प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
जातीय समता समाजले “दलित आन्दोलनको वर्तमान अवस्था र भावी कार्यदिशा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष तथा राष्ट्रियसभामा सांसद राजेश विश्वकर्माद्वारा अवधारणा प्रस्तुत गर्दै २०७९ माघ ७ गते शनिबार काठमाडौँको एक होटलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गैरसरकारी संस्थाको भूमिका र इसाईकरण नेपाली दलित आन्दोलनको समस्या रहेको बताउनुभयो ।
‘नेपालका कम्युनिस्ट पार्टीहरू नभएको भए नेपालको दलित आन्दोलन पहिल्यै पश्चिमाहरूको पोल्टामा गइसकेको हुन्थ्यो’ महासचिव भट्टले भन्नुभयो– ‘नेपालका कम्युनिस्ट पार्टीहरूले सही भूमिका खेलेकै कारणले दलित आन्दोलन अहिले यो अवस्थामा आइपुगेको छ ।’
अर्कोतिर, उहाँले दलितका समस्यालाई क्रिस्चियन धर्मले उपयोग गरिरहेको पनि उहाँले बताउनुभयो । ‘हामीले हेला गर्छौं, इसाईहरूले माया गरिरहेका छन्† हामीले वहिष्कार गरेका छौँ, इसाईहरूले स्वीकार गरेका छन्’ नेपाली राज्यपक्षको भूमिकाको सन्दर्भ लिएर उहाँले भन्नुभयो ।
महासचिव भट्टले अगाडि भन्नुभयो– ‘नेपालमा इसाईहरूको जनसङ्ख्या ३० लाख पुगेको छ । त्यसमा सबैभन्दा बढी सङ्ख्या दलितहरूको छ ।’
कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले संविधानमा उल्लेख भएको सम्मानजनक ढङ्गले बाँच्न पाउने अधिकार महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
‘यसले बताउँछ, संविधानले कसैले कसैलाई हेलाहोचो गर्ने अधिकार दिएको छैन’ उहाँले भन्नुभयो– ‘तर त्यतिले मात्रै हुँदैन, त्यसका कार्यान्वयनका लागि समाजमा परम्परागत रूपमा रहेका सामन्ती कानुनलाई ध्वस्त गर्नुपर्दछ ।’

कार्यक्रममा दलित मुक्ति सङ्गठनका अध्यक्ष गणेश विक, नेपाल जातीय उत्पीडित मुक्ति समाजका केन्द्रीय सदस्य टेक घतानी, जाति व्यवस्था उन्मूलन मोर्चाका संयोजक राजकुमार हिङमाङ, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय कार्यालय सचिव पदम विश्वकर्मा, नेपाल समाजवादी दलित मुक्ति सङ्गठनका महासचिव गजाधर सुनार, नेपाल राष्ट्रिय दलित केन्द्रका राजकुमार पासवान, दलित अभियन्ता हिरालाल विश्वकर्मा, संयुक्त दलित अधिकार मञ्च नेपालका संयोजक दुर्गा बराइली, एनएनडिएसडब्लुका अध्यक्ष त्रिलोकचन्द विक र दलित अधिकारकर्मी तथा अधिवक्ता चक्रमान विश्वकर्माले सम्बोधन गर्नुभएको थियो ।
अध्यक्ष तथा सांसद राजेश विश्वकर्माको अध्यक्षता तथा महासचिव भक्त विश्वकर्माको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी रसाइलीले सम्बोधन गर्नुभएको थियो ।
अवधारणा पत्रको पूर्ण पाठ
दलित आन्दोलनको वर्तमान अवस्था र भावी कार्यदिशा