कोलम्बो । श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइसिआरसीले सो कुराको जानकारी दिएको हो ।
हालैका केही महिनायता श्रीलङ्काले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ । यहाँका कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा देखिएको छ । पछिल्लो समयमा श्रीलङ्का मुद्रास्फीति, बैदेसिक मुद्राको अभाव झेल्नुपरेको छ, जसका कारण यहाँको आर्थिक अवस्था निकै कमजोर हुँदै गएको छ ।
यहाँ आर्थिक समस्यासँगै कृषि उत्पादनमा पनि कमी आएकाले खाद्यान्न असुरक्षाको अवस्था पनि देखिएको छ । खाद्य असुरक्षाका कारण नै यहाँका नागरिकलाई विशेषगरी मानवीय सहायता आवश्यक परेको पाइएको सो प्रतिवेदनमा उल्लेख छ ।
मल, बिउको अभावमा यहाँ स्वदेशी कृषि पज पनि आवश्यक मात्रामा उत्पादन हुन नसकेको र स्वदेशी खाद्यान्नबाट राष्ट्रिय स्तरमा हुने मागको पूर्ति हुन नसकेको छ । श्रीलङ्कामा आर्थिक समस्यासँगै कृषिमा पनि समस्या उत्पन्न भएको छ । किसानले समयमै मल र बिउ पाउन नसकेकाले यस्तो आवस्था आएको छ ।
यहाँका करिब ४९ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोग्नुपरेको छ । यसरी यहाँको जनसङ्ख्याको करिब २२ प्रतिशत जनसङ्ख्या खाद्य असुरक्षाको समस्यामा परेको प्रतिवेदनमा जनाइएको छ । (रासस/सिन्ह्वा)