धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि भएको निर्वाचनमा भोट क्रस भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट सभामुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारीले सत्तापक्षकै सांसदको मत नपाउँदा सभामुख चयन भएनन् ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका शिवराज भट्टले भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको घोषणा गरे।
सभामुख चयनका लागि सांसद जानकी बम ऐरले प्रदेश सभामा राखेको प्रस्तावको पक्ष/विपक्षमा मत विभाजनका क्रममा एक मत बदर परेको छ।
सत्तारुढ गठबन्धनको एक मत ‘क्रस’ भएको हो। मतविभाजनका क्रममा अर्को मतदाताको नामावलीमा दस्तखत गरेको भेटिएको छ। जसले गर्दा भण्डारीले सभामुख चयनका लागि बहुमत पाएनन्।
सत्तारुढ गठबन्धनको पक्षमा माओवादी ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर कूल २९ सांसद छन् । तर, सभामुखका प्रत्याशी माओवादीका भण्डारीले त्यो मत पाउन सकेनन्।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिमको सभामुखको मतविभाजनमा ५० जना मात्रै उपस्थित थिए।
नेकपा एमाले चक्र मल्ल, नागरिक उन्मुक्तिका राजकिशोर चौधरी बैठकमा अनुपस्थित थिए। कांग्रेसका शिवराज भट्टले सभाको अध्यक्षता गरेकाले मत विभाजनमा भाग लिन पाएनन्।
प्रदेश सभाले सभामुख चयन गर्न अर्को बैठक भोलि बिहान ११ बजे बोलाइएको छ।
यसअघि कांग्रेसले राखेको प्रस्ताव पनि अस्वीकृत भएको थियो । कांग्रेसका उम्मेदवारको पक्षमा २३ र विपक्षमा २७ मत आएको थियो।
मुख्यसचिवको संयोजकत्वमा शासकीय सुधार गर्न कार्यदल गठन
यसैबीच, सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा शासकीय सुधार गर्ने बताएका छन्।
प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ गरेका छन्।
सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्नका लागि कार्ययोजना कार्यदलले तयार पार्ने छ।
गठित कार्यदलमा सबै मन्त्रालयका सचिवहरु सदस्य रहेका छन्। एक साताभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न मुख्यमन्त्री रावलले निर्देशन दिएका छन्।