलाई कसैले पनि कमजोर आँक्न सक्दैन । तर विचारपक्षको हिसाबले उनको कृतिमा कथित यौन स्वतन्त्रताको केही बढी पक्षपोषण गरिएको पाइन्छ । भनिरहनुनपर्ला, कथित यौन स्वतन्त्रताको माग पुँजीवादी, अन्ततः उपभोक्तावादी अवधारणा हो । यौन स्वतन्त्रताको कोणबाट हेर्दा उनका ‘सुम्निमा’ जस्ता कृति बेजोड मान्न सकिएला । उनले कर्मकाण्डीय ब्राह्मणवादी विकृतिका विरुद्ध अवश्य आवाज उठाएका छन् । खासगरी सामन्ती रूढीवादका विरुद्ध उनले उठाएको हतियारको महत्व आफैमा प्रष्ट छ । त्यसका बाबजुद उनको साहित्यको केन्द्रमा विपन्न वर्ग छैन । शोषणविहीन समाजको परिकल्पना छैन । सर्वहारा वर्गको मुक्ति–उत्थानको विषय छैन ।

    उनले सुधारवादी÷वर्गसमन्वयवादी चेत व्यक्त गरेका छन् । राजतन्त्र पनि रहनुपर्छ, साथमा गरिबको झुपडी पनि सँगै रहनुपर्दछ भन्ने खालको वर्गसमन्वयवादी चिन्तन उनमा देखिन्छ । यही कारण हो– उनले आफ्नो साहित्यिक यात्रातर्फ पुनर्मूल्याङ्कन गर्न आवश्यक ठानेको पाइँदैन । उनी जीवनकालभरि बढीमा सुधारवादी वा वर्गसमन्वयवादी दृष्टिकोणमै कायम रहे । त्यसकारण पारिजातले जस्तो आफ्ना कृतिप्रतिको आलोचनामा निर्ममता देखाएको पाइँदैन ।

    अर्को त्यस्तै गम्भीर प्रसङ्ग छ, लेखनमा पेशेवर चरित्रको । हाम्रोजस्तो पिछडिएको आर्थिक–सामाजिक परिस्थिति रहेको देशमा पेशेवर लेखनको अवस्था कमजोर हुने प्रष्टै छ । लेखक–साहित्यकारप्रति सर्सरी नजर लगाउने हो भने पनि हामीलाई यो मान्नमा कुनै कठिनाइँ हुने छैन : लेखेबापत् पाउने पारिश्रमिकप्रति निर्भर रहेर जीविका चलाउने व्यक्ति औँलामा गन्न सकिने मात्र होलान् । पक्कै पनि हाम्रो समाजमा पठन संस्कृति गतकालको तुलनामा व्यापक हुँदै गएको प्रष्टै छ । त्यसका बाबजुद लेखक–साहित्यकार साहित्यको बजारमाथि उभिन सक्नेगरी आत्मनिर्भर अवस्था उत्पन्न भइसकेको छैन । त्यसको अर्थ यही हो– हामीकहाँ लेखक–साहित्यकारले जीविकोपार्जनको रूपमा लेखनमाथि भर पर्ने अवस्था छैन ।
    त्यही बाध्यात्मक परिस्थितिमाझ हामीकहाँ लेखेर जीविकोपार्जन गर्ने एउटा तप्का पत्रकारको हो ।

    तर स्वयं पत्रकारको अवस्था पनि त्यति राम्रो छैन । धेरै भएको छैन, पत्रकारका लागि न्यूनतम पारिश्रमिक तोकिएको छ । एक त न्यूनतम पारिश्रमिकको त्यो मापदण्ड सामान्यभन्दा कम छ, अर्कातिर, त्यही न्यूनतम स्केल पनि पूरापूर लागु हुन सकिरहेको छैन । दैनिक पत्रिका वा टेलिभिजनसम्मले थोरै पत्रकारलाई नियमित पारिश्रमिक दिन सकेका छन् । त्यस आधारमा पत्रकारले खालि पत्रकारिता कर्ममै भर परेर जेनतेन जीवन निर्वाह गर्नुपर्ने अवस्था छ । लेखनकर्म निरन्तर कायम राख्दै अगाडि सृजनाकर्ममा अगाडि बढ्न खालि ठुला मिडियासित सम्बद्ध सम्पादक, प्रधान सम्पादकजस्ता उच्च तप्का मात्र सक्षम छन् ।

    लेखनबाट प्राप्त रोयल्टी वा पारिश्रमिकको आधारमा जीविकोपार्जन असम्भव भएकै कारणले हामीकहाँ जागिरे लेखनको बाध्यात्मक स्थिति विद्यमान छ । जागिरे लेखन भनेको पहिले जीविकोपार्जनको व्यवस्था गरेर त्यसपछि मात्र लेखनयात्रालाई निरन्तरता दिने प्रवृत्ति हो । यो हाम्रो देशका लागि नकारात्मक प्रवृत्ति होइन, बरु बाध्यात्मक प्रवृत्ति हो । लेखनमै समर्पित हुने मनसाय धेरै लेखक–साहित्यकारको हुन्छ । तर एकातिर, निजी पारिवारिक व्यय अत्यधिक भएको अवस्था, अर्कातिर, परिवारका लागि कमाउनुपर्ने बाध्यात्मक अवस्थाले गर्दा लेखक–साहित्यकारका सामु लेखनमा पेशेवर हुनु सम्भव देखिन्न । महिला लेखकका सामु त झनै बढी कठिनाइँ छ । उनीहरूका सामु जागिर र घरायसी जिम्मेवारी दुवै बहन गर्दागर्दै साहित्य रचनाका लागि समय निकाल्नुपर्ने बाध्यता छ ।

    यही कारण हो, लेखक–साहित्यकार सर्वप्रथम जागिरे हुनुपर्ने बाध्यता छ । किनकि निश्चित घण्टाको जागिर पूरा गरेपछि बचेको समय साहित्यकर्ममा लगाउन सहज हुन्छ । यस्तो लाग्दछ, पेशेवर लेखनमा आत्मनिर्भर हुन सकिने अवस्था खालि दुईवटा मात्र छ : एउटा– प्रचलित लेखक, जसका कृति बेस्ट सेलर छन्, त्यसको पारिश्रमिकले नै लेखक बाँच्न सक्दछ । अर्को– जागिरबाट सेवानिवृत्त भएका लेखक, जसले पेन्सनबाट प्राप्त आयलाई मुख्य आयको रूपमा परिचालन गरेर अथवा त्यसैमा सन्तुष्ट भएर पूरै समय लेखनमा लगाउन सक्दछन् । त्यसबाहेक तेस्रो विकल्प हामीसित छैन ।

    यहाँ लेखनकर्मको बारेमा जे जति चर्चा गरियो, त्यसमा निरपेक्ष प्रक्रिया अवलम्बन गरिएको छ अर्थात् विषयवस्तुलाई सामान्य रूपमा प्रस्तुत गरिएको छ । जहाँसम्म प्रगतिशील लेखनको सवाल छ, त्यो एक प्रकारको मिसन लेखन हो । यस क्षेत्रमा कुनै खास वैचारिक आलोकमा प्रगतिशील लेखनले निरन्तरता पाउँछ । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई दृष्टिबिन्दु मानेर सर्वहारा वर्गको मुक्तिका खातिर प्रगतिशील लेखन अगाडि बढ्छ ।

    प्रगतिशील लेखन सर्वहारा वर्गलाई मुख्य मात्र बनाएर चल्दछ । कारण यो हो– प्रगतिशील लेखक–साहित्यकार सर्वहारा वर्गको पक्षमा हुन्छन् । आफै सर्वहारा वर्गीय पक्षधर रहेका कारण समाजवादी यथार्थवादी साहित्यिक धारा नै उनीहरूको लेखन परम्परा हो । समाजवाद र साम्यवाद प्रगतिशील लेखकका अधिकतम आदर्श व्यवस्था हुन् । तत्कालका लागि सामन्तवाद, साम्राज्यवाद, पुँजीवाद, उपभोक्तावाद, उपयोगितावाद, उत्तर आधुनिकतावाद र रूढीवादका विरुद्ध कलम चलाउनु नै प्रगतिशील लेखक–कलाकारको दायित्व हो ।

    अन्तमा, एउटा अर्को विषयमा सङ्क्षिप्तमा चर्चा गरौँ । एउटा अप्ठ्यारो परिस्थिति हामीमाझ छ । लेखन÷सृजनाकर्म र सङ्गठन कतिपय बेलामा एक–अर्काको बाधक बन्न पुग्दछन् । कुनै सङ्गठनको नेतृत्वमा भएपछि त्यसको गतिविधिमा व्यस्त रहनैपर्ने हुन्छ । सङ्गठनको काममा व्यस्त भएपछि लेखनको कार्य स्वाभाविक रूपमा पछाडि पर्दछ । ठिक यहीँनेर आरोप–प्रत्यारोप सुन्न सकिन्छ : साहित्यिक सङ्गठनको नेतृत्व गरिरहेकाहरू सृजनाकर्म गर्दैनन्; सृजनाकर्ममा व्यस्त भएकाहरू साहित्यिक सङ्गठनको सङ्गठनात्मक काममा ध्यान दिँदैनन् । अनि, एकपक्षद्वारा अर्को पक्षप्रति आलोचनाको सिलसिला अगाडि बढ्न थाल्दछ ।

    यथार्थ यो हो– सङ्गठनको नेतृत्वमा रहँदारहँदै फुटकर रचना सृजना गर्न त्यति अप्ठ्यारो नहोला । जस्तै– कविता, गीत, गजल, लघुकथाजस्ता सानो आकारको रचना तयार पार्न अप्ठ्यारो हुन सक्दैन । तर उपन्यास, महाकाव्य, समालोचनाजस्ता ठुलो आकारको रचना तयार पार्नमा कठिनाइँ हुन्छ नै । उपन्यास, महाकाव्यजस्ता रचना कठिन साधनाको प्रतिफलस्वरूप तयार हुन्छन् । त्यसकारण यसखालको रचनाका लागि पर्याप्त समय र कठिन साधनाको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

    सङ्गठनको नेतृत्वमा रहँदै गर्दा तीव्र गतिमा साहित्य रचना गर्नमा कठिनाइँ हुन्छन् ।एकातिर, साहित्य साधनाले माग गर्ने समय व्यवस्थापन र अर्कातिर, सङ्गठनले माग गर्ने सक्रियता, तदारुकता—यी दुवै पक्षको उचित संयोजनबाट सङ्गठनको नेतृत्वमा रहने लेखक–साहित्यकारहरूले लेखन कार्य अगाडि बढाउनुपर्ने हुन्छ । हामीसित स्तरीय साहित्यिक रचना हुनैपर्दछ । स्तरीय रचना बिना सर्वहारा वर्गको साहित्यिक आन्दोलन व्यवस्थित रूपमा अगाडि बढ्न सक्दैन । त्यसैगरी, लेखक–साहित्यकारको समेत सङ्गठन भएन भने प्रगतिशील साहित्यिक आन्दोलनलाई स्वतःस्फूर्त अवस्थामा छोडिदिनुपर्ने हुन्छ । यस सन्दर्भमा नेपालमा प्रलेसजस्तो साहित्यिक संस्था छ, जसले प्रगतिशील साहित्यिक क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको छ । यस्तो साहित्यिक सङ्गठन सम्पूर्ण प्रगतिशील लेखक–साहित्यकार र समग्र आन्दोलनका लागि खुशीको विषय हो ।

    साहित्यिक सङ्गठनको नेतृत्व वैकल्पिक स्वरूपमा अगाडि बढ्छ अर्थात् एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहँदैन । यो एक अर्थमा राम्रो पनि भएको छ । पहिला लेखक–साहित्यकारहरू सृजनामा व्यस्त हुन्छन् । पछि तिनै लेखक–साहित्यकारहरू प्रलेसमार्फत् साहित्यिक प्रकृतिको सङ्गठनात्मक क्रियाकलापमा संलग्न हुन्छन् । त्यस क्रममा उनीहरू व्यापक सङ्ख्यामा लेखक–साहित्यकारसित अन्तरक्रिया गर्ने मौकाको उपयोग गर्दछन् ।

    एउटा निश्चित अवधिपछि प्रलेसको सङ्गठनात्मक र अन्तरक्रियात्मक अनुभवबाट समृद्ध भएर तिनै लेखक–साहित्यकार पुनः लेखनकर्ममा फर्कन्छन् । यस प्रकार सृजनाकर्ममा लागेका र प्रलेसको सङ्गठनात्मक काममा लागेका लेखक–साहित्यकारको माझमा समुचित अन्तरसम्बन्धमूलक परिस्थिति कायम हुन जान्छ । यस्तो तालमेलले प्रगतिशील साहित्यिक आन्दोलन व्यवस्थित प्रकारले अगाडि बढाउन नै मद्दत पुग्ने आशा गर्न सकिन्छ ।

    शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.