वासिङटन । राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रको भ्रमण गर्ने घोषणा गर्नुभएको छ । यहाँ आयोजित अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उहाँले उक्त घोषणा गर्नुभएको हो ।
राष्ट्रपतिले भ्रमणको घोषणा गरे पनि त्यसलाई औपचारिक भ्रमणसूचीमा समावेश गरिएको छैन । विकासको पथमा अग्रसर भइरहेको अफ्रिकी महादेशप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै उहाँले अफ्रिकी राष्ट्रहरूलाई सक्दो सहयोग गर्ने दृढता पनि व्यक्त गर्नुभयो ।
दस वर्षयता अमेरिकी राष्ट्रपतिबाट अफ्रिकाको औपचारिक भ्रमण भएको छैन । आगामी वर्ष राष्ट्रपतिबाट निजी भ्रमण हुन सक्ने छ । उहाँले सम्मेलनमा सहभागी ४९ देशका सरकार वा राष्ट्रप्रमुखसमक्ष भ्रमण गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
अमेरिकाको तुलनामा चीनले अफ्रिकी देशहरूमा अधिक व्यापार गरिरहेको तथा सैन्य उपस्थिति पनि बढाउने प्रयास गरिरहेका बेला अफ्रिकी नेतासँग बाइडेन प्रशासनले शिखर सम्मेलन आयोजना गरेको हो । अफ्रिकी राष्ट्रहरूसँग अमेरिकी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अफ्रिकी नेताहरूको शिखर सम्मेलन आयोजना गर्नुभएको थियो । उक्त सम्मेलन सोही उद्देश्य प्राप्तिका निम्ति राष्ट्रपति बाइडेनले यो वर्ष आयोजना गर्नुभएको हो । विश्वका शक्ति राष्ट्रका लागि अफ्रिकी मुलुकहरू प्राकृतिक स्रोतका साथै संयुक्त राष्ट्रसङ्घमा मत प्राप्त गर्न महत्त्वपूर्ण मानिन्छन् । (रासस/एपी)