पेरिस । गत २० वर्षमा विश्वभर करिब एक हजार ७०० पत्रकार मारिएका छन् । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टमा यस्तोा देखिएको हो ।
सन् २००३ देखि २०२२ सम्मका दुई दसक विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दसक भएको पेरिसस्थित मिडिया अधिकारकर्मीले बताएका छन् ।
आरएसएफका महासचिव क्रिस्टोफ डेलोयरले भन्नुभयो– ‘तथ्याङ्कका पछाडि आफ्नो जीवनको मूल्य चुकाएका, सूचना सङ्कलन, सत्यको खोजी र पत्रकारिताप्रतिको उनीहरूको ती व्यक्तिको अनुहार रहेको छ ।’
आरएसएफका अनुसार इराक र सिरिया पत्रकारको रूपमा काम गर्नका लागि सबैभन्दा खतरनाक देश भएको र पछिल्लो २० वर्षमा कुल ५७८ जना पत्रकार मारिएका छन् । यो विश्वभर विगत दुई दसकमा मारिएका कुल पत्रकारको एक तिहाइभन्दा बढी हो । त्यसपछि मेक्सिकोमा १२५, फिलिपिन्समा १०७, पाकिस्तानमा ९३, अफगानिस्तानमा ८१ र सोमालियामा ७८ पत्रकारको मृत्यु भएको छ ।
सिरियामा भएको युद्धका कारण यो दुई दसकभित्र पनि २०१२ र २०१३ मा सबैभन्दा धेरै पत्रकार मारिएका थिए । त्यसैले यो वर्षलाई ‘सबैभन्दा अँध्यारो वर्ष’ का रूपमा हेर्ने गरिएको छ । २०१२ मा १४४ र त्यसको एक वर्षपछि १४२ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ ।
यो रेकर्डको क्रमिक गिरावटपछि र २०१९ पछि पत्रकारको हत्यामा उच्च कमी देखिएको थियो तर २०२२ मा युक्रेनमा भएको युद्धका कारण मृत्यु हुनेको सङ्ख्या फेरि बढेको छ । २०२१ मा ५१ जना पत्रकारको हत्या भएकोमा यस वर्ष अहिलेसम्म ५८ जना पत्रकारको हत्या भएको छ ।
गत फेबु्रअअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता आठ जना पत्रकारको हत्या भइसकेको छ । अघिल्लो १९ वर्षमा भएको कुल १२ पत्रकारको हत्यासँग तुलना गर्दा यो अत्यधिक सङ्ख्या र जोखिमयुक्त वर्ष हो ।
गत २० वर्षमा २५ जना पत्रकारको हत्या भइसकेको रुसपछि युक्रेन अहिले सञ्चार माध्यमका लागि युरोपको सबैभन्दा जोखिमयुक्त मुलुक हो । राष्ट्रपति भ्लादिमिर पुटिनले सत्ता सम्हालेदेखि रुसमा प्रेस स्वतन्त्रतामाथि व्यवस्थित र घातक आक्रमण भएको आरएसएफको हरेक वर्षको रिपोर्टमा उल्लेख हुँदै आएको छ ।
‘यसमा अन्ना पोलिट्कोभस्कायाको ७ अक्टोबर २००६ मा भएको हत्या पनि समावेश रहेको छ’ अधिकारवादी समूहले भनेको छ ।
२०१५ मा पेरिसबाट प्रकाशित हुने व्यङ्ग्यात्मक साप्ताहिक पत्रिका चार्ली हेब्दोमा भएको नरसंहारका कारण टर्की तेस्रो सबैभन्दा खतरनाक स्थानमा परेको थियो भने फ्रान्स दोस्रो स्थानमा रहेको थियो । पत्रकारले सशस्त्र द्वन्द्व भएका क्षेत्रमा विश्वव्यापी रूपमा सबैभन्दा बढी जोखिम उठाएका छन् ।
आरएसएफको रिपोर्टमा भनिएको छ– ‘आधिकारिक रूपमा कुनै युद्ध नभएका देशहरू पत्रकारका लागि सुरक्षित छैनन् र तीमध्ये केही हत्या भएका देशको सूचीको शीर्षस्थानमा छन् ।
वास्तवमा, विगत दुई दसकमा युद्धग्रस्त क्षेत्रमा भन्दा शान्तिक्षेत्र भनिएका स्थानमा धेरै पत्रकार मारिएका छन् । अधिकांश घटनामा उनीहरू सङ्गठित अपराध र भ्रष्टाचारको अनुसन्धान गरिरहेका समय मारिएको देखिन्छ ।
अमेरिकी राज्यहरूमा मेक्सिको, ब्राजिल, कोलम्बिया र होन्डुरसमा भएका पत्रकारको हत्यामध्ये आधाजसो अमेरिकामा भएको छ ।
आरएसएफले भनेको छ– ‘अमेरिका सञ्चार माध्यमका लागि विश्वको सबैभन्दा जोखिमयुक्त महादेश बनेको छ ।’ (रासस/सिन्ह्वा)